केकीको कपी एक्सप्रेस

बिहिबार, २० बैशाख २०७५, १२ : २८ अनिल यादव
केकीको कपी एक्सप्रेस

फिल्म दृष्टि  : कोहलपुर एक्सप्रेस

बलिउडसँग नेपाली फिल्मको नाजायज प्रेम बसेको धेरै पहिल्यैदेखि हो । बेलाबखत यो सम्बन्ध तोड्ने प्रयास गर्छन्, नव प्रवेशीले । तर पुनः त्यो ‘नाजायज’ प्रेम बल्झिरहन्छ । हलमा चलिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बलिउडसँगको यस्तै बल्झिएको प्रेमको प्रतिफल हो ।

फिल्मले राम्रो प्रतिक्रिया नपाउँदा–नपाउँदै फिल्म हेर्न आइतबार बिहान काठमाडौंस्थित कमलपोखेरीको बिग मुभिज सिनेमा हलमा पुगियो । हलमा आफूसँगै दर्शकको संख्या जम्माजम्मी १३ थियो । 

फिल्म सुरु हुनुअघिसम्म आशा थियो– बौद्धिक छवि बनाएकी केकी अधिकारीद्वारा निर्मित यो पहिलो फिल्म भएकाले पक्कै बाहिर हल्ला भएजस्तो निराशाजनक त नहोला ! तर, हल्ला सत्य रहेछ । कोहलपुर एक्सप्रेस ‘नेपाली मुम्बई एक्सप्रेस’ नै रहेछ, तमिल र हिन्दी भाषामा बनेको फिल्म ‘मुम्बई एक्सप्रेस’को नेपालीकरण । 

दुवै फिल्म लगभग उस्तै छन् तर निर्देशकले केही पात्र, दृश्य र क्लाइमेक्समा नयाँपन छर्दै ‘मुम्बई एक्सप्रेसबाट इन्स्पायर्ड’ भनेर उम्कने प्रयास गरेका छन् ।

फरक यत्ति हो, उताको ‘मुम्बई एक्सप्रेस’लाई सन् २००५ मा कमल हसनले धान्ने असफल प्रयास गरेका थिए, अहिले नेपालमा बनेको ‘कोहलपुर एक्सप्रेस’लाई केकी अधिकारीले धान्ने प्रयास गरिन् । 

कमलले मोटरसाइकलको भरमा फिल्म गुडाउने प्रयास गरेका थिए । केकीले स्कुटीको सहारा लिइन् । उता ‘मुम्बई एक्सप्रेस’को टायर पञ्चर भयो यता आइरहेको बिजनेस रिपोर्टले केकीको ‘कोहलपुर एक्सप्रेस’को स्कुटी पञ्चर हुने संकेत देखाइसक्यो । 

उसो भए फिल्म कस्तो छ त, त्यसको कथासारभित्र प्रवेश गरौं है त !

‘मुम्बई एक्सप्रेस’जस्तै ‘कोहलपुर एक्सप्रेस’ को सुरुवात तीन सौखिन चोरले एक व्यवसायीको बच्चा अपहरण गर्ने योजनाबाट सुरु हुन्छ तर योजना सफल नहुँदै विविध द्वन्द्व सिर्जना हुन्छन् । 

योजनाकारमध्ये एकको भूमिका निर्वाह गरेका बुद्धि तामाङ पेट दुखेपछि अस्पताल भर्ना हुन्छन् । बुद्धिकी गर्भवती श्रीमती चम्पा (प्रियंका कार्की) अपहरणको योजना जसरी पनि सफल पार्न अडिग हुन्छिन् । भकभके (विनोद न्यौपाने) र चम्पाका भाइको काँधमा जिम्मेवारी आइपुग्छ । 

चालकको अभाव कोहलपुर एक्सप्रेसको भूमिकामा रहेकी केकीले पूरा गर्छिन् । त्यसपछि बच्चा अपहरणको योजना अघि बढ्छ ? फत्ते हुन्छ कि हुँदैन ? फिल्म यही परिस्थिति वरिपरि घुमेको छ । सायद यति भनिसकेपछि ‘मुम्बई एक्सप्रेस’ हेरिसकेकाको दिमागमा फिल्मको प्लट पक्का घुमिसक्यो । 

जसरी कमल हसन ‘मुम्बई एक्सप्रेस’मा निर्दोष र सोझो टाइपको चरित्रमा देखिएका छन्, यता केकी उस्तै छिन् । दुवै बाध्यतावश अपहरणको योजनामा सहभागी हुन तयार हुन्छन् । उता ‘मुम्बई एक्सप्रेस’मा मनीषा कोइरालाले निर्वाह गरेको बार गर्लको भूमिका यता ‘कोहलपुर एक्सप्रेस’मा ऋचा शर्माले निर्वाह गरेकी छन् । 

व्यवसायीको चरित्रमा रवीन्द्र झा छन् । उनको चरित्रले हिन्दी ‘मुम्बई एक्स्प्रेस’मा व्यवसायीको भूमिका निभाएका सौरभ शुक्लाको झल्को दिन्छ । कमल हसनको दिदीजस्तै छुच्ची आइमाईको भूमिकामा प्रियंका ‘पर्फेक्ट’ देखिएकी छन् । 

पात्र मात्र होइन, फिल्मको बगाई पनि ‘मुम्बई एक्सप्रेस’ जस्तै छ । बच्चा अपहरण गर्ने शैली, अपहरणकारी बिरामी हुनेदेखि अस्पतालसम्मका दृश्य, विद्यालयको दृश्य, फिरौती रकम माग्ने शैली सबै उस्तै–उस्तै । कथा र पटकथाका लागि शान बस्न्यातलाई जस दिने कुनै ठाउँ छैन । ‘ओरिजिनल’ बाट थोरै प्रतिशत मात्र फरक छ ‘कोहलपुर एक्सप्रेस’ । 

फिल्म ‘सिन बाइ सिन’ कपी छ । यदि यी दुइ फिल्मलाई एकपछि अर्को गर्दै हेर्ने हो भने कथा र दृश्यमा कुन हदसम्म चोरी गरिएको छ भन्ने प्रस्टै हुन्छ । ‘कोहलपुर एक्सप्रेस’ हिन्दी र तमिल भाषाको ‘मुम्बई एक्सप्रेस’को फोटोकपी मात्र रहेको भन्दै चर्को आलोचना भएपछि यसकी निर्मात्रीसमेत रहेकी केकीले कपी गरेको हैन, प्रभावित मात्र भएको हो भनेर सामसुम पार्ने प्रयास गरिन् । 

तर यो कुतर्कबाहेक केही थिएन । दर्शकलाई मुर्ख बनाउने उनको प्रयास सफल नभएको फिल्मको बिजनेसले नै देखाइसकेको छ ।
रोचक के भने ‘मुम्बई एक्सप्रेस’ आफैँमा उत्कृष्ट फिल्म मानिँदैन र बक्सअफिसमा यो ‘फ्लप’ भएको थियो । फ्लप फिल्मको कपी गरिएको कोहलपुर एक्सप्रेसको बाटो पनि उस्तै छ ।

कथालाई थोरै फरक बनाउने निहुँमा परिवर्तन गरिएका केही दृश्य झन् विश्वसनीय देखिएका छैनन् । कमेडी शैलीमा निर्माण भएका फिल्मका कथा जति खँदिलो भयोे, दर्शकले त्यति नै रमाइलो लिन सक्छन् तर यसमा स्क्रिप्ट राइटर र निर्देशक मज्जैले चुकेका छन् । पहिलो हाफमा थोरै हाँस्ने दर्शक दोस्रो हाफमा हाई काढ्न बाध्य हुन्छन् ।

अभिनयका हिसाबले कान नसुन्ने युवतीका रुपमा केकी स्वभाविक नै देखिएकी छन् तर यो फिल्म हेरिसकेपछि दर्शक सबैभन्दा बढी निराश उनीसँगै हुन्छन् । कारण– उनको दृढ, फरक र बौद्धिक छवि नै हो । 

फिल्म क्षेत्रमा केकी बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छिन् । महिलावादी छवि भएकी उनी महिलासँग जोडिएका मुद्दामा कडासँग आवाज उठाइरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा बहस पैरवीमा उत्तिकै डट्छिन् । 

फिल्ममा अभिनय गर्दा त जस्तोसुकै विषय रोजे पनि ‘व्यावसायिक’ आवरणमा चलेकै थियो तर आफैँले फिल्म निर्माण गर्दा उनले गरेको खेलाँचीले ‘कोहलपुर एक्सप्रेस’बाट उनी बोल्ने तर बोलेको व्यवहारमा उतार्न नसक्ने पात्रको सूचीमा दरिइन् ।

‘मुम्बई एक्सप्रेस’बाट फरक देखाउनलाई यो फिल्ममा ऋचा शर्माले निर्वाह गरेको बार गर्लको क्यारेक्टरमा थोरै ट्विस्ट गरिएको छ । मनीषा कोइरालाले निर्वाह गरेको ‘बारगर्ल’ले त एउटै पुरुषसँग सम्बन्ध राखेको देखाइएको थियो तर यहाँ त ऋचाले पैसाका लागि तीनजना पुरुषलाई एउटै आरोपमा फँसाउन खोजेकी छन् ।

कथालाई ट्विस्ट गर्ने निहुँमा महिलाको चरित्रलाई झन् कमजोर रुपमा प्रस्तुत गरिएको छ । महिलावादी केकीले कम्तीमा महिलाको चरित्र चित्रणमा यत्ति नगरिदिएको भए उनको बहस पैरवीको लाज जोगिन्थ्यो ।

उता ‘६क्कापञ्जा’ फिल्ममा महिलाको चरित्रलाई लिएर बलियो आवाज उठाएकी अर्की बौद्धिक अभिनेत्री ऋचा स्वयं यो फिल्ममा चुकिन् । एक त अरुको कन्टेन्ट, त्यसमाथि त्यस्तो भूमिका पाउँदा उनी उत्साहित देखिइन् । यसले एकै विषयमा उनको दोहोरो चरित्र देखियो ।
एकछिन ‘मुम्बई एक्सप्रेस’लाई बिर्सिएर ‘कोहलपुर एक्सप्रेस’लाई मात्रै हेर्ने हो भने पनि यो फिल्म उत्कृष्ट दरिदैन । न कथा, न प्रस्तुति न त रचनात्मक छ । फिल्ममा बुद्धि तामाङ र विनोद न्यौपानेको अभिनय तारिफयोग्य भने छ । दुवैले बेलाबेला हाई काढेर बसेका दर्शकलाई हँसाउँछन् । 

बाल कलाकारका रुपमा कुशाग्र भट्टराई ठीकै छन् । फिल्मको प्रशंसनीय पक्ष कथाको गतिअनुसार बजिरहने कालीप्रसाद बाँस्कोटाको शीर्ष गीत मात्र हो । खिचाई र सम्पादन ठीकै छ । थुप्रै म्युजिक भिडियो निर्देशन गरेर पहिलोपल्ट यो फिल्म निर्देशन गरेका विशाल भण्डारीले वाह भन्ने ठाउँ नै राखेनन् फिल्मभरि । 

पुरापुर अरुको सिर्जनाको बलमा आफ्नो करिअर उकास्न खोज्नु केकी र विशालको मुर्खता मात्र हो । तत्काल केकी फोटोकपी हैन, प्रभावित हो भनिरहलिन् । कुनै समय आउने छ, जब उनी आफैँ भन्नेछिन्, ‘यो गलत अभ्यास हो ।’
 

Leave A Comment