मन्त्रीज्यु, यी अस्पताल हुन् कि सपिङ मल !

सोमबार, ३१ बैशाख २०७५, ०४ : ४४ पुष्पा थपलिया
मन्त्रीज्यु, यी अस्पताल हुन् कि सपिङ मल !

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भ्याई नभ्याई छ अहिले । मन्त्रालयले बनाएको विज्ञापनमा मोडलिङ गर्नेदेखि सरकारी अस्पतालको शौचालयसम्म सफा गर्न खटिएकी छन् उनी । यस चटारोका बीच राज्यमन्त्री अर्याल केही निजी मेडिकल कलेजको अवस्थाको अवलोकनमा निस्किइन् र फर्किइन् । अवलोकनमा के देखिन् ? खुलाएकी छैनन् ।

निजी मेडिकल कलेजको शुल्क, सेवाको गुणस्तर र सेवाभावको अवस्था बारम्बार सार्वजनिक भइरहेकै विषय हुन् । अस्पतालको सेवाको गुणस्तर उसको भवनको संरचनाबाट पनि झल्किन्छ । आखिर कस्ता भवनमा छन् काठमाडौं उपत्यकाका निजी अस्पताल ? शुक्रवारले काठमाडौँका मुख्य चोकमा रहेका अस्पतालको स्थलगत अवलोकन गर्याे । जसले देखायो– सरकारको निरीहता, निजी अस्पतालको मनोमानी र स्वास्थ्य सेवा लिन अस्पताल पुगेका बिरामीको सकस ।

.....................

काठमाडौँको वनस्थली ढुङ्गेधारानजिकै रहेको ओम साइबाबा मेमोरियल अस्पताल पुग्दा यो अस्पताल हो कि व्यापारिक भवन खुट्याउनै मुस्किल प¥यो । वरपर कतै फेन्सी, कतै फास्टफुड पसलले ढाकिएको थियो । सडकमा उडेको धुलो बिना छेकबार अस्पतालभित्र सयर गरिरहेको देखिन्थ्यो ।

स्थानीयसँगको कुराकानीमा त्यो भवन अस्पतालका लागि नभई सपिङ मलका लागि बनाइएको खुल्यो । भवनको संरचना हेर्दा हैन होला भन्ने आधार देखिएन ।अस्पतालको भवनभित्र स्वास्थ्य जाँचका लागि पुगेकी स्वस्तिका नकर्मी मुखमा मास्क लगाएर बसेकी थिइन् । उनी सरुवा रोगबाट पीडित भएर या सरुवा रोगबाट जोगिन मास्क लगाएर बसेकी थिइनन् । अस्पतालभित्रै निष्फिक्री उडिरहेको धुलोबाट जोगिन उनले मास्कको सहयोग लिएकी रहिछन् ।

सडकको छेउमै रहेको अस्पताल भवनको संरचना अस्पताल चलाउनका लागि योग्य थिएन । कोठाहरु पनि अस्पतालका लागि उपयुक्त थिएनन् । यसो आएर डुलेर निस्कन त ठीकै हो, बिरामी भएर भर्ना नै हुनुप¥यो भने अस्पतालमा निको हुन पुगेको हो कि रोग थप्न बिरामी नै रनभुल्लमा पर्ने अवस्था थियो । 

शुक्रवारकर्मी त्यहाँ पुग्दा इमरजेन्सी लेखिएको कोठा खाली थियो । उपचारका लागि आएकाहरुको संख्या पनि निकै कम थियो । चिकित्सकको नाम लेखिएको नम्बर प्लेटवाला कोठाका कुर्सी रित्ता देखिन्थे ।
फोक्सोमा समस्या भएर आएको बहाना गर्दै शुक्रवारकर्मीले नेमप्लेटमा लेखिएको नाम लिएर डाक्टरबारे सोध्दा एक कर्मचारीले ‘फोन गरेलगत्तै डक्टरसाप आइहाल्ने’ जानकारी दिइन् ।

यस्तै, वसुन्धारा चोकनजिकै रहेको ग्रिनसिटी अस्पतालको भवन बाहिरबाट हेर्दा भव्य सपिङ मलझैँ देखिन्छ । यसको साजसज्जा पनि त्यस्तै प्रकृतिको छ । यातायातको निकै चाप हुने क्षेत्रमा नै वार्ड रहेकाले यस वार्डमा भएका बिरामी गाडीको आवाजले दिक्क थिए । 

‘कतिखेर घर जाउँला र यो आवाजबाट मुक्ति पाउँलाजस्तो भइसक्यो,’ पत्थरीको अपरेसन गरेर आराम गरिरहेका सुरेश शाहीले भने । अस्पतालको भवनको संरचना पनि उस्तै छ । 

वनस्थलीबाट काठमाडौंको महाराजगञ्जमा रहेको मेट्रो काठमाडौं अस्पताल पुग्दा त्यहाँको दृश्य पनि कुनै फरक देखिँदैनथ्यो । भवनभित्र पस्दा कुनै रेस्टुरेन्टमा खाजा खान गएकोझैँ आभास हुन्थ्यो ।

नारायणगोपाल चोक छेवैमा रहेको अस्पतालमा शुक्रवारकर्मी लगातार तीन दिनसम्म पुग्दा अस्पताल सुनसान थियो । रिङरोडमा गुड्ने सवारीसाधनको कर्कश आवाजलाई अस्पतालका झ्यालढोकाले समेत छेक्न सकेका थिएनन् । 

अब चाबहिल चोकको कुरा गरौं । अहिले चाबहिल चोक अस्पताल चोकझैँ भइसक्यो । १०–१० मिटरको फरकमा छन्, यहाँ तीन अस्पताल मेडिकेयर, हेल्पिङ हेन्ड्स र ओम अस्पताल । भौतिक संरचनाका आधारमा ओम सम्पन्न देखिन्छ । खुला स्थान र भवनको संरचनाले यो भवन अस्पतालकै लागि बनाएको देखिन्छ ।

मेडिकेयर र हेल्पिङ हेन्ड्स अस्पताल भने भवनको संरचनाका हिसाबले दोकान थाप्न बनाइएको सपिङ मलभन्दा फरक छैन । 

चाबहिल चोकमा रहेको सामुदायिक अस्पताल हेल्पिङ ह्यान्ड्स केही उत्तर ओरालोमा सरेको छ अहिले । व्यापारिक प्रयोजनका लागि बनाइएको भवन भाडामा लिएर अस्पतालको साइनबोर्ड टाँगिएको छ त्यसमा । अघिल्लो वर्ष प्रधानमन्त्री केपी ओलीले अस्पतालको सिलान्यास गरेको परिसरको भित्तामा शिलालेख कुँदिएको छ ।

सडकसँगै टाँसिएको यस भवनमा पार्किङको कुनै सुविधा छैन । एम्बुलेन्ससमेत सडकमा असरल्ल पार्किङ हुन्छ । अस्पताल आउने सेवाग्रहीका चार पाङ्ग्रेको कुरै छाडौं, दुई पाङ्ग्रे पार्क गर्ने ठाउँसमेत छैन । अस्पताल परिसरभित्र खाली ठाउँ मुस्किलले भेटिन्छ । अस्पताल रहेको भवनको भौतिक संरचना अस्पतालमैत्री पनि देखिँदैन ।

अस्पतालमा बस्न कोलाहल पचाउने क्षमता अनिवार्य थियो त्यहाँ । हेल्पिङको छिमेकी मेडिकेयर अस्पतालको अवस्था पनि यसभन्दा फरक थिएन । स्थान उही, भवनको संरचना उही र अवस्था पनि उही नै । बोर्डले मात्र चाल पाइन्थ्यो– यस भवनमा पनि अस्पताल रहेछ !

त्रिपुरेश्वरको गल्लीमा रहेको ब्लु–क्रस अस्पताल, माइतीघर चोकमै रहेको अन्नपूर्ण न्युरो अस्पताल, जाउलाखेलमा रहेको अल्का,  मध्यबानेश्वरमा रहेको भरोसा अस्पताल, मीनभवनमा रहेको नेपाल–कोरिया स्किन अस्पताल, तीनकुनेमै  कान्तिपुर अस्पताल, मध्यबानेश्वरमा रहेको भेनस अस्पताल, वसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पताल, वसुन्धारामै रहेको बिपी स्मृति अस्पताल, गोंगबुचोकमा रहेको विनायक अस्पताल, मित्रपार्कमा रहेको दीर्घायु गुरु अस्पताल र ललितपुरको ग्लोेबल अस्पताल पुग्दा पनि यी अस्पताल रहेको भवन हुन् भनेर ठम्याउन बोर्ड नै हेर्नुपर्ने देखियो ।

..............................

सरकारले विभिन्न प्रयोजनका लागि भवनको मापदण्ड तोकिदिएको छ । स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० बनाएर अस्पताल बस्ने भवनको संरचना, स्थान, अवस्थाबारे उल्लेख गरेको छ । काठमाडौं उपत्यकाका एक दर्जन अस्पताल पुग्दा निर्देशिकाको निरीहता देख्दा टीठलाग्दो लाग्छ ।

निर्देशिकाअनुसार अस्पताल रहने स्थान धु“वा, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको स्थान हुनुपर्ने उल्लेख छ । धुँवाधुलो काठमाडौंको मुख्य समस्या नै भयो । ध्वनि प्रदूषणसम्म अस्पताल सञ्चालकले ध्यान दिनसक्छन् तर अधिकांश अस्पताल मुख्य चोकमा, सानो क्षेत्रमा फैलिएको भवनमा छन् ।

सवारी साधन पार्किङका लागि पर्याप्त व्यवस्था भएको र अस्पताल परिसरमा स्वस्थकर वातावरणका लागि वृक्षरोपण तथा बगैँचाको व्यवस्था हुनुपर्ने निर्देशनमा उल्लेख छ । अधिकांश अस्पतालमा गमलामा वृक्षारोपण गरेकोसमेत देखिएन ।

निर्देशिकाअनुसार अस्पताल खोल्न छनोट गरिएको स्थान त्यस्तै प्रकृतिको अस्पताल रहेको स्थानको कम्तिमा एक किलोमिटर टाढा हुनुपर्नेछ । सरकारको यो निर्देशिकाको हातल हेर्न चाबहिल चोक पुगे पुग्छ । एकै प्रकृतिको सेवा दिने तीन अस्पताल मुस्किलले ५० मिटरको दुरीमा छन् । यी तीनै अस्पतालबीच प्रतिस्पर्धा छ, बिरामी तान्ने, बसपार्कका बसका खलाँसीझैँ ।

निर्देशिकाअनुसार अस्पताल सञ्चालनका लागि आफ्नै स्वामित्वको पर्याप्त जग्गा हुनुपर्नेछ । हेल्पिङ ह्यान्डसका एक अधिकारीका अनुसार अस्पताल रहेको भवन भाडाको हो ।

अस्पताल सेवा सञ्चालन गरिने भवनको नक्सा र डिजाइन भवन ऐन, २०५५ अनुसार, स्वीकृत भएको हुनुपर्ने बाध्यकारी नियम छ । अस्पतालको भवनको अवस्थाको अवलोकनपछि यसबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र काठमाडौं महानगरपालिकाका अधिकारीसँग बुझ्दा एकले अर्कालाई पन्छाएर भवन मापदण्ड कत्तिको अपनाइएको छ आफैं प्रष्ट्याए ।

प्रतीक्षालयमा आवश्यकतानुसार बस्ने कुर्सीको व्यवस्था हुनुपर्ने, अस्पतालका कोठाहरु उपयुक्त भेन्टिलेसन वा वातानुकूलित यन्त्र राखिएको हुनुपर्ने, अस्पतालको कुल निर्माण क्षेत्रफल, प्रति शै्यया ५५ वर्गमिटरका दरले हुनुपर्ने, अस्पतालभित्र प्रवेश गर्ने र बाहिर निस्कने अलग–अलग प्रवेश द्वार र बहिर्गमन द्वार हुनुपर्ने, न्यूनतम पार्किङ कूल जग्गाको पच्चीस प्रतिशत वा प्रति तीन शै्ययाका लागि एउटा कार पार्किङ गर्न मिल्ने स्थलमध्ये जुन बढी हुन्छ, सोहीअनुसार हुनुपर्ने निर्देशिकाको मापदण्डको कार्यान्वयन पाटो बेहाल छ ।
मापदण्ड सोध्दा भनाभन मात्रै

आफैँले बनाएको निर्देशिकाको यस्तो हालत किन बनाएको होला ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी रामहरि लामिछानेसँग भवन संहिता र काठमाडौं उपत्यकाका अस्पतालको अवस्थाबारे जिज्ञासा राख्दा प्रश्न सहरी विकास तथा भवन निर्माण कार्यालयलाई सोध्न आग्रह गरे ।

‘यसमा मन्त्रालयको कुनै सरोकार छैन,’ उनले हाकाहाकी भने, ‘यसको सम्पूर्ण व्यवस्था भवन निर्माण कार्यालयले हेर्ने हो, उतै सोध्नुस् ।’ उनले २०७० पुस २९ मा स्वीकृत भएको मापदण्डको अनुगमनको क्षेत्राधिकार स्वास्थ्य मन्त्रालयको रहेको भुसुक्कै बिर्सिए या बिर्सिएझैँ गरे ।

कर्मचारीलाई थाहै रहेनछ, मन्त्रीलाई त थाहा होला पक्कै ! 
स्वास्थ्य राज्यमन्त्री अर्यालले अस्पतालको भवन अनुगमनको जिम्मा महानगरपालिकाको भएको भन्दै नयाँ कार्यालयतिर जिम्मेवारी सारिदिइन् । 

‘भवन आचारसंहिता अनुसार काम भएको छ कि छैन हेर्ने जिम्मा महानगरपालिकाको हो, उसैले सम्पूर्ण भवन निर्माणको इजाजत दिन्छ,’ उनले भनिन् ।

अस्पतालको भवन हेर्ने जिम्मेवारी तपाईंहरुको हो ? महानगरपालिकाका अधिकारीलाई सोध्दा उनी त उल्टै जंगिए, ‘सबैले आफ्नो जिम्मेवारी अरुको टाउकोमा मात्र किन हाल्छन् हँ ?’

‘हामी भवनको स्वीकृति प्रकृति हेरेर दिन्छौं तर जति निजी अस्पताल खुलेका छन्, ती निजी घरमा भाडा लिएर खोलिएका छन्,’ काठमाडौं महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख रवीन्द्र पौडेलले भने, ‘आवासीय घरको मापदण्ड छैन, आवासीय घर भनेर सपिङ कम्प्लेक्सजस्तो घर बनाउँछन्, अनि घर भाडामा दिन्छन् ।’

पौडेलले आवासीय भनेर बनाइएको उही सपिङ मल जस्तो भवनमा अस्पताल खोल्ने अनुमति स्वास्थ्य मन्त्रालयले दिएको बताए । 

मन्त्रालयले महानगरलाई देखायो, महानगरले मन्त्रालयको जिम्मेवारी रहेको देखायो । दुवै जिम्मेवार निकायका जिम्मेवार अधिकारीको गाँड कोराकोरले दृश्य प्रस्टियो– आखिर कानुन मिचेर अस्पतालको आवरणमा सपिङ मल चलाइरहे पनि अस्पतालका सञ्चालक किन निर्धक्क साथ अस्पताल चलाइरहेका रहेछन् !

‘अनुगमनमा गएँ तर भवन मापदण्ड हेरिनँ’

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल

निजी अस्पतालका भवनहरु अनुगमन गर्नुभएको छ कि छैन ? छ भने अवस्था कस्तो छ, छैन भने किन ?
केही सरकारी र निजी अस्पतालका अनुगमन त गरेको हो तर भवन आचार संहिताअनुसार छ छैन भन्नबारे हेरिएन । त्यो मेरो योजनामा मात्रै छ । गर्नुपर्ने काममध्येको एक हो, छिट्टै गर्नेछु ।

चक्रपथ क्षेत्रमा निजी अस्पतालहरु भवन आचारसंहिता विपरीत पाइयो, कारबाही किन नगर्नु भएको ?
अस्पतालजस्तो संवेदनशील ठाउँमा आचार संहिताविपरीत बनाउन नपाइने हो तर यसको क्षेत्राधिकार भने महानगरपालिकालाई हुन्छ । 

सरकारले भवन निर्माण आचार संहिताविपरीत खोलिएका अस्पतालहरुलाई पनि जाँचबुझ नगरिकनै अनुमति किन दिइएको होला ?
त्यो काम पनि महानगरपालिकाकै हो । महानगरपालिकाले नै भवन आचार संहिताविपरीत बनाएको भवनमा अस्पताल सञ्चालन भएको छ भने कारबाही गर्नुपर्छ । 

अनुगमन गर्दा भवन आचार संहिताविपरीत पाइए कस्तो कार्बाही गर्नुहुन्छ त ?
त्यो काम पनि महानगरपालिकाकै हो । 

अनि महानगपालिका त अस्पतालको स्वीकृति स्वास्थ्य मन्त्रालयले दिने हो भन्छ नि ?
हैन, अस्पतालका लागि भने भवन दर्ता हुने त महानगरपालिकामा नै त हो नि ! उनीहरुले नै त्यस्ता भवनहरुका लागि स्वीकृति दिने हुन् ।

Leave A Comment