विवादले थलिएका बलिउड फिल्म

बिहिबार, १८ माघ २०७४, १२ : ५८ शुक्रवार
विवादले थलिएका बलिउड फिल्म

अघिल्लो हप्ता फिल्म ‘पद्मावत’ निकै विवादका बीच बल्लतल्ल प्रदर्शनमा आएको छ । राजनीतिक विवादमा मुछिने ‘पद्मावत’ एक मात्र बलिउड फिल्म भने हैन । यहाँ प्रस्तुत छ, सन् २०१६ मा आएको ‘ए दिल हे मुश्किल’ हुँदै ‘पद्मावत’सम्म आउँदा विवादमा तानिएका अन्य फिल्मबारेको सामग्री ।

सिनेमा र राजनीति सधैं एकअर्कासँग जोडिएर आउने गरेका छन् । कुनै फिल्म राजनीतिक विवादमा तानिनु दुर्लभ मान्नुपर्ने अवस्था छैन । सरकारी निकायहरुबाट पनि यसले बेलाबेला उल्झन खेप्नुपरेको सर्वविदितै छ । बलिउड पनि यसबाट चोखो छैन । अघिल्ला फिल्मी विवादहरु केही समयमै साम्य भएर गायब भएका थिए । राजनीतिक विवादमा तानिएका फिल्मले पछिल्ला वर्षमा भने बढेका छन् ।

पछिल्ला दुई वर्ष फोहोरी राजनीतिले फिल्मलाई हस्तक्षेप गरेको छ । पछिल्लो समयमा त यो झनै जटिल र क्लिष्ट बन्न पुगेको छ । फिल्मलाई सहज रुपमा प्रदर्शन गराउन नपाउँदा धेरै मेकरहरुले पापड बेल्नु परेको अवस्था छ । पछिल्ला फिल्मलाई कुनै न कुनै राजनीतिक आवरणले लेपेर विवाद गर्न थालिएको छ । यदि कुनै फिल्मले राजनीतिक पार्टीहरुबाट अवरोध नपाई हलमा चुस्त रुपमा प्रदर्शनमा आउन पायो भने उक्त फिल्मलाई भगवानले साथ दिएको भन्न थालिएको छ ।

राजनीतिक पार्टीहरु र उनीहरुले निकाल्ने आक्रामक प्रपोगान्डाहरुले फिल्मी क्षेत्र, यसका मेकरहरु र कलाकारहरुलाई समेत तनाव थोपरिदिएको छ । धम्की, हुलदंगा र भौतिक क्षति नगरी त कुनै फिल्मलाई पास गर्न नसकिने जस्ता कुराहरु पछिल्लो समयमा हावी भइरहेका छन् । यहाँ प्रस्तुत छन् राजनीतिक हस्तक्षेपमा परेका केही बलिउड फिल्म :

यह दिल है मुस्किल
सन् २०१६ को अक्टुबरमा भारत पाकिस्तानबीच शत्रुता पलाइरहँदा ‘यह दिल है मुस्किल’ आएको थियो । सेप्टेम्बर १८ मा युरी हमला भएसँगै यो फिल्मलाई विवादमा तानिएको थियो । फिल्ममा रणवीर कपुर, ऐश्वर्या राय बच्चन र अनुष्का शर्मासँगै पाकिस्तानी अभिनेता फवाद खान फिल्ममा थिए । महाराष्ट्र नवनिर्माण सेनाले बलिउड फिल्ममा कुनै पनि पाकिस्तानी कलाकारलाई अभिनय गराउन नपाइने भन्दै विरोध गरेका थिए । फिल्म प्रदर्शनमा ल्याएमा फिल्म देखाइने सबै हलहरु तोडफोड गरिदिने भन्दै उनीहरुले धम्की दिएका थिए ।

यही विवाद हदभन्दा निकै माथि गएपछि फिल्म निर्देशक करण जोहरले एक भिडियो सार्वजनिक गर्दै अब आइन्दा भविष्यमा कुनै पाकिस्तानी कलाकारलाई आफ्नो फिल्ममा नलिने भन्दै भारतीय सेनाहरुको वीरतालाई सम्मान दिएका थिए । भिडियो हेर्ने धेरैले करणले आफूले स्वयं नभई कसैको बलजफ्तीका कारण अक्मक्की अक्मक्की भिडियो जारी गरेको प्रतिक्रिया दिएका थिए । यतिमात्र कहाँ हो र ! यही विवादका कारण करणले ‘यह दिल है मुस्किल’को लाहोरको दृश्यलाई लखनऊमा परिवर्तन गरिदिएका थिए । सोही विवादका कारण बलिउडले फवादमा भएको प्रभावशाली अभिनय गुमाउनु परेको थियो । पछि उनलाई पाकिस्तान फर्कन बाध्य पारियो । यसबाहेक अलि फाजल र माहिरा खान लगायतका अन्य फिल्म एवं टेलिभिजन कलाकारहरुसमेत यसको सिकार बन्न पुगे ।

मेर्सल
गत वर्ष दक्षिण भारतीय अभिनेता विजयको फिल्म ‘मेर्सल’ भारतभर समाचारमा छायो । भारतीय जनता पार्टी(बिजेपी)ले फिल्मको प्रदर्शनमा विवाद निकालेपछि नै यसको चर्चा परिचर्चा थपिएको थियो । फिल्मले वस्तु एवं सेवा कर प्रणाली, नोटबन्दी र डिजिटल भारतको सपनामा फरक मत राखेकै कारण यसलाई बिजेपीले यसको प्रदर्शनमा विरोध गरेको थियो । 
मेर्सलका मेकरहरुलाई बिजेपीहरुले आफ्नो पार्टीलाई व्यंग्यबाण गर्ने अपमानजनक दृश्यहरु हटाउन लगाएका थिए । तामिलनाडुका बिजेपी मन्त्री एच राजाले फिल्मलाई सम्प्रदायसँग जोडेर फिल्मलाई बहसमा उतारेका थिए । उनले ट्वीटरमा विजयको आइडी पोस्टिदै उनी क्रिश्चियन भएकै कारण ‘मोदीको विरोधी’ भएको ट्वीट पोस्टेका थिए । तर पछि उनले उक्त ट्वीट डिलिट गरेका थिए । फिल्मको विवादमा विजयको व्यक्तिगत विवरणलाई बाहिर ल्याउँदा गोपनीयता उल्लंघन भएको भन्दै मन्त्रीको खैरो खनिएको थियो । वस्तु एवं सेवा करमा फरक मत राखेकै कारण तामिलनाडुमा फिल्मको प्रदर्शनमा ढिलाई भएको थियो । तर पनि यही विवादले फिल्मलाई झनै बलियो बनाएको थियो । फिल्मले विश्वस्तरमा २२० करोड भारु यस फिल्मले कलेक्सन गरेको थियो ।
इन्दु सरकार
भारतीय संक्रमणकालको कथा भन्ने मधुर भण्डारकरको ‘इन्दु सरकार’ले कोलाहालको स्थिति सिर्जना गरिदिएको थियो । कांग्रेसी अभियन्ताहरुले पत्रकार सम्मेलन गर्नुका साथै भण्डारकरको होटलबाहिर विरोध प्रदर्शन गरेका थिए ।
पद्मावत
सञ्जय लीला भन्सालीको ‘पद्मावत’ सुटिङताकादेखि नै विवादमा तानिएको थियो । श्री करणी सेना र राजपुतहरुले फिल्ममा अलाहुद्दिन खिल्जीलाई रानी पद्मिनीसँगै अन्तरंग दृश्यमा एकसाथ प्रस्तुत गरेको भनेर हुलदंगा गरेका थिए । उनीहरुले भन्सालीलाई आक्रमण गर्नुका साथै फिल्मको सेटमा आगो लगाइदिएका थिए । फिल्म प्रदर्शन भए हलहरु तोडभोड गरिदिने धम्की उनीहरुले दिएका थिए । दर्शकहरुलाई समेत फिल्म बहिस्कार गर्न सुझाएका थिए । यसै कारण राजस्थानका वितरकहरुले फिल्म हलहरुमा नदेखाउने निर्णयमा पुगेका थिए । यति मात्र कहाँ हो र ! फिल्मले इतिहासका तथ्यहरुलाई तोडमोड गरेको भन्दै बिजेपी र कांगे्रसीहरुले समेत फिल्मको प्रदर्शनमा रोक लगाउनुपर्ने कुरामा जोड दिएका थिए । तर अघिल्लो हप्ता भने फिल्म बल्लतल्ल विभिन्न आरोह अवरोहका बीच भारतका केही ठाउँहरुलाई छोडेर विश्वभर प्रदर्शनमा आएको छ ।

पहिला पहिला फिल्मलाई परिपक्व बहस र समीक्षामार्फत् तौलने गरिन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन । फिल्मलाई डर, त्रास र धम्कीले उल्लेख्य रुपमा बाँध्न थालेको छ । आक्रामक सोच भएकाहरु फिल्मलाई हुलदंगा गर्ने, हत्याको धम्की दिने र व्यक्तिगत हमलासमेत गर्न लागिपरेका छन् ।

मेकरहरु अब कुनामा सडेर बस्नुपर्ने अवस्था आइलागेको छ । उनीहरु अब सरकारलाई खुसी पार्ने फिल्म मात्र बनाउनुपर्ने बाध्यता छ । साँच्चै फिल्मलाई मानिसहरुसँग सञ्चार गर्ने एक किसिमको माध्यमका रुपमा हेरिनुपर्ने होइन र ? तर यहाँ अवस्था के छ भने राजनीतिक पार्टीहरुले कुन फिल्म हेर्ने, कुन फिल्ममा कुन दृश्य नहेर्ने लगायतका कुराहरुको निर्णय गर्ने भइसकेका छन् । सिनेमा स्वतन्त्रता त अब आगोको भुङ्रोमा परिसकेको छ ।
फिल्मलाई राजनीतिक हस्तक्षेप मात्र कहाँ होर गुण्डागर्दी र ठग प्रवृतिका मानिसहरुको पञ्जामा खुम्चिएर बस्नुपर्ने अवस्था आउन थालेको छ । 

Leave A Comment