कलम राम्ररी समाउन जान्दैनन् बालबालिका

आइतबार, २० फागुन २०७४, ०५ : ३५ शुक्रवार
कलम राम्ररी समाउन जान्दैनन् बालबालिका

प्रविधिको विकाससँगै मानिसहरुको दैनिकीसमेत फेरिएको छ । यसको पछिल्लो उदाहरणका रुपमा आएको अध्ययनले देखाएको छ– अचेलका बालबालिका कलम राम्ररी समाउनै जान्दैनन् ।

ल्यापटप, ट्याब र मोबाइलको बढ्दो प्रयोगसँगै बालबालिका टच स्क्रिनमा अभ्यस्त भएकै कारण कलम राम्ररी समाउन नसकेका हुन् । टचस्क्रिन प्रविधिकै कारण बालबालिकाका मांसपेशीले कलम अथवा पेन्सिललाई नियन्त्रणमा राखेर लेख्न नसकेको तथ्य बेलायतको एनएचएस ट्रस्टका पेडिआर्टिक अकुपेसनल थेरापिस्ट सेली पेनेले ‘द गार्जियन’सँग बताएका छन् । सेलीले भनेका छन्, ‘१० वर्षअघि बालबालिका स्कुल आउँदा जति उनीहरुको हातमा शक्ति हुन्थ्यो त्यो अहिले गुमिसकेको छ ।

उनीहरुलाई स्कुलमा कलम दिँदा राम्ररी समाउन पनि सक्दैनन् । उनीहरुको हातले गर्ने अन्य क्रियाकलाप पनि कमजोर हुँदै गइरहेका छन् ।’

पछिल्लो समय मोबाइल र प्याडहरुको अत्यधिक प्रयोगका कारण बालबालिकाको हातको मांसपेशी पनि कमजोर हुँदै गइरहेको सेली बताउँछन् । यसो हुनुमा उनीहरुको खेलका क्रियाकलाप पनि रहेको सेलीको अनुभव छ । ‘पहिलेका बालबालिका खेलौनासँग खेल्थे । आफैँ ब्लकहरु बनाएर घर बनाउने खेल खेल्दा उनीहरुको केही कुरा समाउने शक्ति पनि बलियो थियो,’ सेली थप्छन् ।

पछिल्लो समय बालबालिका हस्तलेखनमा समेत कमजोर हुँदै गइरहँदा सिकाइमा समस्यासमेत आएको उनी बताउँछन् । तर फेमेली किड्स एन्ड युथ रिसर्च एजेन्सीकी बाल मनोविज्ञ बार्बी क्लार्कका अनुसार उनीले नर्सरीमा पढ्ने बालबालिकामा यस्तो समस्या देखिएका कारण नयाँ प्रविधिका साथै पेन र पेन्सिललको प्रयोग गर्न बालबालिकालाई उत्साहित गरिएको बताएकी छन् ।
 

Leave A Comment