महत्वाकांक्षी नीति तथा कार्यक्रम

आइतबार, १३ जेठ २०७५, ०१ : ४० शुक्रवार
महत्वाकांक्षी नीति तथा कार्यक्रम

आगामी आर्थिक वर्षका लागि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सार्वजनिक गरेको  नीति तथा कार्यक्रम महत्वाकाँक्षी योजनाले भरिएका छन् । आर्थिक विकास र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखेको कार्यक्रममा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय करिब १ हजार अमेरिकी डलरबाट आगामी ५ वर्षमा दुई हजार अमेरिकी डलर पुर्याउने लगायतका महत्वाकांक्षी कार्यक्रम समेटिएको छ । 

विद्युत क्षमता १० वर्षभित्र १५ हजार मेगावाट  पु¥याउने, झापाको शान्तिनगरदेखि डडेल्धुरासम्म मदनभण्डारी राजमार्गको निर्माण ५ वर्षमा पूरा गर्ने र ५ वर्षभित्र कुनै पनि नेपाली नागरिक रोजगारीका लागि विदेश जानुनपर्ने अवस्था बन्ने सरकारको योजना कार्यान्वयनमा ल्याउन चुनौतीपूर्ण देखिन्छ । 

सरकारले ढुकुटी रित्तो भएको घोषणा गरे पनि नीति तथा कार्यक्रममा ५ वर्षभित्र सबै स्थानीय तहमा पिच सडक पुर्याउने, आगामी ५ वर्षभित्रमा काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माण सम्पन्न गर्ने, सम्भाव्यताका आधारमा देशभर मेगा सिटी र स्मार्ट सिटी बनाउने लगायतका योजना अगाडि सारेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको महŒवाकांक्षी र खर्चिलो पानी जहाजको सपना पूरा गर्न कानुन निर्माण गरेर संस्थागत व्यवस्था गर्ने कार्यक्रममा उल्लेख गरेको छ । अर्थतन्त्रको आकार यसरी वृद्धि गर्न वैदेशिक सहायता, लगानीका साथै आन्तरिक निजी क्षेत्रलाई परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सृजना, उत्पादन वृद्धि, आयात प्रतिस्थापनमा सहकारीको विस्तारको योजना अगाडि सारेको छ ।

प्रतिपक्षको आलोचना
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दलले कम्युनिस्टको हावादारी भाषण भनेर कडा टिप्पणी गरिसकेको छ । पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले सरकारको नीति तथा कार्यक्रमलाई आश्वासनको पोको मात्र भएको संज्ञा दिइसकेका छन् ।

नीति तथा कार्यक्रम वार्षिक कार्यक्रम भए पनि सरकारले १०–१५ वर्ष लामो कार्यक्रम राख्नुका पछाडि आगामी चुनावी एजेण्डा बनाउने प्रयास गरेकोसमेत टिप्पणी आएको छ । 

५ वर्षमा कृषि उत्पादन दोब्बर पार्ने, रोजगारीका लागि विदेशिनु नपर्ने, १० दोहोरो अंकको आर्थिक वृद्धि, प्रतिव्यक्ति आम्दानी दोब्बरलगायतका कार्यक्रम भए पनि कसरी लक्ष्य हासिल गर्ने भन्ने उल्लेख नभएकाले यो असम्भव रहेको विपक्षीहरुको तर्क छ ।

Leave A Comment