खेल–२०७४ : क्रिकेटमय वर्ष

शुक्रबार, ३० चैत २०७४, ०७ : ०६ शुक्रवार
खेल–२०७४ : क्रिकेटमय वर्ष

वर्ष २०७४ नेपाली खेलकुद क्रिकेटमय बन्यो । सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्र्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बनमा गरे पनि नेपालले जिम्बाबेमा सम्पन्न विश्वकप छनोट खेलको सातौँ स्थान हात पार्दै चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पायो । यसअघि नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेताको हैसियतमा नेपालले जिम्बाबे भ्रमण तय गरेको थियो । यस क्रममा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, आरिफ शेख, करण केसी र कप्तान पारस खड्काले नेपालको जिम्बाबेतर्फको टिकट पक्का गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

एक दिवसीय मान्यताः
सातौँ स्थानका लागि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीमाथि ६ विकेटको प्रभावशाली जित तथा अर्काे खेलमा नेदरल्यान्डस्ले हङकङ नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउने सपना पूरा गरेको थियो । 

‘विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानका लागि हुने प्ले अफमा नेदरल्यान्ड्ससँगको भेट पक्का भएपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेपाललाई बधाई,’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ट्विट गरेको थियो ।

 ‘वर्षाैंसम्मको कठिन परिश्रम, दृढता, त्याग र प्रतिबद्धतापछि अन्ततः एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइएको छ । यो अविश्वसनीय यात्रामा साथ दिने सबैलाई धन्यवाद र बधाई,’ नेपालका कप्तान पारसले ट्विट गरेका थिए ।

त्यस्तै युवा स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आइपिएल) अनुबन्धन पनि यो वर्ष चर्चाको शिखरमा रह्यो । आइपिएल खेल्ने पहिलो नेपाली बनेका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्धन गरेको थियो । त्यस्तै क्यारेबियन लिग (सिपिएल) मा पनि सन्दीप अनुबन्धन भए ।

फुकुवा भएन निलम्बनः
यो वर्ष पनि क्यानमाथिको निलम्बन भने हट्न सकेन । आइसिसी टोलीले नेपाल भ्रमण गरे पनि निलम्बनका बारेमा ठोस निर्णय हुन सकेन । आउँदो जुन महिनामा बस्ने आइसिसीको बैठकले क्यान निलम्बनका बारेमा औपचारिक निर्णय लिने बताइएको छ ।

इपिएल र डिपीएलको रौनक
नेपाली क्रिकेट जगतमै पहिलो पटक विदेशी खेलाडी अनुबन्धन गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) र धनगढी प्रिमियर लिग (डिपीएल) चर्चाको शिखरमा रहे ।

राष्ट्रिय खेल भलिबल
वर्ष २०७४ मा भलिबलले राष्ट्रिय खेलको मान्यता पायो । करिब तीन वर्षको मिहिनेत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यसअघि राष्ट्रिय खेल भनिदै आइएको डन्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

लामो समयको अध्ययन एवं विश्लेषणपछि युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको हो । २०७४ मा पनि विगतझैँ महिला भलिबलमा एपिएफ र न्यु डायमन्डको दबदबा कायम रह्यो । पुरुष भलिबलमा भने नेपाल आर्मीको दबाब कायम रह्यो ।

एन्फा चुनावको अन्यौल 
वर्ष २०७४ ले अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ नेतृत्व पाउने अनुमान गरिएको थियो तर पुसमा पहिलो पटक सरेको एन्फा निर्वाचन चैत १४ मा हुने भनिए पनि पाटन उच्च उदालतको अन्तरिम आदेशका कारण एन्फा निर्वाचन स्थगित हुन पुग्यो ।

चैत १० गते भक्तपुर जिल्ला फुटबल संघको अपिलका आधारमा न्यायाधीश राजकुमार बनको एकल इजलासले तत्कालका लागि निर्वाचन रोक्दै १५ दिनभित्र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । भक्तपुरसँगै मकवानपुर जिल्ला फुटबल संघले पनि आफूलाई सहभागी नगराई साधारणसभा गर्न लागेको भन्दै उजुरी दिएको थियो । 

भक्तपुरमा चुनाव भएको तथा मकवानपुरको चुनाव निर्वाचन निर्देशिकाअनुसार नभएको भन्दै एन्फाले दुई जिल्लालाई समावेश नगरी मतदाता सूची सार्वजनिक गरेको थियो । 

भक्तपुरमा स्थानीय क्लबहरूले आफूहरूलाई समावेश नगरी नेतृत्वले कोठे निर्वाचन गर्न खोजेको भन्दै मुद्दा दायर गरेपछि जिल्ला अदालतले सबैलाई समावेश गरेर मात्र चुनाव गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

जसका कारण पुस १७ मा हुने तय भएको भक्तपुर जिल्ला फुटबल संघको चुनाव अझै हुन सकेको छैन । पुस १७ को चुनावलाई संघ आफैंले माघ ५ का लागि सारेको थियो तर क्लबहरूको उजुरीका आधारमा जिल्ला अदालतले माघ ३ गते अन्तरिम आदेश जारी गरेपछि चुनाव प्रभावित भएको थियो ।

यसै गरी एन्फाका केन्द्रीय प्रतिनिधिको अनुपस्थितिमा भएको भन्दै मकवानपुरको निर्वाचनलाई एन्फाले मान्यता दिएको थिएन । माघ ४ मा निर्वाचनको मिति तय भएकोमा मकवानपुर जिल्ला फुटबल संघका तत्कालीन अध्यक्ष राजेन्द्र श्रेष्ठले सूचना टाँस गरी निर्वाचन हुन नसक्ने भनेर साधारणसभा रद्द गरेका थिए ।

केन्द्रीय प्रतिनिधि एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर फर्किएपछि निर्वाचन भएको भन्दै श्रेष्ठले टीका लामाको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको भन्दै एन्फाले मकवानपुरलाई मान्यता दिएको थिएन । 

नेपाली राष्ट्रिय टोलीले यो वर्ष कुनै उपलब्धि हासिल गर्न सकेन । नेपालले एएफसी एसिन कप क्वालिफायरमा अन्तिम स्थानमा बस्दै चित्त बुझायो ।

पूर्वाधारको बिजोग कायमैः
२०७२ वैशाख १२ को महाभूकम्पपछि  भत्किएको दशरथ रंगशालाको निर्माण कार्यले यो वर्ष पनि निरन्तरता पाउन सकेन । त्यस्तै मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले पनि यो वर्ष पूर्णता पाएन । माथिल्लो क्रिकेट मैदानको भने उद्घाटन भैसकेको छ । लामो समयदेखि जारी मुआब्जा विवाद समाधान नै मूलपानी क्रिकेट मैदानका बारे सन्तोष गर्नु पर्ने पक्ष बन्यो ।

मोफसलमा फुटबल तालिका अस्तव्यस्त
नेपालमा राष्ट्रिय लिग नभएको धेरै भैसक्यो । लिग नहुँदा फुटबलमा देखिएको शून्यता अन्त्यका लागि मोफसल बाहिर सम्पन्न प्रतियोगिता फलदायी भए पनि आयोजकले खेल तालिकामा ध्यान नदिँदा क्लब र खेलाडी मर्कामा परे ।

नेपाली  खेलाडी विदेशी लिगमा
मिडफिल्डर रोहित चन्द विगत केही वर्षदेखि इन्डोनेसियामा व्यावसायिक लिग खेल्दै आएका छन् । उनको उपलब्धिसँगै गोलकिपर किरण चेम्जोङ र स्ट्राइकर विमल घर्तीमगर पनि भारतको आई लिग क्लबमा आबद्ध भए । किरण मिनर्वा र विमल मोहन बंगालमा आबद्ध भए । किरणको टोली मिनर्वा आई लिग विजेता बन्दा विमलको टोलीले तेस्रो स्थानमा चित्त बुझायो ।

बास्केटबलमा नयाँ सुरुआत
२०७४ मा पुरुष बास्केटबलमा नयाँ सुरुआत भयो । नेपालमै पहिलो पटक होम एन्ड अवेका आधारमा डबल लिग बास्केटबल सञ्चालन भयो ।

काे हिट, काे फ्ल्प

हिट : सन्दीप लामिछाने
विश्व क्रिकेटमै क्रान्तिकारी परिवर्तन ल्याउन सफल इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली डेयरडेभिल्समा अनुबन्धित भए सन्दीप लामिछाने । २०१६ फेब्रुअरीमा बंगलादेशमा भएको यु–१९ क्रिकेट विश्वकपमा उनी नेपाली टोलीमा छानिए र समूह चरणमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएर खेल यात्राको प्रारम्भ गरेका थिए ।
उनी सो  विश्वकपमा ह्याट्रिक लिने एक्लो खेलाडी थिए । यु–१९ विश्वकपको इतिहासमा ह्याट्रिक विकेट लिने पाँचौं खेलाडीका रुपमा उनको नाम दर्ता भएको थियो ।
 
नेपाली टोली विश्वकप क्वार्टरफाइनल पुग्दा सन्दीपले ६ खेलमा १४ विकेट लिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी दोस्रो नम्बरमा थिए । 

त्यही वर्ष सेप्टेम्बरमा हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा उनले अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने मौका पाए । क्लार्कलाई पनि प्रभावित गर्न सफल भएपछि उनले अस्ट्रेलियामा माइकल क्लार्क क्रिकेट एकेडेमीमा अभ्यास तथा स्थानीय प्रतियोगितामा केही खेल खेल्ने मौका पाए । क्लार्ककै प्रायोजनमा सन्दीपले त्यो मौका पाएका थिए । 

संयोगवश अस्ट्रेलियाली टिममा क्लार्कपछिका कप्तान रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्ली डेयरडेभिल्सले उनलाई आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध ग¥यो ।

फ्लपः ज्ञानेन्द्र मल्ल
विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोट प्रतियोगितामा ज्ञानेन्द्र मल्ल जमेनन् । नेपाली टिमका आशा गरिएका मल्लले यी दुवै प्रतियोगिताको १२ खेलमा १ सय ४२ रन मात्र बनाए । नेपालले वन डेको मान्यता पाए पनि त्यसको जस ओपनिङ ब्याट्सम्यानसमेत रहेका मल्लको पोल्टामा पर्न सकेन । नेपाली टोली सुपर सिक्समा पुग्न नसक्नुको अपजश उनकै भागमा बढी प¥यो । सामाजिक सञ्जालमा मल्ल प्रशंसकको तारोमा परे । उनका लागि २०७४ त्यत्ति जमेन । 


 

Leave A Comment