‘चान्स मार्न खोज्दा विचार गर्नु, कराँतेकी ब्लाक बेल्ट हुँ’

शुक्रबार, ०५ माघ २०७४, १२ : ५१ केपी ढुंगाना र अनिल यादव
‘चान्स मार्न खोज्दा विचार गर्नु, कराँतेकी ब्लाक बेल्ट हुँ’

कालो पेन्ट, कालै फुल बुट । क्रिम कलरको फुल स्वेटर, त्यसमाथिको हरियो मफलरमा निक्कै खुलेकी थिइन्, मिरुना मगर । त्यसमा ओठ रंग्याएको हल्का कलेजी रङको लिपस्टिकले खुलाएको उनको सुन्दरता मोहक थियो । उनी आउँदा नै कालो गगल्सले आँखा हैन, कपालको शोभा बढाइरहेको थियो । सिटिसी ट्रेड सेन्टरको भुइँतलाको कफी सपमा भेटिएकी मिरुनाको आँखामा कुतुहल देखिन्थ्यो । उनी शुक्रबारकर्मीसँगै शुक्रबार दिनको समेत व्यग्र प्रतीक्षामा थिइन् । किनभने यही दिन उनले अभिनय गरेको दुई फिल्ममध्ये पहिलो ‘लालपूर्जा’ रिलिज हुँदैछ । बाल्यकाल नेपालमा बिताएर किशोरकाल बिताउन बेलायत पुगेकी उनी यौवनकालमा प्रतिभा निर्खान नेपाल फर्किएकी छन् । उनको डेब्यु फिल्म र फिल्मयात्राबारे उनी मज्जाले खुलिन्, शुक्रबारकर्मी केपी ढुंगानाअनिल यादवसँग ।

बेलायत पुगिसकेको मान्छे नेपाल फर्किएर हिरोइनै हुनुभयो । फिल्म खेल्नै नेपाल फर्किएको हो ?
हिरोइन भन्दा पनि म कलाकार बन्न आ’को हो तर फिल्म खेल्नै नेपाल आएको भने हैन । म पहिल्यैदेखि यता आइराख्थेँ । २०१४ बाट नेपाल आउनु सुरु गर्दा च्यारिटीमा आबद्ध थिएँ । २०१६ मा आउँदा  खाली टाइम भयो । अनुप बरालको एक्टर्स स्टुडियोबारे सुनेँ, के हुँदोरहेछ भनेर जोइन गरेर अभिनय सिकेँ । त्यो बेलासम्म पनि फिल्मै खेल्छु भन्ने लागेको थिएन । एक्टर्स स्टुडियोबाटै कथा बेस तीन भन्ने नाटक गरेँ । त्यो नाटक हेर्न लालपुर्जाको टिम आएको रै’छ । नाटक हेरेर प्रभावित हुनु भएकोरहेछ । उहाँहरुले तिमीलाई मिल्न सक्ने रोल हुनसक्छ भन्दै अडिसनका लागि बोलाउनुभयो । छानिएँ पनि ।

कसले बोलाको ?
विक्रम सिंह थारुले पर्पलाको क्यारेक्टर छ । फिट हुन्छ होला भनेर बोलाउनुभएको हो ।

अनि ?
उहाँहरुले क्यारेक्टर बुझाउनुभयो । मैले आफूले जानेसम्मको अभिनय गरे । उहाँहरुले मन पराउनुभयो ।

पहिलो फिल्ममै सौगात मल्ल, विपिन कार्कीजस्ता सशक्त कलाकारसँग काम गर्नुभयो । अनुभव कस्तो रह्यो ?
यो कुरामा म आफूलाई भाग्यमानी ठान्छु । उहाँहरुसँग मेरो क्यारेक्टर फिट हुन्छ भनेर सोचिनु नै मेरो लागि ठूलो कुरा हो । अनुभव राम्रो नहुने त कुरै भएन । फिल्मीयात्राको प्रारम्भमा मलाई जुन गाइडेन्स चाहिएको थियो त्यो उहाँहरुबाट पाएँ । वर्क सपको समयदेखि नै सपोर्ट पाएँ । सुटिङको समयमा पनि नयाँ कलाकार जस्तो अनुभव गर्नु परेन । एकदमै सहज वातावरण बनाइदिनु भयो ।

भूमिका कस्तो छ फिल्ममा ?
ट्विस्ट छ क्या मेरो रोलमा, त्यसैले अहिले भन्न मिल्दैन । (मुसुक्क हाँस्दै) यसका लागि फिल्मै कुर्नु ल !

अलिअलि भन्न त मिल्ला नि, हौ !
मेरो रियल क्यारेक्टरभन्दा बिल्कुलै फरक रोल छ । पहिलो फिल्म भएकाले यो चैँ मलाई चिन्नेहरुले छुट्ट्याउन सक्नुहुन्छ ।

पहिलो फिल्मको जुन पात्र पाउनु भयो, त्यो पाउँदा गर्न सक्दिन कि जस्तो लागेन ?
स्क्रिप्ट पढ्दा त ‘ला मैले गर्न सक्छु/सक्दिनँ जस्तो लागेकोे थियो नि ! एक्टर्स स्टुडियोमा सिक्दा गुरुहरुले कम्फर्ट जोनबाट बाहिर गएर काम गर्दा जति रमाइलो हुन्छ, त्यो अनुभव गर्नैपर्छ भन्नुभएको थियो । त्यही सोचेर आत्मबल बढ्यो ।

पहिलो फिल्मको अफर आउँदा गरौं कि नगरौं भनेर कसैलाई नसोधी हुन्छ भनियो कि कसैसँग सल्लाह पनि गरियो ?
म १३ वर्षको उमेरमा धरानबाट युके गएकी थिएँ । ६ वर्षपछि १९ वर्षको उमेरमा फर्किएँ । युकेमा हुर्किए पनि म नेपालकै संस्कारमा हुर्किएकी छु । जुनसुकै काम गर्नुअघि ममीड्याडीलाई त सोध्छु नै । फिल्म इन्डस्ट्रीमा आउनुअघि पनि सोधेकी थिएँ । मेरो ड्याडीभन्दा ममी अलि कडा हुनुहुन्छ तर कला बुझ्नुभएको छ । उहाँ धरानमा हुँदा अनाम नाट्य समूहमा हुनुहुन्थ्यो । यसले सजिलो बनायो । फिल्मको स्क्रिप्ट पढेपछि मैले उहाँलाई पनि पढ्न दिएँ । उहाँले कला सिकेर खेर जाँदैन । अनुभव गर् भन्दै अनुमति दिनुभयो ।

यहाँ कलाकार आफैँ त स्क्रिप्ट पढ्दैनन्, तपाईंले त ममीलाई पनि पढाउनु भएछ नि ?
एउटा होइन, दुइटै फिल्मको स्क्रिप्ट उहाँलाई पढाएपछि मात्रै ओके गरेको हुँ । म त ममीलाई अझ ‘सिन बाई सिन’ सुनाउँथे ।

स्क्रिप्टभित्र के कुरा खोज्नुहुन्छ ? के कुराले छोएपछि फिल्म खेल्न तयार हुनुहुन्छ  ?
(टेबलमा रहेको ग्रिन टि सुरुप्पै पार्दै) म जस्तो छु, त्यसरी नै गर्नु त पूर्ण रुपमा अभिनय हो भन्न मिल्दैन । म भन्दा पूर्ण रुपमा फरक भएको क्यारेक्टरप्रति म बढी लोभिन्छु । यी दुई फिल्म पनि त्यसरी नै गरेको हुँ ।  

पहिलो फिल्म रिलिज नै भएको छैन, दोस्रो फिल्ममा अफर आएर सुटिङ पनि सक्किइसक्यो । कोही आफन्त छ हो फिल्म लाइनमा ?
अहँ छैनन्, कोही आफन्त । पहिलो फिल्मको टिमले नै दोस्रो फिल्म लाहुरेको निर्माण गरेकाले मौका पाएको हुँ । लाहुरेमा पनि विक्रमसिंह थारु र निगम श्रेष्ठ नै हुनुहुन्छ । उहाँहरुले पहिलो अडिसन लिँदा नै लाहुरेका एउटा सिन गराउनु भएको रहेछ । मैले थाहा पाइनँ त्यो बेला । मलाई केही भन्नुभएको थिएन । ‘लालपूर्जा’ सकेर युके फर्किसकेको थिएँ । सुनिल रावल दाइले कल गरेर ‘तिम्रो अडिसन हाम्रो निर्देशकले हेरिसकेका रहेछन्’ भनेर भन्नुभयो । म फर्किएँ ।

दोस्रो फिल्मको क्यारेक्टर हल्का भन्न मिल्छ कि पहिलोझैँ सस्पेन्स नै छोड्ने त !
अँ... लाहुरे फिल्मको त भन्न मिल्छ । त्यसमा म लाहुरेको छोरीको भूमिकामा छु ।

ए... यो त रियल स्टोरी नै भयो त ! फिल्म नै तपाईँको स्टोरीमाथि त हैन ?
लाहुरेकी छोरी, धराने केटी र हङकङमा जन्मिएको तीन विषय चैँ मिल्छ । तर मेरै स्टोरी त हैन । फिल्ममा मेरो क्यारेक्टर एकदमै छुच्ची छ । रियललाइफमा म त्यस्तो छैन् नि ! (अन्तर्वार्ताकारतिर हेर्दै मुसुक्क हाँसिन् )।

रियल लाइफमा कस्तो हुनुहुन्छ त ?
म यहाँ जस्तो देखिएकी छु त्यस्तै छु, सिम्पल । मान्छे कुट्ने छुच्ची टाइपको छैन ।

बाहिर जति कुल देखिनु हुन्छ भित्रबाट त्यही हुनुहुन्छ जस्तो लागेन त !
तपाईंले मान्छेलाई आँखाले हेरेरै जज गर्न सक्नुहुन्छ भने त मैले माने तपाईंलाई ।  

नेपाली फिल्ममा अभिनय गर्नु प्यासन हो कि प्रोफेसन नै बनाउने तर्खर छ ?
एक्टर्स स्टुडियोमा भर्ना भएपछि अभिनयप्रति डेडिकेटेड मान्छेहरुसँग भेट हुँदा म प्रभावित भएँ । सानैदेखि मनमा पनि रहर रै’छ तर ‘एभोइड’ गर्न खोजिरहेको रहेछु सायद । ममीको प्रभाव रहेछ ममा । भित्र लुकेको चाहना त्यहाँ गएर प्रष्फुटन भयो । जब दुइटा मुभी गरेँ, आफैँलाई एक्सप्लोर गर्ने मौका पाएँ । अहिलेका लागि प्यासनै हो ।

भनेपछि प्यासनमै समेटिने कि प्रोफेसन नै बनाउने भन्ने फिल्म रिलिज भएपछिको प्रतिक्रियाले निर्णय गराउने भयो हैन त !
त्यो पनि हो । दर्शकहरुले कत्तिको स्वीकार गर्नुहुन्छ, त्यो पनि महŒवपूर्ण हुन्छ नै । मन पराउनुभएन भने छोडेरै जान्छु भन्ने त होइन । आफैंलाई आफ्नो अभिनय कस्तो लाग्छ, सुधार गर्नुपर्ने पाटो के–के रहेछ त्यो पनि थाहा हुन्छ नि ! यसले अगाडि बढ्न सघाउँछ ।

नेपाली फिल्मी क्षेत्र यस्तो होला भन्ने परिकल्पना थियो होला । फरकपन केही पाउनुभएन ?
टाइमिङ हो । युकेमा पनि नेपाली टाइम भनेर पपुलर छ । ‘लालपूर्जा’ र ‘लाहुरे’ दुवैको सुटिङ डिले भएको थियो ।

अरु ?
जस्तो ।

नयाँ कलाकारलाई टिकिरहन एकदमै गाह्रो हुन्छ भन्छन् नि ?
कामै भर्खर सुरु भएको छ । टिक्न सक्छु सक्दिनँ, त्यो त अहिले नै कसरी भन्न सक्छु र !

सेक्सुअल ह्यारेस्मेन्टबारे सोसल मिडियामा चलिरहेको ‘मिटु अभियान’बारे सुन्नुभएकै होला । हलिउड र बलिउडका कलाकारले आफूमाथि भएका यौन दुव्र्यवहारबारे खुलेर बोलिरहेका छन् । नेपाली इन्डस्ट्रीजमा पनि धेरै एडजस्ट गर्नुपर्छ रे !
यस्तो सोच भएका व्यक्ति जुनसुकै इन्डस्ट्रीमा हुन्छन् । यहाँ छैनन् भनेर भन्दिनँ तर आफूले कसरी डिल गर्ने भन्नेमा धेरै निर्भर हुन्छ ।

सेक्सुअल ह्यारेसमेन्टका घटनाबारे तपाईंको धारणा ? प्रोटेस्ट अर डिल ?
फस्टमा डिल गर्ने नै हो । त्यसले समाधान भएन भने प्रोटेस्ट । केही गलत हुन्छ भने बोल्नु त पर्छ । यस्तै हो भनेर इग्नोर चैँ गर्नुहुन्न ।

डिल गर्नुपरेको अवस्था छ ?
मैले मात्र होइन, सबै केटीहरुले डिल गरिराको हुन्छ यसबारेमा । सेक्सुअल ह्यारेसमेन्ट यूके, नेपाल जताततै हुन्छ । अहिले यहीँ बाटोमा हिँड्दा पनि कसैले सिटी मारिरा’को हुनसक्छ । त्यसलाई पनि सेक्सुअल ह्यारेसमेन्ट मान्न सकिन्छ । प्रख्यात अमेरिकी टेलिभिजन सो सञ्चालक ओप्रा विन्फ्रेले त फेस गरेको समस्या हो, हाम्रो मात्र के कुरा ! नेपाली इन्डस्ट्रीमा पनि हुन्छ तर तपाईंहरुले के कोट्याउन खोज्नुभएको त्यो त थाहा भएन । तर ...

नेपाली फिल्म इन्डस्ट्रीमा प्रोफेसनल्ली काम गर्नेको संख्या न्यून छ । ‘चान्स मारिहालौं न’ भन्नेहरु अलि बढी देखिन्छन् । चान्स मारिहालौं न भन्ने खालका मान्छेसँग कहीँकतै ठोक्किएर इग्नोर गर्नु परेको छ कि छैन भन्न खोजेको ?
 अहिलेसम्म ठोक्किन परेको छैन ।

लाहुरेको छोरी भनेर डराए कि क्या हो !
म लाहुरेको छोरी मात्रै हैन है...। म त तेक्वान्दो खेलाडी पनि हो । आफ्नो सुरक्षा गर्न म पूरै सक्षम छु ।

भनेपछि चान्स मार्न खोज्नेले किक, पन्च खाने सम्भावना बढी रै’छ !
(मस्तले हाँस्दै) सिकेको सेल्फ डिफेन्सको लागि हो । अहिलेसम्म त्यति युज गर्नु परेको छैन । सहेर बस्ने मान्छेचाहिँ होइन ।

अन्तर्वार्ता दिन त परफेक्ट भइसक्नुभएछ । कतिऔँ इन्टरभ्यू हो यो ?
(हाँस्दै) आठौँ होला ।  

जर्नालिस्टहरु कस्ता लागे त ?
अरु त राम्रै हो, एउटा प्रश्न सोधिन्छ । एउटा भनिन्छ । आउँदा अर्र्कै हेडलाइन आइरा’को हुन्छ । अब त बानी परिसक्यो ।

पकेट मनी आफ्नै कमाइले चलिराको छ कि परिवारकै भर छ ?
उता (बेलायत) पनि काम गर्थें । त्यसले पनि चल्छ । पुगेन भने परिवारसँग माग्छु ।

दुई वटा फिल्म खेल्दा पनि पकेट मनि म्यानेज नहुने रै’छ है ?
अहिले नै पैसाको कुरा नगरौँ । सबैलाई  थाहा छ, यहाँको आम्दानी केकस्तो हुन्छ तर मैले जति पाएँ, राम्रै पाएको छु भन्ने लाग्छ ।

कति ? भन्न सकिन्छ ?
(हाँस्दै) सक्छु तर भन्दिनँ ।

अब फिल्मतिरै फर्किऔँ । केही दिनमै रिलिज हुन लागेको छ । कस्तो फिल भइराखेको छ ?
ढुकढुकी बढिरा’को छ । सुटिङमा सय प्रतिशत दिएर आएको छु । कस्तो भयो होला ? अडियन्सले कसरी लिनुहुन्छ भन्ने कौतहुल छ ।

‘लालपूर्जा’को अभिनयमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट भइयो भने त लाइफ सक्किगो नि !

आफूले गरेको कामबाट भन्न खोेजेको ?
हन्ड्रेट पर्सेन्ट दिएकी छु तर पनि फुल्ली सेटिस्फाइ छु भन्दिनँ । अहिले नै सन्तुष्ट भएपछि अर्को मुभीमा के सुधार गर्ने ? त्यही भएर ‘रुम फर इम्प्रुभमेन्ट’ राखेको छु  ।

 

Leave A Comment