श्रीदेवीकाे निधन : त्यो रात के भएको थियो !

शनिबार, २६ फागुन २०७४, ०३ : १० शुक्रवार
श्रीदेवीकाे निधन : त्यो रात के भएको थियो  !

गएको २४ फेब्रुअरी प्रख्यात बलिउड अभिनेत्री श्रीदेवीको निधन भयो, त्यो पनि बाथटबमा डुबेर ! उनको मृत्यु स्वाभाविक थियो कि अस्वाभाविक ? यसबारे निकै चर्चा परिचर्चा भएपछि श्रीदेवीका पति बोनी कपुरले हालै आफ्नो मनको बह एक जना मन मिल्ने साथी तथा पत्रकार कोमल नहाटासँग पोखेका छन् ।
भान्जाको बिहेमा २० फेब्रुअरीमा दुबई पुगेका श्रीदेवी, पति बोनी तथा छोरी खुसी फर्किए पनि श्रीदेवी केही दिन रमाइलो गर्ने भनी त्यहीँ होटलमा बास बसेकी थिइन् ।

‘जिन्दगीमा दुई पटक मात्र विदेश यात्राका क्रममा हामी एक्लै भएका थियौँ र यो तेस्रो थियो,’ नहाटासँग बोनीले भनेको भनी प्रकाशित समाचारमा लेखिएको छ, ‘पहिला दुई यात्रामा म ऊसँग नभए पनि मैले मेरो एक जना साथीकी पत्नीलाई साथै लगाएको थिएँ । त्यसबेला उनको अमेरिकामा एउटा कार्यक्रममा जानु थियो र अर्को क्यानडामा ।’

यस पटक भने उनी दुबईमा एक्लै थिइन् । बोनी विशेष कामले लखनउ जानुपर्ने भएकाले चाँडै फर्किए । छोरी खुसी पनि फर्किसकेकी थिइन् । दुई दिनका बीचमा छोरी जान्ह्वीका लागि किनमेल गर्ने भन्दै एक्लै बसेकी थिइन् तर जान्ह्वीका लागि गर्नुपर्ने किनमेलका वस्तु पनि मोबाइलमा टिपिएको र मोबाइल होटलमै छुटेपछि उनी किनमेल नगरी होटल फर्किएकी थिइन् ।

त्यसपछि एक्लै भएकी श्रीदेवीले होटलमै रमाइलो गरी बिताएकी थिइन् । २४ फरवरीका दिन भने उनले बिहान श्रीलाई फोन गरी सञ्चोबिसञ्चो सोधेका थिए । श्रीले पनि ‘बोनीलाई मिस गरिरहेको’ भन्दै बताएकी थिइन् । 

बोनीले सम्झँदै भनेका छन्, ‘कहिलेकाहीँ म जान (श्रीदेवी)लाई आश्चर्यमा पार्थें । जस्तो कि २४ वर्षअघि पनि ‘मि. बेचारा’ फिल्मको सुटिङताका राति अबेर उनीसित कुरा गरेको थिएँ र बिहानै मुम्बईबाट चेन्नई उनी बसेको होटलमा पुगेर सरप्राइज दिँदा उनी चकित परेकी थिइन् । त्यस्तै सरप्राइज दिन म २४ फेब्रुअरीको दिन गएको थिएँ ।’

उनकी छोरी जान्ह्वी बुबा चाँडो दुबई जाऊन्, नत्र पासपोर्ट लगायतका जरुरी चिज आमाले हराउलिन् र तनाव थपिएला भन्ने चिन्ता गरिरहेकी थिइन् । यसबारेमा बाबुछोरीबीच कुराकानी पनि भएको थियो ।  

बोनीलाई होटलमै पाउँदा श्रीदेवी खुसी भइन् । दुवैले एकअर्कालाई अँगालो हाले, किस गरे र आधा घण्टा यताउतिका गफ गरेर बिताए । श्रीदेवीको अनुहारको खुसी देखेर बोनीलाई भएको रमरमी धेरैबेर टिकिरहन सकेन । होटल आइपुगेपछि कतै खाना खाने जाने तयारीमा श्रीदेवी बाथरुम छिरिन् भने बोनी टिभीमा मग्न भए । यति बेला नै बाथटबमा श्रीदेवीको देहान्त भएको बोनीको भनाइ थियो । 

लामो समयसम्म पनि श्रीदेवी बाथरुमबाट निस्किनन् । बोनी टिभी हेरेर दिक्क हुन थालिसकेका थिए । पछि बोनीले श्रीदेवीलाई बोलाउँदै बाथरुममा छिरे, जहाँ श्री बाथटबमा डुबेको उनले देखे । त्यसपछि उनले हतारहतार सुरक्षाकर्मी बोलाई अस्पताल पु¥याएका थिए । अस्पतालले उनको निधन भइसकेको जनाएको थियो ।

राति रोमान्टिक डिनरमा जाने कार्यक्रम थियो । यसका लागि श्रीदेवीलाई बोनीले सपिङको कार्यक्रम रद्द गर्न आग्रह गरेका थिए । यसका लागि उनीहरु भोलिपल्ट रातिको फ्लाइटमा भारत फर्कने योजना बुनेका थिए । यसो हुँदा दिनभरि उनीहरु सपिङ गर्न सक्थे ।

यसै योजनाअनुसार उनी नुहाइधुवाई गरी रोमान्टिक डिनरका लागि तयार हुन बाथरुम छिरेकी थिइन् । यसबीचमा बोनीले दक्षिण अफ्रिका र भारतबीचको क्रिकेट म्याच हेर्ने तयारी थाले तर त्यो च्यानल नपाइएपछि पाकिस्तान सुपर लिगको एउटा म्याचको हाइलाइट हेर्न थाले । उनले १५–२० मिनेटको हाइलाइट हेरेपछि उनी बाथरुमबाट श्री कुन बेला फर्किएलिन् भनेर कुर्न थाले । शनिबारको दिन भएकाले यस दिन सबै रेस्टुराँ व्यस्त हुने र बस्ने ठाउँ नपाइएला भन्ने उनलाई चिन्ता हुन थाल्यो । 

यतिञ्जेल साँझको आठ बजिसकेको थियो । उनले ‘जान’ भनी श्रीलाई बोलाउन थाले । टिभीको आवाजले श्रीले नसुनेकी पो होलिन् कि भनेर टिभीको सानो आवाज पारे र फेरि पत्नीलाई बोलाए । भित्र पानीको ट्याप खुल्लै थियो । उनले ठूलो स्वरमा पुनः आवाज दिए तर कुनै प्रतिक्रिया नआएपछि ढोका ढक्ढक्याए । ढोका खुल्लै थियो । ढोका धकेल्नेबित्तिकै खुल्यो र अगाडि जे दृश्य उनले देखे, त्यसले उनी अत्तालिए ।

बाथटबममा श्रीदेवी पूरै डुबेकी थिइन् । उनी नजिकै गए तर शरीरमा हलचल देखिएन ।
नहाटाले लेखेका छन्, ‘जे भइसकेको थियो, त्यसका लागि न त बोनी तयार थिए न अरु कोही पत्याउन नै तयार छन् । उनी सुरुमा डुबिन्, त्यसपछि बेहोस भइन् या लडेपछि उनी बेहोस भइन् । बाथटबबाट अलिकति पनि पानी बाहिर छचल्किएको थिएन । श्रीदेवीका लागि सायद एक मिनेटका लागि पनि संघर्ष गर्ने समय नहुँदो हो । संघर्ष भएको भए त पानी टबबाट बाहिर छचल्किने सम्भावना हुन्थ्यो । फ्लोरमा कुनै पनि किसिमको पानीको छिटा देखिएन ।’
 

Leave A Comment