०७४ का चार सम्भावना

आइतबार, ०२ बैशाख २०७५, ०३ : ३४ शुक्रवार
०७४ का चार सम्भावना

२०७४ मा धेरै क्षेत्रमा नयाँ अनुहार आए । कोही विचैमा हराए, कोही वर्षको अन्तिम समयसम्म मैदानमा टिके । ०७४ मा सम्भावना बोकेर आए यस्तै ४ पात्र ।

बादी बस्तीले बनाएका उपन्यासकार 

प्रजु पन्त 

२०६८ मा उच्च शिक्षाका लागि सुदूरपश्चिमको कैलालीबाट विवेक ओझा काठमाडौँ आए । काठमाडौँ आउँदा उनका हातमा कथा, उपन्यास, गीत, कविता र गजलका ५ वटा पाण्डुलिपि पनि थिए । सपना थियो काठमाडौँमा आफूले लेखेका गीत रेकर्ड गराउने तर यता आएपछि उनी रनभुल्लमा परे । 

‘त्यो बेला त म कता हराएँ कता,’ उनले भने, ‘हुलमुलमा हराएजस्तै भएँ । यत्रो सपना बोकेर आएको, केही हुने छाँटकाँट नै देखिनँ र कैलाली नै फर्किएँ ।’किताब लेख्ने हुटहुटीले कहिलेकाहीँ काठमाडौँले आकर्षित नगर्ने होइन तर उनी स्थिर भएर टिक्न भने सकेनन् ।

कहिले कैलाली, कहिले काठमाडौँ ओहोरदोहार भइनैरह्यो । अछाममा जन्मिएका उनी परिवारसहित बसाइँ सरेर कैलाली पुग्यो । विद्यालयको पढाइ त्यतै सुरु भयो । दाइको प्रेरणाबाट स्कुलमै कथा कविता लेख्न थालेका थिए उनले । 

कक्षा १० मा पढ्दा उनका साथीहरुले मुढाबस्तीमा गएको कुरा गर्थे । मुढाबस्ती बादीहरुको बस्ती हो । ओझा  हिँडडुल गर्दा त्यहाँ पुगिरहन्थे । मुढा बजार यौन तृष्णा मेट्नेहरुको हाटबजारको रुपमा परिचित थियो । गाँसको जोहो गर्नकै लागि शरीर बेच्न बाध्य बादी समुदायको कथाले उनको मन छोयो । 

‘बादी’ समुदायका महिलाले एक छाक खानका लागि अनि एक बोरा धानका लागि आफ्नो अस्मिता परपुरुषलाई सुम्पनु परेको यथार्थ घटना देखेपछि उनलाई औडाहा भयो । मनको औडाहा पोख्न पाएपछि बल्ल मन शान्त हुन्छ । यस्तै भयो उनलाई । त्यही हुटहुटीले ओझालाई २०७४ मा उपन्यासकार बनायो । शीर्षक जुराए, ‘ऐलानी’ अर्थात त्यस्तो समुदाय जसलाई जो कोहीले पनि भोग गर्न पाउँछ ।

ओझा यही पुस्तकमार्फत २०७४ मा सम्भावना बोकेर भित्रिए, नेपाली साहित्यमा । ‘सम्बन्धित सामाग्री पढ्न थालेँ, मनोविज्ञानका सामग्री खोज्न थालेँ,’ पुस्तक ‘ऐलानी’ को पृष्ठभूमि केलाउँदै उनले भने, ‘जानकार व्यक्ति भेट्ने, छलफल गर्ने कामसँगै लेख्ने काम पनि भयो ।’

ओझाले २०६४ मा कविता सङ्ग्रह निकालेका थिए । केही समयको अन्तरालपछि गजल पनि निकाले तर औडाहा पोख्न लेखिएको पहिलो उपन्यासले परिचय बलियो बनायो । उपन्यास लेख्ने क्रममा व्यवस्थापनमा स्नातकोत्तर गर्दै गरेका उनको परीक्षासमेत छुट्यो ।

परीक्षा हलमा जानुको साटो कोठामा बसेर उपन्यासका पात्रसँग उनी लडिबुडी खेलिरहे । उता जाँच छुट्यो, यता उनको ‘ऐलानी’ पाण्डुलिपि तयार भयो । प्रकाशक खोज्दै धेरैको ढोकामा पुगे तर कसैले पत्याएनन् । अन्त्यमा सांग्रिलाले पत्यायो र उनको पुस्तक बजारमा आयो । समीक्षकहरुले उनको पुस्तकको राम्रो प्रशंसा गरेका छन् । 

चितवनमा आयोजित कार्यक्रममा साहित्यकार सीमा आभासले पुस्तकबारे टिप्पणी गर्दै ‘उपन्यासको कथाको बनोट प्रशंसनीय रहेको र कथाले पाठकको ध्यान तान्ने’ प्रतिक्रिया दिएकी थिइन् ।

‘विषयहरू सकिए, आख्यानमा नयाँ शैलीको मात्र जरुरी छ भन्ने कुरालाई माथ गरेको छ ऐलानीले । यद्यपि, आञ्चलिकताको सन्तुलित प्रयोग यसको गुण हो । उपन्यासमा त्यस्ता थुप्रै अनुच्छेद र संवाद छन्, जो आफ्नै हकमा कठोर र सशक्त भएर बोल्न सक्छन्,’ ऐलानीबारे समीक्षा गर्दै दीपेश नेपालले नेपाल साप्ताहिकमा लेखेका छन्, ‘विशेष गरी बाकसभित्रको कवितात्मक लेख, जहाँ उपन्यासको सार र गहिराइ प्रस्ट भेटिन्छ, हतार र मर्म हुनेले त्यति मात्र पढ्दा पनि बादी समुदायको अगाडि लाजले निहुरिनुपर्ने कारण भेट्छन् ।’

समीक्षकहरुले जसरी उनको पुस्तकको प्रशंसा गरे, त्यहीअनुरुप पुस्तक र लेखक चर्चामा आएनन् । बजारमा ओझाको नाम भिजेन । पुस्तक लेख्दैछु भन्नेको चर्चा चुलिँदा राम्रो पुस्तक लेखेका ओझा बादीझैँ ओझेलमै परिरहे । 

पाठकको मौखिक प्रचारले बिस्तारै काम गर्दै गयो । ओझाका अनुसार पुस्तक निस्केको तीन महिनामा पुनः मुद्रण भयो ।

‘म नयाँ लेखक भएकाले धेरै चर्चा भएन,’ उनले भने, ‘तर जसरी पुस्तक  बिक्री भयो, अग्र्रजहरुबाट जुन प्रतिक्रिया आयो यसले म खुसी छु ।’

उनले उपन्यासमा आञ्चलिक भाषाको प्रयोग गरेका छन् । नयाँ शैलीको प्रयोगको प्रयास गरेका छन् । भन्छन्, ‘लेखनशैली बहुआयामिक हुनुपर्छ । दार्शनिक छ भने उसले दार्शनिक स्वाद लिन सकोस्, पाठक फेन्टासी पाराका छन् भने त्यो पनि पाउन सकोस् ।’ 

राज्य व्यवस्थालाई झक्झकाउन लेखेको बताउने लेखक ओझा साहित्यले उठाएका विषयवस्तुले समाज परिर्वतन गर्ने तर ‘एकैचोटी परिर्वतन गर्ने एटम बमझैँ साहित्यको प्रभाव नभएको’ बताउँछन् । 

‘असल स्टार’को संकेत

अनिल यादव

फिल्म खेल्छन् तर प्रमोसनमा हिँड्दैनन् । कलाकार हुन् तर इन्टरभ्यू दिन रुचाउँदैनन् । कामको वर्षा हुँदा रिजेक्ट गर्छन्, अभाव हुँदा माग्न पुग्छन् । फेसबुक, ट्वीटर केही चलाउँदैनन् । ताल परे हप्ता–१० दिनसम्म मोबाइल अफ गरेर बस्दिन्छन् । 

यो अनुपम शर्माको बाँच्ने शैली हो । उनको ‘सेन्स अफ लिभिङ’ अरूभन्दा विलकुलै फरक छ । ८ वर्षयता उनी कलाकारिता क्षेत्रमा छन् तर ‘हल्ला’ गरिरहेका छैनन्, ‘काम’मै मात्र केन्द्रित छन् । संगीतमा गम्भीरता, यथार्थता र जीवन खोज्ने दर्शक÷श्रोतामाझ उनी थोरबहुत परिचित भइसकेका छन् । रंगमञ्चका नाटकप्रेमी दर्शकमाझ दरिलो परिचय बनाइसकेका छन् । 
रह्यो, फिल्मको कुरा । यही वर्ष उनका दुई फिल्म रिलिज भए–‘ग्याङस्टर ब्लुज’ र ‘गाजाबाजा’ ।  ‘ग्याङस्टर ब्लुज’बाट फिल्म अभिनयमा दह्रो सम्भावना देखाएका उनले फागुनमा रिलिज भएको ‘गाजाबाजा’बाट आफूलाई बलियो अभिनेताका रुपमा पुष्टि गरेका छन् । 
फिल्ममा उनको उपस्थितिलाई दर्शकले मात्रै मन पराएनन्, समीक्षकले पनि खुलेर प्रशंसा गरे । फिल्ममा उनले निभाएको गजेडी ‘डढे’को भूमिका नामजस्तै ‘अनुपम’ थियो । यो फिल्म हेरेपछि फिल्म समीक्षक गोकर्ण गौतमले टिप्पणी नै गरे, ‘असल स्टार हुने ल्याकत भएका अनुपमप्रति पक्कै निर्देशकको नजर पर्नेछ ।’

रोचक त के छ भने अनुपमको एउटा काम अर्कोसँग मिल्दोजुल्दो छैन । फिल्ममा जस्तो देखिन्छन्, रियलमा उस्तो भेटिँदैनन् । अभिनयका मामिलामा मात्रै होइन संगीत सिर्जनाका मामिलामा पनि उनले फरक–फरक शैलीका गीत सिर्जिएका छन् । 
‘कबड्डी कबड्डी’ फिल्मको ‘मायाका बादल’, ‘गाँठो’को थिम र लिरिकल सङ, ‘झोले’को ‘बमबम भोले’, ‘पशुपतिप्रसाद’को ‘मन तार सारङ्गीको’ लगायत गीतमा उनकै शब्द, स्वर र संगीत हो । 
उनले जसको चरित्र निर्वाह गरिरहेका छन् त्यसमा पूरै डुब्छन् । चाहन्छन्, दर्शकले उनलाई अनुपम शर्मा भनेर खुट्याउन नसकून, पर्दामा जे देख्छन्, त्यही सोचून् । यसरी काम गर्ने उनी फिल्मको प्रमोसनल कार्यक्रममा भने कहिल्यै हिँड्दैनन् । 
अनुपमको काम देखेर समीक्षकहरु उनमा ‘असल स्टार’को सपना देखिरहेका छन् । तर उनको बाँच्ने शैली नै यस्तो छ कि जहाँ चर्चा, सुपरस्टार, सेलिब्रिटीजस्ता शब्दले स्थान पाएकै छैनन् । यी सब उनलाई हुनु नै छैन । खुसीमा नमात्तिनु, दुःखमा नआत्तिनु भन्ने मनोविज्ञानबाट निर्देशित छन् उनी । 'भनिन्छ नि, मेन्टेनिङ लो प्रोफाइल इज त बेस्ट प्रोफाइल । हो, म त्यस्तै लो प्रोफाइलमा रमाउन चाहन्छु,' उनी भन्छन् । 

अनुपम आफ्नो विगत कोट्याउनै चाहन्नन् । यसकारण पनि उनी फरक छन् किनभने उनलाई आफू कसरी कलाकारितामा आइपुगेँ, त्यो सब कथा सुनाउनु नै छैन ।

सानो छँदा उनी क्लासिकल संगीत सिक्थे । संगीत गर्दागर्दै उनी थिएटरसँग जोडिए र थिएटरपछि एक्टिङ ।  विगतबारे उनले दिन चाहेको सूचना यति मात्रै हो । यो उनको घमण्डीपन होइन, ‘सेन्स अफ लिभिङ’ नै हो । ‘अहिले मैले खुलेर बोलेँ भने त्यो मेरा लागि बलजफ्ती गरेजस्तो हुन्छ । मेरो नेचर नै ‘मैले यति साल यो गरेँ, अनि विभिन्न रेलका प्लेटफर्ममा सुतेँ, त्यो गरेँ’ भन्ने नै होइन,’ अघिल्लो महिना शुक्रबारसँग जीवनकै पहिलो इन्टरभ्यू दिँदै गर्दा उनले भनेका थिए, ‘त्यस्ता अनुभव छँदा पनि छैनन् । मलाई संघर्ष गरेको चेत नै छैन । गरेकै भए पनि भन्नुपर्छ भन्ने लाग्दैन । यहाँ संघर्ष सबैको छ ! हाम्रो संघर्ष त के संघर्ष, यहाँ खोज्ने हो भने सुन्दा शरीरै सिरिङ्ग हुने संघर्षका कथाहरु थुप्रै भेटिन्छन् ।’

कीर्तिपुर घर भएका अनुपम स्वभावैले विद्रोही छन्, सिर्जनामा पनि विद्रोह नै गर्न रुचाउँछन् । कसैले नयाँ गर्न लाग्यो भने उनी त्यसको कदर गर्छन्, आफू पनि केही नयाँ नै गर्न खोज्छन् । उनका लागि एक्टिङ गर्नु, संगीत सिर्जना गर्नु भनेको खासै केही होइन, मात्रै खुसी हुने बहाना हो ।  उनले अभिनय गर्ने पात्र र सिर्जना गर्ने संगीत उनको जीवनसँग एकदमै नजिक हुन्छन् । त्यसैले अनुपमले नेपाली फिल्मी क्षेत्रमा राम्रो सम्भावना देखाए २०७४ मा ।
 

प्रभावहीन दलका प्रभावशाली नेता

युवराज विवश

दोस्रो संविधान सभा निर्वाचनमा चौथो शक्तिको रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०७४ को स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रूपमा चुनावमा होमिदा बिजोग नतिजा आयो । २०७० को प्रभावशाली दल २०७४ मा प्रभावहीन बन्यो । तर त्यही दलका एक नेता राष्ट्रिय राजनीतिमा उदाए झापाबाट ।
उनै राजेन्द्र लिङ्देन संसदमा पहिलोपटक छिर्दा अरूभन्दा पृथक शैलीमा सपथ लिएर ध्यान ताने । उनले भ्रष्टाचारविरुद्ध लाग्ने प्रणसहितको सपथ लिएका थिए । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजयको स्वाद चखाउँदै प्रतिनिधि सभामा पुगेका लिङ्देनको राजनीतिक पृष्ठभूमि भने अनुदार छ ।
२०४६ को जनआन्दोलनअघि झापामा उनी पञ्चायती व्यवस्था समर्थक उग्र युवामा गनिन्थे । कालान्तरमा तीनै पञ्चायती व्यवस्था र राजतन्त्र ढाल्ने कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रको साथ लिएर उनी गणतान्त्रिक नेपालको सांसद बनेर पार्टीलाई संसदमा सुन्य हुनबाट जोगाए । 
राष्ट्रवादी विद्यार्थी मण्डलका अध्यक्ष हुँदै राष्ट्रिय प्रजातान्त्रिक युवा संघका केन्द्रीय अध्यक्षसमेत भएका लिङ्देन २०४० सालदेखि जिल्लामा पञ्चायती व्यवस्थाको पक्षमा सक्रिय भएका थिए । देशैभर पञ्चायतविरुद्ध आन्दोलन गर्ने त्यसबेलाका दलको निर्णयविरुद्ध नेतृत्व लिएका लिङ्देन र प्रजातन्त्रपक्षधरबीच झडप भयो । आन्दोलनकारी राम थापा मारिए । त्यस बेलादेखि उनी जिल्लामा मण्डले विद्यार्थीको नेतृत्वमा रहे । जिल्लामा पञ्चायतपछिको राप्रपा उनकै हातमा गयो । 
लिङ्देन तत्कालीन गोलधाप गाविसकोे वडा अध्यक्ष हुँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा जिल्ला विकास समिति झापाको सभापति भए । सभापति भएसँगै उनले झापाको दक्षिणी भेगकेन्द्रित भएर विकास निर्माणको काम गरेर मतदाताको नजरमा परे । 
२०५६ को चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो भएका उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा दोस्रो भए । तेस्रो पटकको प्रयासमा भने उनी संसद बन्न सफल भए ।
कलिलै उमेरमा राजनीतिमा लागेका उनले हत्यामा संलग्नता नभएको धेरै पटक बयान दिए । तर दोष हटेन । चुनावताका उनका प्रतिद्वन्द्वी सिटौलाले उनी विरुद्ध यही अस्त्र प्रयोग गरे पनि त्यो सफल भएन । उनको दलले समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड टेक्न नसक्दा उनी संसदमा स्वतन्त्र सांसदको हैसियतमा छन् । 

स्वरमा अब्बल दीपा

अनिल यादव

५ वर्षअघि एक साँझ गायिका दीपा लामाले संगीतकार राज शुक्र लिम्बुलाई फेसबुकमा ठट्टा गर्दै म्यासेज पठाइछिन, ‘दाई, मलाई पनि एउटा सङ गाउन दिनु न हौं ।’ 
उनमा गीत गाउन पाइएला भन्ने आशा थिएन तर त्यस्तो भएन । राजले ‘हुन्छ, एउटा गीत छ, ट्राइ गर न त’ भनेर रिप्लाइ पठाएपछि डमी लिन उनको कार्यालय पुगिन् । अभ्यास गरिन् र अवसर पाइन् । त्यसपछि अफिसियल रूपमा बाहिरियो उनको पहिलो गीत ‘मेरै भन्छु खोइ’  । र, उनी गायिका भइन् । 

यसरी गायन यात्रा थालेकी दीपाले संगीत क्षेत्रमा आफ्नो ५ वर्ष बिताइसकिन् । उनले फिल्म र कलेक्सन एल्बम गरेर करिब २ सय गीत गाइसकिन् । यी बीचमा उनका केही गीत दर्शकमाझ हिट भए तर उनी हिट छैनन् । उनका गीत दर्शकले सुनेका छन् तर उनलाई चिनेका छैनन् । 

‘वीरविक्रम’ फिल्ममा उनले स्वर दिएको ‘सारे सारे सारे’ बोलको गीत दर्शकले औधी रुचाए । ‘हाउ फन्नी’ र ‘फूलैफूलको मौसम तिमीलाई’ फिल्मका शीर्ष गीतलाई श्रोताले मन पराए । तर यी तीनवटै गीत ०७४ सालका रिलिज थिएनन् । 

स्वरबाट त दीपाले अगाडि नै सम्भावना देखाएकी हुन् तर यो सालको प्रस्तुतिले पाश्र्व गायनमा जम्ने उनको सम्भावना झन् बलियो देखिएको छ । वैशाखमा रिलिज हुने फिल्म ‘ह्याप्पी डेज’ मा उनले प्रियंका कार्कीका लागि ‘तिमी विना’ बोलको गीत अहिले दर्शकले रुचाइरहेका छन् । त्यस्तै यही साल रिलिज भएका ‘नेप्टे’ को ‘आँखा छ चिम्रो’ र ‘ब्लाइन्ड रक्स’ को ‘महसुस’ बोलका गीतबाट पनि उनको स्वर थप दर्शकको नजरमा परेको छ । 

०७४ सालमा मात्र फिल्म र कलेक्सन एल्बम गरेर दीपाले करिब ४० गीत गाएको बताइन् । सुमधुर स्वरका कारण उनी संगीतकर्मी र दर्शकको रोजाइमा परिरहेकी छिन् । संगीतकारहरु उनको स्वरलाई ‘पाश्र्व गायनमा फिट स्वर’ भनेर टिप्पणी गर्छन् । 

दीपाको संगीतसँगको सम्बन्ध सानैदेखिको हो । स्कुल पढ्दादेखि नै उनी संगीत सिक्थिन् । अरुण थापा, अरुणा लामाका गीत खुब सुन्थिन् । फिल्ममा हिरो–हिरोइन गीतमा रोमान्स गरेको देख्दा उनलाई लाग्थ्यो– ‘मैले पनि यसरी नै गाएँ भने हिरो–हिरोइन कसरी नाच्थे होलान् ?’ 

अहिले उनको यो सपना पूरा भएको छ । प्रियंका कार्की, नीता ढुंगाना, बेनिशा हमाल, दीया पुन लगायत थुप्रै अभिनेत्रीले उनको स्वरमा अभिनय गरिसकेका छन् । 

पहिलोपल्ट फिल्ममा गाउने अवसर उनलाई संगीतकार सुरेश अधिकारीले दिएका हुन् । तर कसरी ? भन्छिन्, ‘सुरेश दाइका गीतमा कोरसको गाइरहेको थिए । मेरो स्वर राम्रो छ भन्नुहुन्थ्यो । त्यत्तिकैमा एक दिन ‘फूलैफूलको मौसम तिमीलाई’ को डमी दिनुभयो । मेल भ्वाइसमा राजेशपायल दाइ (राई) को रेकर्ड भइसकेको थियो, फिमेलमा मैले गाउने अवसर पाएँ । फिल्ममा मेरो इन्ट्री यही गीतबाट भयो ।’

दीपाले हालसम्म थुप्रैै संगीत गुरुहरुसँग संगीत सिकेकी छिन् । मोहन भुसाल, तुलसी पराजुली, अनिल विरही, मनोज राज, नीता चौधरी, डक्टर किरातसँग संगीत सिकिसकेकी उनले अहिले पनि चण्डी काफ्लेसँग संगीत सिकिरहेकी छिन् । 

फिल्ममा स्वर दिन थालिसकिन्, गीत हिट पनि भइसक्यो तै पनि दीपा कोरसमा स्वर दिन हिच्किचाउँदिनन् । भन्छिन्, ‘मेरा नजरमा काम सानोतिनो हुँदैन त्यसैले आइपर्याे भने अहिले पनि कोरसमा गाउँछु ।’

गीत गाएर बाँच्न गाह्रो छ भन्छन् नि ? भन्ने प्रश्नमा उनले त्यो आफूमा भर पर्ने बताइन् । ‘खोइ, आफू त बाँचिएकै छ,’ उनले भनिन्, ‘मेरो विचारमा दुःख गर्न चाहनेलाई बाँच्न गाह्रो छैन । सजिलो खोज्नेलाई त कहाँ पो गाह्रो हुन्न र ?’

मनोरञ्जनमा पाइने चाकडी प्रवृत्तिबाट दीपा टाढै छिन् । त्यसैले उनले अरूका तुलनामा थोरै काम पाइरहेकी छिन् । तर उनको स्वर क्षमताका हिसाबले उनी त्योभन्दा बढी नै ‘डिजभ्र्ड’ गर्छिन् । 

ट्यालेन्टलाई ‘इग्नोर’ गर्ने प्रवृत्तिदेखि उनलाई खुब चित्त दुख्ने रहेछ ।  ‘यहाँ ट्यालेन्टभन्दा बढी रूपरंगको कुरा आउँछ । राम्री छ भने त्यही अनुसार उसलाई ट्रिट गरिन्छ । धेरै राम्रो–राम्रो क्षमता भएका योग्य मान्छेले यहाँ अवसर पाउँदैनन् ।’ 

मनोरञ्जन क्षेत्रलाई हेर्ने रुढीवादी मानसिकताका कारण दीपाका अभिभावक पनि सुरुसुरुमा उनको संगीत चाहनाबाट खुसी थिएनन् । ‘कस्तो लाइनमा लागिस्’ भनेर दुःख पोख्थे रे । तर अहिले सब ठिक भएको छ । दीपा भन्छिन्, ‘जबजब मेरा गीत रेडियोतिर बज्न थाले, टिभीतिर छाउन थाले जताततै सुनिन थाले बा–आमा पोजिटिभ हुन थाल्नुभएको छ ।’

दीपालाई अन्तिम प्रश्न सोधियो– तपाईंका लागि संगीत के हो ? उनले छोटोमिठो जवाफ दिइन्, ‘मेरो लाइफको सबैभन्दा महत्वपूर्ण कुरा नै यही हो ।’
 

 

Leave A Comment