सुनकेशरी : अलमलिएको हरर फिल्म

बिहिबार, १७ जेठ २०७५, ०१ : २७ अनिल यादव
सुनकेशरी : अलमलिएको हरर फिल्म

फिल्म दृष्टि :

‘अन्य आधुनिक कलाजस्तै ‘हरर’ फिल्म सहज अर्थको हुनु हुँदैन । जब तपाईंले त्यो हेर्नु हुन्छ, तपाईंले के बुझ्नु भयो भन्दा पनि तपाईंले के महसुस गर्नुभयो भन्ने बढी महत्वपूर्ण हुन्छ ।’ '

हरर र फ्यान्टासी मुभी मेकिङमा माहिर मानिने फ्रान्सेली फिल्म निर्देशक क्रिस्टोफ गन्सले ‘हरर’ फिल्मबारे गरेको टिप्पणी हो यो । 

तर हलमा प्रदर्शन भइरहेको फिल्म ‘सुनकेशरी’ निर्देशक गन्सको फर्मूलाभन्दा बिल्कुल फरक लाग्छ । विधा हरर भनिए पनि यो फिल्मले न दर्शकलाई केही खास महसुस गराउँछ, न केही बुझाउँछ नै । 

दर्शकको मनमा निरन्तर डर पैैदा गर्नु ‘हरर’ फिल्मको खास विशेषता मानिन्छ तर यहीँनेर फिल्म चुकेको छ । दर्शकभित्र भय, दुःस्वप्न, अवरोध र अज्ञातको डर उत्पन्न गराउनुमा निर्देशकको मिहिनेत अपूरो लाग्छ । 

भनिन्छ, सबैभन्दा उत्कृष्ट ‘हरर’ फिल्म त त्यो हो जहाँ दर्शक डराएर जोडले चिच्याउँछन् र पछि उसको चिच्याहट सम्झेर उसैलाई हाँस्न मन लागोस् । तर यस्तो अपेक्षा त ‘सुनकेशरी’बाट नगरेकै बेस । 

यो फिल्म श्रीमतीले परपुरुषसँग शारीरिक सम्बन्ध राखेको दृश्यबाट सुरु हुन्छ । जसलाई झ्याल बाहिरबाट उनका पतिले हेरिरहेका हुन्छन् । त्यसपछि आवेगमा आएका पतिले पत्नीको हत्या गर्छन् अनि आफ्नै आत्महत्या । 

फिल्म त्यसपछि केही वर्षअगाडि पुग्छ । ब्वाइफ्रेन्डबाट धोका खाएर निराश रहेको अवस्थामा देखापर्छिन्, सुनकेशरी (ऋचा शर्मा) । प्रेममा ठक्कर खाएर डिप्रेसनमा पुगेकी उनलाई साथीले बाहिर घुम्न जान र पीडा भुलाउन सुझाउँछिन् । साथीकै सल्लाहअनुसार उनी एक शान्त र सुनसान ठाउँमा रहेको होटलमा पुग्छिन्, जसको औपचारिक उद्घाटन पनि भएको हुँदैन । यो होटल त्यही घर हुन्छ, जहाँ पतिले पत्नीको हत्या गरेर आफैँ आत्महत्या गर्छन् ।   

होटलमा कोही हुँदैन, सिवाय कामदार यादव (रवीन्द्र झा) । सुनकेशरीको आगमनसँगै होटलमा अनौठा आवाज सुनिन थाल्छन् । पछि सन्नी ढकाल र लरेन लोफबर्गको जोडी हनिमुन मनाउन भनेर त्यही होटल आइपुग्छ । र, अनौठा आवाज र घटनाका श्रृंखला अघि बढ्छ । त्यो होटलमा रहँदा सुनकेशरी, नवविवाहित जोडी र कामदार यादवले कस्तो–कस्तो परिस्थितिको सामना गर्नुपर्छ ? फिल्म यसकै वरिपरि घुमेको छ । 

नेपाली फिल्ममा देखिने पटकथाको पुरानै रोगबाट यो फिल्म पनि मुक्त छैन । पटकथा अपरिपक्व लाग्छ । मुख्यतः पाँच जना पात्र र एउटा घरमा सीमित देखिएको यो फिल्म सकिँदासम्म दर्शक कथा खोजिरहन्छन् तर भेट्न मुस्किलै छ । यदि ‘सुनकेशरी’ फिल्म हो भने त्यहाँ ‘प्लट’ हुनैपर्छ चाहे जुनसुकै विधाको होस् । 

फिल्मभित्र पात्र र द्वन्द्वको स्थापनामा पनि अभाव खड्किन्छ । ब्वाइफ्रेन्डले छाडेपछि ऋचा डिप्रेसनमा पुगेको देखाइएको छ । र, त्यही कारण उनी तर्साउने घरसम्म पुगेकी छन् । तर विडम्बना डिप्रेसनमा पुग्नुको कारण स्थापित गर्न भने एउटै दृश्य पनि खर्चिएको पाइँदैन । अनौठो गतिविधिले रवीन्द्रलाई तर्साइरहेको हुन्छ तर दर्शक हाँसिरहेका हुन्छन्, उनको अभिनयका कारण । हरर फिल्म भन्नेबित्तिकै जसरी पात्रप्रति दर्शकको संवेदना जाग्नु पर्ने हो, त्यो उनीसँगै अरुका हकमा पनि जाग्दैन । 

फिल्ममा आवश्यकताबिनै ‘मायाले छोई’ बोलको गीत देखापर्छ । सन्नी र लरेनलाई खुसी बनाउनकै लागि गीत राखिएको भान दर्शकलाई हुन्छ । 

यो फिल्मलाई अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापाले मिलेर निर्माण गरेका हुन् । अर्पण फिल्मका निर्देशक हुन् । फिल्म हेर्दै गर्दा लाग्छ, अर्पण निर्देशनका क्रममा अलमलिए । दर्शकलाई तर्साउने कि हँसाउने ? उनमा ठूलो ‘कन्फ्यूजन’ देखियो । 

पछिल्लो समय नेपाली दर्शकको भिड कमेडी फिल्ममा बढेको भएर होला उनले फिल्ममा रवीन्द्र झाको क्यारेक्टरमार्फत दर्शक हँसाउने भरपुर प्रयत्न गरेका छन् । विधागत हिसाबले यो फिल्म हरर हो तर दर्शक बढी तर्सिनुको सट्टा हाँस्छन् । यो पक्कै निर्देशकको सफलता होइन । 

हरर विधा नेपाली फिल्ममा सफल मानिँदैन । तैपनि ऋचा र अर्पणले जोखिम मोले । जोखिम मोले पनि पूर्ण विश्वस्त नभएर होला– फिल्ममा त्यति विघ्न कमेडी घुसाए ।

अस्ट्रेलियामा खिचिएको यो फिल्मको सबैभन्दा सुन्दर पाटो भनेको साउन्ड हो । ब्याकग्राउन्ड म्युजिकका लागि नोबल फ्रिक्स प्रशंसाका हकदार छन् । केही दृश्यबाहेक फिल्मको छायांकनमा पनि खोट लाउने ठाउँ भेटिन्न ।

अभिनयको चर्चा गर्दा फिल्ममा ऋचा पात्र सुहाउँदो छिन् । निराश पात्रका रुपमा उनी पर्फेक्ट लाग्छिन् । सानो सुनकेशरी बनेकी बालकलाकार एमी पराजुली पनि तारिफयोग्य छिन् । विदेशी कलाकार लरेन लोफबर्ग ठिकै लाग्छिन् तर सन्नी ढकाल अभिनय स्वभाविक छैन । डायलग डेलिभरी दृश्यसँग असुहाउँदो लाग्छ । 

फिल्ममा दर्शकलाई इन्टरटेन गराउने हतियारका रुपमा रवीन्द्रलाई प्रस्तुत गरिएको छ । उनले दर्शकलाई संवाद र हाउभाउमार्फत् हसाउँछन् पनि तर उनका पूराना फिल्म हेरिरहेका दर्शकलाई उनको अभिनय शैली भने नौलो लाग्दैन । अब आफ्नो अभिनय शैलीमा रवीन्द्रले विविधता खोज्नु जरुरी देखिन्छ । 

झ्यालढोका ड्यामडुम लाग्ने, वरिपरिका समान आफैँ झर्ने र चल्ने, बिजुली आफैँ निभ्ने, मौसम गड्याङगुडुङ गर्ने आदि हरर फिल्ममा अनिवार्य देखिने दृश्य हुन् । यो हरर फिल्मको ‘स्टेरियोटाइप’ अवधारणाजस्तै भइसक्यो । ‘सुनकेशरी’ यही परम्परागत अवधारणा वरिपरि छ, नयाँ केही गर्ने प्रयास देखिन्न ।  

यसअघि ‘मुखौटा’ र ‘आधा लभ’ निर्देशन गरेका अर्पणले तेस्रो फिल्म ‘सुनकेशरी’सम्म आइपुग्दा निर्देशनमा उनको बलियो सम्भावना देखिएन । उता ऋचा फिल्म निर्माणमा लगातार असफल देखिइन् तर दुवै नेपाली फिल्मका प्रतिभावान अभिनेता/अभिनेत्री हुन्, यसमा कुनै शंका छैन । यसर्थ, अब अभिनयमै ध्यान दिँदा उनीहरुको उद्धार हुने देखिन्छ ।  

अन्त्यमा, ‘सुनकेशरी’ हेरिसकेपछि ढुक्कसँग भन्न सकिन्छ–  यसले कमजोर मुटु भएका दर्शकलाई पनि लामो समयसम्म तर्साइरहन सक्दैन । मुख्यतः जुन दर्शकका लागि यो फिल्म लक्षित हो, उनीहरुले पनि यो फिल्मलाई दिने भनेको ‘थम्ब्स डाउन’ नै हो अर्थात् ‘डिसलाइक’ ।  

Leave A Comment