ब्युतियो अरुण तेस्रो : मनमोहनले रोकेको परियोजनामा ओलीको स्विकृति

बुधबार, ०९ जेठ २०७५, ०६ : १६ शुक्रवार
ब्युतियो अरुण तेस्रो : मनमोहनले रोकेको परियोजनामा ओलीको स्विकृति

राजनीतिक चक्रब्यूहमा फस्दै आएको अरुण तेस्रो जलविद्युत् परियोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमणमा ब्युँतिएको छ । मोदीको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले हायात होटलमा भिडियो कन्फ्रेसिङबाट संयुक्तरूपमा आयोजनाको शिलान्यास गरेसँगै अरुण तेस्रो ब्युँतिएको हो ।

२ दशकअगाडि नेपाली कांग्रेसले अगाडि बढाउन लागेको यो परियोजना एमालेको अवरोधका कारण रोकिएको थियो । २०५१ अगाडि कांग्रेसले विश्व बैंकको अनुदान सहयोगमा सो परियोजना बनाउन खोजेको थियो ।
मध्यावधि निर्वाचनसँगै एमालेले अल्पमतको सरकार बनाएलगत्तै उसले विश्व बैंकलाई पत्र लेखेर परियोजना नबनाउने जानकारी दिएपछि परियोजना रद्द भएको थियो । सरकारको पत्रपछि विश्व बैंकले हात झिक्यो र २०५२ साउन १८ मा यो परियोजना स्थगित भएको थियो । 

२१ वर्षअगाडि भरतमोहन अधिकारीले रोकेको सोे परियोजनाको शिलान्यास एमाले नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्री केपी ओलीले सहमति जनाउँदै भारतीय प्रधानमन्त्री मोदीसँगै उभिएर शिलान्यासको बटम थिचे । 

सो आयोजना भारतीय सतलज कम्पनीले निर्माण गर्नेछ । उसले आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन नेपाल नामको कम्पनी दर्ता गरेको छ । ९०० मेगावाट क्षमताको परियोजनाका लागि लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएनलाई विद्युत् उत्पादन अनुमतिपत्र दिइसकेको छ । 

एक खर्ब २० अर्बको लागतमा बन्न लागेको अरुण तेस्रो वित्तीय व्यवस्थापन गरेको पाँच वर्षभित्र निर्माण गरिसक्नु पर्नेछ । परियोजना निर्माणपश्चात स्थानीयले प्रतिमहिना ३० युनिट निःशुल्क विद्युत् पाउने, निर्माणको क्रममा ३ हजार स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर दिने, सीप नभएका स्थानीयलाई तालिम दिनेलगायतका व्यवस्था पिडिएमा उल्लेख गरिएको छ ।  

संयुक्तरूपमा शिलान्यास भएसँगै परियोजना निर्माण हुने जिल्लाका जनप्रतिनिधि आशावादी देखिए । प्रतिनिधि सभाका सांसद राजेन्द्र गौतमले परियोजना निर्माणमा सहयोग गरेर निर्धारित समयमा सम्पन्न गराउनुपर्ने बताए । 

पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले मरिसकेको अरुण तेस्रो पुनः ब्युँताएकाले कुनै अवरोधविना निर्माण कार्य सम्पन्न गराउनुपर्ने बताए ।
 

Leave A Comment