क्यान विवादबारे पूर्व सिइओ भावना घिमिरेले भनिन् : इमान्दार भएर बोल्दा बढी विवाद भयो

शुक्रबार, ०४ फागुन २०७४, ०१ : ३० अनिल यादव
क्यान विवादबारे पूर्व सिइओ भावना घिमिरेले भनिन् : इमान्दार भएर बोल्दा बढी विवाद भयो

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) की सिइओ भएपछि चर्चामा आएकी थिइन्– भावना घिमिरे । उनले नेपाली क्रिकेटको मुहार फेर्ने सपना देखेकी थिइन् तर उल्टै क्यान निलम्बनमा पर्यो । त्यसपछि उनले राजिनामा दिइन् । अहिले कहाँ, के गरिरहेकी छिन् त ? उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः  

सन्चै हुनुहुन्छ ?
अँ, सन्चै छु । 

अहिले ठ्याक्कै केमा व्यस्त हुनुहुन्छ ? 
अहिले आइफ्लिक्समा व्यस्त छु । यो भिडियो अन डिमान्ड सर्भिस हो । यसमा सिरिज, मुभिज, किड्स, कार्टुनहरु पाइन्छ । यो नेटफ्लिक्सजस्तै हो । 

भनेपछि अहिले क्रिकेटलाई चटक्कै छोड्नुभएको हो ?
चटक्कै त छोड्या होइन । अहिले पनि टिम बाहिर गइरहँदा आइसिसीको तर्फबाट मैले संयोजनको काम गरिरहेको छु । तर सक्रियता अलि कम हो, छोडिसकेको त छैन । 

सक्रियता कम हुनुको कारण ?
कारण अरु त केही होइन । मेरो पर्सनल फुल टाइम जबमा व्यस्त भएर हो । काम त गर्नु परिहाल्यो । 

क्रिकेटको ट्रेनिङ एकेडेमी खोल्ने चर्चा पनि थियो, त्यो के भयो ?
प्लानमा हो । क्यान राम्रो भइसकेपछि मात्र खोल्ने हो । क्यान जुन दिन फङ्क्सनमा आउँछ, राम्रोसँग चल्छ त्यसपछि मात्र खोल्ने हो । 

यसो बुझ्दा तपाईं पछिल्लो समय क्रिकेटदेखि परपर भागिरहेको जस्तो छ, किन हो ?
भागेको त ‘एक्ज्याक्ट्ली’ होइन तर जब गर्नु परिहाल्यो । क्रिकेट त प्यासन न हो, बाँच्नलाई काम त गर्नैपर्यो नि !  

क्यानको सिइओ भइसकेपछि तपाईंले नेपाली क्रिकेटको रुपै फेर्ने अभिव्यक्ति दिनुभएको थियो । तपाईं आइसकेपछि धेरैले नेपाली क्रिकेट उँभो लाग्ला कि भन्ने आशा पनि राखेका थिए तर उल्टै क्यान निलम्बनमा पो पर्यो । के भन्नुहुन्छ ?
म आइसकेपछि नै क्यानमा कति समस्या थिए भन्ने कुरा बाहिर आएको हो । क्रिकेट उँभो लाग्न जुन ‘फन्डामेन्टल एस्पेक्ट्स’ जरुरी थिए, ती नै बलियो थिएनन् । अब बन्ने ‘गर्भनेन्स स्ट्रक्चर’ पछि पक्कै राम्रो होला । हेर्दा खेरी केही नगरेजस्तो देखिन्छ तर यसको रिजल्ट ५–६ वर्षपछि मात्र देखिन्छ  । जब क्यान बलियो भएर आउँछ, यसको शासन प्रणालीमा सुधार आउँछ, विधान परिवर्तन हुन्छ त्यसपछि राम्रो हुन्छ । क्यान निलम्बनमा पर्नुमा एउटा मात्र कारण छैनन्, धेरै छन् । अहिले त्यसमा नजाऊँ । 

जाऊँ न, खास कारण के रहेछ सबैले थाहा पाउने थिए !
होइन, नजाऊँ । अहिले बितेको कुरा गरेर फाइदै छैन । यहाँको जति पनि स्टेकहोल्डर्स हुनुहुन्छ उहाँहरु सबै एक भएर नयाँ ढंगले अघि बढ्ने तयारीमा सहमत भइसक्नुभएको छ, त्यसैले विगतमा फर्किएर अब केही हुनेवाला छैन । 

सिइओ भइसकेपछि तपाईंले भनेजस्तो नेपाली क्रिकेटको रुप त फेरिएन नि, के भन्नुहुन्छ यस विषयमा ?

फेरिएन र ? फेरिँदै नफेरिएको त म भन्दिनँ । धेरै कुरा फेरिएको छ । रुपै फेर्ने कुरा त एकजनाले गरेर मात्र सम्भव हुँदैन । सबै कुरा मिल्नुपर्छ । त्यसको स्ट्रक्चरदेखि टिम सबै कुरा मिल्नुपर्छ । रुपै फेर्ने भनेर मैले बोर्डलाई प्लान पनि दिएको हो । अन्ततः अन्तिममा सबैभन्दा ठूलो भनेको त बोर्ड नै हुन्छ, सिइओ भनेको त मात्र कार्यसम्पादन मात्र गर्ने हो । धेरै इस्युहरु थिए, धेरै अवरोध थिए । काम गर्न सहज थिएन । त्यही पनि रुपै फेर्ने जुन सपना मैले देखेको थिएँ, ढिलोचाँडो त्यो त पूरा हुन्छ नै तर अहिले यो दुई वर्ष रोकिएको मात्र हो । क्यानलाई बलियो र अनुशासित बनाउन आइसिसीले जुन कडा निर्णय लियो, त्यसले भविष्यमा फाइदा नै पुर्याउँछ भन्ने मलाई लाग्छ । 

तपाईं फेरि क्यानमा फर्कने सम्भावना कत्तिको छ ?
अहिले मैले फर्किन्छु भन्ने सोचको छैन । क्रिकेटप्रति त मलाई अझै प्रेम छ ।

क्यानमा सिइओ भएर तपाईंले २१ महिना बिताउनुभयो । त्यो २१ महिनालाई अहिले सम्झिनुपर्दा कसरी सम्झनुहुन्छ ? 
मेरो करिअरका लागि सबैभन्दा ठूलो माइलस्टोन हो । धेरै चुनौती थिए, उत्साह पनि त्यत्तिकै थियो । काम पनि भएकै थिए । यसलाई ‘ओभरअल’ हेर्दा मेरो करिअरमा यो २१ महिना ठूलो माइलस्टोन भयो । नेपाली क्रिकेटमै पनि यो ऐतिहासिक साबित भयो । म आइसकेपछि धेरै उत्थलपुथल भयो । कसैलाई लाग्ला पोजिटिभ, कसैलाइ लाग्ला नेगेटिभ ! तर धेरै परिवर्तनहरु भए । ती २१ महिना मेरा लागि साँच्चिकै अविस्मरणीय रहे । 

अलि विस्तृतमा बताइदिनु भए हुने ! 
त्योभन्दा विस्तृतमा नजाऊँ न प्लिज ! म अहिले धेरै नेगेटिभ कुरा खोतल्न चाहन्न किनभने बोलेर समस्या समाधान हुँदैन । फेरि मैले क्रिकेटका विषयमा पुराना कुरा बल्झाएँ भने बेकारमा समस्या मात्र उत्पन्न हुन्छ । त्यसैले त्यतातिर नजाऊँ । यत्ति भन्छु, त्यतिबेला क्यान रिर्फमका लागि एक किसिमको लडाइँ थियो, जसको रिजल्ट अब आउँछ । रिजल्ट आएपछि पक्कै पनि त्यो मेरो लडाइँ थियो भनेर म गर्व गर्न सक्छु । मान्छेहरुलाई म आएर क्रिकेट बिग्रियो भन्ने लाग्न सक्छ तर म जानुअघि नै त्यहाँ धेरै समस्या थिए । 

तपाईं आएपछि अपेक्षा बढी थियो तर विवाद बढी भइदियो है ?
विवादभन्दा पनि राम्रो÷नराम्रो, राइट÷रङको टसल थियो । बोर्ड र मेरो वे अफ थिकिंङ नमिलेको मात्र थियो । विवाद त म आउनुभन्दा अगाडिदेखि नै थिए, म आएपछि झन् थपियो । पहिलोपल्ट सिइओ नियुक्त गरिएको थियो । बोर्डलाई पनि पावर दिन गाह्रो भइरहेको थियो । म पनि केही गर्छु भन्ने आशाले त्यहाँ पुगेकी थिएँ । त्यसैले बोर्ड र मबीच काम गर्ने ट्युनिङ नमिलेको पक्कै हो । विवाद नेपालमा जुनसुकै सेक्टरमा पनि छ । केही गर्न खोज्ने मान्छेलाई यहाँ विवादैविवादले घेरिहाल्छ । 

क्यान निलम्बनमा पर्नुको पछाडि तपाईं कति दोषी हुनुहुन्छ भन्ने लाग्छ ?
होइन, होइन मेरो कारण निलम्बनमा परेकै होइन । बोर्डको काम गर्ने तरिका अर्थात् सुशासनका कारण नै निलम्बनमा परेको हो । अघि नै भनिसकेँ, धेरै नेगेटिभमा नजाऊँ तर क्यान निलम्बनमा पर्नुमा धेरै फ्याक्टरले काम गरेको छ । 

राजिनामा किन दिनुभयो त ?
त्यहाँ रहेर केही काम गर्न नसकेपछि बसिरहनुको के अर्थ भनेर राजिनामा दिएकी हुँ । 

राजिनामा पनि ट्विटरबाट दिनुभएको थियो । करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपुर्ण छ भनेर लेख्नुभएको थियो । बन्दी कसले कसरी बनायो त ?
त्यतिखेरको टाइममा एउटा केस अदालतमा पनि थियो । आइसिसीले निलम्बन गर्नुअघि अदालतले त्यो केसमाथि डिसिजन दिन नसकेको स्थिति थियो । 

कुन केसको कुरा ?
एउटा क्यान र अर्को राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समिति बीचको विवाद थियो । कहिल्यै डिसिजन नआएपछि आइसिसीले निलम्बन गर्न बाध्य भयो । 

तपाईंलाई अर्को पनि आरोप थियो नि– क्यानको जागिर खाएर बढी आइसिसीको लागि काम गर्नुभयो भन्ने ?
त्यो आरोप होला तर मैले सिस्टमको लागि काम गरेको थिएँ । आइसिसीले क्रिकेट चलाउने हो, मान्छे चलाउने होइन । म व्यक्ति हुँ, संस्था होइन । मैले प्रोफेसनल्ली जे काम गर्नुपर्ने हो, त्यो गरेको मात्र हो । प्रोफेसनल्ली बेस्ट प्राक्टिसेसहरु फलो गरेको मात्र हो । 

मलाई थोरै विगत जान्न मन लाग्यो, तपाईं क्रिकेटमा आउनुअघि के गर्नुहुन्थ्यो अनि क्रिकेटप्रति तपाईं रुचि कहिलेदेखिको हो ?
सानैदेखि म भाइहरुसँग बसेर क्रिकेट हेर्थे तर क्रिकेटकै फिल्डमा आउँछु भन्ने लागेको थिएन । मैले बेलायतबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेँ । त्यसपछि बहराइनमा गएर एसेट एन्ड वेल्थ म्यानेजमेन्ट कम्पनीमा काम गरेँ । बहराइनमा रहँदा मैले त्यहाँ धेरै स्पोर्टस् म्यानेजमेन्टको काम गर्थें । त्यहीँबाट स्पोटर््सप्रति मेरो रुचि र ऊर्जा जाग्यो । अनि म नेपाल आएपछि क्यानमा सिइओका लागि भ्याकेन्सी देखेर अप्लाई गरेँ र छनोटमा परेकी हुँ । 

भनेपछि तपाईं सानैदेखि क्रिकेटको पारखी होइन ?
म हेर्थें सानैदेखि । मलाई मनपर्ने टिम अस्ट्रेलियाको थियो तर क्रेजिएस्ट फ्यान थिइनँ । पछि मलाई स्पोर्ट्सको प्रशासनतिर रुचि जागेको हो । खेल्नभन्दा पनि म्यानेज्ड गर्न मन लाग्छ । 

कहिल्यै खेल्नु भयो ?
त्यस्तो खेलेको त छैन । हेर्न र म्यानेज्ड गर्नलाई प्यासन छ । 

सानैदेखिको रुचि म्यानेजमेन्टतिरै हो ?
हो । मेरो अध्ययनको ब्याकग्राउन्ड पनि म्यानेजमेन्ट नै हो । त्यसैले बढी फोकस्ड पनि म्यानेजमेन्ट र इभेन्ट्समै थियो । 

अहिले पनि आइसिसीमा हुनुहुन्छ, होइन ?
मलाई लोकल अपरेसनको जिम्मेवारी दिइएको छ । आइसिसीले क्यानलाई निलम्बन गरे पनि बाहिर खेल्न जाने कुरामा टिमलाई रोकेको छैन । मेरो जिम्मेवारी टिमहरु बाहिर जाँदा सपोर्ट गर्ने, उनीहरुको आवश्यकता पूर्ति गर्ने हो । क्यानमा नरहे पनि, क्रिकेटमा काम गरिरहेको छु भनेर बुझ्दा हुन्छ । 


नेपाली क्रिकेटमा खास समस्या कहाँनेर छ भन्ने लाग्छ ?
वन लाइनमा भन्दा स्ट्रक्चरमा मात्रै हो ! स्ट्रक्चर राम्रो भएर प्रोफेसनल मान्छे आउनेबित्तिकै केही समस्या छैन । यसले फड्को मार्छ । मै बस्नुपर्छ भन्दा पनि बेस्ट पिपुलहरुले क्यान चलाउनुपर्छ । 

क्यान केही व्यक्तिहरुको सिन्डिकेटमा चल्न खोज्छ भन्न खोज्नुभएको हो ?
त्यस्तो भन्दा पनि केही महत्वाकांक्षी मान्छेहरु छन् जो हामीले मात्रै चलाउनुपर्छ भन्ने ठान्छन् । आशा गरौं, अब त्यस्तो नहोला । 

नेपाली क्रिकेटलाई राज्यले कसरी सपोर्ट गरिरहेको छ ?
खेलकुद नीतिप्रति राज्य त्यति स्पष्ट र उत्तरदायी देखिँदैन ।  यहाँ मैले क्यानभित्रका आन्तरिक समस्यामाथि बोलेँ, त्यसैले समस्या भयो । यदि म बोर्डको डमी भइदिएको भए, चुप लागेर बसेको भए सायद क्यान सस्पेन्स हुँदैन थियो होला । जसरी अरु एसोसिएसन चलिरहेको थियो, त्यसरी नै चलिरहन्थ्यो होला । 

भनेपछि तपाईं बोलेर पो क्यान सस्पेन्स भयो ?
होइन, समस्या धेरै कारणले बाहिर आए होलान् तर मैले पनि बोलेको हो । क्रिकेट मात्रै होइन, फुटबल कसरी चलेको छ ? यहाँ कसैलाई थाहा छैन । भित्रको समस्या कसैले नभन्दिएपछि बाहिर स्वभाविक रुपमा थाहा हुँदैन । क्यानमा पनि भएको त्यही थियो । म यसमै के जोड्छु भने नि हाम्रो स्पोर्ट्स अहिलेसम्म पुरुषबाट सञ्चालित थियो । म पहिलो महिला थिएँ जो त्यसरी क्यानमा पुगेँ । मैले इमान्दार भएर त्यहाँ जे समस्या देखेँ, बाहिर बोलेँ । त्यसैले विवाद बढी भयो । यहाँ राष्ट्रपतिलाई त गाली गर्न छाड्दैनन्, मेरो त के कुरा ? 

क्यानमा सिइओ रहेपछि पक्कै खेलाडीका विषयमा जानकार हुनुभयो । कस्तो रहेछ त नेपाली क्रिकेट खेलाडीको अवस्था ?
प्लेयर कन्ट्रयाक्टको काम मेरै बेलामा भयो । कन्ट्रयाक्ट भएपछि रेगुलर इन्कम हुन्छ । अहिले धेरै प्लेयर्सहरुलाई क्रिकेट छोडेपछि के गर्ने भन्ने चिन्ता छ । उनीहरुको सुरक्षित भविष्यका लागि राज्यले काम गर्नुपर्ने अवस्था छ ।

सन्दिप लामिछानेको आइपिएल यात्रालाई कसरी लिनुभएको छ त ?
नेपाली क्रिकेटका लागि यो एउटा माइलस्टोन हो । सन्दिपजस्तै अरुअरु ट्यालेन्ट बच्चाहरुका लागि पनि यो ठूलो प्रेरणाको स्रोत हो । 

क्रिकेटमा तपाईंको बेस्ट प्लेयर को हो ?
यहाँ त मेरो सबै बेस्ट हो । इन्टरनेसनल प्लेयरको नाम लिनुपर्दा अस्टे«लियाको रिक्की पोन्टिङ हो ।

थोरै पारिवारिक कुरा गरौं, परिवारमा कतिजना हुनुहुन्छ तपाईंहरु ?
मेरो छोरा, श्रीमान् र देवर हुनुहुन्छ । 

बुबा सरकारी जागिरे भन्ने सुनेको थिएँ ?
हो । कानुन मन्त्रालयमा सहसचिव हुनुहुन्छ । 

राम्री हुनुहुन्छ, कहिल्यै फिल्म इन्डस्टी«तिर जान मन लागेन ?
अहँ । मलाई कहिल्यै म राम्री छु भन्ने लागेन । म्यानेजमेन्ट पढेकाले राम्रो कम्पनीको सिइओ भन्ने लक्ष्य भने थियो तर हिरोइन बन्ने रहर त कहिल्यै जागेन । 

ट्विटरमा एकदमै सक्रिय हुनुहुन्छ है तपाईं ?
छु । इन्फमेर्टिभ लाग्छ । सबै प्रोफेसनलहरुसँग कनेक्सन हुन्छ । 

जाँदाजाँदा तपाईंको भविष्यको योजना बताइदिनुस् न ?
हाम्रो ब्याट एन्ड बल अर्गनाइजेसन छ । अहिले केही गरेको छैन । क्यान फेरि फर्ममा आएपछि हामी त्यो संस्थामार्फत् क्रिकेटको विकासमा काम गर्ने योजनामा छौँ । 
 

Leave A Comment