अग्लो ठाउँबाट हाम्फाल्न किन मन लाग्छ ?

बिहिबार, २७ पुष २०७४, १२ : २८ अच्युत काेइराला
अग्लो ठाउँबाट हाम्फाल्न किन मन लाग्छ ?

हामी सपरिवार बुबाको श्राद्धका लागि पशुपतिनाथ पुगेका थियौँ । मध्य साउनको महिना भएकाले वाग्मतीमा लगभग बाढी नै आएको थियो । त्यहाँ हामी सपरिवार उपस्थित थियौँ । नदी किनारमै बुबालाई पिण्ड चढाउने उद्देश्य भएकाले पानीभन्दा दुई तीन फिटमाथि नै श्राद्धकर्म भइरहेको थियो । त्यहाँ सम्यक नामक तीन वर्षे बालक यी सबै गतिविधि र क्रियाकलाप हेरेर बसिरहेको थियो । सबै आफ्नै धुनमा मग्न भएकाले बालकतर्फ कसैको ध्यान गएको थिएन । ऊ दुई फिटमाथिबाट फ्याट्ट पानीमा हाम्फाल्यो ।
परिवारका सबै जना अवाक् भए । कतिलाई त यस्तो अवस्थामा के गर्ने भन्ने दिमागमै आएन । कोही चिच्याउन थाले, कोही रुन । यस्तोमा केही सेकेन्डभित्रै म पानीमा हाम्फालेँ र सम्यक बाबुको कपडामा च्याप्प समातेर हुत्त किनारमा फ्याँकिदिएँ ।

सम्यकले केही घुट्को पानी खाए पनि उसलाई खासै केही भएन । तर हामीले सोच्नै सकेनौँ, एउटा सानो बालकलाई पानीमा हाम्फाल्न किन मन लाग्यो होला ? यस घटनाको केही वर्ष बितिसकेको छ । हालै एउटा मिडियाले अग्लो ठाउँबाट मानिसलाई हाम्फाल्न मन किन लाग्छ होला भन्ने आलेख देखेपछि भने झट्ट मलाई यो घटनाको स्मरण भयो । आखिर किन कोही अग्लो ठाउँमा पुग्नेबित्तिकै हाम्फालुँजस्तो गर्छन् ? किन इनारमा एक टक हेरिरह्यो भने पनि मानिसलाई त्यहीँ कुद्न मन लाग्छ ? किन खोलाको कलकल बगिरहेको पानी देख्दा कसैलाई त्यहाँ कद्न मन लाग्छ ?

केही दसक पहिले एक जना फ्रायडियन वैज्ञानिकले यो प्रश्नका बारेमा बुझ्ने प्रयास गरे र उनले के निष्कर्ष निकाले भने यो एक किसिमको आत्महत्या गर्ने हाम्रो भित्र गहिराईमा दबेको इच्छा बाहिर निस्कनु जस्तै हो । शोधमा के भनिएको थियो भने अग्लो ठाउँबाट हाम्फाल्ने इच्छा हुनु भनेको कुनै व्यक्तिको ‘सुसाइडल बिहेभियर’को तीव्र अभिव्यक्ति हो । तर त्यसपछिका वर्षहरुमा भएका विविध शोधले आत्महत्याको तीव्र इच्छालाई अस्वीकार गरिएको थियो ।

अमेरिकाको नट्रड्याम विश्वविद्यालयका मनोवैज्ञानिक जेनिफर हेम्स सुसाइडल बिहेभियरबारेका विज्ञ हुन् । उनले हालै एउटा शोधपत्र लेखेकी थिइन् । संसारका आधाभन्दा बढी मानिसमा आत्महत्या गर्ने इच्छा दबेर बसेको हुन्छ । यस्तो इच्छा लुकाएर बसेका मानिसले अग्लो ठाउँ देख्नेबित्तिकै हाम्फालुँजस्तो लाग्छ । बाँकी आधा मानिसमा पनि यस्तो भावना आउँछ र उनीहरुमा सुसाइडल बिहेभियर नभए पनि यस्तो भावना आउने अनुसन्धानबाट देखिएको छ । कहिल्यै आत्महत्याबारे नसोचेका मानिसमा पनि यस किसिमको व्यवहार देखिने जेनिफरको भनाइ छ । जेनिफरको यो शोधको निष्कर्ष के थियो भने यस्तो भावना आउनु कुनै मानसिक रोगको चिह्न भने होइन ।

सन् २०१२ मा फ्लोरिडा स्टेट युनिभर्सिटीमा भएको एउटा शोधमा अग्लो ठाउँबाट हाम्फाल्ने यस किसिमको इच्छालाई ‘हाई प्लेस फेनोमेना’ नाउँ दिइएको थियो । करिब ४५० जना विद्यार्थीहरुमाथि भएको यस अध्ययनमा के पाइएको थियो भने यस किसिमको खतरनाक इच्छा कग्निटिभ डिसोनेन्सका कारणले हुने गर्छ । कग्निटिभ डिसोनेन्स, दिमागी असहजताको स्थिति हो । यस्तो अवस्थामा दिमागलाई दिग्भ्रमित गर्ने निर्देश दिइरहेको हुन्छ । यस्तो अवस्थामा आएको निर्देशको परिणाम सोचेभन्दा फरक पनि हुनसक्छ ।
मनोवैज्ञानिकहरु भन्छन्, अधिकांश मानिसको कुनै अग्लो ठाउँबाट संसार चिहाउने अवसर निकै कम आउँछ र लगभग सबैलाई अग्लो ठाउँ या त्यससँग जोडिएको खतराबाट डर लागिरहेको हुन्छ । त्यसैले उनीहरु कुनै पर्वतको शिखर अथवा अग्लो भवनबाट तल या वरवर हेर्छन् । यस्तो अवस्थामा उनीहरुलाई देखिएको दृश्य बिल्कुलै अविश्वसनीय लाग्छ ।

अति अग्लो ठाउँमा पुगेर हाम्रो दिमागले त्यसैगरी महसुस गर्ने गर्छ, जसरी कुनै अप्टिकल इल्युजन देख्दा कुनै मानिसलाई महसुस हुने गर्छ । त्यस बेला हाम्रो दिमागले देखिएको दृश्यमा निश्चित हुन नसकी अनौठो निष्कर्षमा पुग्ने गर्छ । त्यस स्थितिमा निष्कर्ष तार्किक रुपमा गलत हुँदा पनि सही नै भएको आभाष दिने गर्छ । यस्तो बेलामा व्यक्तिले जे महसुस गरिरहेको हुन्छ, त्यो दिमागले मिस कम्युनिकेसन या गलत सन्देश पठाएको नतिजा बराबरको हुन्छ । वैज्ञानिकहरुले यस स्थितिको व्याख्या गर्दै भन्छन्, ‘यो नझरौँ वा हामनफालौँ भन्ने डरबाट उत्पन्न भएको विपरीत भावनाबाट निस्कने गर्छ । कैयौँ पटक त दिमागले पछाडिबाट कसैले धकेल्यो कि भन्नेजस्तो कल्पना गर्न पुग्छ । यति मात्र हाेइन, यस कल्पनाको असर के पनि हुन्छ भने शरीरले कुनै धक्का महसुस गर्छ र आफू सम्हालिने प्रयास गरेजस्तो पनि गर्छ । यही कारणले केही मानिसहरुलाई अग्लो ठाउँ वा धराहराको उचाईबाट तल हेर्दा वा वरिपरि हेर्दा डर लाग्ने, रिँगटा चल्नेजस्तो महसुस हुन थाल्छ ।

गाउँघरतिर इनारमा एकोहोरो हेर्नु हुँदैन, इनारले तान्छ भनिन्छ । यस भ्रान्तिका पछाडि पनि दिमागको यही कन्फ्युजनलाई जिम्मेवार ठहर्याउन सकिन्छ । सबैजसो मनोविश्लेषक स्पष्ट रुपमा के भन्छन् भने अग्लो ठाउँमा पुग्नेबित्तिकै त्यहाँबाट हाम्फालुँजस्तो लाग्ने वा खोलाको छङछङ बगिरहेको पानी देख्दा त्यहीँ कुदुँजस्तो लाग्नु वा इनारको गहिराई देख्दा त्यही हाम्फाल्न मन लाग्नु भनेको कुनै व्यक्तिको मानसिक विकार होइन न त रोग नै हो । तर अग्लो ठाउँ देख्नेबित्तिकै हाम्फालुँजस्तो लाग्छ भने चाहिँ त्यस्ता कुराबाट जोगिन पहिल्यै आफूलाई तयार राख्नु पर्छ । नत्र भने हाम्फाल्नै के बेर !

Leave A Comment