ब्याक बेञ्चर ‘भ्यालेण्टिना’

बिहिबार, २५ माघ २०७४, ०२ : २१ सुरेश बुढाथोकी ‘फकिर’
ब्याक बेञ्चर ‘भ्यालेण्टिना’

सगौरव भन्छु म ब्याक बेन्चर थिएँ, र छु । पढाइमा लद्दु भएर होइन । कक्षाको अन्तिम बेञ्चमा बसेर पढ्नुको मज्जा यो छोटेमोटे कथाको काइते चिर्कटोमा अटाउँदैन । तपाईंहरूमध्ये कोही त प्रेममा पर्नु भएकै होला । यदि पर्नु भएको भए राजधानीमा गुड्ने लोकल बसको अन्तिम सिटमा बसेर यात्रा गर्नुको अद्भूत आनन्द तपार्इंहरूको प्रेम जोडीलाई पनि थाहा हुँदो हो । छैन भने पनि ठिकै छ । प्रेमबाट प्राप्त आनन्द भनेको फलाक्दै हिँड्ने जिनिस् होइन । यो त फारु गरेर जिन्दगी चलाउने किम्ती ओखती पो हो ।

कहिलेकाहीँ कुनै रमणीय ठाउँको तारे होटल तथा रिसोर्टको लचकदार ओछ्यानमा नमिलेको प्रेमान्द मामुली लोकल बस वा माईक्रोेको ब्याक सिटमा मिल्छ । त्यस्ता सवारी साधनबाट प्राप्त आनन्द केही निमेषकै किन नहोस् यादगार हुन्छ । तर, बस कण्डक्टरले ‘तपार्इंहरू दुईजना उभ्भिदिनुस् त यी दुईजना वृद्धा आमाहरूलाई त्यहाँ राख्नुप¥यो’ भन्दिनु भएन । सहरमा गुड्ने लोकल बसका कण्डक्टरहरू कहिलेकसो प्रेम जोडीहरूलाई जमानमा रिलिज भएका पत्रु नेपाली सिनेमाको भिलेनतुल्य हुन्छन् । जो कहिले सुनिल थापा, कहिले राजेन्द्र खड्की त कहिले अतिथि भिलेनका रूपमा अम्रिस पुरी भएर बसको अन्तिम सिटतिर आई घुरेर हेर्दिन्छन् ।

कक्षाको लास्ट बेञ्चमा बस्दा मलाई दुईटा कुराको फाइदा थियो । पहिलो, सरले अघिल्तिरका साथीहरूको होमवर्क चेक गर्दागर्दै घण्टी बज्थ्यो र होमवर्क नगरेको दिन बाँसको भाटो खानबाट बचिन्थ्यो । दोस्रो, मिस क्लास अर्थात् कक्षाभरिकै सब्से सुन्दरी ‘सवि’ नाम गरेकी विद्यार्थी पनि केटीहरूतिरको लास्ट बेञ्चमै बस्थी । हाजिर कापीमा उसको रोल नं १७ र नाम वतन अर्कै छ । तर, यदि फरेन हिरोहरूको अर्धनग्न तस्बिर हेर्ने इच्छाले वा स्टुपिड राशिफल पढ्नका लागि पत्रिका किनी र यो कथा पढी भने चाल पाउँछे भनेर मैले उसलाई यहाँनेर छद्म नामले उभ्याएको हुँ । केट्केटीमा के को मोह हुन्छ र ! तथापि मलाई यी दुई कुराले लास्ट बेञ्चमा तानेको थियो । कहिलेकाहीँ स्कुल ढिला पुगेको दिन धने, रामकुमार वा डम्बरेहरूले लास्ट बेञ्च कब्जा गरिसकेका हुन्थे । फिल्म सुरु भइसकेपछि हलमा पुगेको दर्शकलाई जसरी सबैले मलाई नै क्वार्रक्वार्ती हेर्थे । ‘डम्बरे अगाडिको बेञ्चमा बस् ।’ मलाई मेरै बाउले जन्मदिनमा गिफ्ट दिएको बेञ्च जसरी डम्बरेलाई आदेश दिएँ । ‘ई... यो बस्छु । तँ ढिला आको तैँ बस् न । स्कुल आउने टाइममा के हल्लाई राथिस् त घरमा ।’ उसले एकै लटमा मेरो मुख बन्द गरिदियो । शब्दकोशमा यस्ता शब्द पनि छन् जसको प्रयोगले वर्षौंसम्म बन्द नभएको मान्छेको मुखै बन्द हुन्छ । डम्बरेलाई फर्काउने जवाफ मसँग थिएन । खुरुक्क झरीमा रुझेको बिल्ली भएर सेकेण्ड लास्ट बेञ्चमा बसेँ । यो नन्सेन्स दुनियाँका तमाम मनुष्यहरू अरूलाई पछाडि पारेर आफू अघि हुन खोज्छन् । खुट्टै तानेर किन नहोस् आफू अगाडि हुने यत्नमा हुन्छन् । तर, म पछाडि हुन खोज्दा पनि पाउँदिन । मोहम्मद रफिले त्यसै गाएका होइन रहेछन्– ऐं दुनियाँ, ऐं मेहफिल मेरे काम कि नहिं... ।

म एक परियड अर्थात् पैंतीस मिनेट पनि त्यो बेञ्चमा टिक्न सकिँन । सकस भो । म माछो थिएँ र पानीमै थिएँ । तर, समुद्रको निर्जन चिसो पानीमा पौडिरहेको माछालाई एक्वारुमको तातोपानी हाल्दिँदा के हुन्छ बिचरा माछाको हालत । कहिलेकाहीँ मलाई आधुनिक मानवसँग अचाक्ली रिस उठ्छ जसले स्वतन्त्र पौडिरहेको माछालाई एक्वारुममा कोचिदिन्छन्, निर्भय उडिरहेको चरालाई पिंजडामा जाकिदिन्छन् । मनमौजी उडिरहेको चरालाई सुनकै पिँजडामा राखिदिए पनि उसका लागि त्यो कारागार हो ।

पहिलो पिरियड सक्किएर सर बाहिरिएपछि पछाडि फर्किएँ । उतापट्टी सवि किताब कापी ब्यागमा हाल्दै थिई । आँखा जुध्यो । काश उसको आँखाले भन्दै थिए– आज किन यति दूर ? मेरो आँखाले पनि जवाफ दिन सक्थ्यो– ‘म रहरले होइन टाढा भएको मुला डम्बरेले ल्याङ् गरेर हो ।’ तर आँखाहरू बोलेनन् । आँखा बोले भने मुखको के काम । डम्बरेहरूतिर मुन्टो बटारेँ अनि त ऊ फेरि च्याँठ्ठियो, ‘आलु हेर्या ...जी । साले अझै कुल भारैन्छ । उसलाई कसरी लाइनमा ल्याउने गाह्रो पर्यो । आइजो ट्वाइलेट जाऊँ । ‘जान्न म मुत्न सुत्न’ । बिसको उन्नाइस हुँदैन त केटो । जबरजस्ती तानेर उसलाई ट्वाइलेट लगेँ । ट्वाइलेट पछाडि लगेर बुबाले बिहान चार बजेदेखि उठेर डुनोट बेलेर कमाएको पाँचवटा दुई–दुईको नोट दिएपछि ऊ लास्ट बेञ्च मलाई छोडिदिन राजी भयो । घुस पुगेन भनेर बार्गेनिङ गर्दैथ्यो । तँ मुलाले दस रुपैयाँको अन्वार नदेखेको कति वर्ष भाथ्यो । अझै पुगेन भन्छस् । ‘ल ल’ भनेर दुई–दुईका नोट कष्टताका साथ पाइन्टको चोर बगलीमा कोचेर हिँड्यो । क्लासमा पुग्दा दोस्रो पिरियड पढाउने पितम सर आइसकेका रहेछन् । डम्बरे पैसा पाएको खुसीले हो कि हुर्रिँदै गएकोथ्यो । सरलाई देखेनछ । ‘मे आई कम् ईन्’ नभनेर क्लासभित्र हुर्रिँदै छिरेको अभियोगमा सरले बाँसको लौरोले पुठामा दनक दिए । ‘आई्या मा’ । सबैजना गलल्ल हाँसे । उसको यो आवाज कसैले सुनेन । यो संसारै यस्तै छ । अक्सर मान्छेहरू अरूको बेदना सुन्दै सुन्दैनन् ।

डम्बरेभन्दा एकै मिनेटजति पछि म क्लासको ढोकामा पुगेँ । ‘दुईजना किन एकैचोटी ट्वाइलेट गएको’ सरले मलाई पनि केरकार गरे । तर उसलाई जसरी दनक चाहिँ दिई हालेनन् । सरले मलाई कुटिहाल्न नसक्नुको यौटा कारण छ– उनी साँझ परेपछि घरबाट बाँगो बाँगो हुँदै हाम्रो दोकानमा दारु पिउन आउँथे । कहिलेकाहीँ मैले पनि सरलाई लोकल दारु सर्भ गरेको छु । लोकलको कोटा पुगेपछि हिँड्ने बेलामा दाह्रा किटेर भन्थें– ‘केट्केटी भएर जाँड बाँड्छस् गधा ।’ म लुसुक्क कतै लुक्थेँ । आफूलाई दारु सर्भ गर्ने केटालाई कसरी कुट्नु ।  कहिलेकाहीँ लाइन बस्ने बेलामा जुत्ता, टाई नलगाई गएको छु भने कुटि टोपल्थे । म उनको मुखमा एकटकले हेर्थेँ । उनको मुखमा एक पित्को आशंका टाँस्सिएको हुन्थ्यो– यसले अब कक्षामा गएर कुटाइ खाएको झोँकमा मैले जाँड खाएको कुरा भन्दिने पो हो कि ! तर, मैले पितम सरको शंकालाई कहिल्यै एक्सपोज गरिन अनि उनले मलाई कहिल्यै क्लासमा बाँसको लौराले हिर्काएनन् ।
 हो, समयलाई बिताउनु पर्दैन आफँै बित्छ । आजकाल साथीभाइहरू मेसेन्जरमा मेसेज ठेल्छन्– ‘कसरी बित्दैछ फकिर दिनहरू ?’ म रिप्लाई गर्छु, ‘दिनलाई बिताउन पर्दैन यार आफैँ बित्छ ।’ यदि दिन बिताउने उपकरण बनेको भए यो गोलमाल जगतका मानिसको दिनचर्या झनै गोलमाल भइदिन्थ्यो । कुनै सिनेमाको झुर सिनलाई रिज्युम बटन थिँचेर फास्ट गरेजस्तै अथवा ब्याक गरेजस्तै समयलाई पनि रिज्युम गरेर कुनै मनपसन्द कालखण्ड वा दिनांकमा पुर्याउँथे होला मान्छेले ।

समयलाई बिताउन परेन आफैँ बित्यो । हामी कक्षा ९ मा अध्ययनरत थियौं । हामी अर्थात मिस् क्लास सबि पनि । सबिको शरीरमा यौवनको मुना पलाउँदै थियो । हाफ टाइमको घण्टी बजेर गुरुर्र बाहिर दौडिन लाग्दा कहिलेकाहीँ जानाजान सबिसँग ठोक्किन पुग्थेँ म । उसको शरीर विशेष गरेर काखीबाट अनौठो गन्ध आइरहेको हुन्थ्यो । पर्रफ्युम प्लस् पसिनाको कक्टेल गन्ध तर यतिबेला म त्यसलाई गन्ध होइन बास्ना भन्छु । भन्नेहरू भन्थेँ– माया गर्ने मान्छेको गन्ध पनि बास्ना आउँछ । हामी प्रेमीप्रेमिका त थिएनौं तर पनि मलाई उसको शरीरबाट आएको गन्ध बास्ना आउँथ्यो । हामी एउटै क्लासमा पढ्थ्यौं ब्याक बेञ्चर भएर । कक्षा एउटै भए पनि तनमन एकै हुन जरुर समय लाग्दो रहेछ । म उसलाई कक्षामा मनपर्ने साथीको लिस्टमा थिएँ थिइन गड् नोज लेकिन ऊ मेरो मनपर्ने साथीको लिस्टमा थिई । मलाई मनपर्ने साथीहरूको लिस्टमा आफू छु भन्ने सायद उसलाई ज्ञात थिएन । कतिजनाको स्कुल लाइफ त मलाई कसले मन पराउँछ र म कसलाई मन पराउँछु भन्ने थाहै नभई चिप्लिँदो रहेछ । हुन त स्कुल प्रेम क्रिडा गर्ने अखडा होइन तथापि मान्छेले प्रेम गर्न अक्सर स्कुलबाटै सिकेको हुन्छ ।  

यो दुनियाँका सो– कल्ड आद्मीहरूले जेसुकै गरून् मलाई बाल छैन । तर, म भने आजको मितिबाट समयलाई ब्याग लैजाँदै छु । गाडीमा जस्तै मान्छेको शरीरमा ब्याक गेयर त हुँदैन यद्यपि म यादहरूलाई चाहिँ यू–टर्न मोडिरहेँछु । ह्याभ ए नाईस जर्नी फकिर नभन्ने ?

सम्वत् सन् २००९ । माघ महिनाको चिसो औंर कामुक रात । घरभन्दा पर साउने खोल्सामा एकोहोरो उल्लू चरो कराइरहेको छ ।  भित्तामा झुण्डिरहेको अराजक घडीको तीनवटै काँटाले सामूहिक आत्महत्या गरेको प्रतीत हुन्छ । यानेकी, रातको ठिक बाह्र बजेको छ । घडी नामक अराजक भाँडाको तीनवटा काँटाहरू दिनको दुईचोटी सामूहिक सु–साइड गर्न विवश हुन्छन् । म ती मृत्युलोकमा होमिइरहेका घडीका काँटालाई बचाउन सक्दिन । अहिले जस्तो फेसबुकको आतंक त्यतिबेला भएको भए पनि यौटा स्टाटससम्म त लेख्दो हुँ, ‘रिप एभ्रीबडी’
भोलि फेब्रुवरी फोर्टिन् हो । अर्थात प्रेम दिवस, प्रणय दिवस, भ्यालेण्टाइन डे इटिसी । त्यतिबेला प्रणय दिवसको जगजगी अहिलेको जस्तो हुन्थेन । पाकाहरू भन्थें– ‘यो खैरेहरूको विदेशी संस्कृति हो नेपालीलाई सुहाउँदैन ।’ आजकाल भ्यालेटाइन डे को दिनमा प्रेमभन्दा बढी कण्डम र गुलाब बिक्छ । यो यस्तो कमिना सहर हो जहाँ, जुनीजुनी टिक्ने मायाभन्दा पाँच मिनेट टिक्ने कण्डम र दश मिनेटमा ओइलाइजाने गुलाबको व्यापार धेरै हुन्छ । बिहान घरबाट सारसौदो हिँडेका युवती साँझ कुनै चोकभित्रपट्टि एकलास ठाउँमा रहेको फार्मेसी पसलमा गर्भनिरोधक चक्की पिल्स किन्दै गरेको भेटिन्छन् ।

सबिका लागि भ्यालेण्टाइन गिफ्ट तयार भइसकेको छ । उक्त गिफ्टमा नायिका जल शाह आफ्नो बोल्ड फिगरसहित मन्द मुस्कुराइरहेकी छन् । पोष्ट कार्डको पछाडि लेखिएको व्यहोरा यस प्रकार छ–
प्रिय सबि, जुगल हिमालभन्दा अग्लो र सुनकोशी नदीभन्दा गहिरो सम्झना । टुँडिखेलभन्दा फराकिलो माया । हामी करिब चार वर्ष ब्याकबेञ्चर क्लासमेट भएर बसिसकेका छौं । आज प्रेम गर्नेहरूको पर्व हो, भ्यालेण्टाइन डे । विल् यू बी माई भ्यालेण्टिना ?
उही, ब्याक बेञ्चर ।
अब उसलाई यो कार्ड दिने पो कसरी । बिलखबन्दमा परेको छु । उसको कुनै किताबको बीचमा राखिदिन्छु । यही सोचेर निदाएँ ।
भोलिपल्ट थोरै संकोच र ज्यादा लाज बोकर स्कुल पुगेँ । माघको चिसो दिन । बिहानैदेखि घाम कतै फरार भएको थियो । हुनसक्छ घाम पनि भ्यालेण्टाइन डे को मौका पारेर ताराहरूसँग डेट गएको थियो । विद्यार्थी धेरै नभएकाले सरहरूले लाइन राखेनन् । सिधै पहिलो पिरियड पढाउने गोकर्ण सर कक्षामा आए र हाजिर गर्न थाले । ‘रोल नं १७’ कक्षामा एकछिन मौनता छायो । उक्त रोल नम्बरमा कसैले ‘एस सर’ भनेनन् । मेरो भ्यालेण्टिना आज एप्सेन्ट थिई । अनि म स्खलित भएँ । डम्बरेले मतिर पुलुक्क हेर्यो । सायद ऊ भन्न चाहन्थ्यो,  ‘खुच्चिङ’ ! सरलाई सोध्दै नसोधी ट्वाइलेटतिर हान्निएँ । ट्वाइलेट पछाडि फोहोर फाल्ने थुप्रोमा धुवाँ पुत्पुताइरहेको थियो । जल शाहलाई च्यात्चुत पारेर त्यही आगोमा फालिदिएँ । एकैछिन आगो ह्वार्र बल्यो ।

@fakirsuresh

Leave A Comment