भलिबलको चमक

आइतबार, २३ बैशाख २०७५, ०१ : ५६ शुक्रवार
भलिबलको चमक

पछिल्लो समय महिला भलिबलमा प्रतियोगिता बाक्लै हुन थालेका छन् । अघिल्लो वर्षको जेठ ८ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि निजी तथा सरकारी तवरबाट पनि भलिबल खेलमा लगानीकर्ताको मोह बढ्न थालेको छ । 

भलिबलमा पनि महिला भलिबल लोकप्रिय विधा हो । यसले बटुलेको चर्चासँगै आउने अर्को पर्यायवाची नाम हो, महिला भलिबलको टिम न्यु डायमन्ड एकेडेमी । देख्दा सामान्य लाग्ने डायमन्डका खेलाडीले ठूला भनिएका टिमलाई समेत टक्कर दिने खेल पस्किएपछि आम दर्शकमाझ आकर्षणको केन्द्रमा छ, यो टोली ।

त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी छनोट गर्दा डायमन्डका खेलाडी पहिलो रोजाईमा पर्ने गरेका छन् । प्रशंसा दिलाउन महत्वपूर्ण योगदान गर्ने प्लेमेकर तथा लिफ्टर कृपा अधिकारीले विहीबार आफ्नो २ नम्बर जर्सी टोली सदस्य रिहा कुँवरलाई हस्तान्तरण गरिन् ।

नेपाली सेनाको सहायक सेनानी पदमा खुला प्रतिस्पर्धाबाट नाम निकालेकी अधिकारीले न्यु डायमन्ड एकेडेमीको बिदाई कार्यक्रमपछि औपचारिक रुपमा टिमबाट बिदा भएको घोषणा गरिन् । दुई कक्षाबाट न्यु डायमन्ड एकेडेमीमा अध्ययन गरेकी कृपाले पाँच  कक्षा पुगेपछि  भलिबलसँग साइनो गाँसेकी थिइन् ।

रुढिवादी समाजमा छोरी भएर खेलकुदमा आउँदा धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै उनले भनिन्, ‘अग्रजहरुले खेलेको देखेर मलाई पनि भलिबल खेल्ने रहर जाग्थ्यो, त्यही रहर पूरा गर्न कक्षा पाँचमा पढ्दै गर्दा रमाइलोका लागि टिमबाट खेल्न थालेँ । सोही बेला लिफ्टर बिना मोक्तानले टिम छाडेपछि मैले त्यो जिम्मेवारी सम्हाल्न सुरु गरेँ । खेल्दै जाँदा राम्रो हुन थाल्यो, प्रतियोगितामा सफलता हात पर्न थाले ।’ 

यस बीचमा पाँच कक्षा पढ्दा भलिबलमा जोडिएपछि सधैँ प्रथम हुने उनी पाँच कक्षाको फाइनल परीक्षामा दोस्रो भइन् । घरमा बुबाआमाले पढाई बिग्रियो भन्दै छुटाउन लागेका थिए । मेरो ओभरहेड पास राम्रो भएकाले प्रशिक्षक कुमार राईले घरमै आएर बाबाआमालाई सम्झाउँदै उनलाई खेलमा फर्काए । 

‘त्यसपछि म नियमित अभ्यास गर्न थाले, सँगसँगै पढाइ पनि जारी राखेँ,’ उनले भनिन्, ‘प्रशिक्षक कुमार राईको प्रेरणा र लिफ्टरको जिम्मेवारी काँधमा परेपछि केही गर्छु भन्ने अठोट राखेर निरन्तर भलिबलमा लाग्दै गर्दा मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभव लिने मौका  पाएँ ।’

वातावरण विज्ञान पढ्दै गरेकी अधिकारीले सहायक सेनानीको तालिम पछि पनि भलिबलसँग आबद्ध हुने अठोट व्यक्त गरिन् । माल्दिभ्ससँग मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी अधिकारीले १२ औं साग र २०१७ को विश्व महिला छनोट खेलमा सहभागिता जनाएकी छन् । 

सहायक सेनानी पदमा खुला प्रतिस्पर्धाबाट सरकारी पदमा जोडिन लागेकी अधिकारीलाई विहीबार न्यु डायमन्ड एकेडेमीले आयोजना गरेको बधाई तथा बिदाई कार्यक्रममा प्रशिक्षक कुमार राईले माहुरीको रानोलाई बिदाई गरेसँगै नयाँ खेलाडी उत्पादन गर्नुपर्ने नयाँ जिम्मेवारी काँधमा आएको बताए । राईले भने, ‘राम्रा खेलाडी बाहिरिँदा टिमलाई असर त पर्छ नै तर भविष्य निश्चित हुन नसक्दा खेलाडीलाई बिदाई गर्नुपर्ने बाध्यता हाम्रो छ ।’ 
 

Leave A Comment