'सेक्सको प्रस्तावै धेरै'

शुक्रबार, १४ बैशाख २०७५, १२ : ०४ भोला अधिकारी
'सेक्सको प्रस्तावै धेरै'

गीता दाहाल

दोहोरी साझमा गाउन थालेको कति भयो ?
धेरै भएको छैन, ४÷५ वर्ष जति भयो ।

कहाँबाट गाउन सुरु गर्नु भयो ?
गौशालाको लालदरबार दोहोरी साँझबाट गाउन सुरु गरेकी हुँ । त्यसपछि मैले ठमेलमा रहेको ठमेल पोखरामा गाउन थालेँ । र अहिले यही ललितपुरमा रहेको तीन पाने दोहोरी साँझमा गाउन थालेकी छु । यहाँ गाउन थालेको १ वर्ष जति भयो । 

कति बजेसम्म गाउनुहुन्छ ?
ललितपुरमा ११ बजेसम्म चल्छ । काठमाडाैंमा भन्दा १ घण्टा अगाडि बन्द हुने गरेको छ । 

दोहोरीमा कस्ता मान्छे आउने गर्छन् ?
नेता, कलाकार, डाक्टरहरु पनि आउने गर्छन् । कोही–कोही त दोहोरी कस्तो हुन्छ भनेर रमाइलो गर्न आउने गर्छन् । विदेशबाट आएका नेपाली दाजुभाइहरु रमाइलो गर्न र हामीसँगै दोहोरी गाउन आउँछन् ।

कस्ता खालका गीत रुचाउँछन् ? उनीहरु पनि गाउँछन् ?
सबैखाले गीत रुचाउने गरेका छन् । अलिअलि उहाँहरुलाई लागेपछि दोहोरी गाउन र झुम्न थाल्नुहुन्छ । कहिले दाइ भनेर गाइन्छ । कहिले बुढा भनेर गाइन्छ । दोहोरीमै घुम्न जाने, बिहे गर्ने जस्ता कुरा गरिन्छ । दोहोरी भनेकै यस्तै त हो ।

दोहोरीमा लैजान्छु भन्छन् रे नि त ?
यो त हुन्छ नै । उहाँहरुको घरमा गइन्छ । परिवारसँग बसिन्छ रमाइलो गरिन्छ । उहाँकी श्रीमती भइन्छ । 

साँच्चै जानुहुन्छ कि गीतमा ?
गीतमै हो नि । रियलमा त कहाँ जानु नि ।  

सवालको जवाफ कसरी फर्काउन सक्नुहुुन्छ ?
सुरुमा त गाह्रै लाग्थ्यो, पछि गाउँदै गएपछि सवालको जवाफ दिन गाह्रो हुँदैन । सानैदेखि दोहोरी प्रतियोगितामा भाग लिएर गायनमा पहिलो हुने गर्थेँ ।

छाडा गीत खुब गाउनु पर्छ रे नि ? तपार्इं कत्तिको गाउनु हुन्छ ?
त्यस्तो नपच्ने खालको त गाइँदैन । नसुवाउने गीतहरु दोहोरीमा चल्दैन । तर हल्काफुल्का पछिल्लो पिरेडमा गाउन थाल्या छन् । मैले भने यस्तो गीत गाएकी छैन ।  

दोहोरीमा गाउने गायिकालाई सेक्स प्रस्ताव खुब आउँछ होला नि ?
यस्तो प्रस्ताव नआउने होइन । आफूमा भर पर्ने कुरा हो । हामीले गाएर अडियन्सलाई मज्जा दिने हो । अडियन्सलाई गीत गाएर खुसी पार्ने हो । सेक्स प्रस्तावहरु आइरहन्छन् । दोहोरीमा सबै राम्रा मान्छे आउँछन् भन्ने छैन । जो कोही पनि यहाँ आएका हुन्छन् । कोही के सुरले आएका हुन्छन, कोही के सुरले । राम्री मान्छे देखेपछि यस्तो प्रस्ताव नर्मल हो । कलाकारहरुलाई एउटा ठाउँमा राखिएको हुन्छ । गाउने बेलामा बाहिर आउने हो । कि आफ्ना आफन्त आएको बेला भेट्ने हो । अरू बेला खासै त्यस्तो भेटघाट गरिँदैन । अब सेक्स प्रस्ताव भनेको आउने दर्शक श्रोताले प्रस्ताव त राख्छन् नै यस्तो कुरा आफूमा भर पर्ने कुरा हो । कसैको बानी खाएपछि नराम्रो गर्छन् ।  

तपार्इंलाई आएको छ कि छैन ?
हाहाहा, आउँथ्यो पहिला–पहिला अहिले त्यस्तो छैन । त्यस्तो कुरामा ध्यान दिँदिन । 

साहुले गायिकालाई कस्तो व्यवहार गर्छन् ? सेक्स प्रस्ताव गर्छन् रे भन्ने सुनिएको छ । साँचो कि हल्ला हो ?
मैले अघि नै भने नि मान्छेअनुसार भर पर्छ । सबै मान्छे राम्रा हुन्छन् भन्ने छैन । कोही कस्ता हुन्छन्, कोही कस्ता । मैले काम गरेको दोहोरी साँझमा नराम्रो गरेको सुनेको छैन । मलाई अहिलेसम्म यस्तो प्रस्ताव आएको पनि छैन । कसैको मनमा पस्न त सकिँदैन तर पनि आफूले गर्ने व्यवहारमा भर पर्ने कुरा हो । यसरी बस्दा कसैले केही गर्न सक्दैन । 

झगडा कत्तिको हुने गर्छ नि ?
हुन्छ । कोही–कोही खाएपछि ल्याङ–ल्याङ गर्छन् । झगडा पर्याे भने बाउन्सरहरुले बाहिर लगेर सम्झाउने गर्छन् । ठमेलमा मैले काम गर्दा झगडा हुन्थ्यो । बाहिर लगेर सम्झाइबुझाई गरेर पठाउनुहुन्थ्यो । अलि व्यवस्थित हुन्थ्यो । तर ललितपुरतिर अलिक त्यस्तो छैन । 

दोहोरी गाउनेलाई समाजले हेर्ने दृष्टिकोण फरक छ हैन ?
पहिला–पहिला त अलिक नराम्रो तरिकाले हेर्ने गर्नुहुन्थ्यो । यो मान्छे त दोहोरीमा गाउने रे भनेर खिल्ली उठाउने गर्थे । आफूलाई काठमाडौमा टिक्नु छ । केही गरेर चिनिनु छ । खानु पर्याे । लाउनु पर्याे । अझ म त छोरी मान्छे । आफूले जानेको भनेको दोहोरी गाउन थियो । एकजना दिदीको आग्रहमा दोहोरी साँझमा गाउन थालेँ । मेरो तलब २,४ हजार थियो ।

यति पैसाले पुग्थ्यो त  ?
तलबकै भर परेको भए त कहाँ पुग्नु । सुरुवातका दिनमा धेरै गाह्रो थियो । गाडी भाडा हुँदैनथ्यो । पछिल्लो समयमा सिनियर हुँदै गएँ अलिक सहज भएको छ । तलबको भरमा त टिक्न गाह्रो छ । टिप्सले गर्दा सहज भएको हो ।

तपार्इंंको विवाह भएको छ कि छैन ? 
छ नि । एउटा बाबु छ । श्रीमान् ट्याक्सी चलाउनुहुन्छ । म दोहोरीमा गाउँछु । 

घरपरिवारबाट सपोर्ट कत्तिको छ ? 
मलाई मेरो श्रीमान्बाट सपोर्ट छ । यदि सपोर्ट नभएको भए त दोहोरी गाउन छाड्थेँ होला । उहाँले मलाई राम्ररी बुझ्नु भएको छ । हामी दुवैजना मिलेर घर समालेका छौं । उहाँ ट्याक्सी चलाउनुहुन्छ म दोहोरी साँझमा गीत गाउँछु । मैले माइतीबाट  र घरबाट पनि सपोर्ट राम्रो पाएकी छु । 

दोहोरीसाँझमा आउनुभन्दा पहिला के गर्नुहुन्थ्यो  ?
काठमाडाैंमा आएपछि गैेह्री गाउँमा फूपू हुनुहुन्थ्यो । उहाँहरु गार्मेन्टमा काम गर्नुहुन्थ्यो । म उहाँहरुको छोराछोरीलाई हेर्ने काम गर्थेँ । खाना, खाजा पकाएर काम गर्ने ठाउँमा पुर्याउन जान्थेँ । पछि–पछि साथीहरुले दोहोरीमा गीत गाउँछेस् त भन्नुभयो । फूपूकोमा बस्दा बोर लागेको थियो, मैले गाउँछु भनेँ । 

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । मैले गाएर नै खाने हो ।

Leave A Comment