'कहिलेकाँही सुक्को टिप्स आउन्न'

बुधबार, ०७ चैत २०७४, ०५ : ४३ भोला अधिकारी
'कहिलेकाँही सुक्को टिप्स आउन्न'


डान्सर  श्याम  कोइराला 

डान्सबारमा नाच्न थालेको कति भयो ?
४-५ वर्ष जति भयो ।
कहिलेदेखिको रुचि हो ?
डान्स गर्ने सानैदेखिको रुचि हो । 
नाच्न डान्सबार किन छानेको ?

डान्सबारमा नाच्नु रहर होइन । घर परिवार हेर्नु पर्छ । एउटी छोरी छ, उसलाई पढाउनु प¥यो । दिउँसो घर पेन्टिङ गर्न जान्छु । त्यताबाट नि अलिअलि पैसा आउँछ । बेलुका ६ बजेपछि डान्सबारमा काम गर्छु । 

डान्सबारमा नाच्नेको त तलब राम्रै होला नि । घर पेन्टिङ किन ? 
कहाँ धेरै हुनु हो । महिनाको ६ हजार जति आउँछ । उही टिप्स आउँछ भनेर मात्रै नाच्ने हो । 

टिप्स कति जति हुन्छ त ? 
यतिउति भन्ने हुँदैन । राम्रो नाचेर गेष्ट खुसी पार्न सक्यो भने एक–दुई हजार हुन्छ । केटाहरुको भन्दा बढी त केटीहरुको टिप्स हुन्छ । हामीलाई भन्दा उनीहरुलाई गेष्टले अलिक बढी फोकस गर्छन् । हाम्रो त कहिलेकाहीँ सुक्को हुँदैन । यस्तै त हो । आकाशे फल न पर्याे ।  

कति बजेसम्म नाचिन्छ ? 
रातिको १२, १ बजेसम्म । कुनै कुनै दिन गेष्ट थपिएमा ३ पनि बज्न सक्छ । ठेगान हँुदैन ।

दिनभरि पेन्टिङ गरेर रातभरि नाच्दा बढी नै थाकिन्न र ?
थाकिन्छ । काठमाडौंमा सबै कुरा महँगो छ । खानलगाउन परिहाल्यो ।  घरभाडा तिर्नै प¥यो । घरमा खर्च पठाउनै पर्याे  गाह्रो छ, काठमाडौंमा टिक्न । 

कस्ता खालका गीतमा बढी नाचिन्छ ?
सबै प्रकारको गीतमा नाच्छु । गेष्टको रोजाइमा जुन हुन्छ त्यही बढी हुन्छ । मलाई बढी कमेडी गीतमा नाच्न अफर आउँछ । 

कुन–कुन डान्सबारमा नाच्नुभयो ? 
यही क्यास्टल नै हो । अरूतिर खासै गइएको छैन । मलेसियाको एउटा डान्सबारमा २ वर्ष नाचेर आएँ । त्यहाँ नेपाली, भियतनामी डान्सरहरु थिए । 

त्यहाँ कस्ता गेष्टहरु आउँथे ?
बढी भारतीय र नेपाली नै हुन् । शुक्रबार छुट्टी हुने भएकाले नेपालीहरु आउँछन् । तर उनीहरुलाई हामी सामुन्ने भेट हुन दिइँदैनथ्यो । 

पैसा त धेरै कमाइयो होला नि मलेसियामा ?
के कमाउनु । ३,४ लाख जति कमाइ होला । विदेशमा नाच्न जाने केटीहरुले केटाले भन्दा बढी पैसा कमाउँछन् । उनीहरुको टिप्स नै बढी हुन्छ । हामीलाई खासै दिँदैनथे । 

ग्लामर केटीहरुसँग नाच्दाको अनुभव भन्नुस् न । अलिक अफ्ठ्यारो लाग्दैन ?
सुरु–सुरुमा त हुन्थ्यो । तर बिस्तारै बानी पर्दै गयो, पहिला त किन यस्तो लुगा लगाएको होला भन्ने लाग्थ्यो ।

डान्सबारमा डान्सर केटाले केटीलाई यौन शोषण गर्छन् भन्ने सुनिन्छ नि ? 
डान्सबारमा यौन शोषण हुन्छ भन्ने छैन । कला देखाएर गेष्टलाई सन्तुष्टि दिने हो । केटीहरु अनुसार पनि हुन्छ । जोसँग मन लाग्यो उहीसँग टाँसिएर हिँड्यो भने त भन्न सकिँदैन । बेलुका ६ बजेपछि भित्रै बस्नुपर्ने हुन्छ, बाहिर निस्कन पाइँदैन । सेक्सको कुरामा पैसावाल देखे भने जानेहरु जालान् । त्यस्तो हामीलाई थाहा हुँदैन । कार्यक्रम सकिएपछि गाडीले घरघर पु¥याइदिने गरेको छ । बाहिर को कहाँ जान्छ भन्ने हामीलाई थाहा हुँदैन । 

नेता अभिनेताहरु पनि आउँछन् भन्ने सुनिन्छ । हो ?
आउँछन् । चलेका नेताहरु पनि आएका छन् । नेपालका चर्चित कलाकारहरु आएर नाचेर जाने गरेका छन् । डान्सबार हो रमाइलो गर्न जो पनि आउँछन् । 

चलेका कलाकार र नेता को–को आउँछन् ?
भन्न मिल्दैन । सार्वजनिक गर्याे भने मलाई गाली गरिहाल्छन् नि । 

खुब झगडा हुन्छ रे हो ?
कहिलेकाहीँ हो । तर भयङकर झगडा भएको छैन । झगडा भयो भने बाउन्सले मिलाउँछन् । पुलिस बोलाइन्छ । 

प्रायः झगडाको निहुँ के हुन्छ ?
उनीहरुले ल्याएको केटीको निहुँ, अर्कोले नाच्दा छोइदियो भने झगडा हुन्छ । कहिलेकाहीँ पुरानो रिसको कारण पनि हुन्छ । यसै कारण मात्र भन्ने हुन्न ।

डान्सबारमा नाच्ने परिवारलाई थाहा छ ?
गाउँमा पनि विभिन्न कार्यक्रममा नाच्ने गर्थेँ । काठमाडाै‌ आएपछि काम पाइन रुमनजिकैको चिया पसलमा चिया खान आउने एकजना दिदीले डान्सबारमा नाच्ने केटा चाहिएको छ भन्नुभयो । मैले काम नपाएको झाँेकमा डान्सबारमा काम गर्ने मनसाय बनाएँ । अनि काम गर्न थालेँ । सुरु–सुरुमा गाह्रो भयो । नाच्न थालेको एक वर्षसम्म त कसैलाई भनिन । कसैले सोध्यो भने नाइट अफिसमा जागिर खान्छु भन्थेँ । पछि–पछि दाइहरुले थाहा पाउनु भयो । 

केही भन्नु भएन ?
नराम्रो सोच्नुभयो होला । डान्स भनेको यस्तो हो उस्तो हो भनेर उहाँहरुलाई मैले सम्झाएँ । कलाकार बन्ने ठाउँ हो भनेर सम्झाएँ । 
 

Leave A Comment