‘गोजीमा एक रुपैयाँ हुन्न, लाख बोकेजस्तो रवैया देखाउनुपर्छ ’

शनिबार, १५ बैशाख २०७५, ०३ : ३६ अनिल यादव
‘गोजीमा एक रुपैयाँ हुन्न, लाख बोकेजस्तो रवैया देखाउनुपर्छ ’

नेपाली फिल्म क्षेत्रमा उदाउँदै गरेको नाम हो– विनोद न्यौपाने । उनले अभिनय थालेको ८ वर्ष भइसक्यो तर दर्शकको नजरमा पर्न थालेको भने फिल्म ‘कान्छी’ बाटै हो । ‘कमलेको बिहे’ फिल्ममा समेत उनी प्रमुख भुमिकामा छन् । प्रर्दशनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’मा अभिनेता समेत रहेका उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

ठ्याक्कै केमा व्यस्त हो ?
हालसालै पोखरामा ‘सुश्री सम्पत्ति’को सुटिङ सकेर आइयो । अहिले ‘जयश्री दाम’ फिल्मको डबिङ भइरा’छ । नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेको छु । 

‘कान्छी’ फिल्ममा धेरैले तपाईंको अभिनयको प्रशंसा गरे । यसले तपाईंको करिअरमा कतिको प्रभाव पार्दैछ ?
‘कान्छी’भन्दा अघि पनि मुभी त खेलियो तर त्यसअनुसारको पब्लिसिटी भएन । यो फिल्म रिलिजपछि मलाई धेरै फाइदा भयो । साँच्ची भन्नुपर्दा मेरो करिअरको टर्निङ प्वाइन्ट नै भयो । ‘कान्छी’मा मेरो काम हेरेपछि धेरैले फिल्मका लागि अफर गर्नुभयो । 

फिल्ममा तपाईं भिलेन हुनुहुन्थ्यो तैपनि दर्शकले हिरोसरह प्रेम गरे है !
हो । पहिलेपहिले भिलेनसँग दर्शक डराउँथे, हिरोलाई प्रेम गर्थे । अहिले दृश्य बदलिएको छ । दर्शक क्यारेक्टरमा रमाउन थालेका छन् । हिरो–भिलेन मतलब गर्दैनन् । ‘कान्छी’मा मैले निर्वाह गरेको ‘कुले’ भन्ने क्यारेक्टरको माया गर्ने तरिका फरक थियो । वास्तवमा ‘कान्छी’लाई सबैभन्दा बढी प्रेम उसले गथ्र्यो क्या ! कसैले सिन्दुर लाइदिँदै गर्दा त्यसलाई उसले मारिदियो । माया भयंकर गर्थ्यो । खाली उसको माया गर्ने तरिका फरक थियो । त्यसैले मलाई त्यो क्यारेक्टर पुरै भिलेनजस्तो पनि लाग्दैन । 

रियल लाइफमा यसरी कसैलाई जबरजस्त प्रेम गरिएको छ कि छैन ?
‘कुले’ जसरी त गरिनँ तर जबरजस्त प्रेम मज्जाले गरेँ । अहिले त उसको बिहे भइसक्यो । मेरो जीवनको पहिलो माया नै भनौं । अब त अन्तिम नै होला सायद ! किनभने माया गर्न भ्याइँदै–भ्याइँदैन । त्यतातिर लागियो भने करिअरलाई असर पर्ला  भन्ने डर । कुनैबेला मैले उस (पहिलो प्रेम)लाई भयंकर फलो गरेको हो । हिरो शैलीमा माया गरेका थिएँ । 

प्रेम एकोहोरो थियो ? 
थियो पनि, थिएन पनि । एकदमै कन्फ्युज्ड पाराको । भेट्न बोलाउँदा पनि भेट्न आउँथी । मेरो कुरा पनि सुन्थी । तर ‘बिहे गरौँ’ भन्दा ‘फेमिलीबाट हुँदैन, नाइँ’ भन्थी ।

कति वर्षअघिको कुरा हो यो ?
भयो ५ वर्षजति ।

५ वर्षयता तपाईं सिंगल नै हो त ?
हो । कोहीसँग रिलेसनसिपमा बसिनँ । यो बीचको समय मेरा लागि एकदमै ‘हाडवर्किङ पिरियड’ भइदियोे । मैले के महसुस गरेँ भने– लभ लाइफतिर गयो भने मेरो करिअर डामाडोल हुन्छ । यो फिल्डमा लागेपछि टाइम दिन सकिन्न क्या ! फेरि छोरी मान्छेलाई टाइम नदिएपछि मलाई केयर गरेन, मलाई वास्ता गरेन भन्ने कुरा आउँछन् । अनि, फाटो सुरु हुन्छ । बरु करिअर बनाऔं, आफू स्थापित होऊँ । त्यसपछि एक न एक दिन राम्रो जोडी त पाइहालिएला नि ! 

थोरै फिल्मको कुरा गरौं । ‘कान्छी’को भिलेन ‘कोहलपुर एक्सप्रेस’को हिरो हो ?
म आफूलाई हिरो/भिलेन भनेर परिचयलाई खुम्च्याउन चाहन्नँ । म कलाकार हुँ । साथीभाइले भेट्दा ‘ऊ नायक आयो है’ भनेर जिस्काउँदा म उनीहरुलाई जवाफ दिन्छु– ‘हिरो होइन म किनभने हिरो हुनलाई मैले रियल लाइफमा पनि धेरै राम्रा र सामाजिक काम गर्न सक्नुपर्छ ।’

थोरै पछाडि फर्कौं । ताप्लेजुङ (घर)बाट तपाईंको काठमाडौं यात्रा कसरी तय भयो ?
म कस्तो परिवारमा हुर्कें भन्ने कुराले मेरो करिअरमा ठूलो प्रभाव पार्दोरहेछ । मेरो बुबा गीत गाउने, मादल बजाउने, सारङ्गी बजाउने सबै गर्नुहुन्छ । मेरो ममी पनि मादल बजाउने, रत्यौली खेल्ने । बिहेमा केटा मान्छेको गेटअप गरेर बेहुली तर्साउने गर्नुहुन्थ्यो । ठूल्दाइको सपना पनि कलाकार बन्ने थियो । माइला दाई पनि त्यस्तै । ताप्लेजुङमा हाम्रो परिवार यस्तो थियो कि –सबैले ‘फेमिली भनेको न्यौपाने परिवारजस्तो हुनुपर्छ’ भन्थे । मैले २०५५ सालमा पहिलोपल्ट ताप्लेजुङको सिटी हलमा स्टेज पर्फम गरेको थिएँ । त्यो स्टेजमा जो पायो उसैले नाच्न पाउँदैनथ्यो । त्यतिबेला मैले दुई सय रुपैयाँ टिप्स पनि कमाएको थिएँ, राम्रो नाचेर । म नाच्ने भनेपछि यति हुरुक्कै कि स्कुल बंक गरेर पनि जाने । नाच्नगाउन भनेपछि पढाइसडाइ गोली मार ! त्यसैले परिवारकै सहयोगमा एसएलसीपछि पढ्ने पनि, कलाकार पनि बन्ने भनेर काठमाडौं आएको थिएँ ।  

काठमाडौं आएपछि फिल्मको यात्रा तय गर्न कति सहज भयो ? 
त्यो ठाउँदेखि काठमाडौंसम्म आएर यसरी काम गर्छु भन्ने मैले कल्पना पनि गरेको थिइनँ । ताप्लेजुङको मान्छेले यहाँ आएर यस्तो अवसर पाउँला भन्ने लाग्दैनथ्यो । काठमाडौं आउनेबित्तिकै साथीको सहयोगमा बल्खुको प्रयास संगीत केन्द्रमा पुगेँ । एक्टिङ सिक्न भनेर गइयो तर केही सिकिएन । डायलग दिइन्थ्यो, अनि आफ्नो तरिकाले भन्न लगाइन्थ्यो । कसरी गर्नुपर्छ भनेर कहिल्यै सिकाइएन । बरु आफैँ अभ्यास गर्थें । यहाँ केही हुन्न भन्ने लागेर दुई महिनापछि छाडेँ । त्यसपछि ‘मिस्टर काठमाडौं’ सौन्दर्य प्रतियोगितामा भिडेँ । अभिनयका लागि प्लेटफार्म होला भन्ने ठानेर गएको थिएँ । मलाई जबरजस्ती टप टेनसम्म त पु¥याइयो तर म त्यसका लागि पनि योग्य थिइनँ । किनभने म र्याम्प, मोडलिङको लागि बनेको होइन ।

फिल्ममा अफर कसरी पाउनुभयो ?
८ वर्षअघि म ‘मिस्टर राजधानी’को असिस्ट गर्दैै थिएँ । ‘लुजा फेसियल’ कम्पनीका लागि मोडल चाहियो भनेर एकजना प्रोडक्सन म्यानेजर मैले काम गर्ने कम्पनीमा आउनुभयो । मोडलहरुलाई लिएर म त्यहाँ पुगे । कम्पनीका अध्यक्ष नितेन न्यौपानेसँग भेट भयो । एक्टिङको रुचिबारे सुनाएँ । टचमा बस्नु भन्नुभयो तर महिनौँसम्म फोन आएन । घर फर्कने सोच बनाइसकेको थिएँ । बीचमा एकपल्ट विदेश जाने सोच पनि पलायो । यता पढाइ पनि छाडिसकेको थिएँ तर कलाकार बन्ने लक्ष्य यति बलियो थियो कि जति गर्दा पनि हरेस खाइनँ । दिनरात नभनी दगुरेँ । पत्रिकाको वर्गीकृत डिस्प्ले हेरेर पनि कुद्थेँ । पत्रिकामा ‘कलाकार चाहियो’ भन्ने विज्ञापन देख्नासाथ फोन गरेर पुग्थेँ । भौँतारिरहेका बेला नितेशजीकै फोन आयो ‘१० घण्टा’ फिल्मका लागि रेडी हुनु भनेर । अडिसन दिएँ । सेलेक्ट भएँ । त्यसपछि यशराज गराज भन्ने व्यक्तिसँग भेट भयो । ऊ मेरो मिल्ने साथी भयो । उसले मलाई धेरै डिरेक्टर चिनाइदियो । चल्तीका म्युजिक भिडियो डिरेक्टर प्रसन्न पौडेलसँग भेट भयो । उहाँले पनि सुरुमा विश्वास गर्नुभयो । बीचमा डेढ २ वर्ष काम पाउनै मुस्किल भयो । पछि यशराजले फोन गरेर म्युजिक भिडियोमा सपोर्टिङ रोलमा काम गर्न अफर ग¥यो । काम नपाइरहेको बेला सिधै हुन्छ भनिदिएँ । डिरेक्टर प्रसन्न पौडेल हुनुहुन्थ्यो । फस्ट सर्टमै मेरो छिचौरापन उहाँलाई मनपरेछ । त्यसपछि ब्याक टु ब्याक १५–२० भिडियो खेल्न पाइयो । अनि मार्केटमा मोडल भनेर चिनिएँ ।

त्यसपछि के भयो ?
त्यसपछि ‘अप्रिल फुल’ फिल्ममा नेगेटिभ रोल पाएँ । फिल्म आयो गयो मतलब भएन । त्यसपछि ‘तोरी लाहुरे’ भन्नेमा एउटा क्यारेक्टर पाएँ, त्यो फिल्म पनि राम्रो भएन ।  त्यसपछि गोपीकृष्ण मुभीजसँगको सहकार्यमा ‘यो पागल मन’ भन्ने फिल्म बन्ने भयो । आमेश भण्डारी, जीवन लुइँटेल, दिक्पाल कार्की सबैले मसँगै लिड रोलका लागि अडिसनमा दिए । तर म सेलेक्ट भएँ । ०७२ साल वैशाख १५ गतेदेखि फिल्म फ्लोरमा  जाँदै थियो । १२ गते भूकम्प गइदियो । कल्याण अधिकारीको निर्देशनमा फिल्मको सुट जेठमा सर्यो  । धरान पुगेर गरियो । तर फिल्म रिलिज भइदिएन । किन हो ? थाहा भएन । त्यति गर्दा पनि नहुने रहेछ भनेर फेरि म्युजिक भिडियोतिर लागियो । यतिकैमा अमेरिका पुग्नुभएका प्रसन्न पौडेल दाइ फर्किनुभयो । ‘कमेलेको बिहे’ बनाउने हुनुभयो । मैले पुष्पेको रोल पाएँ । रोल लिडजस्तै थियो जसले फिल्ममा कमलेलाई पनि घुमाउँथ्यो । मलाई फिल्ममा लिड रोल नै पाउनुपर्छ भन्ने लाग्दैन । बरु दुई सिन होस् तर नोटिसेबल होस् । ‘कान्छी’मा पनि धेरै सिन थिएन तर जति थियो त्यो धेरैले मनपराए । ‘कमलेको बिहे’ पछि ‘कान्छी’ गरियो । ‘कान्छी’ पछि ‘कोहलपुर एक्सप्रेस’ । जिन्दगी यसरी नै दौडिदैछ ।

‘कमलेको बिहे’को ट्रेलर रिलिज भएको धेरै भयो तर फिल्म रिलिज किन नभएको ?
दुई निर्माताबीच कुराकानी मिलिरहेको थिएन । अहिले एकजनाले पूरै जिम्मा लिएको भन्ने कुरा छ । सायद अब रिलिज होला । अर्को कुरा, यो फिल्मको ट्रेलर रिलिज भएपछि पनि मलाई धेरैले नोटिस्ड गर्नुभएको हो । केहीले ट्रेलर हेरेरै फिल्मका लागि अफर गर्नुभयो । 

‘कोहलपुर एक्सप्रेस’मा तपाईंको क्यारेक्टर कस्तो हो ?
रमाइलो पाराको छ । भकभके बोल्छ ।

फिल्म त हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग मिल्दो रहेछ नि, हो ?
मैले पनि सुनेको हो तर फिल्म हेरेको छैन । सुटिङ गरिसकेपछि विशाल दाइ (निर्देशक भण्डारी)ले मलाई सुनाउनुभएको हो । सुरुमा त्यो क्यारेक्टरको छनक नआओस् भनेर नभनेको रे ! त्यही पनि मलाई त्योसँग सरोकार छैन । किनभने म मेरो सिनको मालिक हो । 

म कस्तो फिल्मको पार्ट हुँदैछु भन्ने जानकारी राख्नु एउटा जिम्मेवार कलाकारको दायित्व होइन र ?
त्यो त हो तर मैले फिल्मको स्क्रिप्ट पढेँ, रमाइलो लाग्यो अनि गरेको हुँ । अब १४ गते थाहा हुन्छ, कतिको सक्सेस भइन्छ भन्ने कुरा । 

तपाईंले दर्जनौं म्युजिक भिडियो खेल्नुभयो तर नोटिस्ड हुन फिल्मकै सहारा चाहियो है ! किन होला ?
भिडियो चल्नलाई सुरुमा गीत नै राम्रो हुनुपर्दो रहेछ । भिडियो भएर पुग्दैन ।

भनेपछि तपाईंले अभिनय गरेका कुनै पनि गीत राम्रा परेनन् ? 
थिएनन् । किनभने म भिडियोका लागि लास्ट अप्सनमै पर्ने मोडल थिएँ । राम्रो नाच्ने भएकाले डान्स नम्बर बढी पाउँथे । 

म्युजिक भिडियो र फिल्म दुवैमा काम गर्नुभयो । यी दुईबीच के फरक हुने रहेछ ?
आकाशपातालकै फरक लाग्छ मलाई त । किनभने मुभीमा एउटा क्यारेक्टरमा होल्ड भएर बस्नुपर्छ । धेरै लिबर्टी लिन पाइँदैन तर म्युजिक भिडियोमा पाइन्छ । भिडियोमा क्यारेक्टरको गहिराइ भन्ने हुन्न । राम्रो लुगा लाउनुपर्यो, राम्रो गेटअप गर्नुपर्यो, हल्का स्माइली फेस दियो, पुग्छ । क्यारेक्टरभन्दा पनि सिक्वेन्सको कुरा आउँछ । मुभीमा डायलग हुन्छ, कुन सिन, कसरी आदि इत्यादी । बहुतै गाह्रो चिज हो मुभी । तैपनि मलाई मज्जा मुभीमै लाग्छ । गाह्रो जहाँ छ, मज्जा त्यहीँ हुने रहेछ । 

अभिनय गरेर बाँच्न सकिन्छ त ?
बाँच्न त सकिन्छ तर वचत गर्न सकिन्न । हामीकहाँ कलाकार बिरामी हुँदा पैसा उठाउनुपर्ने अवस्था छ । यसले पनि वचत हुँदैन भन्ने प्रस्टै हुन्छ । अर्को कुरा, कलाकार भनेपछि पब्लिक फिगर हो, जताततै हिँड्न नहुने, जताततै जस्तोपाए त्यस्तै खान नहुने भन्ने मान्यता छ । त्यसैले एकदमै मेन्टेन गर्नुपर्ने हुन्छ । गोजीमा एक रुपैयाँ छैन भने पनि एक लाख बोकेजस्तो रवैया देखाउनुपर्छ । यो हाम्रो बाध्यता हो । पैसा नहुँदा मान्छेसँग भेट्न आत्मविश्वास पनि हराउँछ । अनि बिजी छु भनेर ढाँट्नुपर्छ । कलाकारले रियल लाइफमा पनि धेरै एक्टिङ गर्नुपर्छ । 

तपाईं यस्तो भन्नुहुन्छ तर यहाँ त कलाकारले ५० लाख पारिश्रमिकसम्म लिन थालिसके रे !
बाहिर आउने हल्ला एउटा हुन्छ, गुदी कुरा अर्कै हुन्छ । भोलिका दिनमा मैले पनि १० लाख पारिश्रमिक भन्दै हल्ला गर्दा त फरक पर्दैन तर भन्नु र हुनुमा फरक हुन्छ । हाम्रो फिल्म इन्डस्ट्रीको अवस्था र बजार कस्तो छ त्यो कसैले भनिरहनुपर्दैन । सबैले बुझेकै कुरा हो । मैले अघि भन्न छुटाएको कुरा– बीचमा म यहाँ फ्रस्टेट भएर मुम्बई पनि गा’को थिएँ । ‘यह रिस्ता क्या केहलाता है’ सिरियलका निर्देशक राम पाण्डेसँग भेट भयो । उहाँसँग सिक्स्ट एडी (छैटौं सहायक निर्देशक) भएर काम गरेँ । एक दिन पनि बिदा हुँदैनथ्यो । बिहान ७ बजे सेटमा हाजिर गरेर ९ बजे राति मात्र निस्कन पाइन्थ्यो । यता नेपालमा पर्दाअघि काम गर्ने बानी  थियो, उता पर्दापछि काम गर्नुपर्दा मन मान्दैन थियो । 

अनि पर्दाअघि काम गर्ने प्रयत्न गर्नुभएन ?
गा’को त बलिउडमा ट्राइ गर्ने भनेरै हो तर अवसर पाउन एकदमै गाह्रो । बरु काठमाडौं छिर्नु साटो भारत छिरेको भए केही हुन्थ्यो होला । तर यता आधा बाटो हिँडिसकेको अवस्थामा उता सुरुदेखि हिँड्नुपर्ने । थुप्रै ठाउँ अडिसन दिइयो तर अवसर पाइएन । फेरि त्यहाँ डिरेक्टरसम्म पुग्न तीन वटा प्रक्रिया पार गर्नुपर्छ । अर्को कुरा, त्यहाँ टिक्न पनि एकदमै गाह्रो । कि झुपडपट्टीमा बस्नुपर्ने कि अपार्टमेन्टमा । सम्भवै लागेन । अनि निर्णय गरियो– ब्याक टु केटीएम । 

तपाईंलाई यो फिल्म क्षेत्रको केकुराले चित्त दुख्छ ?
काम गरेको पेमेन्ट समयमा नपाउँदा चित्त दुख्छ । कोही मान्छेले टाइममै दिन्छन्, कोहीले झुलाइदिन्छन् । अर्को कुरा, यहाँ अझै पनि मिहिनेत गराइअनुसार पारिश्रमिक छैन । 
 

Leave A Comment