ठमेलमा बिन्दास एक रात

सोमबार, १४ जेठ २०७५, ०७ : ३२ अनिल यादव
ठमेलमा बिन्दास एक रात

तस्बिरः फायर क्लबको फेसबुक पेजबाट

‘दाइ, निन्द्रा नलाग्ने कफी बनाउनुस् त !’ 
जवाफ आयो, ‘ए, भइहाल्छ नि !’ कफीको स्वादसँगै उनीसँग केही समय गफगाफको श्रृंखला चल्योः
‘दाइ, पसल कति बजेसम्म खोल्नुहुन्छ ?’
‘नियमले त ८ बजे बन्द गर्नुपर्ने होला तर ग्राहक आए भने पेलेरै भए पनि १२–१ बजेसम्म खोल्दिन्छु ।’
यत्तिकैमा छेउको डान्सबारबाट एक युवती आइन् । खाजा अर्डर गरिन् र लिएर फर्किइन् । 

१२ घन्टे माहोल हेर्न जेठ ४, साँझ ६ बजे चाक्सीबारी मार्ग पुग्दा प्राकृतिक उज्यालोले धानेको थियो ठमेललाई । मसाल पार्लरका सटर बन्द हुँदै थिए,  डान्सबारका सटर खुल्दै थिए । 
फायर क्लब नजिकैको गल्लीमा कफी पसल खुल्लै रहेछ । कफी त बहाना न थियो, योजना ठमेलबारे उनको धारणा जान्नु थियो । कुराकानी अगाडि बढ्यो । अनुमानका भरमा सोधेँ ‘यिनी डान्सबारमा काम गर्छिन्, हो ?’ 
‘हो, बबाल छे है !’ उनले हाँस्दै भने । 
‘आज रमाइलो गरौं भनेको । के–कता जाँदा ठीक होला ?’
‘दोहोरी साँझ जानुस् न, रमाइलो हुन्छ,’ उनले झटपट जवाफ दिए ।
‘डान्स बार जाउँ भनेको !’
उनले सुझाए ‘त्यहाँ त बिल धेरै उठाइदिन्छन्, नजानुस् ।’
१ कप कफीको ४० रुपैयाँ बिल निस्कियो ।
............

६ बजे ठमेललाई बत्ती चाहिएको थिएन, प्राकृतिक उज्यालो नै काफी थियो ।
शुक्रवार नाइट लाइफको केन्द्र ठमेलका सडक व्यस्त हुनु के नै नौलो भयो र ! न वर्ग, न उमेर समूह, न स्वदेशी न विदेशी । न चाड, न पर्व । खुसी होस् कि दुःख । कोही एक्लै, कोही साथीसंगीसँगै । 
गुड फ्राइडे, मस्तराम हुने दिन ।
चोकमा ट्राफिक प्रहरी देखिन थाले । ठमेल ‘भेहिकल फ्रि जोन’ हो अहिले । जथाभावी सवारी गुडाउन निषेध छ तर फाट्टफुट्ट मोटरसाइकल हुइँकिइरहेका थिए ।
बा.२२ प २२३६ नम्बरको मोटरसाइकलका चालक ‘रङ वे’बाट जान खोज्दै थिए । ट्राफिक प्रहरीले त्यता जान नमिल्ने संकेत गर्दै थिए ।  चालकले वास्तै गरेनन् । 
ट्राफिक प्रहरी झनक्क रिसाए । यसो उनको नेम–प्लेट हेरेको केएस थारु लेखिएको थियो । युवाको व्यवहारले ती ट्राफिक प्रहरी झनक्क रिसाए । बाइकको चाबी खोसे । लाइसेन्स र बिल बुक मागे । चालकले छैन भनेपछि ‘लिएर आउनु’ भन्दै बाइक डो¥याएर साइड लगाए । 
चालक बिलखबन्द परेर टाउको कन्याउन थाले ।
................
६ बज्दा मौसम उज्यालै थियो तर अँध्यारो हुनुअघिको उज्यालो । सात बज्नै लाग्दा दुई जना महिला पर्यटक हातमा ‘ठमेल म्याप’ बोकेर चोकमा घोत्लिँदै थिए । पालैपालो उनीहरुकहाँ एक ट्याक्सी चालक र अर्का रिक्सा चालक ‘कहाँ जाने ?’ भन्दै सोध्न आइपुगे ।  ‘नो, वि डन्ट निड हेल्प’ भन्दै पर्यटक तर्किए । ‘म्याप गाइड’ले अचेल विदेशी पर्यटकलाई ठमेलको गल्ली पहिल्याउन सजिलो बनाइसकेछ । उनीहरु गाइडबिनै घुम्न निस्किए । 
पालकपिलिक बत्ति झुल्किन थाल्यो । ठमेलमा प्राकृतिकबाट कृत्रिम किरण फैलिन थाल्यो । मोबाइल स्क्रिनको डिजिटल घडीले ७ बजाएको देखायो । 

ठमेल चोकमै ‘मोहन्स ट्याटु’ पछाडि सेकुवा कर्नर रहेछ । यसो हेर्दा सामान्य नै देखिन्थ्यो तर भिडभाड बाक्लै थियो । बंगुर, चिकेन र मटन सेकुवामा मस्त थिए ग्राहक । ठमेलका सडक नाप्ने रफ्तारसँगै सेकेन्ड, मिनेट हुँदै समयको यात्रा पनि जारी थियो ।

लक्ष्य ब्यान्ड गीत गाइरहेको थियो– ‘मुस्कुराने कि वजह तुम हो, दिल लगाने कि वजह तुम हो...।’ टेबलमा रहेका एक जोडी एक–अर्कालाई औल्याउँदै गीतको भावसँगै रोमान्टिक मुडमा गुन्गुनाइरहेका थिए । 

तीन घण्टाको यात्रापछि हल्का थाकेको ज्यानमा स्फुर्ति बढाउन ब्रेजल क्याफे एन्ड रेस्टुरेन्टभित्र पुग्दा संगीतको तालसँगै ताल मिलाउनेहरु प्रशस्तै देखिए ।

ग्रुपमा रहेकादेखि जोडीसम्म रमाइरहेका थिए ड्रिंक्समा । खचाखच थियो रेस्टुराँ । ग्राहकको उपस्थितिले दंग रेस्टुराँ संचालक योगेश घोरासाइनीले भने, ‘आज नरमाए कहिले रमाउने, अहिले नरमाए कहिले रमाउने ? हैन त !’ 
रात घर्किएसँगै ठमेल भित्रिनेको संख्या बाक्लिदै जान्छ । 

घुम्दैफिर्दै केजिएच चोक पुग्दा रिक्सा चालकहरु भेटिए । यिनका लाइफका कहानी पनि सुनिहालौँ न !

सडक छेउमा भेटिए बुद्धिलाल तामाङ । २५ वर्ष भयो रे उनले ठमेलका सडकमा रिक्साको पाइडल घुमाउन थालेको । उनको दाबी पत्याउने हो भने मनग्गे कमाई हुने रहेछ रिक्साबाटै । भन्थे, ‘महिनाको ८० हजारदेखि १ लाखसम्म कमाई हुन्छ ।’

हैट्, दामी पैसो ! लोभै लाग्दो !!
तर उनको बानी चैँ झुर रै’छ ।
‘कमाइ त राम्रै हुन्छ नि सर । दिनभरको कमाइ जोड्दा महिनामा ८० हजार देखि १ लाखसम्मै पुग्छ तर के गर्ने पैसा बच्दैन, तास र जाँडमै सकिन्छ ।’ 
त्यसपछि उनी अस्वाभाविक किसिमले हाँसे ।
उनको कमाइको सन्तुष्टिको पाटो दुई सन्तानको शिक्षा रहेछ ।
...............
चार घण्टा कटिसक्यो, सडकमा मात्र के रल्लिनु ? लागेँ डान्सबारतिर । संचय कोष चोकबाट दाहिनेतिर झल्याकझुलुक देखियो । बोर्डमा लेखिएको थियो– मिर्ची डान्सबार ।

सेक्युरिटी गार्डले चट्ट स्यालुट ठोकेर स्वागत गरे, ‘आउनुस् सर, भित्रै जाऔं । हेरेको पैसा लाग्दैन क्यारे !’ उनी हाँसेको असुहाउँदिलो देखियो, पूरै बङ्गारासमेत खुले । 

त्यहीँ जान आएको किन नजानु ? गेटबाट भित्र प्रवेश गर्नासाथ आँखा ठ्याक्कै स्टेजमा पुग्यो । 

छाती ह्वाङै हुने पहिरनमा एक युवती ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ बोलको गीतमा अगाडिको टेबलमा झुम्मिएका ग्राहकतिर आँखा सन्काउँदै नाचिरहेकी थिइन् । ग्राहकका आँखा लट्ठ थिए । त्यो मदिराको मात या जवानी जोश थियो कि, के थाहा !

दुई युवती ग्राहकसँग ट्याप्पै टाँसिएर बसेका थिए सोफामा । ‘दाइ, वाइन खाउँ ?’
बार गर्लको आग्रह सुनेर त्यस्तै अधवैंशे ग्राहक मुसुक्क हाँसे मात्र । चलाख देखिए ती ग्राहक । बिलको अङ्क बढाउने ट्रिक थाहा रहेछ उनलाई । 
पंक्तिकार नजिकैको कुर्सीमा बसेलगत्तै एक युवती मेन्यू लिएर आइपुगिन् । 
‘स्प्राइट’
मेरो अर्डर सुनेर छक्कै परेर हेरिन अनुहारतिर ।
‘स्टार्ट ड्रिक्स हो’ जिब्रो मदिराको स्वादसँग अनभिज्ञ भए पनि बसाइ लम्ब्याउन भनेँ ।
स्प्राइटसँगै आइपुगिन् एक युवती । पहिरन छोटो– हाफ पाइन्ट र टिसर्ट । हाइहेल्लोसँगै उनले आफ्नैलागि अफर गरिन्, ‘एउटा बियर खान्छु है !’
बियर खाने चाह भन्दा पनि बिल बढाउने काइदा यस्तै हो ठमेलमा । थोरै तलबको अङ्क कमिसनले बढाउन ग्राहकसँग मस्किएर यस्ता अफर गर्नु उनीहरुको पेशागत कर्म हो ।
केही समयसम्म बोलिनँ म । कुरा बुझिन् क्यार ठुस्कँदै अर्कै टेबलतिर लागिन् उनी ।
एक घन्टाको बसाइमा म्युजिकको ताल बदलिए, केही डान्सर बदलिए, हाउभाउ भने उस्तै सेक्सिलो, त्यो चाहिँ बद्लिएन ।

बाहिरिँदा सँगै अर्का पनि थिए । उनी गुनासोको भाषामा भन्दै थिए, ‘आफूले जम्मा २ वटा बियर खाइयो, बिल भने ५ हजारको आयो । केटीहरुले कपाकप खाइदिएछन् आफैंँ ।’

संचय कोष कार्यालय वरिपरि सवारीको जाम देखियो । घडी हेर्दा ११ हाराहारी बजेको रहेछ । ट्राफिक सिट्ठी फुक्दै जाम हटाउँदै थिए दिउँसोको समयमा झैँ ।

अब डिस्कोतिर जानुप¥यो ।

फाट्टफुट्ट जाने फायर क्लब डिस्कोथेक एन्ड लाउन्जबारतिर म लम्किएँ । 
भित्र छिर्नासाथ चर्को संगीत कानमा ठोक्कियो । 
घन्किरहेको थियो, ‘पप्पी देऊ न, पप्पी देऊ न...।’ स्टेजअगाडि ठूलो समूह मस्त नाचिरहेको थियो । 
एक युवक गीतकै तालमा गाला ते¥स्याउँदै युवतीलाई रिक्वेस्ट गर्दै थिए, ‘पप्पी देऊ न, पप्पी देउ न ।’ गीतकी ओरिजिनल गायिका टीका प्रसाईं नै क्लबमा अतिथि कलाकार बनेर आएकी रहिछन् । 
उनी आफैँले गाएर माहौल तताइरहेकी रहिछन् । यसअघि मैले उनलाई मधुशाला गजल साँझमा गजल गाइरहेको देखेको थिएँ । 

ग्राहकको बाक्लो संख्यासँगै ताल आ–आफ्नै हुने नै भयो । कोही बिन्दास नाचिरहेका थिए, कोही खानपिनमा व्यस्त थिए । एक समूह टिभी स्क्रिनमा दिल्ली डेयरडेभिल्स र चेन्नईविरुद्धको आइपिएल म्याच हेर्न मग्न थिए । उनीहरुको मुडले ‘पप्पी’ हैन ‘विकेट’ मागिरहेको थियो ।

१२ बजेपछि लाइभ प्रस्तुति सकियो र डिस्को सुरु भयो । डिजेको म्युजिक तालमा झुम्न एक हुल युवायुवती टेबल छाडेर डान्सिङ एरियातिर लागे एक–अर्काको हात समाउँदै ।
ग्राहकको हात खाली थिएन । 
तीनजना युवती एक पुरुषलाई फकाइरहेका थिए, ‘हामीलाई पनि बियर किन्दिनु न दाइ ।’ 
केटीहरुको मागमाथि ऊ पूरै बेवास्ता गरिरहेको थियो, म त्यहाँ हुञ्जेल ।

मेरो कान भने म्युजिक भन्दा वरिपरिका टेबलमा हुने गफतिर केन्द्रित थियो ।
‘आज त्यसलाई सेटिङ गर्ने हो,’ एक जना युवक डान्स फ्लोरमा नाचिरहेकी एक युवतीतिर देखाउँदै भन्दै थिए, ‘क्लबमा आएर एउटा केटी पनि पट्याउन  सकिएन भने के आउनु !’ उनको आवाजमा मादकता र पुरुषार्थ बढी नै झल्कँदै थियो ।
.................
गरम माहौलबाट शितलता लिन म बाहिरिएँ । एक घण्टा बितेछ भित्रै । पर्पल हेज रक बारको गेट नजिक पुगेँ । अरु दिनझैँ निःशुल्क प्रवेशको सुविधा रहेनछ । 

प्रवेश शुल्क ५ सय भए पनि टिकट लिनेको लाइन लामै थियो । के कारण रहेछ ? 

हैट् ! लोकप्रिय ब्यान्ड कबवेभको लाइभ प्रस्तुति रहेछ । उनका फ्यानका लागि ५ सय कुन ठूलो मूल्य भयो र ? 
मूल्य निकै महँगो लागेपछि म भने अन्तैतिर लागेँ ।

१ः२५ तिर ठमेलस्थित गार्डेन अफ ड्रिम्सको पर्खालदेखि सञ्चय कोष चोकसम्म घुम्दा यौनकर्मी र ग्राहकबीच मोलमोलाई खुब चलिरहेको रहेछ । सडकमा उभिनेको संख्या बढ्यो कि प्रहरी खेद्न आइहाल्दोरहेछ ।
प्रहरी लाठी बोकेर खेदाइरहने, यौनकर्मी भागिरहने । चोर–पुलिसको जस्तो यो खेल पनि रमाइलोसँग चलिरहेकै थियो त्यहाँ । 

म एक महिला यौनकर्मीसँग ठोक्किएँ । सानो स्वरमा ती महिलाले सोधिन्, ‘जाने हो ?’ 
‘कहाँ जाने हो र ?’
‘यहीँ गेस्ट हाउसमा ।’
‘कति लाग्छ ?’
‘होल नाइटको ४ हजार, एकपल्टको २ हजार ।’
‘यो त महँगो भएन र ?’
‘ल १५ सय दिनू, एकछिन बसौँला ।’
बार्गेनिङ चलिरहेकै थियो । प्रहरीको टोली छेउतिर आइपुग्यो । मैले उम्किने बाटो पाएँ । 
............

सञ्चय कोष चोकबाट थोरै अघि लाग्दा नजिकैको पर्खालमा एक युवक विन्दास पारामा भित्तो भिजाइरहेका थिए । घुमिरहेको प्रहरीले च्याप्पै समात्यो । 

‘यहाँ किन मुतेको ? भ्यानमा कोच्दिऊँ ?’
ती युवक डराउलान् भनेको त उल्टो जंगिए ।
‘पिसाब फेरेको त हो नि, कसैलाई मा¥या हो र ? सार्वजनिक शौचालय खै कहाँ छ ? देखाइदिनुस्, त्यहीँ मुत्छु ।’ 
‘सार्वजनिक शौचालय नभए सरकारलाई गएर बनाउन भन्  यहाँ पर्खालमा किन मुत्छस् ?’ प्रहरी जंगिए  । 
दुवैबीच सवालजवाफ चल्दै थियो, नजिकैका अर्का अधवैंशे पुरुषहरु नजिक आइपुगे । कुरा मिलाउन आए होलान् भनेको त झगडामा मिसिन पो आएका रहेछन् !
ती प्रहरीसँग कड्किए, ‘के भन्नुभयो रे ?’ 
उनको ताल हेर्दा प्याक राम्रै चढाएका रहेछन् ! प्रहरी थपिएका झगडिया देखेर ट्वाँ परे । 
‘जनतासँग तपाईंको बोल्ने तमिज यही हो ? पुलिस भएँ भन्दैमा गुण्डागर्दी गर्ने ?’ जनता चर्किए ।
चर्काचर्की बढेपछि थप दुई जना प्रहरी पनि कताबाट आए । उनीहरुले दुवै पक्षलाई सम्झाइबुझाई गरेपछि एकातिर प्रहरी र अर्कोतिर झगडिया लागे । पहिलो प्रहरीले राम्रैसँग सम्झाएको भए कुरा पहिल्यै सामसुम भइहाल्थ्यो नि ! 
..................

यसपछि मेरा आँखा हल्का पिरो हुन थाल्यो । रातिको २ बजेछ । निद्राले च्याप्न थाल्यो । 
‘नम्बर देऊ न,’ कसैको आवाज सुनेँ । 
आवाज आएतिर फरक्क फर्केर हेरेँ । एक जना युवक युवतीको पछि लागिरहेको रहेछ । हल्का दुरी कायम गरेर मैले दुवैलाई पच्छ्याएँ ।
युवती तर्कंदै हिँडिरहेकी थिइन्, युवक बाङ्गाखुट्टा लगाउँदै पच्छ्याइरहेका थिए ।
‘देऊ न देऊ,’ ऊ ढिठले आग्रह गरिरहेको थियो ।
नजिकै उभिएकी अर्की युवती मिसिइन्सँगै ।
‘पैसा तिरेर गर्न पाइन्छ, नम्बर चैँ पाइँदैन,’ खरो स्वरमा उनको जवाफ सुने पनि युवक साइड लागेनन् । यो समूहमा अन्य दुई युवती पनि थपिए । अब उनीहरु चार जना भएका थिए र ती एक्ला युवा उनीहरुसँग भिडिरहेका थिए । उनीहरुको कुरा सुन्न झ्याउ लाग्यो । म अन्तै हिँडे ।

फायर क्लब नजिकैको चोकमा पुग्दा प्रहरीको एक समूह सडक पेटीमा चाउचाउ–चुरोट बेचिरहेकी वृद्ध महिलालाई थर्काइरहेको थियो । 
‘पसल उठा !’
उनी मौन थिइन् । हुन त प्रहरीसँग झुत्ती खेलेर के पाउनु छ र ?
तीन जना प्रहरीले सामान थुत्न खोजेपछि भने उनी पोकापुन्तरा सम्हालेर हिँडिन् ।
यतिञ्जेल त रमाइलै भइरहेको थियो तर अचानक एक्लो भएको महसुस भएपछि भोकले पेट कटक्क खायो । ठेलाको मम खोज्दै ठमेलको ज्याठातिर लागेँ म । एक हुल युवती त्यहाँ देँखे । उनीहरुका कुरा सुन्न पाइने लोभमा म त्यतैतिर लागेँ । ठेला पनि नजिकै फेला प¥यो । 

ती युवतीहरू ससेजको स्वादमा मग्न थिए ।
‘त्यो केटाले त मलाई ५ हजार दिन्छु, मसँग जाउँ भन्दै थियो, भोलि आऊ अनि जान्छु भनेर पठाइदेको छु,’ एक युवतीले हाँस्दै भनिन् । ती सबै बार गर्ल रहेछन् ।
त्यहाँ पनि प्रहरी आइपुग्यो । सडकमा सामान बेच्न नदिने भएकाले ठेलावाला सामान मिलाउन थाल्यो । 
‘ठूल्ठूला क्लबलाई २ बजेसम्म भनेर ४ बजेसम्म खोल्न दिन्छन्, सडकमा मःम बेचेर खानेलाई चैँ दुःख दिन्छन्,’ उनले गनगन गरे, ‘कहिले ग्यास बोकेर हिँडिदिन्छन्, कहिले लाठीले डाम बस्ने गरी हान्छन् । यस्ता अलच्छिनी छन् !’
यसपछि अचानक पानी प¥यो । 
बाटोमा हिँडिरहेका पुरुष ‘जाने हो’ भन्दै युवतीहरुलाई ताक्दै थिए ।
‘लाने हो,’ एउटी युवतीले मस्किदै जवाफ फर्काइन् ।
००००

१२ घन्टा बिताएपछि मैले ठम्याएँ, विन्दास छ ठमेल । २०७२ को भूकम्पले केही विथोल्यो यसलाई । नत्र माओवादीकालको सशस्त्र द्वन्द्व होस् या ०६२/६३ पछिको शान्तिकाल । ठमेल सुस्त भयो होला तर यसको विन्दासपन उस्तै रह्यो ।
ह्यापी फ्राइडे !!

Leave A Comment