राँगो रुँघेरै ४० हजार

शनिबार, २२ पुष २०७४, ०१ : ५९ भोला अधिकारी
राँगो रुँघेरै ४० हजार

भक्तपुरको हनुमन्ते घाटसँगै राँगाहरूको हरेक दिनजसो बथान रहेको हुन्छ । त्यो बथानलाई हेर्ने र जसको रेखदेख गरिरहेका प्रायः त्यहाँ भेटिन्छन् । ती रेखदेख हेरचाह गर्नेमध्येका एक हुन्– ५० वर्षीय  दीपक खड्का । उनको यो दैनिकी नै हो । बिहान सबेरै उठ्यो १५, २० वटा राँगा चराउन लग्यो । उनलाई यी राँगा हेर्दैमा कुनै फुर्सद हुँदैन । उनी भन्छन्, ‘राँगा चराउने  काम २०६० सालदेखि निरन्तर गरिरहेको छु ।’ कहिलेकाहीँ वरपरका मान्छेले राँगो चराउने दाइ भनेर जिस्क्याउने गर्छन् । यसो भन्दा उनलाई कुनै मन दुखाइ भने हुँदैन । अझ उनी त गर्व पो गर्दा रहेछन् । उनलाई यो ठाउँमा मान्छेले राँगा चराउने दाइ भन्दा रहेछन् । गाउँमा खेतीपाती गर्दागर्दै काठमाडौं आएका उनको दुःख कति छ कति । बयान गरी साध्य छैन । आफ्नो मनको बह पोख्दै भन्छन् । उनी दीपक भन्दा पनि अन्य नामबाट चिरपरिचित रहेछन् । खाली ठाउँ भएर पनि होला यो ठाउँमा उनले राँगा चराउने गर्छन् । यी भएका राँगा भने उनको आफ्नो भने होइनन् । साहुका राँगा हुन् । उनी त केवल गोठाला मात्र । उनी भन्छन्, ‘राँगा चराउनु पनि छुट्टै मज्जा छ ।

मैले यस ठाउँमा १० वर्षदेखि राँगा हेर्दै आएको छु । अझै १०÷१२ वटा राँगा थपिँदैछ । पुराना भएका कारण पनि दीपक यो सबैको रमाइला मान्छेमा गनिँदा रहेछन् ।  हुनुमन्ते घाटनजिकै उनको कोठा छ । त्यो कोठमा २÷३ जना मिलेर बस्ने गरेका छन् । भूकम्पले चर्काएको ३ तले घरमा उनीहरू दोस्रो तलामा बस्ने गरेका छन् । भूकम्पले क्षतविक्षत भएको घर, टेको लगाएर अड्याइएको छ  । रमाइला मान्छे दीपक आफ्नो कामप्रति खुसी देखिन्छन् । पहिलाको जस्तो दुःख छैन । हनुमन्ते घाट उनले राँगा बाँध्ने थलोका रूपमा राखेका छन् । जो कोही त्यो चौरीमा जाँदा बिहानबेलुका चौरभरि राँगा भेटिने गरेका छन् ।  कतिपय मान्छे त्यो ठाउँ पुग्दा सायद अनुमान लगाउन सक्लान् कि ‘राँगा बजार’ हो कि भनेर । तर यो ठाउँमा राँगा बजार जस्तै हुल देखिने गरेको छ । अनि यताउता पराल हाल्दै गरेका भेटिने मान्छे हुन्– दीपक । दीपक पुराना मान्छेका रूपमा यो ठाउँमा परिचित छन् । उनले यो राँगा चराउने काम किन लिए त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अरू कामभन्दा मेरा लागि यही काम सजिलो भएकैले मैले यो काम गर्दै आएको हुँ ।’ दीपकले यो काम गरेबापत दिनको ५ सयदेखि २ हजार रुपैयाँसम्म कमाइ हुने बताउँछन् ।

दीपकको ८ जनाको परिवार छ । ६ जना छोरीमध्ये २ जना कमाउनका लागि कुबेत गएका छन् । ४ जना ललितपुरको चापागाउँमा पढिरहेका छन् । रामेछापबाट २०३६ सालमा काठमाडौं आएका दीपकले सुरुसुरुमा घर बनाउने भत्काउने ज्यामी काम गरेका थिए । पछि उमेरको अशक्तताले गर्दा राँगा चराउने काम थालेको बताए । बल हुञ्जेल अर्काको ज्यामी काम गरेँ बल कम हुँदै गएपछि मैले यो काम गर्न थालेँ भनी उनले बताए ।

उनले सम्झँदै भने, ‘उमेर छउञ्जेल काम गरियो अहिले पाडा धपाउँदैछु ।’ यहाँ उनी एक्लै बस्छन् । यी भएका राँगा हेर्छु, बस्छु । साहुले पनि पैसा राम्रै दिएको छ । उनकी श्रीमती पनि कुबेत गएकी छन् । उनले र मैले अलि अलि कमाएको पैसाले ललितपुरको चापागाउँमा सानो छाप्रो हालेका छाँै ३ आना जग्गामा । ४ जना छोरी उतै बस्छन्, उतै पढ्छन् म भने कहिले काहीँ जान्छु । उनी भन्छन्, ‘मैले यी राँगा सय रुपैयाँ ज्यालादेखि डुलाउन थालेको हुँ । उनले राँगालाई साँखु, बनेपा, पनौती, लुभु लगायतका ठाउँमा पु¥याउने गरेका छन् । उनले त्यहाँ राँगा चराउन पु¥याएका होइनन्, बेच्नका लागि पु¥याएका हुन् । उनले त्यहाँ राँगा पु¥याइदिए बापत थप रकम पाउने उनको भनाइ छ । पहिला भारी बोक्नु पथ्र्यो तर अहिले भारी त बोक्नु पर्दैन । तर, राँगा हराउँछन् कि भन्ने उनलाई चिन्ता हुन्छ । उनले यी राँगा हेरेरै मासिक लगभग ३०÷४० हजार रुपैयाँ कमाउँछन् । उनी भन्छन्, ‘राम्रो काम गरेको छु । छोराछोरी पढाएकै छु । राजधानीमै राँगा डुलाएर ३ आना जग्गा जोडेको छु । आफू काममा सन्तुष्ट रहेको दीपकको भनाइ छ । गाउँबाट जवानीमै काठमाडौं आइयो, यतै बिहे गरेर जिन्दगीमा यति धेरै काम गरेको छु उनले सम्झँदै भने । गर्न अरू केही नसके पनि छोरीलाई हुर्काउन सकेँ । यही हो मैले गरेको ठूलो उपलब्धि उनले मुसुक्क हाँसेर आफ्ना भावना पोखे । उनलाई राँगाले कतिपटक हान्न लखेटेको स्मरण गर्दै भने, ‘बलियो थिएँ र बाँचे ।’ रागा ज्याद्रा हुँदा रहेछन् ।  तर अहिले यस्ता राँगा आफूले सजिलै तह लगाउन सक्ने बताउँछन् । नेपालमा काम पाउँदापाउँदै विदेश जान मन नलागेको उनको भनाइ छ ।

विदेशमा गएर कमाएको जति नेपालमै कमाउने गरेको छु । किन विदेश जानु पर्यो र हैन ? उनी आफैं प्रश्न गर्दै भन्छन् । श्रीमती र छोरीलाई विदेश नजान कति कर गरँे तर मानेनन् । यहीँ दुःख गरांै भनेको नटेरी विदेश गए । विदेशमा पनि राम्रो छ भन्छ्न् । खै के छ म यहाँबाट देख्दिन राम्रै होला । सबैको आफ्नो भावना होला । कर गरेर जान्छु भनेपछि मैले उनीहरूलाई रोक्नै सकिन । बेला–बेलामा पैसा पठाउँदै गरेका छन् । उनीहरूले कमाएको एक पैसा पनि मलाई चाहिएको छैन, उनी भावुकतामा वहँदै भने । कमाएर उनीहरू आफ्नो खुट्टामा उभिए भने म घरको मुलीमान्छे (बाबु) लाई यो भन्दा आनन्द के होला र ?  

Leave A Comment