‘पार्टीको पुच्छर भएर हिँड्दैनौं’ : नेविसंघ महामन्त्री काफ्ले

आइतबार, १३ जेठ २०७५, ०५ : ३६ प्रजु पन्त
‘पार्टीको पुच्छर भएर हिँड्दैनौं’ : नेविसंघ महामन्त्री  काफ्ले

राजनीतिक मुद्दामा चर्का कुरा गर्ने विद्यार्थी नेताहरु शैक्षिक सुधारको मुद्दामा मौन छन् । सत्ताधारी २ दल एकीकृत भएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता अलमलमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आन्तरिक किचलोको दलदलमा फसेको छ । के विद्यार्थी संगठनको औचित्य समाप्त भएकै हो ? विद्यार्थी राजनीति र उनीहरुको फोस्रो दाबी केन्द्रित रहेर नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेसँग प्रजु पन्तले गरेको संवाद ।

खासमा नेविसंघभित्रको विवाद हो ?
सभापतिले विधानअनुसार नचल्ने, बैठक नबोलाउने, खल्तीबाट सदस्य, सल्लाहाकार नियुक्ति गर्ने गरेकाले विवाद देखिएको हो । 

एउटै दलको भ्रातृ संगठन । एउटै प्यानलबाट चुनाव जितेको हो क्यार । तै पनि यो ङयार ङयार किन ?
उहाँमा लोकतान्त्रिक नेचर देखिएन । विधानसम्मत जानुभएन । त्यसैको विपक्षमा हामी उभिएका हौं । यो व्यक्तिको प्रवृत्तिविरुद्ध हो । पार्टी या कुनै समूह विरुद्ध हैन । 

सभापतिलाई दोष देखाएर आफू जिम्मेवारीबाट उम्किने मूल पार्टीदेखि भ्रातृ संगठनसम्म एकै प्रवृत्ति छ है ?
त्यसो होइन । 

हैन भनेर भएन । देखिएको यही छ । हैन र ?
सभापतिले संघको बैठक नबोलाएपछि मैले केन्द्रीय समितिको बैठक बोलाएको थिएँ । दुई तिहाई सदस्यको उपस्थिति थियो । सभापति आउनुभएन । पार्टीले उल्टो  हामीलाई हस्तक्षेप गर्याे । 

आन्तरिक कलह मिलाउन नसकेर त पार्टीले हस्तक्षेप गरेको होला नि, हैन ?
हरेक निर्णयमा पार्टीअनुसार चल्नुपर्छ भन्ने छैन । विद्यार्थी संगठन भनेको त एन्टी हो । हाम्रो संघ पनि त्यही हो । यो कुरा सबैले बुझ्न जरुरी छ ।

तपाईंहरु विधानसम्मत चल्नु भएको छ त ?
छ । 

२-२ वर्षमा संघको चुनाव गराउनुपर्ने वैधानिक प्रावधान छ । कहिले हुन्छ त बाह्रौं महाधिवेशन ?
अब केही महिनामा महाधिवेशन हुनुपर्छ तर त्यसको तयारीका लागि केही पनि गरिएको छैन । 

त्यो त तपाईंको पनि जिम्मेवारी होला नि ? कि तपार्इंको दायित्व विरोध मात्र गर्ने हो ?
सभापतिले के गर्न खोज्नुभएको हो बुझिएको छैन । आशा गराैँ उहाँले बैठक बोलाएर निर्णय गर्नुहुन्छ । 

तपाईंले कहिलेबाट विद्यार्थी राजनीति गर्नुभएको ?
२०५५ सालबाट ।

ए पेन्सन त पाकिसकेछ है ?
हा...हा...हा । हो अब महाधिवेशनमा नयाँ युवालाई हस्तान्तरण गरिन्छ । 

स्ववियुमा उमेर हदबन्दी लागू भयो, नेविसंघमा कहिले लागू हुन्छ ?
नियमित महाधिवेशन भयो भने आफैँ हट्छ ।

तपार्इंको ताल हेर्दा कलह सुल्झने छाँट छैन । अर्को प्रसंगमा जाउँ है त । विद्यार्थी संगठन माउ पार्टीको निर्देशनअनुसार चल्ने कि एजेण्डाअनुसार ?
नेपाली राजनीतिको इतिहासदेखि आजसम्म विद्यार्थी संगठनहरू आफ्नो विवेक प्रयोग गरेर अगाडि बढेका छन् । ०६२÷६३ को आन्दोलनताका हाम्रै पार्टी नेपाली कांग्रेस गणतन्त्रमा जाने कि नजाने दोधारमा रहँदै गर्दा नेविसंघले गणतन्त्रको आवाज उठाएको थियो । हामी हाम्रो विवेकअनुसार चलेको यही उदाहरण काफी छ ।

गफमा हैन, वास्तविकतामा जाउँ न । हरेक मोर्चामा अगाडि देखिने संघ भारतीय नाकाबन्दीताका मौन बसेको पार्टीको लाइनअनुसार हैन ?
नाकाबन्दी भन्नुपर्छ भनेर हामीले पार्टीलाई दबाब दिएको हो  । पार्टी सभापतिलाई ज्ञापन पत्र बुझायौं । संयुक्त विद्यार्थी आन्दोलनमा हामी पनि सहभागी थियौं । हामीले खुलेर विरोध गरेका थियौं । पार्टीको आधिकारिक धारणा नआउँदा हामीले नबोलेझैँ देखिएको मात्र हो । 

अन्य आन्दोलनमा चर्को हुने स्वर मधुरो भएको त हो नि ?
हैन ।

विद्यार्थी आलोचनात्मक चेत भएको वर्ग भनेर चिनिन्छ तर हाम्रो देशमा त पार्टीको त्यसमा पनि कुनै गुटको पुच्छरै समाएर हिँड्ने प्रवृत्ति छ है । किन यस्तो भएको हो ?
विद्यार्थी आन्दोलन हिजोजस्तो सक्रिय नदेखिएको सत्य हो । तर हामीले पार्टीको आन्तरिक तथा बाह्य मुद्दामा बोलिरहेका छौं ।  पार्टीको पुच्छर भएर हिँडेका छैनाैँ । हाम्रो विवेक र क्षमता पु¥याएर काम गरेका छौं । 

रचनात्मक आन्दोलन भन्ने खुब सुनियो । खै त ?
त्यस्तो देखिएको हो । हिजो राजनीतिक मुद्दामा मात्र हामी केन्द्रित थियौं । जुन हाइलाइट पनि भइहाल्थ्यो तर अहिले त्यस्तो परिस्थिति छैन । हामी सामाजिक, शैक्षिक र राजनीतिक मुद्दामा केन्द्रित हुने हो । यी मुद्दा अब हाम्रो प्राथमिकतामा पर्छन् । 

कहिले ?
छिट्टै ।

विद्यार्थी राजनीति मुद्दाहरू के–के हुन् त ?
अब हामीले अलिकति बाटो फरक गर्नुपर्ने छ । पहिले राजनीतिक मुद्दामा केन्द्रित थियौं । अब  बोक्सीको आरोपमा, दाइजोको निहुँमा महिलामाथि हुने हिंसाको विरोध गर्ने, जनचेतना फैलाउने, छाउपडी प्रथाको अन्त्यका लागि काम गर्ने  जस्ता इश्युमा काम गर्नुपर्ने देखिन्छ । 

शैक्षिक मुद्दा चै कसले उठाउने त ?
शैक्षिक मुद्दा पनि छाड्दैनाैँ । व्यावहारिक शिक्षामा जोड दिने, कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने, गरिब विद्यार्थीलाई उच्च शिक्षा निःशुल्क गर्ने विद्यार्थीले सर्टिफिकेट राखेर व्यवसायका लागि लोन लिन पाउने व्यवस्था गर्ने शैक्षिक मुद्दा नै हुन् ।

शिक्षाको प्रसंगमा नेपालमा २ थरि शिक्षा छ एकथरि हुनेखानेले पढ्ने र अर्काेथरि हुँदा खानेले पढ्ने यसमा तपार्इंहरूको धारणा के छ ?
हो यही प्रवृत्तिको अन्त्य हुनुपर्छ । अब विद्यार्थी संगठनहरूको आन्दोलन समान शिक्षा, समान अवसरका लागि हुनुपर्छ । शिक्षामा व्यापारीकरणको अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो । 

शब्द सुन्दा त क्या मिठा छन् है । शिक्षामा व्यापारीकरणको अन्त्य गर्नुपर्छ भनेर भन्ने तर नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा निजी स्कुलले मनपरि शुल्क लिँदा मौन बस्ने । यसरी नै हुन्छ त शिक्षामा समान अवसर ?
हामीले आवाज उठाइरहेका छौँ । शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छाै‌। धेरै चरणका वार्ता भएका छन् । फेरि पनि वार्तामा बोलाउने कुरा भएको छ । हामी त्यहीँ बोलावटको पर्खाइमा छौँ । 

इन्धनमा भाउ बढ्यो भने सडकमा उत्रिएर टायर बाल्ने, चक्काजाम गरिहाल्ने । तर शैक्षिक मुद्दामा कहिलेवार्तामा बोलाउँला भनेर पर्खेर बस्ने ? किन यो दोहोरो चरित्र ?
त्यसो होइन, जहिले पनि विद्यार्थी संगठनहरूले सिधैँ बन्द चक्काजाम गर्ने गर्दैनन् । पहिले हामी ज्ञापन पत्र, बुझाउँछाँै । वार्ता सफल नभएपछि मात्र आन्दोलनमा जान्छाैँ । 

अस्ती मंगलबार सिधै त्रि–चन्द्र अगाडि चक्काजाम गरेर बसेको देखिएकै हो । खैर छाड्नुस् । निजी स्कुल विद्यार्थी नेताको राम्रो आम्दानीको स्रोत भएकाले तपार्इंहरुको आवाज मलिन भएको सत्य हो नि ?
खै यो कुरा हामीलाई थाहा भएन । हामीले यस्तो काम गरेका छैनाैँ र निजी स्कुलको मनपरीविरुद्ध लड्न पनि छाड्ने छैनाै।

शुल्क उठाइसके । शैक्षिक सत्र सुरु भइसक्यो । अनि लड्ने चै कहिले र कसरी त ?
पहिले वार्ताको माध्यमबाट लड्छाैँ । यदि पूरा भएन भने सडक आन्दोलन नै गर्न बाध्य हुन्छाै‌ ।
भनेपछि यो शैक्षिक सत्र त्यत्तिकै सक्किने भयो । विद्यार्थी आन्दोलनको स्वरूप बदलिन सकेको छैन । उही

ढुंगामुढा गर्ने, टायर बाल्ने प्रकृतिकै हावी छ । किन ?
यसमा हामी किन यस्तो स्टेजमा पुग्छाैँ भनेर सोच्न आवश्यक छ । हामी सुरुमै टायर बाल्दैनाैँ । ज्ञापन पत्र दिने, आग्रह गर्ने, धर्ना दिने, आन्दोलनको शैली जब राज्यले मान्दैन तब मात्र हामी यस्तो आन्दोलन गर्न बाध्य हुन्छौं । 
 

Leave A Comment