प्रकाशकीय : शुक्रवारकाे सात वर्षकाे यात्रा

शुक्रबार, ३० चैत २०७४, ०२ : ४१ शुक्रवार
प्रकाशकीय : शुक्रवारकाे सात वर्षकाे यात्रा

हामी शुक्रवार प्रकाशनको सातौं वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेका छौं । सात वर्षको यात्रामा शुक्रबार नेपाली समाजमा स्थापित भएको छ । यो खुसी पाठकसमक्ष बाँड्न पाउँदा हामी हर्षित छौं । बितेका सात वर्षमा शुक्रवारले पस्किएका सामग्रीहरूबारे सबैभन्दा बढी जानकार यसका पाठक नै हुनुहुन्छ ।

शुक्रवारले प्रत्येक अंकमा पाठकलाई केन्द्रमा राखेर खोजपूर्ण सामग्री प्रकाशित गर्दै आएको छ । पाठकले शुक्रबारप्रति देखाउनु भएको रुचिले हामीलाई थप उत्साही बनाएको छ । यस उत्साहलाई ऊर्जामा परिवर्तन गर्दै समाजको ऐना बन्ने हाम्रो अभियान जारी छ ।

समाजको गति र लयलाई पच्छ्याउन शुक्रबार सफल भएको हाम्रो अनुभव छ । खोजमूलक, युवाकेन्द्रित, मनोरञ्जनात्मक, सामाजिक बेथिति, अपराध र सामाजिक ढोंगको पर्दा च्यात्न शुक्रबार सक्रिय छ । 

आउँदा वर्षमा पाठकको रुचिलाई प्राथमिकता दिएर स्तरीय सामग्रीको प्रकाशनलाई निरन्तरता दिने नै छौं । समाजका विकृति र विसंगतिविरुद्ध अक्षरमार्फत उजागर गर्ने हाम्रो क्रम जारी रहनेछ । यसमा पाठकहरुबाट आउने सुझाव हाम्रो मुख्य मार्गदर्शन हुनेछ । 

नेपाल रिपब्लिक मिडियाका प्रकाशनहरूमध्ये शुक्रवार साप्ताहिक संस्करण हो । यसका अन्य संस्करणमा  नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, नागरिक न्यूज डटकम, माई रिपब्लिका डटकम अनलाइन संस्करण पाठकबीच एक दशकदेखि परिचित छन् । 

गत वर्षदेखि नागरिक परिवार मासिक म्यागेजिनको प्रकाशन थालनी गरेका थियौं । छोटो समयमा नागरिक परिवारलाई पाठकले दिएको मायाप्रति हामी आभारी छौं । ब्रोडकास्ट मिडियाअन्तर्गत नागरिक रेडियो स्थापनाको छोटो समयमै श्रोताबीच आफ्नो बेग्लै परिचय बनाउन सफल भएको छ । हामी हाम्रा प्रकाशनहरु समयअनुसार परिमार्जित गर्न प्रयत्नशील छौं ।

शुक्रवारआठौं वर्ष प्रवेश गरेको सुखद् उपलक्ष्यमा म पत्रिका प्रकाशनमा निरन्तर खटिइरहने सम्पादकीय टोली, विज्ञापनदाता, वितरक, विक्रेता, लेखक, स्तम्भकारहरूलाई धन्यवाद दिँदै निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछु । 
शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७५ को शुभकामना । 
विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक, नेपाल रिपब्लिक मिडिया प्रा.लि.  

Leave A Comment