काठमाडौं जिल्ला अदालत : बाहिर स्मार्ट, भित्र खोक्रो

बुधबार, ०७ चैत २०७४, ०५ : १४ पुष्पा थपलिया
काठमाडौं जिल्ला अदालत : बाहिर स्मार्ट, भित्र खोक्रो

बबरमहल सडक किनारमा सानसँग ठडिएको छ, काठमाडौं जिल्ला अदालत । टाढैबाट देखिन्छ यसको आधुनिक स्वरुप । बाहिरी आवरण हेर्दा अन्य सरकारी कार्यलय भन्दा भिन्न छ यो । सुन्दर र आकर्षक भवन  तर भवन जति भव्य भए पनि सेवाको गुणस्तर भने उही थोत्रो !

भिडमभिड, कोलाहल र अस्तव्यस्त छ अदालत । सहयोगीबिना काम गराउन हम्मेहम्मे हुन्छ यहाँ । सानो कामका लागि समेत बिचौलियाको सहयोग नभई नहुने । कर्मचारीलाई केही सोधे थाहा छैन भनेर झर्किने मात्र ।

अदालत पुगेलगत्तै सुरु हुन्छ सेवाग्रहीको समस्या । पार्किङको राम्रो व्यवस्था नहुँदा पैदलमार्ग नै पार्किङ बनेको छ । पैदलमार्गमा पार्किङ गर्न र गराउन नपाउने कानुनको उल्लंघन अदालतले नै गरेको देखियो ।
मुख्य गेटमा सधैँ बाक्लो चहलपहल हुन्छ । अदालतको सुरक्षामा निक्कै चनाखो देखिन्छन्, सुरक्षाकर्मी । कार्यालय परिसर पुग्ने हरेकको ब्याग खोतलखातल पारिन्छन् । गेटभित्र पस्दा इलोक्ट्रोनिक गेटसमेत पार गर्नुपर्छ ।

भवनको तल्लो तलामै नागरिक बडापत्र टाँसिएको छ । वडापत्रमा फर्म भर्दा लाग्ने खर्च, आवश्यक कागजात लगायतकाबारे उल्लेख छ । भवन परिसरबाट भवनभित्र प्रवेश गरेलगत्तै सोधपुछ शाखा छ । 
सोधपुछ शाखाको काम अलमलमा परेका सेवाग्रहीलाई जानकारी दिने नै हो तर अदालतमा रहेको यो शाखामा खटिएका कर्मचारी नै अलमलमा पर्ने रहेछन् । कार्यालयको कुन काम कति तला र कति नम्बरको कोठामा हुन्छ कर्मचारीले नै भन्न सक्दैनन् । 

शुक्रबारकर्मीले काठमाडौं जिल्ला अदालतको अवलोकनका क्रममा केही कर्मचारीसँग कुरा गरेको थियो । सोधपुछ शाखाकी महिला कर्मचारीसँग ३६ नम्बर कोठा कता पर्छ भन्ने प्रश्न गर्दा झर्केर ‘कोठा देखाउँदै हिँड्ने काम मेरो हैन’ भनिन् ।

‘यहाँ मेरा अरु पनि काम छन्, कोठा कता पर्छ भनेर अरुलाई नै सोध्नुस्, मेरा धेरै काम छन्,’ उनले झर्किदै भनिन् । उनी व्यस्त रहेको काम के हो भनेर जिज्ञासा राख्दा उनले त्यसबारे भन्न सकिनन् । ३६ नम्बरको कोठा खोज्ने बहानामा अन्य कोठा चहार्दा सबैले कारण मात्रै खोजे । 

‘केका लागि आउनुभएको हो ? रिपोर्ट लेखाउनुभयो ? वकिल राख्नुभयो ? के विषय हो भनिहाल्नुस् ? हामी सहयोग गर्छौं ? नत्र फेरि तपाईंलाई पुलिसले जेल हाल्न पनि सक्छ, मैले चिनेको वकिलले छिट्टै मुद्दा मिलाइदिन्छ ,’ यस्तै यस्तै सुनियो अदालतमा ।

कता जाउँ, कता नजाउँ भएर बीचमा अल्मिलिरहेको शुक्रबारकर्मीलाई एक प्रौढले बेस्सरी कोट्याए र शान्त ठाउँमा जान आग्रह गरे । अलिक मानिसको हुलमुल कम हुने ठाउँमा पुग्नासाथै उनले नजिकका आफन्तको भन्दा मिठो बोलीमा भने, ‘हजुरलाई केही समस्या परेजस्तो छ, मलाई भन्नुस् जस्तो समस्या पनि समाधान गरिदिन सक्छु । मैले यहाँका ठूला मानिसलाई चिनेकै छु ।  त्यसबापत केही चाहिँदैन, हल्का चियाखाजा खर्च भए हुन्छ ।’ 

उनीसँग कुरा गर्दागर्दै अर्की एक कालो कोट लगाएकी महिला हस्याङफस्याङ गर्दै आइन् र एउटा कागज देखाउँदै भनिन्, ‘बहिनीले रिपोर्ट लेखाउनुभयो त ? छैन भने पनि चिन्ता नलिनुस् म सहयोग गरिहाल्छु नि !’ उनीहरुबाट फुत्किन हम्मे नै पर्याे ।

बाहिरबाट हेर्दा अदालत सुविधासम्पन्न छ तर बिचौलियाको बिगबिगीले काम गर्न निकै मुस्किल । 
अधिवक्ता राजेन्द्र शर्माले कानुनी भाषा सबैलाई नआउने हुँदा अरुको सहयोग लिनुपर्ने हुँदा त्यसैलाई माध्यम बनाउनेहरुका कारण अदालतमा भिडभाड बढी हुने गरेको बताए । 

उनका अनुसार अधिवक्ताहरुलाई पनि एजेन्ट चाहिन्छ काम गर्न । कुन समयका कसको पेसी पर्छ थाहै हुँदैन । सधैं पेसी पर्याे, परेन हेर्न आउन सम्भव नहुँदा अदालतकै श्रेस्तेदार, कार्यालय सहयोगीले एजेन्टको काम गर्छन् । 

अदालतबाट निस्किनै लाग्दा मलिन अनुहामा यताउता गरिरहेका रामेछापका रामबहादुर तामाङ भेटिए । उनले सोधे ‘कोठा नम्बर एक सय सात कता हो ?’ 

शुक्रबारकर्मी बल्लबल्ल उम्किएका उनै प्रौढ उमेरका पुरुष आइपुगे उनलाई सघाउन । ‘म सहयोग गर्थें तर चिया खाजाको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने । 

तामाङलाई बाटो काट्न सहयोग गर्ने उद्देश्यले शुक्रबारकर्मी सँगै गयो । वन कार्यालय अन्तर्गतको रेड विभागलाई देब्रे पारेर सानो बाटोबाट छिरेपछि विशेष अदालत आउँछ । 

काठमाडौं जिल्ला अदालतका करिब ४० प्रतिशत काम विशेष अदालतमा हुन्छन् । तुलनात्मक हिसाबमा मुख्य कार्यालयको तुलनामा यो कार्यालय निकै पुरानो र फोहोर छ । 

भित्र सबै कर्मचारीको कोठाअगाडि खाजा टाइम १ देखि २ बजेसम्म लेखिएको थियो । करिब १ः५० बजेतिर त्यहाँ पुग्दा सबै कर्मचारी खाजाका लागि गएका रहेछन् । 

बाहिर कर्मचारी कुरेर बसिरहेकी युवती कल्पना सिटौलाले भनिन्, ‘यहाँका कर्मचारी र वकिलहरु मुद्दा मामिलामा टाइम धेरै लगाइदिए पनि खाजा टाइममा भने निकै पङ्चुअल रहेछन् ।’ उनले अझै थपिन्, ‘म यहाँ एक बज्न पाँच मिनेट अगाडि नै आइपुगेकी थिएँ तर खाजा टाइम हुन लागेको भनेर सानो सिग्नेचरको काम पनि रोकिदिए । अहिलेसम्म कुरिरहेको छु ।’ 
 

Leave A Comment