‘मेरो फ्यानबाहेक अरू कोही साथी छैनन्’

शुक्रबार, २१ बैशाख २०७५, ०५ : ०८ शुक्रवार
‘मेरो फ्यानबाहेक अरू कोही साथी छैनन्’

बिक्की कार्कीको २ गीत सार्वजनिक भएका छन् त्यो पनि युट्यूबमा  । २ वटै गीत युवामाझ लोकप्रिय छन् । सुदूर–पश्चिमको ठेट नेपाली शब्द प्रयोग गरेर करिब एक वर्ष अगाडि युट्यूबको नेपटिभीमा सार्वजनिक गरेको ‘गाँजाको सहारा’ २९ लाखले सुनिसकेका छन् । १५ दिनअगाडि युट्यूबमा आएको ‘कसरी म हिँडुला तिमी अर्कैसँग जाँदा’ बोलको दोस्रो गीतको श्रोता २ लाख कटिसकेका छन् । दुवै गीतमा शब्द, संगीत र स्वर उनकै हो । ठेट शब्द र मौलिक स्वर प्रयोग गर्न रुचाउने उनीसँग बागबजारको एक क्याफेमा भेट भयो । झुस्स दाह्री जुंगा, असरल्ल कपालसहित आएका उनीसँग शुक्रवारकर्मी पुष्पा थपलियाले गरेको अन्तरंग कुराकानी ।

पहिलो गीत गाँजाको, दोस्रो रक्सीको । कुरा के हो ?
म्युजिक र गाँजासँग मेरो गहिरो सम्बन्ध छ । गाँजा छ म्युजिक छ, गाँजा छैन म्युजिक पनि छैन । म्युजिक छ त म छु, म्युजिक छैन त म पनि छैन । यति भनेपछि कुरो आफँै बुझ्नुस् । 

आफूले खाए पनि गाँजाको प्रचार गलत हैन ? संगीतको सहारा लिएर गाँजाको प्रचार गर्नु ठिक हो ?
गाँजामा टेट्रा हाइट्रो क्यानाबिनो (टीएचसी) भन्ने रसायन हुन्छ, यसले दिमागलाई हानि गर्छ । अझ धेरै मात्रामा लियो भने त पागल नै बनाउँछ । यो कुरा मलाई राम्रोसँग थाहा छ ।  मैले मेरो गीतमा युवाहरुलाई गाँजा खानुपर्छ भनेको छैन, खाँदै नखाउ पनि भनेको छैन । त्यो उनीहरुले आफैँ विचार गर्ने कुरा हुन् ।

यसरी खुलेआमा गाँजा खान्छुभन्दा अफ्ठ्यारो लाग्दैन ?
अँ है, अफ्ठ्यारो लाग्नुपर्ने त हो । प्लस टु पढ्दा केही कुराले मन टुक्रियो । हल्का टेन्सन भयो र गाँजा खान सुरु गरेँ । कुरा गर्दा के झुटो बोल्नु भनेर भनिदिए । 

मन कसरी टुक्रियो तपार्इंको ?
कुरा धेरै छन् । पहिलो त मलाई मन नलागेको विषय पढ्न दबाब आयो । मेरो घर धनगढी हो । एसएलसीमा राम्रो नम्बर आएपछि ममी ड्याडीलाई साइन्स पढाउन रहर लागेछ । उहाँहरुको कुरा टार्न सकिन र काठमाडौंमा साइन्स पढ्न आएँ । यो मेरो बाध्यता थियो । पढ्न मन नलागेको विषय पढ्दा ११ र १२ दुवैमा ब्याक लाग्यो । ११ मा के विषय लागको थियो बिर्सिएँ । १२ मा केमेष्ट्रिमा फेल भएँ । साथीहरुले राम्रो गरिरहेका छन् तर आफू मन नपरेको कुरामा झुण्डिएर बस्नुपरेको छ, यही टेन्सनले यताउता लागेँ । अनि अर्को कारण गलफ्रेन्डसँगको बे्रकअप । 

गलफ्रेन्डले छोडिन् ?
हैन, मैले नै छोड्देको ।

अनि आफैँले छोडेको कुरामा के को टेन्सन त ! 
मैले उसलाई अर्कैसँग देखेँ नि त । अनि छोड्देको ।

एक गए अर्को आइहाल्थ्यो नि, गाँजै खान थाल्नुपर्छ र ! 
हो है । तर, यो मन यस्तै रहेछ । एकपटक टुक्रिएपछि जोडिन नमान्ने । अहिले त मैले घरपरिवारबारे सोच्नै छाडेँ । जे छ, आजका लागि छ, भोलि जे हुन्छ हुन्छ, त्यो भोलिकै कुरा भो । 

छोरो बिग्रियो भन्ने चिन्ता होला नि घरमा त ?
अँ, त्यो हुनु स्वाभाविक पनि होला । म साइन्स पढ्दा होस्टल बस्थेँ। पछि होस्टल छाडेर एक्लै रुम लिएर बसेँ, त्यो पनि घरमा थाहै नदिएर । पछि उहाँहरुकै इच्छाअनुसार म्यानेजमेन्ट पढिदिएँ र पास पनि भइदिएँ । मेरो तर्फबाट परिवारका लागि त्यत्ति हो, अरू मेरो जीवन हो, मेरै तरिकाले बिताउँछु । 

छोरोले गीत गाउन थाले छ भन्ने त थाहा छ होला नि घरमा ?
मैले युट्यूबमा गीत नराखुञ्जेलसम्म त थाहा थिएन, अहिले भने थाहा छ । युट्यूबमा गीत राखिसकेपछि घरबाट फोन आएको थियो । अनि गीतको बारेमा भन्दा पनि गाँजा खान्छस् कि खान्नस् भनेर बढी केरकार गर्नुभयो । फोन राख्ने बेलामा भने गीत राम्रै गाइछस् भन्नुभएको थियो ।  

तपाईंंको कथा त सुनियो । अब गाँजाको सहारा गीत बनाउँदाको कथा पनि सुनौं न ।
म १२ को परीक्षा दिएर बसेको थिएँ, त्यही बेलामा बनाएको गीत हो त्यो । २१ घण्टा निरन्तर प्राक्टिस गरेर गीत बनाएको हुँ । सुरुमा बागबजारमै भएको रिबेल स्टुडियोमा गीत रेकर्ड गराउन गएको थिएँ, तर त्यहाँ उनीहरुले मलाई पत्याएनन्,  कृपा स्टुडियोका दाइले भने सहयोग गर्नुभयो । पछि रिकेस स्टुडियोमा आएपछि त्यहाँको दाइले निकै नै सहयोग गर्नुभयो र मैले गीत बाहिर ल्याउन सकेँ । अहिले म त्यही स्टुडियोमै बस्छु ।

गीत हिट भइसकेपछि कस्तो फिल हुँदोरहेछ ?
मलाई मन पराउने, मेरो स्वर मन पराउने पनि रहेछन् । धेरै म्युजिसियनले मेरो स्वरलाई ‘हस्की भ्वाइस’ भनेका थिए, यसलाई बुझ्ने भाषामा भन्दा टपरीमा पानी हालेको जस्तो, बोरा च्यातिएको जस्तो । तर मलाई त आफ्नो स्वर राम्रै लाग्छ । गीत हिट भइसकेपछि भने हस्की स्वरलाई मन पराउने पनि रहेछन् भन्ने लाग्यो । खुसी छु ।

पहिलो गीत नै हिट है !
अँ, आफैँले गाएको र नाम दिएको यो पहिलो गीत हो । तर पहिले पैसा नहुँदा धेरै गीत अरूलाई बेचेको थिएँ । तिनलाई बेचेको भन्दा त चित्त दुख्छ, दिएको थिएँ भनौं । गीतबापत मैले पैसा लिएकाले आफ्नो भन्ने अधिकार पनि छैन । ती गीतहरु पनि निकै हिट भए । नाम भने म भन्दिन है । सोध्ने कष्ट नगरेकै राम्रो । 

नराम्रो कमेन्ट पनि आयो होला नि ?
नाम त भन्दिन तर उहाँ संगीतको क्षेत्रमा वरिष्ठ नै हुनुहुन्छ । एक कार्यक्रममा भेट हुँदा उहाँले तिम्ले नेपाली संगीतमा विकृति ल्यायौ, भाषा बिगार्याै, नयाँ जेनेरेसनलाई बिगार्याैं भनेर भन्नुभयो त्यो पनि सबै साथीहरु भएको ठाउँमा । चित्त दुखेको थियो । तर काम गरिसकेपछि राम्रो नराम्रो कमेन्ट आइहाल्छ नि भनेर चित्त बुझाएँ ।

गीतमा जिणदगीमा (जिन्दगी) भनेर शब्द नै बिगार्नुभएको छ, कतैकतै सुदूर–पश्चिमका भाषा पनि मिसाउनुभएको छ, किन ?
हो नि । मेरो पूर्खा जुम्लादेखि बसाईं सरेर धनगढी जानुभएको हो । त्यही भएर त्यो मेलोडी जुम्लातिरको हो, केही शब्द सुदूर–पश्चिमका छन् । यो जिणदगीमा भन्ने जस्ता शब्द भने मैले नै बनाएको हो । अब सबैले सधैँ एकै कुरा गरे नयाँ क्रिएसन कसरी हुन्छ त हैन ? अर्को कुरा मैले अहिलेसम्म म्युजिक सिकेको छैन । हुन त धेरै पहिले कमल रेग्मी भन्ने सरले मलाई गितारको पाँच कड सिकाउनुभएको थियो तर त्यो मेरा लागि काम लागेन । म स्केलदेखि गीत बनाउँछु । अहिलेसम्म सा रे ग म नसिकेको मेरो सुर र ताल दुवै छैन, भावना मात्रै छ ।

भावनाको कुरा गर्नुभयो, आजभोलि त शब्द नै नराखी पनि म्युजिक कम्पोज गर्छन् नि ?
म सबै संगीतलाई सम्मान गर्छु । सानैदेखि धेरै गीत सुनेर हुर्केको मान्छे हुँ । अहिले पनि भजनदेखि रक मेटलसम्म बाँकी छोड्दिन ।

स्टेज कार्यक्रमको प्रस्ताव कत्तिको आउँछ ? 
अलिअलि प्रपोज त आएको थियो तर मैले कम पारिश्रमिकमा गर्दिन भनेँ । एउटा म्युजिक क्षेत्रको मान्छेलाई बीस हजारको माग राख्दा पनि पूरा गर्न सक्दैन भने के स्टेजमा गाउनु हैन ? फेरि म त्यति सम्पर्कमा पनि आउँदिन त्यसैले अहिलेसम्म स्टेजमा गएको छैन । 

तपाईंका फ्यानहरुले त स्टेजमा पनि हेर्न चाहेका होलान् नि ?
मलाई हेरेर के गर्ने ! उहाँहरुलाई मन पर्ने मेरो कम्पोज हो, म्युजिक हो, लिरिक्स हो, भ्वाईस हो । तर फ्यानहरुसँग सामाजिक सञ्जालमा कुरा भइरहन्छ । कति फ्यानहरुले दाजु गाँजा रक्सी खान हुँदैन भनेर सुझाव दिइरहेका हुन्छन्, कतिले भने दाजु म त झ्याप भएर तपार्इंको गीत सुन्दै छु भन्छन् ।

सामाजिक सञ्जाल बाहिरका फ्यान छैनन् ?
मेरो फ्यानबाहेक अरू कोही साथी छैनन् । म सधैँ एक्लै हो । प्लस टुमा साइन्स पढ्दा केही साथी थिए, तर अहिले एक्लै छु । 

साथी बनाउन मन पर्दैन ?
ह्या.... साथी बनायो भने सुरुमै के गर्दैछस् भनेर सोध्छन्, त्यो मलाई सबैभन्दा मन नपर्ने प्रश्न हो । अब तपार्इं नै भन्नुस् त ट्रयाजेडीमा परेर पढाइसढाइ छाडेर बेरोजगार बनेको मानिसलाई यो प्रश्न कति घाँडो हुन्छ । 
तपार्इंले कुराकानीको क्रममा धरै ठाउँमा प्रश्न नै बिर्सेँ भनिरहनुभयो, स्मरणशक्ति कम भएको कुरा दोहोर्याइरहनुभयो तर जुन समयमा पनि याद आउने, भुल्नै नसक्ने कुरा भने के हो ?

(हाँस्दै) सायद चार वर्षअगाडिको कुरा हो ठ्याक्कै डेट याद छैन, भनिहालेँ धेरै बिर्सन्छु । म घट्टेकुलोको एक रेस्टुरेन्टमा पूर्व प्रेमिका भना, उनलाई पर्खिरहेको थिएँ, मेरो मोबाइलमा उनको ४५ पटकसम्म मिसकल आएछ तर मैले थाहा पाइन । भर्खर–भर्खर २६ हजारमा गितार किनेको थिएँ, उनी सरासर रेन्टुरेन्टभित्र आइन् र गितार उचालेर मज्जासँग पछारिदिइन् । गितार त फक्लक्कै गयो, नेक मात्रै बाँकी रह¥यो । अब आफैँ सोच्नुस् त, घरमा म्युजिकमा लाग्न सपोर्ट छैन, कति दुःख गरेर २६ हजारमा गीतार किनेको । मलाई कस्तो भयो होला । फेरि आफ्नै मायालु रिसाउन पनि नमिल्ने, पैसा तिराउन पनि नमिल्ने । अहिले पनि त्यो नेक राखिराखेको छु, हेर्दा याद आउँछ क्या । 

हाँसो लागेको क्षण छैन ?
अँ, शिवरात्रिको भोलिपल्ट जस्तो लाग्छ । गाँजा र घोट्टा दुवै खाएर झ्याप भएको थिएँ । त्यो बेला लोडसेडिङ हुन्थ्यो । म झ्याप भएर नयाँ म्युजिक क्रिएसन गर्नतिर लागेँ । कहिले बत्ती आउने कहिले जाने भइरहेको थियो । गीतार हातमा लिएर क्याप्स गितारमै राखेँछु । क्याप्स कता हरायो भनेर आधा घण्टाजति खोजेको खोज्यै भएँ । पूरै बेड नै ओल्ट्याई पोल्ट्याई गरेर कोठा पूरै भद्रगोल पारिसकेँ तर पनि फेला परेको हैन । पछि गितारमै क्याप्स देखेर एक्लै धेरैबेरसम्म हाँसिरहेँ । 

अन्त्यमा केही भन्न मन लागेको छ ?
गीतमा भनेजस्तो केही नखानुस्, गीत मात्रै सुन्नुस् । 
 

Leave A Comment