बलिउडकै महँगो फिल्म

बिहिबार, ११ माघ २०७४, ११ : ५१ शुक्रवार
बलिउडकै महँगो फिल्म

लामो समयको विवादपछि सञ्जय लीला भन्सालीको निकै प्रतिक्षित फिल्म ‘पद्मावति’ अब ‘पद्यमावत’का नाममा यही बिहीबार (२५ जनवरी)बाट प्रदर्शनमा आउने भएको छ । फिल्ममा रानी पद्मीनीलाई अलाउद्दिन खिल्जीका साथ प्रस्तुत गर्नुका साथै इतिहासलाई तोडमोड गरेको भन्दै विवादमा तानिएको थियो । राजनीतिक पार्टी करणी सेना एवं राजपुतहरुका साथै विभिन्न धार्मिक संगठनले विरोध गर्दै यस फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने भन्दै आवाज उठिरहेका बेला भारतको सर्वोच्च अदालतले फिल्म प्रदर्शनलाई अनुमति दिएको छ । यही कारण पनि ‘पद्मावत’लाई झनै प्रतिक्षित फिल्मको सूचीमा पुगेको थियो ।
बलिउडमा बनेका महँगा फिल्महरूमध्ये ‘पद्मावत’ सबैभन्दा महँगो फिल्म हो । भारतीय फिल्म सेन्सर बोर्डले यस फिल्मका जम्मा पाँच ओटा दृश्य परिवर्तन गर्न लगाएर फिल्मलाई प्रदर्शनको बाटो खोलिदिएको थियो ।
हुन त भारतीय इतिहासमाथि बनेको यो फिल्मबाट नेपाली दर्शकले खासै सिक्नु वा जान्नु पर्ने कुरा छैनन् तापनि फिल्ममेकिङका क्षेत्रमा बलिउडमै पनि विविध मानक बनाएकाले यसबारे जानकारी लिइराख्नु राम्रै हुनेछ । उसो भए यस ऐतिहासिक फिल्म ‘पद्मावत’बाट नेपाली दर्शकले के अपेक्षा गर्ने त ?
भव्य दृश्य
सञ्जय लीला भन्साली भव्य दृश्य फिल्माङ्कन गर्न बहुतै चिनिएका निर्देशक हुन् । यस फिल्मका प्रोमोहरुबाटै उनको फिल्मको दृश्यशक्ति थाहा पाउन सकिन्छ । भन्सालीका अन्य फिल्मझैं पद्मावत पनि निकै भव्य हुनेमा कुनै शंका छैन । फिल्ममा कलाकारको पहिरनदेखि फिल्मकै लागि बनाइएका कृत्रिम सेट मात्र होइन फिल्ममा गरिएका भिएफएक्स सबैभन्दा हेर्न लायक विषय छ । फिल्मको दृश्यलाई मात्रै हेर्ने हो भने ‘पद्मावत’ ‘बाहुबली’ र ‘बाहुबली–२’ पछिको भव्य फिल्म हुनेमा कुनै शंका छैन ।
इतिहासबारे ताजा दृष्टिकोण
भन्सालीले अघिल्लो फिल्म ‘बाजिराव मस्तानी’मा ऐतिहासिक रोमान्सलाई पर्दामा उतारेका भए पनि ‘पद्मावत’ बिल्कुलै फरक हुनेछ । ‘पद्मावत’मा भन्सालीले प्रेमलाई कम प्राथमिकतामा राख्दै दुई मुख्य ऐतिहासिक पात्रमार्फत् त्यस समयको समाज, संस्कार र त्यस बेलाको राजनीतिक दृष्टिकोणलाई प्रस्तुत गरेका छन् । आफ्नो फिल्ममा यति धेरै विषय राखेर पहिलोपटक नौलो अभ्यास गर्दैछन् भन्साली । यी कुरासँगै भन्सालीको यो महत्वाकांक्षी फिल्मबाट इतिहासबारे ताजा दृष्टिकोण दृश्यावलोकन गर्न पाइनेछ ।
रणवीरको आक्रामक अभिनय
रणवीर सिंह आफ्ना जुनसुकै फिल्ममा कडा मिहिनेतका साथै पात्रहरुका लागि उनले गर्ने लगावका कारण चर्चित छन् । ‘पद्मावत’मा पनि उनले आफ्नो इतिहासलाई बिर्साइदिएका छैनन् । फिल्ममा अलाउद्दीन खिल्जीका रुपमा उनी खलपात्रका रुपमा प्रस्तुत हुनेछन् । रणवीरको आक्रामक प्रस्तुति हेर्नेहरुले रणवीरको यही प्रस्तुतिसँगै आक्रामक खलपात्रहरु भएका फिल्मको पुनःस्मरण गराएका छन् भनी विश्लेषकहरूको भनाइ छ । रणवीरको आक्रामक प्रस्तुतिले शाहिद कपुरको नायक पात्रलाई छायाँमा पारिदिएको बलिउडमा चर्चा सुन्न पाइन्छ । ट्रेलरबाटै फिल्ममा उनले गरेको आक्रामक अभिनयको नजरअन्दाज गर्न सकिन्छ । ट्रेलर हेरेरै गतिला फिल्ममेकरहरुले रणवीरको बुलन्द अभिनयको प्रशंसा गर्दै वाहवाही गरेको सबैलाई सर्वविदित छ । निकै पहिले आएको पहिलो ट्रेलर भिडियो सेयर गर्दै ‘बाहुबली’का चर्चित निर्देशक एसएस राजामौलीले रणवीरको शानदार अभिनयको प्रशंसा गरेका थिए ।
भन्साली ब्रान्डको संगीत
सञ्जय लीला भन्सालीका फिल्म बुलन्द संगीत बनाउन उत्तिनै चर्चित छन् । फिल्ममा ‘घुमर...’ र ‘एक दिल है...’ अहिलेका ट्रेन्डिङ ट्युन भइसकेका छन् । यी गीतसँगै फिल्मको संगीतले मानिसहरुलाई खुसी पार्ने अड्कल काट्न सकिन्छ । हृदय छुने घघडान संगीतले फिल्मको भावलाई अमर तुल्याउनेमा कुनै शंका गर्नु पर्दैन ।
ए–लिस्टरको अभिनय
लामो समयपछि भन्सालीले ए–लिस्टर कलाकारलाई एकैसाथ लिएका छन् । फिल्ममा रहेका सबैजसो पात्रहरु निकै चल्तीका र अभिनय बुझेका कलाकार मानिन्छन् । यो फिल्म खेल्ने अभिनेताहरुले यही फिल्मबाटै एक वा सोभन्दा धेरै चल्तीका अवार्डको हिस्सेदार हुने समीक्षकहरुको अनुमान छ ।
‘पद्मावत’ बारेका १० रोचक किस्सा
फिल्म सन् १५४० मा सिर्कामा कवि मल्लिक मुहम्मद जयसीले अवधि भाषामा लेखेको चित्तौडगढकी रानी पद्मिनीबारे लेखेको महाकाव्य ‘पद्मावत’मा आधारित छ । ‘पद्मावत’ फिल्मले सन् १३०३ मा राजस्थानको चित्तौडगढमा टर्कीका तानाशाह अलाउद्दीन खिल्जीको कुकर्मलाई उतारेको छ । इतिहासका अनुसार राणा रावल रतन सिंहकी रानी पद्मिनी निकै सुन्दर भएकै कारण अलाउद्दीनले राजपुतनास्थित चित्तौड किल्लामा आक्रमण गरेको बताइन्छ ।राणा रावल सिंहले युद्ध हारेपछि रानी पद्मिनीले मुस्लिम तानशाहबाट आफूहरुलाई बचाउन चित्तौडका अन्य सबै महिलाका साथ ‘जौहर’ विधिमार्फत् आत्महत्या गरेका थिए ।
सञ्जय लीला भन्सालीले सन् २००८ मा नै पेरिसमा ‘पद्मावत’को ओपेरा प्रस्तुति दिएका थिए । निकै चर्चित थिएटर चाटलेटमा केही समय पद्मावतिलाई प्रत्येक रात देखाइएको थियो । ओपेरामा निकै प्रशंसित भएपछि नै उनले यो फिल्म बनाउने निष्कर्षमा पुगेका थिए । ‘पद्मावत’ फिल्मको पटकथा भने उनले लता मंगेस्करका गीत सुन्दै सिनी नदीको आसपास डुल्दै गर्दा फुरेको थियो ।
‘पद्मावत’ गत वर्ष (सन् २०१७) को नोभेम्बर १७ मा प्रदर्शन मिति तय गरिएको थियो । भारतभर फिल्मको विषयमा विवाद र हुलदंगा हुन थालेपछि त्यसपछि डिसेम्बर १ तारिखमा अर्को प्रदर्शन मिति जुराइएको थियो । पछि सेन्सर बोर्डले केही दृश्यलाई पुनः छायाँकन गर्नुपर्ने बताएपछि रिलिज मिति पुनः सरेर अन्ततः जनवरी २५ तोकियो ।
फिल्ममा युद्धका प्रचुर दृश्य छन् । दीपिका पादुकोणले घोडा दौडाएकोदेखि अन्य दृश्यहरु वास्तविक कलाकारलाई नै गराइएको हो । फिल्मका लागि बडी डबलको प्रयोग गरिएको छैन । ‘पद्मावत’मा दीपिकालाई ‘घुमर...’ गीतमा मात्र देखाइएको छ तर फिल्ममा उनी वीरंगनाका रुपमा प्रस्तुत हुनेछिन् ।
फिल्मलाई लिएर राजस्थानको जयपुरमा सुटिङताकादेखि नै विरोध सुरु भएको थियो । भन्सालीले इतिहासका तथ्यलाई ‘खरानी पारेको’ भन्दै श्री राजपुत करणी सेनाले जयगढ किल्लामा रहेको फिल्मको सेट नै ध्वस्त पारिदिएका थिए । उनीहरुले भन्सालीलाई पनि आक्रमण गरेका थिए । फिल्ममा तानशाह अलाउद्दीन खिल्जीलाई रानी पद्मिनीका साथ ‘रसरङ’ गरिरहेको दृश्यमा चित्रण गरिएको आरोप उनीहरुको थियो ।
गत मार्च महिनामा पनि ‘पद्मावत’को सेटमा बारम्बार आक्रमण हुन छाडेन । महाराष्ट्रको कोल्हापुर सहरमा रहेको फिल्मको सेटमा समेत आगजनी गरियो ।
भन्सालीले सुरुमा ऐश्वर्या राय बच्चनलाई रानी पद्मिनी र सलमान खानलाई रावल रतन सिंहका रुपमा अभिनय गराउन खोजेका थिए । उनीहरुले एकैसाथ पर्दामा स्क्रिन सेयर गर्न नमानेपछि भन्सालीले दीपिका पादुकोण र रणवीर सिंहलाई छनोट गरेका थिए ।
फिल्ममा रानी पद्मिनी र मुस्लिम तानाशाह अलाउद्दीनको एउटा पनि अन्तरंग दृश्य छैन । दीपिका र रणवीर एकअर्कालाई वैरभावना सिर्जित गराउन भन्सालीले उनीहरुलाई छुट्टाछुट्टै बस्न र सेटमा एकअर्कासँग बोलचाल गर्न बन्द गरिदिएका थिए । स्मरणीय के छ भने वास्तविक जीवनमा दीपिका र रणवीर प्रेमीप्रेमिकाका रुपमा चिनिन्छन् ।
दीपिकालाई फिल्म खेले बापत १३ करोड दिइएको बताइएको छ । दीपिकाको यो मूल्य उनका सहकर्मी रणवीर सिंह र शाहिद कपुरको भन्दा केही बढी पनि हो । रणवीर र शाहिद दुवैलाई १०–१० करोड दिइएको बताइन्छ ।

Leave A Comment