त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : साख धान्नै धौधौ

बुधबार, ०९ जेठ २०७५, ०७ : १८ पुष्पा थपलिया
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : साख धान्नै धौधौ

दोसल्ला बेच्ने र ओढ्ने, आकाशतिर हेर्दै हाँसीखुसी उडिरहेको प्लेनलाई बाईबाई गर्ने र आँखाभरि आँसु भरिएकाहरू सँगै उभिएका भेटिन्छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । हाँसो र आँसु दुवैको संगम बिन्दु हो विमानस्थल । कोही रोमाञ्चित हुन्छन्, कोही खिन्न । कुतुहल मन भएका पनि उत्तिकै भेटिन्छन् । 

आइतबार ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा निधार रातो टीकाले रंग्याएका सुदीप पाण्डे भेटिए । घरिघरि आकाशतिर नजर दौडाइरहेका उनी पहिलोपल्ट प्लेनमा चढ्दै रहेछन् । 

‘पहिलोपल्ट प्लेन चढ्दै छु,’ उनले भने, ‘हल्का डर लागिरहेको छ ।’

चक्रपथसँगै जोडिएको प्रवेशद्वारमा पुग्नासाथ सुरक्षाकर्मीले सोधखोज गरे ‘कहाँ जान लागेको ?’ 
विमानस्थलको अवस्था हेर्ने उद्देश्य रहे पनि अनावश्यक झन्झटबाट उम्किन विदेशबाट आउन लागेका आफन्त लिन आएको जवाफ दिएपछि रोकतोक हट्यो । पार्किङ एरियामा पुग्दा साझा बस चढ्ने र उत्रनेको भीड थियो । 

यात्रु ओसार्न क्युमा थिए ट्याक्सीहरू । सुटकेश गुडाएको व्यक्ति देख्नासाथ सामान समाउन पुगिहाल्थे उनीहरू । अलिक पर पुगेलगत्तै ह्वास्सै आएको पिसाबको गन्धले नजिकै शौचालय रहेको ठम्याउन बोर्डको आवश्यकता परेन ।

नजिकै क्यानटिन पनि रहेछ । डुल्दाडुल्दै एक पाका उमेरका व्यक्ति नजिकै आइपुगे । ‘किनेर खानै नसकिने मूल्य छ यहाँको’ उनले सानो स्वरमा भने । 
त्यस्तो महँगो छ र ? 

प्रश्न सुनेलगत्तै उनले पर्सबाट बिल निकाले । बिलको रकम थियो ५ सय । उनले किनेको सामान थियो हवनव ।

ठिकठाक रहेको आकाशको रङ बदलिँदै गयो । एकै छिनमा मुसलधारे पानी बर्सियो । आफन्त पु¥याउन र लिन आएकाहरू ओतको खोजिमा दायाँबायाँ दौडिए । मौसम बिग्रँदा आउने र जाने आफन्तको यात्रामा बाधा पुग्ने हो कि भन्नेमा चिन्तित देखिए उनीहरू ।

भीडबाट निस्किए अलि पर पुग्दा सुनको चर्चा भइरहेको रहेछ । यही विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुनले तरङ ल्याएको बेला विमानस्थलमा सुनको चर्चा हुनु सामान्य नै भयो । सुनको चर्चा भइरहेको समूहमा परिचित अनुहार देखियो । त्यतै लागेँ छलफल सुन्न ।
कस्ता कस्ता घटना हुन्छन् भन्ने चर्चा चलिरहेको रहेछ । 

पहिलो छलफल यस्तो थियो ।
एक महिनाअघि कतार एयरलाइन्स हुँदै त्रिभुवन विमानस्थल ओर्लिएका कपिलवस्तुका रामजनम चौधरीको साथमा ५० ग्राम सुनको बाला रहेछ । 

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले रोकेनन् । विमानस्थलको भवनभित्रका सुरक्षाकर्मीले पनि वास्ता गरेनन् । चेकजाँच सक्काएर विमानस्थलको पार्किङ क्षेत्रमा आइपुगेपछि उनले आफूसँगै आएका अन्य तीनजनाले लगाएको सुनको बाला आफैँले लिए । उनलाई पच्छ्याउँदै आएको सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिए र भन्सार बुझाइदिए ।

दोस्रो घटनाबारे कुराकानी सुरु भयो ।

कतारमा काम गरेर स्वदेश फर्किएका गुल्मीका ढालबहादुर थापाले बहिनीको बिहेका लागि ६० ग्राम काँचो सुनसँगै ल्याएका थिए । विमानस्थलमा खानतलासी हुँदा सुन फेला प¥यो । उनी समातिए । आयरल्यान्डकी एक बुद्धिस्ट धर्मावलम्बी डिलाटुर डिएभेन्ज एक किलो काँचो सुनसहित फेला परेकी रहिछिन् । उनी स्वयम्भूमा सुन चढाउन नेपाल आएकी रहिछिन् । कति सुन बोक्न पाइने थाहा नहुँदा पक्राउ परिन् । सुन जफत भयो ।

सुनको चर्चा सकियो । समूह तितरबितर भयो ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको अवस्था हेर्न अनुमति लिएर भित्र प्रवेश गर्दा भुइँ सफा थियो । टिलिक्क पारिएको रहेछ चिप्लेला झैं । 

शौचालयको अवस्था भने उस्तै । गन्ध पच्छ्याउँदै शौचालयनजिकै पुग्दा महिला शौचालयबाट नाक थुन्दै निस्किइन एक महिला । उनी थिइन् कम्बोडियाली नागरिक जुल्जिया । उनी नेपालको १५ दिने बसाइ सकाएर आफ्नो देश फर्कने तयारीमा रहिछिन् । शुक्रवारकर्मीले, नेपाल कस्तो लाग्यो भन्ने प्रश्न गर्दा भनिन्, ‘नेपाल राम्रो छ, तर फोहोर ।’ 

विमानस्थलको सुरक्षाका कारण चाहेका भित्री स्थान पुग्न सकिएन । तर, जति दृश्य देखिए ती अन्तर्राष्ट्रिय विमानस्थल भन्न सुहाउँदो थिएनन् । पार्किङ क्षेत्रको तानातान होस् या भवनभित्रको वातावरण, यात्रु मैत्री देखिएन ।

पर्यटनमन्त्री नियुक्त भएसँगै रविन्द्र अधिकारीले सुधारका धेरै योजना सार्वजनिक गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलको जति स्थान घुम्ने अनुमति पाइयो त्यहाँ मन्त्रीको वाचाको प्रभाव देखिएन ।

यात्रु कुर्ने स्थानमा उनले कुर्सी थपेको तस्बिर सार्वजनिक भएको थियो । तर त्यो स्थानसम्म पुग्न नसक्दा कुर्सीको अवस्था हेर्न सकिएन । विमानस्थलबाट बाहिरिएका यात्रु लगेज क्षेत्रको बिजोग बयान गर्दै थिए । तर सुरक्षाको कारण देखाउँदा त्यहाँ पुग्नै सकिएन ।

विमानस्थलमा देखिएको सकारात्मक पाटो त्यही चिल्लो भुइँ मात्रै रह्यो ।
 

Leave A Comment