क्रुरताविरुद्धको मौनता

आइतबार, ०९ बैशाख २०७५, १२ : ५६ शुक्रवार
क्रुरताविरुद्धको मौनता

भारतको जम्मु–कस्मिरको कठुवामा एक आठ वर्षीया बालिकाको अपहरण गरी मन्दिरमा बन्धक बनाउँदै भएको सामूहिक बलात्कार र हत्याको घटनाले भारतीय समाज आन्दोलित छ । निर्भया घटनापछि महिला हिंसाविरुद्ध जागेको भारतीय समाज पछिल्लो समय सुस्त बनेको थियो । 
भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीका केही सांसदले यसलाई हिन्दू–मुस्लिमको रङ दिने प्रयास नगरेका भने हैनन् तर जागरुक समाजका अगाडि उसको धार्मिक कार्ड यसपालि चलेन । नागरिक समाज, राजनीतिक दलसँगै भारतीय फिल्मी कलाकारसमेत खुलेरै उभिए, यस बर्बर अपराधविरुद्ध ।
संख्यामा तलमाथि होला, महिला हिंसा, बालिका र किशोरी बलात्कारको घटनाको प्रवृत्ति हेर्ने हो भने नेपालको दृश्य भारतभन्दा भिन्न छैन । बाबुबाट नाबालिग छोरी बलात्कृत भएको, सुरक्षाको जिम्मेवारी बोकेका सुरक्षाकर्मी आफैँ बलात्कारमा संलग्न भएको, रमाइलो गर्ने बहानामा होटलमा लगेर सामूहिक बलात्कार गरेको घटना दैनिक सार्वजनिक भइरहेका छन् नेपालमा पनि ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रहरीमा आउने बलात्कारसम्बन्धी उजुरीको संख्या हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष २०७०–०७१ मा ९ सय १२ वटा उजुरी आएकोमा २०७४ को फागुनसम्ममा उजुरीको संख्या ७ सय ९५ पुगिसकेको छ । चैतमा सार्वजनिक भएका बलात्कारसम्बन्धी घटनाले २०७० को आँकडा टेक्ने सहजै देखिन्छ ।
बलात्कार र महिला हिंसामा नेपाल र भारतको अवस्था उस्तै रहे पनि समाजको जागरुकतामा भने आकाश जमिनको भिन्नता छ । महिला र बालबालिकाविरुद्ध भइरहेका गम्भीर आपराधिक घटनाको विपक्षमा भारतीय समाज जागरुक छ । उनीहरु सडकमार्फत् सरकारलाई दबाब दिन हिच्किचाउँदैनन् ।
समाजमा रोल मोडल मानिने कलाकारहरु तत्काल सक्रिय भएर बलात्कार र महिला हिंसाविरुद्ध सार्वजनिक प्रतिबद्धता जनाउन हिच्किचाउँदैनन् । सडकमा उत्रिएर प्रतिबद्धता जनाउन होस् या सामाजिक सञ्जालमार्फत् अभियान चलाएर क्रुर अपराध विरुद्धको प्रतिबद्धतामा उनीहरु निक्कै जागरुक छन् ।
तर नेपाली समाज र नेपाली कलाकारको व्यवहार हेर्दा उनीहरुलाई केही जानकारी नै नभएझैँ देखिन्छ । राजनीतिक विषयमा तत्काल प्रतिक्रिया जनाउने नागरिक समाज क्रुर आपराधिक घटनाप्रति मौन छन् । सत्ता भत्काउने तागत बोक्ने नागरिक समाजको अपराधविरुद्धको मौनता टीठलाग्दो छ ।
बौद्धिकतामाथि प्रश्न उठाउँदा आगो हुने नेपाली कलाकारको नजर सामाजिक जागरणको अभियानमा पर्न सकेको छैन । जस्तासुकै ठूला घटना हुन्, उनीहरु मौन नै बस्न रुचाउँछन् । लाग्छ, उनीहरुको नजरमा ‘रिलमा हुने बलात्कार र रियलमा हुने बलात्कार’ एकै हुन् । 
होटल ल्यान्डमार्कमा भएको सामूहिक बलत्कारको घटना होस् या झापामा आफ्नै बाबुबाट बलात्कृत भएकी ११ वर्षीया किशोरी, यस घटनामा फिल्मी दुनियाँ मौन छ र उनीहरुको व्यवहारले देखाउँछ, उनीहरु अझै मौन नै रहनेछन् ।
महिला र किशोरीविरुद्धको गम्भीर अपराध नियन्त्रण राज्यको जिम्मेवारी हो । समृद्धि र सुखी नेपाल र नेपालीको परिकल्पनामा मग्न सरकारको प्राथमिकतामा यस्ता जघन्य अपराध परेका छैनन् । दिउँसै सपनामा रमाइरहेको सत्ताको निन्द्रा बिथोल्न नागरिक समाज र समाजले पत्याएका कलाकारको भूमिका महत्वपूर्ण हुन्छ नै । 
समाज प्रतिको दायित्व अन्तर्वार्ताका कोरा शब्दले मात्र पूरा हुँदैन । समाज प्रतिको दायित्व पूरा गर्ने हो भने यस्ता जघन्य अपराधमा पीडितको घाउमा मह्लम लगाउन र पीडितलाई कानुनी कठघरामा उभ्याउन नागरिक समाज जागरुक हुन आवश्यक छ । भारतको कठुवाको घटना नेपालमा दोहोरिन नदिन नागरिक समाज सक्रिय हुन आवश्यक छ । यसको प्रारम्भ कठुवा घटनाको विरोधमा सडकमा उत्रिएका भारतीय नागरिक समाजको अभियानको समर्थनबाट सुरु गर्न सकिन्छ ।

 

Leave A Comment