‘शंकर बिसीलाई डान्सबारमा नाच्दानाच्दै तानेर मोडल बनाएँ’

शुक्रबार, २१ बैशाख २०७५, ०५ : ५२ भोला अधिकारी
‘शंकर बिसीलाई डान्सबारमा नाच्दानाच्दै तानेर मोडल बनाएँ’

–डान्सर शिव विक

डान्सबारमा नाच्न थालेको कति भयो ?
गाउँमा बिहे भोजतिर नाचिन्थ्यो । काठमाडाैंमा आएपछि  डान्सबारमा नाच्न थालेको ५२ सालदेखि हो । 

कसरी आइपुगियो डान्सबार ?
पाटनमा मेरो दाजुभाउजू बस्नुहुन्थ्यो । त्यहीँ दाजुभाउजूहरुसँगै बुद्धको मूर्ति बनाउन थालेँ । मूर्ति बनाउन थालेपछि नाच्न नपाइने । दिनभरि काम गर्नुपर्ने । राष्ट्रिय नाचघरमा आउदाजाँदा पैसा नहुने । फेरि आफू सरकारी स्कुलमा पढ्थेँ  । पढ्न थालेपछि आफूसँग गाडी भाडा हुँदैनथ्यो । नाच्न थालेँ पछि भात खान लाउन पनि समस्या भयो । साथीहरुले कहिलेकाहीँ म रेस्टुरेन्टमा नाच्छु भन्थे । मैले मलाई पनि लैजाउन भनेँ  । रेस्टुरेन्टमा नाच्दा मासु भात खान पनि पाइने । कहिले कुन साथीको रेस्टुरेन्टमा नाच्ने, कहिले कुन रेस्टुरेन्टमा नाचिन्थ्यो ।  

क्यासिनोमा पनि नाचेँ भन्नुभयो कति समय नाच्नुभयो ? 
३ वर्ष नाचेँ । त्यसपछि फेरि डान्सबारमा फर्किएको हो । त्यो समयमा नाच्ने क्यासिनोमा अहिले पनि नाच्छु ।  

क्यासिनोमा र डान्सबारमा नाच्नुमा के फरक छ ?
क्यासिनोमा नाच्ने पनि नाच्ने नै हो । क्यासिनोमा नाच्दा गु्रप हुन्छ । एकजुट भएर काम गरिन्छ  । जो कसैले भेट्न चाहँदैमा भेट्न सकिँदैन । 

कमाइ कति हुन्थ्यो ?
अलि फरक गर्न मन पर्छ मलाई । पहिलोपटक नाच्दा बियरको बोतल टाउकोमा हानेर फुटाएर देखाएँ । अंग्रेजी नयाँ वर्षमा पहिलोपटक डान्सबारमा छिरेको थिएँ । त्यहाँ छिर्दा गाउँघरमा नाचेको नहुने रहेछ । पूरा फरक । बत्ती झिलिमिली जताततै । पहिलोपटक नै बियरको बोतल फुटाएर ग्राहकलाई आकर्षित गरेकाले पहिलोपटक नै ४ हजार तलब थापेको थिएँ । 

डान्सबारमा यौन शोषण कत्तिको हुन्छ ?
त्यो बेलामा मोबाइल थिएन । मेकअपमा बसेपछि बाहिर भेट्न पनि पाइँदैनथ्यो । डान्सबारका केटी भेट्ने रेस्टुरेन्टमा मात्रै थियो । अब अहिले सबैको हातमा मोबाइल छ । साहुसँग लपक्कै हुने, गेष्ट आउँदा उसैसँग लपक्कै बस्ने गर्छन् । 

डान्सबारमा नाच्नेहरु प्रायः म डान्सबारमा नाच्छु भनेर किन खुल्न चाहँदैनन् ?
डान्सबारमा नाच्ने भनेको नराम्रो भन्ने सोच्छन् । अनि म्युजिक भिडियोतिर नाच्ने भने ठूलो ठान्छन् । तर अधिकांश कलाकार डान्सबारबाट नै गएका हुन् । दिलिप रायमाझी क्यासिनोमा नाचेर आएको मान्छे । सुशील क्षेत्री पनि यसरी नै डान्सबारबाट नाचेर आएको मान्छे हुन् । मैले नै डान्सबारमा नाच्दानाच्दै तानेर मोडल बनाएको शंकर बिसी अहिले चर्चित छ । डान्सबारमा नाच्छु भनेर भन्न लजाउनुपर्ने कारण देख्दिन म । ४५ सयभन्दा बढी गीतमा निर्देशन गरिसकेको छु । त्यही पनि अझैँ डान्सबारमा नाच्दा मलाई आपत्ति हुन्न । 

डान्सबार भनेको कलाकार जन्माउने थलोभन्दा फरक पर्दैन त्यसो भए ?
फरक पर्दैन । डान्सबारमा काम गर्दा पैसा कमाउन सकिन्छ । अर्को डान्समा निखार आउँछ । पैसा भएपछि मोडल बन्न सकिन्छ  । मोडल बनेर मात्रै  पैसा कमाउन गाह्रो छ । म एउटा डान्स डाइरेक्टर हुँ । म डान्सबारमा नाचिरहन पर्छ र ?  धेरै कलाकार, मोडलहरु अहिले पनि डान्सबारमा नाच्छन्, क्यासिनोमा नाचेका छन् । 

अलिकति पारिवारिक कुरा सोध्न चाहेँ ? तपाईं विवाहित हैन ?
हो 

विवाहको प्रसंग खुलाउन मिल्ला ?
मिल्छ, किन नमिल्नु । दुवैको भेट डान्स सिकाउने ठाउँमा भएको हो । म मनोज हमालको असिस्टेन्ट भएर काम गर्थेँ । उनी कोरसमा डान्स गर्थिन् । उनको घरमा पनि समस्या रहेछ । राति डान्सबारमा काम गर्ने, बिहान पढ्ने, दिउँसो डान्स सिक्न आउने गर्थिन् । मनोज सरले मितिनी बैनी बनाउनु भएको रहेछ  । अलिक खुल्लमखुल्ला बोल्ने केटी । उनको घरमा गएँ । कुराकानी गरियो । बिहे भयो । 

अनि अहिले श्रीमती पनि डान्सर नै हो ?
उनी अहिले मोडलका रूपमा चिनिएकी छन् । नाम उषा लामा हो । अहिले उनलाई फुर्सद छैन । भोलिका दिनमा के हुन्छ भन्न सकिँदैन । बुढाबुढी नै डान्सबारमै नाचिन्छ कि !

 

Leave A Comment