विवादमा रियालिटी सो

बिहिबार, ०८ चैत २०७४, ०२ : ३७ शुक्रवार
विवादमा रियालिटी सो

नेपाल आइडल पहिलो सेसनका बुद्ध लामाले विजेता घोषित पुरस्कारबापतको कार नपाएको खुलासा गरेको अडियोले नेपालमा सञ्चालित रियालिटी सोबारे आशंका बढाइरहेको बेला अर्को रियालिटी सोका निर्माता ठगीमा जोडिए ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको लामाको अडियोमा उनले विजेता भएबापत घोषित पुरस्कार महिन्द्राको केयुभी हन्ड्रेड अझै नपाएको गुनासो गरेका थिए ।

नेपाल आइडलको सिजन टुको अडिसन सुरु भइसकेको बेला उनको सार्वजनिक भएको अडियोमा आफूले घोषित २० लाख पुरस्कार पाएको तर कार नपाएको दाबी गरेका थिए । 

‘गाडी लैजाने हो भने ट्याक्सबापतको ८ लाख लिएर आउनु भन्छन्,’ लामाको दाबी गरिएको अडियोमा छ ‘घरमा एक रुपैयाँ छैन । कहाँबाट ल्याउनु त्यत्रो पैसा ।’

त्यसको एक सातामै कार्यक्रमका विजेतालाई दिने पुरस्कार नै नदिएको र पैसा उठाएर ठगी गरेको आरोपमा ‘डान्स नेपाल डान्स’ का सञ्चालक विक्रम अछामी पक्राउ परे । 

सो रियालिटी सोको पहिलो र दोस्रो सिजनको विजेताले घोषित पुरस्कार रकम नपाएको र तेस्रो सिजन भन्दै पैसा उठाइरहेको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । 

प्रतियोगितामा पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख र दोस्रो सिजनमा पुरस्कारको रकम बढाएर साढे दुई लाख घोषणा भएको थियो । त्यस्तै दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कार दिने कार्यक्रम आयोजकले दाबी गरे पनि कसैले पैसा पाएनन् । 

रियालिटी सोको पहिलो सिजन २०६८ जेठ २७ र दोस्रो सिजन २०७३ साउन २६ बाट सुरु भएको थियो ।
विजेतालाई पुरस्कारबापतको पैसा दिनुको साटो अछामी बेपत्ता भएको र अर्को सिजनको तयारी गरेको जानकारी पाएपछि पुरानो कार्यक्रममा सहभागीले प्रहरी गुहारेका थिए । 

ठगीको उजुरीको आधारमा महाशाखाले कार्यक्रमको आयोजक रहेको भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालकसमेत रहेका अछामीलाई पक्राउ गरेर ठगीको अभियोग लगाएको छ । 

प्रहरीले कार्यक्रमको प्रयोजन, कार्यक्रममा सहभागिताबापतको शुल्क, एसएमएस भोटिङमार्फत ठगी गरेको अभियोग लगाएको छ । 

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार पक्राउ परेका अछामीले तेस्रो सिजनको अडिसनका लागि भन्दै काठमाडौंका विभिन्न विद्यालयमा फारम वितरण गरी रकम उठाएको खुलेको छ । 

कार्यक्रम सञ्चालकका लागि पार्टनरसिप गर्ने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएको प्रहरीको दाबी छ । धेरै एसएमएस ल्याइदिएर जिताइदिने भन्दै कार्यक्रमका प्रतियोगीसँग समेत पैसा लिएको प्रहरीको दाबी छ ।
प्रहरीले उनको साथबाट ‘डान्स नेपाल डान्स’ का विभिन्न प्रचार सामग्रीसमेत बरामद गरेको छ । उनी अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रारम्भमा १५ जनाको उजुरी परेकोमा उजुरीको संख्या बढिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए ।

 
 

Leave A Comment