राजेशपायलकाे खुलासा ‘ रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन ’

शुक्रबार, ०४ जेठ २०७५, ०३ : २२ अनिल यादव
राजेशपायलकाे खुलासा ‘  रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन ’

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा तस्बिरले हंगामा भयो । उनलाई भने तनाव दियो । त्यो तस्बिरलाई धेरैले उनकी प्रेमिकाको रुपमा अथ्र्याए तर वास्तविकता अर्कै थियो । उनै राजेशपायलसँग सांगीतिक यात्रा, प्रेम र जीवनबारे अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

एकदमै तनावमा देखिनिहुन्छ रे हो ? 
हो र ! मलाई त यो संसारमा मजस्तो प्रफुल्लित मान्छे अरु कोही छ जस्तो  लाग्दैन । 

इन्स्टाग्राममा राखेको एउटा तस्बिरले तनावमा हुनुहुन्छ भन्ने सुनेको हो ! 
त्यो चैँ हो । इन्स्टाग्राममा बहिनीसँगको फोटो राखेको थिएँ । प्रेमपूर्वक उसलाई ‘मायालु’ भनेर बोलाउँछु तर केही अनलाइन मिडियाले मलाई नै नसोधिकन तोडमोड गरेर ‘राजेशपायलले गःलफ्रेन्ड सार्वजनिक गरे’ भन्दै खबर सार्वजनिक गरिदिनुभएछ । मलाई भन्दा बढी यसले परिवारमा तनाव दियो । पवित्र सम्बन्धलाई बिगार्ने काम भयो ।  

तपाईंको प्रेम र विवाह धेरैको चासोको विषय हो । त्यसैले खबर झुट नै भए पनि पत्याउनेहरु धेरै भेटिए होलान् ?  
हो नि । दिउँसो बेडबाट उठ्नासाथ सन्ध्या (बहिनी)ले नै फोन गरेर यस्तो खबर आइरहेको जानकारी गराइन् । अनि फेसबुक खोलेको त स्क्रिनसट पनि थुप्रै फ्यानबाट आइरहेको रहेछ । सामाजिक सञ्जालमा म मेरो आमा, बहिनी, दिदीलगायत परिवारका जसको पनि फोटो राख्न सक्छु । आमाको तस्बिर पनि ‘मायालु’ लेखेर राख्न सक्छु तर सम्बन्ध नै तोडमोड गरेर गलत खबर सम्प्रेषण त गर्नुभएन नि ! यो त सरासर अपराध हो । मलाई एकपल्ट सोधेको भए म प्रस्ट पारिदिन्थेँ तर त्यसो गरिएन । धेरै फ्यानले पत्याउनुभएछ । हजारौं एसएमएसमध्ये केही एकदमै रमाइलो थियो ।  एउटीले ‘हामी पनि थियौं, किन हतार गरेको’ भनेर पठाएकी थिइन् । अर्कीले ‘तपाईंभन्दा सानी रै’छ, फिट भएन’ भन्दै म्यासेज गरेकी थिइन् । धेरै फ्यान यस्ता रहेछन्– जो मैले गलफ्रेन्ड पाउँदा पनि दुःखी, नपाउँदा पनि दुःखी हुने रहेछन् ।  

साँच्चिकै गःलफ्रेन्ड सार्वजनिक भएको दिन के हुने रहेछ ?
(हाँस्दै) फ्यानहरुको म्यासेज देख्दा त स्थिति तनावग्रस्त नै होला जस्तो लाग्यो । 

अहिलेसम्म प्रेमिका लुकाउनुको कारण पनि यही हो कि क्या हो ?
होइन, प्रेमिका नै छैन अहिलेसम्म त । म अहिले पक्का सिंगल छु । 

यो त पुरानै जवाफ भयो । आज केही नयाँ दिने कि ?
होइन (हाँस्दै) । सिरियस्ली म अहिले सिंगल छु । बिहे गर्छु, गर्छु भनेर ढाँटेको भने धेरै भइसक्यो । तर सत्य नै यही हो । मलाई त प्रेमिका लुकाउने चिज नै होइन जस्तो लाग्छ । यो त देखिने चिज हो । झन् म त खुला किताबजस्तै मान्छे, भएको भए पक्कै लुक्दैन थियो । 

त्यसोभए बिहे नगर्नुको खास कारण के त ?
मैले गःलफ्रेन्ड नबनाउने रैछु भन्ने भइसक्यो । अब केटी खोज्ने जिम्मा परिवारलाई सुम्पिनुपर्ला । 

कस्तो पार्टनरको खोजीमा हुनुहुन्छ, जसलाई सारा संसारमा घुम्दा पनि भेट्नुभएन ? 
म विकट जिल्ला (खोटाङ)बाट आएकाले संगीतको सुरुवात करिअर बनाउनमै बित्यो । युवतीतिर ध्यान नै गएन । बिहे गर्छु भनेर युद्धस्तरमा उत्रेको त धेरै भएकै छैन । ‘फैलियो माया दुबोसरी’ गीत हिट भएसी मेरो जीवनले यति फड्को मारेछ कि मैले प्रेम गर्ने फुर्सद नै पाइनँ । फ्यानको यति धेरै माया पाएछु कि गलफ्रेन्ड बनाउनै भुलेछु । यसको अर्थ मेरो जीवनमा मलाई मन पराउने मात्रै आए भन्न खोजेको पक्कै होइन । मैले मन पराउनेहरु पनि नभएका होइनन् । यही इन्डस्ट्रीकै पनि छन् जसलाई मैले मन पराए । 

ती नामहरुमा त रेखा थापा, केकी अधिकारी पनि पर्छन् होला !
हो, उहाँहरु मलाई मन पर्छ । अझ त्योभन्दा अघि विपना थापा पनि राम्री नै लाग्नुहुन्थ्यो । मैले मनपर्ने कतिपयले मेरो प्रस्तावलाई नै ख्यालठट्टा सम्झिन्थे र भन्थे, ‘ह्या नजिस्किनुस् तपाई !’ यति चाहिँ पक्का हो– रेखा, केकीजस्तो सुन्दर, समझदार युवतीहरु नै हो मैले खोजेको (हाँस्दै) । 

केही समयअघि मसँगको कुराकानीमा तपाईंले ‘रेखा थापालाई प्रेम गर्छु, बिहेको सम्भावना छ’ भनेर भन्नुभएको थियो । कहाँ पुग्यो त्यो सम्भावना ?
भोलि जे पनि हुनसक्छ । यस अर्थमा सम्भावना छ भनेको हुँ । हुन्छ नै त भनेको थिइनँ । 

दुवै जना सिंगल पनि हुनुहुन्छ । एकअर्काप्रति प्रेम पनि दर्सिएकै हो ।  बिहे गर्न केले रोक्यो ?
भनिसकेँ, यो हुनै सक्दैन भन्ने छैन ।  

त्यसो भए केले रोकिरा’को छ त ?
अरु पनि जीवनमा आउलान् कि भनेर ! (जोडले हाँस्दै)

भनेपछि अझै राम्रीको खोजीमा हो ?
त्यस्तो त होइन । राम्री त उहाँ अर्थात् केकीजस्तो कमै हुन्छन् । तर यो सिर्फ कलाकारिताको सम्बन्धको प्रेम हो । 

थोरै प्रसंग बदलौं । २७ वर्ष भइसकेछ तपाई संगीत क्षेत्रमा लागेको । करिअरको यो लामो समयलाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ?
आफैँलाई अचम्म लाग्छ, यत्रो समय बितिसकेछ । थोरै कलाकारको मात्र यत्रो ‘कलाकारिता आयु’ हुन्छ । धेरै देश घुमेको छु, धेरै देशको सेलिब्रेटीको आयु देखेको छु । त्यसैले यत्रो लामो समय टिक्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु । यस बीचमा मैले धेरै कुरा सिकेँ, धेरै कुरा पाएँ । केही गुमाएँ भने त्यो पक्कै परिवार, आफन्तसँगको भेटघाट होला, सँगै पढेका साथीभाइसँगको संगत होला । बाआमासँग सधैँ सँगै बसेर खाने अवसर गुमाएँ होला, सार्वजनिक ठाउँमा घुम्ने स्वतन्त्रता गुमाएँ होला तर सँगसँगै फ्यानहरुको अथाह माया पाएँ ।  

नेपाली संगीतमा परिवर्तन के–कति पाउनुभयो ? 
परिवर्तन धेरै भयो तर योग र साधनाको कमी भने बढ्यो । अहिले तानतुन पार्ने प्रवृत्ति बढेको छ । यो नेपाली संगीतका लागि हानिकारक हो । अम्बर गुरुङ, नातिकाजी, गोपाल योञ्जनका पालामा गीतहरु मिहिनेत गरेर, अध्ययन गरेर तयार गरिन्थे । अहिले त्यो स्वाद हामीले गुमाउँदै गइरहेका छौं । स्तरीय गीत बन्न छाडिरहेका छन् । यस बीचमा हामीले केही परिवर्तन पायौँ भने त्यो प्रविधिमै हो । पहिलेपहिले एउटै गीत रेकर्ड गर्न मुम्बई पुग्नुपुथ्र्यो, अहिले एकैदिन एउटा कलाकारले ३–४ वटा गीत यही रेकर्ड गर्छ । 

अहिलेका गीत बढी सस्ता र हल्काफुल्का लाग्छन् । गीतसंगीतमार्फत् जनताको दुःखसुख पनि भन्न सकिन्छ, चेतना पनि छर्न सकिन्छ भन्ने यथार्थ संगीतकर्मीले भुलेको हो ?
भलै संख्या कम होला चेतनामूलक गीत पनि सिर्जना भइरहेकै छन् तर जति भइरहेका छन्, ती छायाँमा छन् । रिलिज त भइरहेका छन् तर हिट नभएका हुन् ।  मैले एक वर्षअघि मात्र ६० वर्षअघिको मुक्तक गाएँ तर मेरा फ्यान ‘दर्शन नमस्ते’कै कुरा गर्छन् । यस्तो हुनुमा म मिडिया पनि दोषी देख्छु । फलानो गीत युट्युब ट्रेन्डिङमा आयो भन्दै चर्चा गर्ने तपाई (मिडिया)हरु नै हो । ट्रेन्डिङमा त बुस्ट (विज्ञापन) गरेर पनि ल्याउन सकिन्छ नि ! होइन र ? मिडियाको ध्यान पनि बजारिया गीतमै छ । अनि स्रष्टाको ध्यान किन नजाओस् त्यस्तैमा ? 

संगीत क्षेत्रमा तपाईंले अहिले देखिरहेको विकृति के हो ?
सजिलो भइरा’छ क्या, यहाँ कलाकार बन्न । पैसाले सबथोक हुने भए बिल गेट्स विश्वको सबैभन्दा पपुलर कलाकार बन्थे होलान् तर यहाँ पहुँच र पैसाकै भरमा कलाकार बन्नेहरुको होडबाजी छ । एक दुइटा गीत गाउने, सोख पुरा गर्ने, गःलफ्रेन्ड बनाउने अनि अमेरिका हुइँकिने चलन बढ्दो छ । 

अचेल फिल्ममा तपाईको स्वर कम सुनिन्छ । अफर आउन छाडेको हो ?
जुन फिल्म हिट भइरहेका छन्, त्यसमा मेरो स्वर नसुनेर तपाईंलाई त्यस्तो लागेको होला । जस्तो ‘छक्कापञ्जा’मा संगीतकारले नै गीत गाउनुभयो । निश्चल बस्नेतको फिल्ममा उहाँले नै गाउनुभयो तर ३–४ वटा गीत भएका फिल्ममा त मैले गाइरहेकै छु भन्ने लाग्छ । बरु प्रमोट गरिएनन् होला, त्यो अर्कै कुरा हो ।

अहिलेसम्म तपाईंले गाएको गीतको संख्या कति पुग्यो, ठ्याक्कै भन्न सक्नुहुन्छ ? 
सात हजार त पक्कै पुग्यो होला ! 

सबै गीत कण्ठस्थ छन् ?
भरसक सबै गीतको शब्द सङ्कलन गरेर राख्ने प्रयास गरेको छु । 

अहिले म्युजिक इन्डस्ट्रीमा हप्तैपिच्छे गीत चोरीका खबर आइरहेका छन् । स्रष्टाहरु रचनात्मक हुन छाडेका हुन् ? ‘६क्का पञ्जा–२’मा तपाई्रंकै गीत पनि चोरी भएको कुरा थियो नि ?
हो, कतिपय संगीतकारले टालटुल गरेर गीत निकालिरहेका छन् तर अर्काको सिर्जना चोर्नु भनेको ठूलो अपराध हो । स्रष्टाको सम्मान गर्न स्रष्टाले सिकेनन् भने अरुले कसरी गर्छन् ? तर यो २७ वर्षको अनुभवले मलाई के भन्छ भने यस्ता मान्छे धेरै समय टिक्दैनन् । 
 
तर यस्ता चोरीविरुद्ध संगीतकर्मी मौन देखिन्छन् । यो ठीक हो र ?
जसका गीत चोरिएका छन् उनीहरु यहाँ छैनन् । जस्तो, रञ्जित गजमेर, राम थापा । ‘रुपै मोहनी’ भन्ने गीत कुमार दाइ (बस्नेत)को ‘रौसी खान जाऊ’बाट चोरिएको कुरा छ । अस्ति कुमार दाइ मसँग दुखेसो पोख्दै हुनुहुन्थ्यो, ‘म बूढो मान्छे कहाँ जाऊँ ? कसको सहारा लिऊँ ? म रजिस्ट्रार कार्यलयमा काम गरेको मान्छे आज मेरै गीत यस्तो भयो, म कहाँ जाऊँ ?’ तर यो ठीक होइन । आफ्नो सिर्जना चोरी हुँदाको पीडा पीडितलाई मात्र थाहा हुन्छ । म त चोरीविरुद्ध आवाज उठाइरहेको छु । सामाजिक सञ्जालमा लेखिरहेकै हुन्छु । अब संघसंस्थाले किन बोलेनन्, या अरु संगीतकर्मी किन बोलेनन्, त्यसको जिम्मा त मैले कसरी लिनु ?  

केही हप्ताअघि मात्र शुक्रवारमार्फत केही गायिकाहरुले संगीतकारमार्फत् हुने दुव्र्यवहारबारे साहसीपूर्वक खुलासा गरे । यसबारे तपाईंको धारणा के छ ?
मैले पनि पढेँ  । त्यो स्टोरी पढेपछि मैले गायिकाहरुलाई सलाम गरेर स्टाटस नै राखेको थिएँ । उहाँहरुको हिम्मतको प्रशंसा गर्नैपर्छ ।

तर संगीत जगत्मा त उहाँहरुको खुलासापछि अघोषित रुपमा उहाँहरुलाई बहिष्कार गर्ने प्रयास भयो नि ? 
त्यस्तो नहोला । सबै संगीतकार खराब नहोलान् । सुरको बहानामा कोही गायिकालाई कसैले गलत दृष्टि राखिरहेको छ भने त्यो अपराध नै हो । तर सँगसँगै गायिकाहरु पनि के विषयमा स्पष्ट हुनुप¥यो भने यदि तपाईंलाई कोही संगीतकर्मीले बोलाउँदैछ भने स्पष्टसँग भन्न सक्नुप¥यो, ‘म यो समयमा मात्रै तपाईंको कार्यालयमा आउन सक्छु । म गीत गाउनका लागि आ’को हो ।’ कसैले छुन खोज्यो भने पनि मलाई यस्तो मनपर्दैन भनेर प्रतिकार गर्नुपर्याे । 

संघर्षका दिनलाई तपाईं अहिले कसरी सम्झिनुहुन्छ ?
अहिले त कल्पना÷सपनाजस्तो लाग्छ । बिहान हिँड, संगीतकारकोमा पुग । रेडियो नेपालमा घुम्तीजस्तो बस्ने ठाउँ थियो । चिया खाने पैसा पनि हुँदैनथ्यो । ‘फैलियो माया दुबोसरी’ गाउने गायक राजेश पायल म नै हुँ भन्दा मान्छेहरु पत्याउँदैन थिए । गफ दिने ? भन्थे । कतिपय ठाउँमा भने परिचय दिँदा सित्तैमा खुवाउँथे । हिट हुँदै जाँदा कतिपयले ५ सयको सामानलाई १५ सय लिएको पनि पाइयो । 

तपाईंको व्यस्तता नघट्नुको कारण के हो भन्ने लाग्छ ?
हरेक दिन सुत्ने बेलामा म आफैँले आफैँलाई प्रश्न गर्छु– तेरो कुन चिज राम्रो हो र तँलाई दर्शकले आजसम्म प्रेम किन गरिरहेका छन् ? न म हयान्डसम् छु, न त्यस्तो राम्रो सेन्स अफ ह्यूमर छ । न बोल्ने ढंग नै छ । किनभने म स्पष्ट बोल्छु, हो भने हो, होइन भने होइन भन्छु । आइस्यो, गइस्यो टाइपले बोल्न आउँदैन नि त ! तर पनि मलाई मन पराउनु हुन्छ । त्यसैले मलाई अचम्म लाग्छ । अन्तरात्माबाट मलाई आउने जवाफ इमान्दारिता नै हो । इमान्दार भएकै कारण म आजसम्म टिकिरहेको छु भन्ने लाग्छ । मेरो सबैभन्दा ठूलो शक्ति नै इमान्दारिता हो । कतिपयले फाइदाका लागि धेरै ढाँट्छन । म त्यो गर्दिनँ । 

रक्सी पिउन छाड्नुभयो ? 
हो, छाडिसकेँ । सिगरेट पनि पिउँदिन अहिले ।  

चाहँदा छाड्न सकिने रहेछ, है ?
चाहँदा हरेक चिज सकिँदोरहेछ । मैले कतिपय चिज जानाजान गल्ती गरेको छु, जिन्दगीसँग खेलबाड गरेको छु । त्यसले मलाई त पिरोल्थ्यो, परिवारलाई पनि पिरोल्थ्यो । दर्शक÷श्रोतासँग नराम्ररी प्रस्तुत भएका दिन पनि थिए । 

जस्तो
जस्तो एकपल्ट पोखरामा कार्यक्रमका लागि पुग्दा म, दीपकराज गिरी, बुलु मुकारुङ लगायत खाँदै थियौँ । मैले भोड्का खाइरहेको थिएँ । एकजना फ्यानले रेड लेभल खान कर गरिरहेको थियो । म फ्यान हो, मैले दिएको खानुपर्छ भनेर फोर्स गरिरहेको थियो । मैले नमान्दा पनि उहाँले जबरजस्ती गरेपछि मैले एक झापड दिएर ढाल्देको थिएँ । त्यतिबेला दीपकराजजीले छुटाउनुभयो । अहिले सम्झँदा लाग्छ, त्यो एउटा समयको जोश थियो । 

 

Leave A Comment