स्क्वाट सुन्दरीको सङ्घर्ष

शुक्रबार, ०२ चैत २०७४, ०२ : ०२ सञ्जय थापा
स्क्वाट सुन्दरीको सङ्घर्ष

जागिर, व्यापार, मनोरञ्जन मात्र होइन, खेलक्षेत्रमा पनि महिलाहरूको सहभागिता उल्लेख्य बढिरहेको छ । हरेक खेलमा महिला–पुरुषको उत्तिकै सहभागिता हुन थालेको छ । भारोत्तोलन स्क्वायटजस्तो बल प्रयोग हुने खेलमा समेत महिलाको उपस्थिति लोभलाग्दो तरिकाले बढ्दैछ ।

काँधमा भार राखेर उठबस गर्ने प्रतिस्पर्धा स्क्वाट हो । यस खेल (व्यायाम) ले सम्पूर्ण शरीरलाई चालयमान बनाउँछ । अझै विशेषगरी कम्मरदेखि तलको भागमा बढी भार पर्छ । भारोत्तोलनजस्तै बल प्रयोग गरी भार उठाउने अन्य खेल स्क्वाट, डेडलिफ्ट र क्लिन्स हुन् । 

आधिकारिक रूपमा यसले खेलले मान्यता पाएको छैन । मान्यता नपाए पनि तीन वर्षदेखि अन्तरक्लब महिला स्क्वाटको प्रतिस्पर्धात्मक प्रतियोगिता भइरहेको छ । यसको सुरुवात ज्यास्मिन फिटनेस सेन्टरका निरोज लामाले गरेका थिए । 

महिला सशक्तीकरणमा सहयोग पुर्याउन सुरु गरिएको यस प्रतियोगिताको तेस्रो संस्करण हालै (अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा) आयोजना भएको थियो । ‘पछिल्लो समय यो खेलको लोकप्रियता बढ्दो छ,’ निरोज लामाले भने, ‘राजधानीमा मात्र केन्द्रित भनिएको यस खेलमा यस पटक राजधानी बाहिरका तीन क्लब सहभागी भए ।’

उपत्यका बाहिरका प्रतिस्पर्धीको प्रदर्शनसमेत उल्लेख्य रह्यो । ६० केजीमुनि तौल विधामा पोखरा रानीपौवा स्पोट्र्स क्लबकी ज्योति थापा र ६० केजीमाथि धरान एनिटाइम स्पोर्टस क्लबकी अन्जना राईले तेस्रो स्थान पाएका थिए । 

प्रतियोगितामा राजधानीका ७ र राजधानी बाहिरका ३ गरी १० क्लब सहभागी थिए । प्रतियोगिताको पहिलो चरणमा खेलाडीहरूले निर्णायकले दिएको तौल उठाएका थिए भने फाइनल चरणमा प्रतियोगीले चाहेको तौल उठाएका थिए । 

दुई विधा (६० केजीमाथि र ६० केजीमुनी)का विजेता, दोस्रो र तेस्रो हुने खेलाडीसँग गरिएको कुराकानी :

६० केजी माथि

१ सेलिना हाडा
सेप्स् टु फिटनेस

‘सुरुआती दिनमा परिवारका सदस्यले बढी बल लाग्ने खालको घरायसी काम दाइ वा भाइलाई मात्र लगाउँथे,’ सेलिना भन्छिन्, ‘अहिले भने बुबाआमाले यस्तो काममा आफूलाई समेत अह्राउन थाल्नु भएको छ । यस्तो देख्दा मलाई खुसी लाग्छ ।’
अन्तिम समयमा प्रतियोगितामा सहभागिता जनाउने निर्णय लिएकी सेलिनाले पहिलो सहभागितामा १ सय ४० केजी उठाउँदै ६० केजीमाथि तौल समूहतर्फको उपाधि जितेकी थिइन् ।
‘मलाई परिवारले यो खेलमा लाग्दा यसले स्वास्थ्यमा असर गर्ने भन्दै घरमै बस्न आग्रह गरेका थिए,’ सेलिनाले भनिन्, ‘तर मैले गत वर्ष जावलाखेलमा पम्प फेस्टमा उपाधि जितेपछि परिवार सकारात्मक बन्यो ।’
उनले प्रतियोगिताका लागि ४ साताको अभ्यास गरेका बताइन् । पहिलो राउण्डमा १ सय ३० केजी तौल उडाएकी सेलिनाले दोस्रो राउन्डमा १ सय ४० केजी तौल उठाइन् । 
तर अन्तिम पटक १ सय ४५ केजी रोजेकी सेलिना यस पटक भने असफल भइन् तर उनकी प्रतिस्पर्धी उमा महर्जनले तेस्रो राउन्डमा १ सय ४३ केजीको बोली लगाए पनि त्यसमा असफल भएपछि उनी दोस्रो राउण्डमा उठाएको १ सय ४० केजीले विजेता घोषित भइन् ।
उनले यस पटकको प्रतियोगिताको आफूले सोचेको भन्दा कठिन भएको बताइन् ।

२. उमा महर्जन 
रिभरफिल्ड फिटनेस खुसिबुँ

स्क्वाट खेल पावर लिफ्टिङसँग जोडिएकाले यसलाई सौन्दर्यसँग मात्र जोडेर हेर्न नहुने उमाको धारणा छ । उमाले साचेभन्दा बढी प्रतिस्पर्धा भएकाले दोस्रो स्थानमा चित्त बुझाउन परेको बताइन्  ।
गत वर्ष उनी यही विधामा १ सय २० केजी तौल उठाउँदै तेस्रो भएकी थिइन् । यस वर्ष उनले पहिलो राउन्डमा १ सय १५ तौल केजी र दोस्रो राउन्डमा १ सय २५ केजी उठाइन् । जसमा उनी दुवै पटक सफल भइन् । तेस्रो प्रयासमा उनले १ सय ४३ केजीमा बोली लगाए पनि उनी असफल भइन् ।
‘स्क्वाटभन्दा लन टेसिन र बिच भलिबल अलि ग्ल्यामरस खेल हो,’ उमाले भनिन्, ‘तर त्यस खेलमा खेलाडीले फिगर मेन्टेन गर्नुपर्छ । तर स्क्वाट विरुद्ध तौलको आधारमा खेलिने खेल हो । यसमा महिला खेलाडीको फिगर भन्दा पनि उसको तौल कति छ र उसले कति तौल उठाउन सक्छ भन्ने पक्षले महŒव राख्छ ।’
३. अञ्जना राई 
एनि टाइम फिटनेस धरान

पूर्वबाट पहिलो पटक यस प्रतियोगतामा सहभागिता जनाएकी अञ्जना राईले पहिलो सहभागीतामै तेस्रो भएकी छन् । 
‘मलाई सुरुआती दिनमा आमाले जिम नजाऊ, छोरी मान्छेलाई त्यस्तो सुहाउँदैन भन्नु हुन्थ्यो,’ अञ्जनाले भनिन्, ‘फिटनेसको रुपमा यो खेल सुरु गरे पनि प्रतियोगितामा भाग लिएको कुरा दिदी र मामालाई मात्र भनेकी थिएँ ।’
डेढ महिनाको तयारीपछि प्रतियोगितामा सहभागी अञ्जनाले पहिलो चरणमा १ सय केजी तौल उठाइन् । दोस्रो चरणमा १ सय २३ केजी उठाउने प्रयास भने सफल भएन तर तेस्रो चरणमा १ सय २३ तौल केजी उठाउँदै उनले तेस्रो स्थान पक्का गरिन् ।

६० केजीमुनि
१ नेहा बानुः
विजेता 
जिमखाना एन्ड मुवाथाई क्लब

नेहा फिटनेस इन्स्ट्रक्टरका साथै फ्रिलान्सर मोडेलसमेत हुन् । बिहीबार सम्पन्न ६० केजीमुनि तौल समूहतर्फ विजेता बनेकी नेहाले पहिलो राउन्डमा १ सय १० केजी, दोस्रोमा राउन्डमा १ सय २० तथा अन्तिम राउन्डमा १ सय २२.५ केजी उठाइन् ।
नेहा स्क्वाटलाई पावर लिफ्टिङको रुपमा लिन्छिन् । साताको ४ दिन स्क्वाटका लागि छुट्याएकी उनले स्वास्थका लागि समेत यो खेल आवश्यक भएको बताइन् । 
‘पहिला जिममा पुरुष मात्र जाने र जिम जाने महिलाको शरीर पनि पुरुष जस्तै देखिन्छ भन्ने धारणाा थियो,’ स्क्वाट खेलको सुरुआती दिनहरुमा परिवारले दिएको प्रतिक्रिया सम्झदै नेहाले भनिन्, ‘तर त्यो धारणामा परिवर्तन आउँदैछ ।’ 

 

 

२. अरुणा बस्नेत  (दोस्रो), रेज फिटनेस
विवाहित महिलालाई खेलमा लाग्नु पारिवारिक र सामाजिक कारणले समेत कठिन छ तर अरुणा बस्नेत यसमा अछुतो छिन् । श्रीमान् र सासु–सुसुराको सहयोगका कारण उनी यस खेलमा सक्रिय छिन् । 
साताको चार दिन स्क्वाट र किक बक्सिङका लागि छुट्याएकी अरुणा स्क्वाटलाई खेलकुदकै रुपमा लिन्छिन् । उनी पेसाले ब्युटिसियन हुन् । स्क्वाट खेलमा लागेको १ वर्षमै प्रतियोगिताको पहिलो सहभागितामै ६० केजीमुनि तौल समूहमा विजेता बनेकी उनले यसले आत्मविश्वास बढाएको बताइन् ।
‘सधैँ पुरुष मात्र पनि समाजको रोल मोडल हुँदैनन्,’ अरुणाले भनिन्, ‘म आफूलाई कमजोर ठानेर बसेका महिला साथीहरुलाई हामीलाई रोल मोडलको रुपमा लिँदै थप आत्मविश्वासी बन्न आग्रह गर्छु ।’

 

 

 

३.ज्योति थापा 

रानीपौवा स्पोटर्स क्बल, पोखरा

गत वर्ष पहिलो सहभागितामा बेस्ट पोस्चरको उपाधि जित्दै स्क्वाट प्रतियोगितामा सुखद् ‘डेब्यु’ गर्न सफल रानिपौवा स्पोट्र्स क्लब पोखराकी ज्योति थापाले दोस्रो सहभागितालाई समेत सुखद् बनाइन् । उनी ६० केजीमुनि तौल समूहमा तेस्रो बनिन् ।
पहिलो राउण्डमा ९० केजी तौल र दोस्रो राउण्डमा १०० केजी तौल उठाएकी ज्योति सातामा पाँच दिन (दैनिक एक घण्टा) स्क्वाट खेलका लागि छुट्याएकी छन् ।
महिला सौन्दर्यसँग जोडिएको स्क्वाटलाई ज्योतिले भने खेलकुद भन्दा पनि फिटनेसको रुपमा लिएको बताइन् ।
‘अन्य खेलमा लाग्दा पनि स्वस्थ हुन आवश्यक छ,’ उनले भनिन्, ‘यो एक व्यायम हो । यसमा लाग्दैमा प्रतियोगितामा सहभागी हुनैपर्छ भन्ने छैन ।’
ज्योतिले यस खेलमा लाग्न आफूले घरपरिवारबाट राम्रो सहयोग पाएको बताइन् । यस खेलमा धेरै तौल उठाउनुपर्ने र त्यसले घुँडा तथा ढाडको समस्या देखिने भएकाले खेल दौरान सावधानी अपनाउन उनले सुझाव दिइन् । 

Leave A Comment