लाजमर्दाे विवाद

आइतबार, १६ बैशाख २०७५, ०२ : ४६ शुक्रवार
लाजमर्दाे विवाद

सत्ता राजनीतिमा रमाइरहेका एमाले र माओवादी एकीकरणका साइतहरू एकपछि अर्को गर्र्दै सर्दै आएका छन् । पोहोर दशै पछाडि एकाएक चुनावी मोर्चामा एकबद्ध भएका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू बारम्बार औपचारिक एकीकरणको उद्घोष गर्ने गर्छन् तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

सत्तामा ६० र ४० प्रतिशतको अनुपातमा भागबण्डा गरेका यी दुई दलका एकीकरण कथाले राजनीतिक वृत्तमा शंका बढाएको छ, अन्योल थपेको छ । पछिल्लो अप्रिल २२ लाई कम्युनिस्टहरूले आफ्नो स्थापना दिवस मान्छन्, जुन दिन लेनिन जयन्ती पनि पर्छ । त्यस दिन सभागृहमा प्रदर्शित  एकता सन्देशले एकीकरण नाममा भइरहेको भित्री कथाहरू सतहमा ल्याएको छ । 

लामो समयदेखि एकीकरणका निम्ति गृहकार्य र वार्ताहरू गर्दै आएका एमाले माओवादीले लेनिन जयन्तीको साइत पारेर दल एकीकरण गर्ने आश्वासन दिएका थिए । एकीकरणका दिन शक्ति प्रदर्शन गर्न मुलुकभरबाट कार्यकर्ताहरू भेला गर्ने योजनाहरू पस्किएका थिए । तर, वैशाख ९ को त्यो शुभ साइत जुर्न सकेन । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिनुअघिको राजनीतिक मौसममा पनि एकताका निम्ति दबाब आएको माओवादीबाट । एमाले अध्यक्ष ओलीले संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको समर्थन लिएर दुई तिहाईको बहुमत प्रदर्शन गर्ने राजनीतिक पृष्ठभूमिका पछाडि माओवादीसँग एकतामा व्यवधानहरू छन् भन्ने प्रश्न उठेको हो । त्यस्तै ओलीको भारत भ्रमणअघि एकता हुनुपर्छ भन्ने अडान माओवादीले सार्वजनिक गरेकै हो । 

विश्वासको मत र भारत भ्रमणको राजनीतिपछि प्रचारमा ल्याइएको वैशाख ९ मा एकता नभएपछि शीर्ष नेताहरूसामु एकीकरणको काम भइरहेको सन्देश दिनुपर्ने बाध्यात्मक अवस्था आएको हो ।  प्रचारित साइतमा एकीकरण हुन नसक्ने भएपछि कम्युनिस्ट पार्टी स्थापनाको साइतमा दुवै पार्टीका अध्यक्षले एकीकरणको सन्देश दिने योजनाअनुसार आइतबार एउटै कार्यक्रम बनाइएको थियो ।

एउटै मञ्च प्रयोग गर्नुपर्ने आवश्यकताको पछाडि एउटै कारण हुनसक्छ, जनताले एकता कुनै कुरा प्रत्याउन छाडेका छन् । जनस्तरमा एकता नहुने सन्देश प्रभावित नहोस् भन्ने उद्देश्यले संयुक्त कार्यक्रमको आयोजना गरिएको देखिन्छ । तर, कम्युनिस्ट दिवस मनाउने कार्यक्रम पार्टी एकीकरण आश्वस्त पार्नेभन्दा अन्योल सृजना गर्नेमा बढी उपयोगी बनेको विश्लेषण गरिँदैछ । 

कार्यक्रमस्थलमा देखिएको विवाद सामान्य हुन सक्थ्यो । त्यसलाई नेताहरूले दाबी गरेजस्तै ‘प्राविधिक’ कमजोरी भन्न सकिन्थ्यो । तर, कार्यक्रम स्थलमा उर्लिएको विरोध र हुटिङ्गको जसरी व्यवस्थापन गरियो त्यसले एकै पटक धेरै खाले सन्देश प्रवाह गरेको छ ।

कार्यक्रमको संयोजन एमालेले गरेको र एमालेकै परिकल्पनाअनुसार ब्यानरमा एमालेले मान्दै आएका पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिर शीर्ष स्थानमा राखेर पुछारमा दुईतिर ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको फोटो राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको मूल सन्देश दिने यो ब्यानरमा माओवादी कार्यकर्ताले आपत्ति जनाए ।

आफूले मान्दै आएका माओको तस्बिर पनि थिएन र लेनिन जयन्तीमा लेनिन पनि गायब थिए । माओवादीको विरोधपछि एमालेले रचना गरेका ब्यानर झिकियो, अर्को ब्यानर राख्ने सूचना प्रवाह गरियो । तर, करिब ४ घण्टापछि एमालेले तयार गरेको ब्यानर जस्ताको त्यस्तै टाँगियो र सँगै कम्युनिस्ट भनेर विश्वमा कहलिएका माओ, लेनिन, माक्र्स, एन्जेल्सलगायत नेताहरूका तस्बिर शिरानमा सजिएको माओवादीको बेग्लै ब्यानर टाँगियो ।

माओवादीले तयार गरेको ब्यानरमा एमालेको जस्तो ओली र दाहालका तस्बिर थिएनन् । पहिलो ब्यानरमा ‘प्राविधिक’ कमजोरी भनेर एमालेले स्विकारेको थियो भने नयाँ एउटा मात्र ब्यानर बनाउन सकिन्थ्यो तर, त्यसो गरिएन । एमाले आफ्नो अडानबाट एकरत्ती पछाडि नहटेको अवस्थामा माओवादीले आफ्नो अस्तित्व भित्तामा झुण्डाएर कार्यकर्ताको आक्रोश कम गर्न सफल भयो । ब्यानर विवादको इमानदार समाधान निकालेको थियो भने कार्यक्रममा दुईटा बेग्लाबैग्लै ब्यानर टाँगिदैनथे । फरक–फरक ब्यानरले दुई पार्टीको अहिलेसम्मको फरक अस्तित्व स्विकारेको छ ।

र, सँगसँगै दुवै पार्टी एकीकरणका निम्ति भावनात्मक रूपले एकाकार भएका छैनन् भन्ने सन्देश दिएको छ । सार्वजनिक खपतका निम्ति नेताहरूले जसरी एकीकरणको आश्वासन दिँदै आएका छन्, त्यसैगरी उनीहरू बीचको  राजनीतिक पाटो मिलिसकेको छैन । त्यहाँ अझै पनि पेचिला प्रश्न ज्यूँकाज्ञ त्यूँ छन् भन्ने सन्देश ब्यानर प्रकरणले सतहमा ल्याएको छ । 

यो वर्ष दुई ठूला कम्युनिस्ट पार्टीले एउटै थलोमा कम्युनिस्ट एकता दिवस मनाए । एउटै कार्यस्थलमा दुईटा पार्टीले कार्यक्रम आयोजना गरेको सन्देश प्रवाहित भएको छ । र, यसले एकतामा सन्देह सृजना गरेको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेका उखान टुक्काले गहिरो राजनीतिक अर्थ राखेको छ । ओलीले भनेका छन्, ‘जुत्ता मिलेन भन्ने होइन, खुट्टा ताछेर पनि मिलाउनु पर्छ ।’ दुई पार्टी एकीकरण हुन नसक्नुमा एमाले र माओवादीले अख्तियार गरेको राजनीतिक दर्शन र नेतृत्वको समायोजन प्रमुख मामला हुन् । ओलीले खुट्टामा मिल्ने जुत्ता बनाउनुपर्छ भनेका थिए भने त्यसको अर्थ उनी एकीकरणका निम्ति उदार छन्, लचिलो छन् भन्ने अर्थ लाग्थ्यो ।

तर, ओलीले जुत्ताअनुसार खुट्टा ताछ्नु पर्छ भनेबाट एकीकरणका निम्ति दलहरूले ठूलो त्याग गर्नुपर्ने हुन्छ । त्यस्तो त्याग एमालेले गर्न चाहेको छैन भन्ने कुुरा त ब्यानरमा देखाएको अड्डीबाटै बुझिन्छ । अब बाँकी रह्यो माओवादीले आफ्ना खुट्टा ताछेर एमालेको जुत्ता लगाउने वा नलगाउने ? कम्युनिस्ट केन्द्र बनाउने बृहत् उद्देश्य लिएका पुष्पकमलले समानताको आधारमा सम्मानजनक र न्यायोचित ढंगको एकीकरण हुनुपर्छ भन्दै आएका छन् । 

नेपालको राजनीतिमा अहिलेसम्म तेस्रो शक्तिको रुपमा रहेको माओवादी अब कता लाग्ने ? पुष्पकमल आफ्नै खुट्टामा उभिएर राजनीतिमा छाइरहने वा एमालेको जुत्ताअनुसारको खुट्टा बनाएर राजनीतिक मैदानमा विलय हुने उनीसँग दुई विकल्प मात्र छन् । 

Leave A Comment