‘अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत

शुक्रबार, १८ जेठ २०७५, ०२ : १३ अनिल यादव
‘अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत

फरक स्वरका कारण दर्शकमाझ परिचित छिन् गायिका आस्था राउत । ‘चौबन्दीमा पटुकी’, ‘झम्के बुलाकी’ उनका रुचाइएका गीत हुन् । पछिल्लो समय उनी संगीत क्षेत्रमा देखिने खराब प्रवृत्तिविरुद्ध खुलेर बहसपैरवीमा लागेकी छिन् । लोकदोहोरी फोहोरी भएकोमा उनलाई चिन्ता छ । विनाअनुमति सर्जकहरूको सिर्जना प्रयोग हुँदा आपत्ति छ । आइतबार दिउँसो लाजिम्पाटस्थित माइक्स क्याफेमा आस्थाले नेपाली संगीतको ट्रेन्ड, समस्यासहित आफ्नो रुचि, करिअर र प्रेमबारे अनिल यादवसँग गरेको अन्तरंग संवाद ।

अचेल केमा व्यस्त हो ? 
अलिअलि सोहरू भइरहेको छ । सँगसँगै दोस्रो एल्बमको काम अन्तिम चरणमा छ । भिडियो बनाउन मात्र बाँकी छ । 

आस्थाले पुरानै हिट गीतको ब्याज अहिलेसम्म खाइरहेको छ भन्ने टिप्पणी पनि सुनिन्छ, सहमत हुनुहुन्छ ?
मैले त ४–५ वर्षअघिको खा’को हो, यहाँ कोही–कोहीले त २० वर्षअघिको हिट गीतको ब्याज पनि खाइरहेका छन् (लामो हाँसोसहित) । यसमा के गलत भयो र ? 

नयाँ गीत कम आइरहेका छन् नि त !
आफ्नै एल्बम नआए पनि फिल्ममा त गाइरहेकै छु नि । तपार्इंहरूले नसुन्नु, ख्याल नगर्नु त अर्कै कुरा भयो । जति चर्चा ‘चौबन्दीमा पटुकी’को भयो त्यति अरूको भएन होला, त्यसैले चर्चा कम भएको हुनसक्छ । अर्को कुरा, मैले ‘चौबन्दी’मा पनि हिट हुन गाएको थिइनँ । म हिट हुनका लागि कामै गर्दिन । मैले रिजेक्ट गरेका केही गीत अहिले बजारमा सुपरहिट भएका छन् । यदि हिट हुनकै लागि मैले काम गरेकी थिएँ भने म ती गीत रिजेक्ट गर्ने थिइनँ । म अर्थपूर्ण गीत मात्रै गाउन रुचाउँछु । गीत यस्तो होस् जसले गाएपछि सिधैँ श्रोताको मनमा प्रभाव पारोस् । मलाई यस्तै गीतमा काम गर्न मनपर्छ । 

अरू गायक/गायिकाका गीत गन्नैनसक्ने गरी आइरहन्छन्, तपाईंको हकमा संख्या किन कम ?
म संख्यामा होइन स्तरमा विश्वास गर्छु । जे पाए त्यही गीत गाएर मलाई चर्चामा आउनु छैन । न त्यसरी विवादमा पर्नु छ, न भाइरल हुनु छ । नेपाली संगीतमा दर्शक/श्रोतालाई राम्रो र स्तरीय गीत दिनु अहिलेको आवश्यकता हो । एउटा संस्कार बोकेको, सकारात्मक सन्देश बोकेको गीत आउनुपर्छ । 

अहिलेसम्मको संगीत यात्रालाई आफैंले समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
मैले बच्चैदेखि गाउन थालेकी हुँ । मलाई लाग्छ– म त खेलीखेली रमाइरमाई यहाँसम्म आइपुगेकी हुँ । मैले संगीतलाई कामका रूपमा लिएकी छैन, इन्जोयमेन्टको हिसाबले लिएकी छु । पैसा कमाउनु ठूलो कुरा होइन , आफ्नो नाम, पहिचान र संगीतप्रतिको योगदान ठूलो कुरा हो । 

अहिलेको नेपाली संगीतको ट्रेन्डलाई कसरी विश्लेषण गर्नुहुन्छ, कता जानुपथ्र्यो, कता गइरहेको छ ? 
बेलामौकामा अलिकति विकृति फैलाउने खालका गीत आउँछन् तर त्यसलाई निरुत्साहित गर्नुपर्छ । अहिलेको म्युजिक अलि खुल्दै गइरहेको छ, बाँधिएको छैन जुन राम्रो पक्ष हो । अलि ‘रिल्याक्स्ड’ र ‘जोली’ पाराको क्या ! ज्यादा रोनाधोना  छैन । दुःख त जिन्दगीमा सधैँ छ । यसले त कसैलाई पनि छोड्दैन । तर दुःख भयो भन्दैमा खालि दुःखी, मन दुख्ने र रुवाउने गीत नै सुन्नुपर्छ भन्ने छैन । त्यसैले मान्छेहरूलाई जीवनप्रति सकारात्मक बनाउने खालका गीत बनिरहनुपर्छ, बनिरहेका पनि छन् । दर्शक/श्रोतालाई पनि मेरो अनुरोध छ, ‘खुसी खोज्न बाहिर नभौँतारिनुस्, पहिला घरबाटै सुरु गर्नुस् ।’

पछिल्लो समय लोकदोहोरी गीत र लोकदोहोरी गायिकाप्रति तपार्इं निकै आक्रोशित भएर प्रस्तुत भइरहनुभएको छ । खास गुनासो केमा हो ?
व्यक्तिगत रूपमा मेरो कसैसँग केही गुनासो होइन । म व्यक्तिभन्दा प्रवृत्तिविरुद्ध बोलिरहेको छु । यसले कोही व्यक्तिलाई असर गर्छ भने त्यसमा मेरो भन्नु केही छैन । मेरो विमति भने गीत भनेको गीतजस्तो हुनुपर्याे, सभ्य हुनुपर्याे । अश्लील शब्द र अश्लील प्रस्तुतिप्रति मेरो आपत्ति हो । कलाकारलाई समाजको ऐना भनिन्छ, आइडियल मानिन्छ । त्यसैले हाम्रो काम समाजमा विकृति फैलाउने पक्कै होइन, यसलाई सहि पथमा डोर्याउने नै हो । 

 

मेला/महोत्सवतिर ज्योति मगरलाई प्रतिबन्ध नै लाउनुपर्छ भन्ने आशयको स्टाटस लेख्नुभएको थियो !
नाई, त्यसरी बुझ्न पाइएन । मैले नाम त लेको छैन भने तपार्इंले कसरी प्रतिबन्ध लाउनुपर्छ भनेको भन्न सक्नुहुन्छ ? 

फेसबुकमा त ‘वार’ नै परेको हो नि । पालैपालो एकअर्काप्रति व्यंग्यात्मक स्टाटस आएको थियो, होइन र ?
मैले प्रवृत्ति लक्षित गरेर एउटा स्टाटस लेखेको हो । त्यहाँ कसैको नाम थिएन । ज्योतिजीसँग मेरो व्यक्तिगत केही गुनासो छैन । म अहिले भेट भयो भने पनि उहाँसँग राम्रोसँग बोल्छु । उहाँप्रति मेरो सम्मान छ । मात्रै म लोकदोहोरीका नाममा देखिएको अश्लील प्रवृत्तिको विरोध गरिरहेको हुँ । 

ज्योतिसँग अहिले बोलचाल छ त ?
उहाँ पहिले पनि त्यति क्लोज साथी त होइन । दाङको कार्यक्रममा जाँदा भेटेको हो । त्यतिबेला उहाँलाई अलि सन्चो थिएन, त्यसैले खुलेर कुरा भएको थिएन । त्यसयता भेट भएको छैन । म उहाँको निर्धक्क बोल्ने बानीको प्रशंसक हुँ । उहाँका कतिपय विचारहरू मलाई मन पर्छन् । आज एकदमै अनेस्ट्ली भन्छु, मैले लेखेको त्यो पहिलो स्टाटस खासमा उहाँप्रति लक्षित नै थिएन । अरू नै कसैको व्यवहार देखेपछि फुरेको थियो । उहाँलाई त्यसले असर गरेछ, त्यसमा मलाई दुःख लाग्यो । 

तपार्इंको नजरमा ज्योति मगर कस्तो गायिका हो ?
उहाँको आफ्नै शैली छ, फ्यान फलोइङ आफ्नै छ भने मेरो आफ्नै । अन्तर्वार्ता ज्योतिजीप्रति फोकस्ड भएजस्तो लाग्यो तर फेरि पनि भन्छु, मैले उठाएको विषय प्रवृत्ति लक्षित हो । मेला/महोत्सवमा बच्चाहरू पनि आउँछन् त्यसैले कम्तीमा त्यहाँ प्रस्तुत हुँदा भद्दा र अश्लील नभइदिए हुन्थ्यो भन्ने मेरो गुनासो हो । किनकि त्यसले स–साना बच्चाको मनोविज्ञानमा असर पु¥याउन सक्छ । १८ वर्षभन्दा माथिकालाई ठिकै छ तर त्योभन्दा मुनिका पनि सहभागी छन् भने पक्कै सोच्नुपर्छ । म कसैको लुगाको मापन गरिरहेको छैन, मात्रै अश्लील सुनिने शब्दका वाणीप्रति गुनासो हो । आफ्नो जवानमा लगाम लाउनुपर्याे  क्या ! कि त १८ वर्ष मुनिकालाई त्यस्ता मेला/महोत्सवमा जान दिनुभएन, कि त प्रस्तुति सभ्य र शालिन हुनुपर्याे । योभन्दा बढी यो विषयमा कुरा नगरौं । 

प्रसंग बदलौं । संगीत वृत्तमा पछिल्लो समय गीत चोरीका घटना एकदमै बढी सुनिए । यस्तो किन भइरहेको छ ?
संगीतकर्मीले सजिलो बाटो अपनाउन खोज्दा यस्तो भएको हो । हतार ग¥यो भने लतार त भइहाल्छ नि ! त्यसैले जे गर्दा पनि संयमित भएर गर्नुपर्छ । चाहे त्यो संगीत सिर्जना होस्, गायन होस् या नृत्य र अभिनय नै किन नहोस् । 

यसरी सिर्जना चोरी भइरहँदा पनि संगीतकर्मी मौन देखिन्छन् । तपार्इंंकै कुरा गर्दा पनि जसरी तपाईं लोकदोहोरी संगीतप्रति चिन्तित देखिनुहुन्छ, त्यो चोरीका हकमा देखिएन नि !
मैले त चोरीका विषयमा पनि लेखेको हो । तर मान्छेहरू भोलि पनि काम गर्नुपर्छ, किन छुच्चो हुनु ? खोलामा बसेर गोहीसँग किन पंगा लिनु भन्ने सोचेर चुप लागेका होलान् । 

हालसालै तपाईंले पनि ‘आफ्नो गीत अरूले फोकटमा गायो’ भन्ने आशयको गुनासो फेसबुकमा पोख्नुभएको थियो । के हो खास कुरा ?
हो । कता–कताबाट ट्र्याक फेला पार्ने अनि सर्जकलाई नसोधिकन, क्रेडिट नदिइकन गीत गाउने गरेको पाइयो । कमर्सियल्ली पारिश्रमिक लिएर गाउँदा पनि खास सर्जकलाई क्रेडिट नदिने ! अर्काको गीतलाई आफ्नै सम्पत्ति सम्झेर त्यसरी गाउन पाइँदैन । यो गैरकानुनी काम हो । ज–जसले अर्काको गीत गाएर स्टेजमा उफ्रिन्छन्, तिनीहरूले यो राम्रोसँग बुझून् । सक्छौ भने आफ्नै गीत गाऊ, सक्दैनौं भने कम्तीमा वास्तविक गायक, संगीतकार र रचनाकारको नाम लिएर गाऊ । 

तपाईंंकै गीत पनि क्रेडिड नदिइकन गाएको भेट्नुभयो कि क्या हो ?
हो । मैले नेपाल आइडलकै कन्टेस्टेन्टले त्यसरी गाएको भेटेँ । अब फेरि नेपाल आइडलको अर्को सिजन सुरु हुँदैछ । त्यसैले बेलैमा सचेत गरा’को । नेपाल आइडललाई चाहिँ ‘कटेसी’ नदिइकन अर्काको गीत गाउने छुट कसैले दिएको छैन । कम्तीमा म भने दिन्न । मैले मिहिनेत गरेर गाएको गीत अहिले जसले गाए पनि ताली त बजिहाल्छ नि । त्यो त गीतकै कारणले हुने हो नि, कोही व्यक्तिले राम्रो गाएर होइन । 

गीत छनोटमा अब झन् कडा हुनुपर्याे, सभ्य भएर गाएका गीत पनि नाच्नेहरूले छाडा भएर प्रस्तुति गरिदिए भन्ने अभिव्यक्ति आएको थियो । के हो खास कुरा ? 
एउटा महोत्सवमा जाँदा मेरो गीतमा एउटाले नाचेको मैले हेर्नै सकिन । अबुइ, इट आव रियल्ली डिस्गस्टिङ ! एकदमै लाजमर्दो थियो ।  त्यो भन्छ नि, ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ !  हो, त्यस्तै फिल भएको थियो मलाई । 

अब एकछिन प्रेमको कुरा गरौं । एक वर्षअघि तपाईंले शुक्रवारसँगको कुराकानीमा ‘सूरत र सीरत दुवै भएको केटा’ खोजिरहेको बताउनुभएको थियो । भेट्नुभयो त ? 
छैन । एकदमै गाह्रो रहेछ । सूरत हुनेको सिरत नहुने, सिरत हुनेको सूरत नहुने ! सूरत भन्दैमा त्यस्तो भयंकर ह्यान्डसम त खोजेको होइन तर कम्तीमा मसँग जोडी चाहिँ सुहाउनुप¥यो । मेरो भावनालाई बुझ्नुप¥यो, संगीतलाई पनि प्रेम गर्नुप¥यो । आफ्नो देश र छोरीचेलीलाई सम्मान गर्ने होस् । शरीरको उचाइभन्दा पनि विचारको उचाइ ठूलो होस् । अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !

स्टेज कार्यक्रमका लागि देशविदेश घुमिरहँदा पनि कहीँकतै खोजेजस्ता केटासँग ठोक्किनुभएन है ? 
केटै खोज्नलाई घुमेको होइन नि त, कामका लागि पो हो त ! (हाँस्दै) खोजेजस्तो नठोक्किने होइन तर विडम्बना कोही अलरेडी बिहे गरेको हुने, कोही अलरेडी रिलेसनसिपमा हुने । यस्तो भएपछि त ब्वायफ्रेन्ड बनाउने कुरै हुन्न, दाइ–भाइ बनाउनुपर्छ । तर एकदिन त पक्कै कोही न कोही ठोक्किएला नि, मनले खोजेजस्तो (हाँस्दै) । 

आस्थाको बिहे त हुन्छ नि  ? 
नभए के भो त ! मलाई त चिन्तै छैन । भएन भने बाबा–आमा पालेर बस्ने हो, आखिर एक्लो सन्तान हो, केको डर ? म त आफ्नो तालमा हिँड्ने हो, केहीको हतार छैन । 

तपाईं घरको छोरा र छोरी दुवै हो । त्यसैले घरज्वाइँ हुने खालको श्रीमान खोज्या त होइन नि !
छ्या, त्यस्तो त होइन हौ । कसैको आत्मसम्मानमा चोट पुगोस् भन्ने म चाहन्नँ । कहिले मेरो घर, कहिले उसको घर । सायद त्यस्तै होला । 

केही दिनअघि तपाईंको फेसबुकमा एउटा स्टाटस आयो, ‘कोहीसँग बोल्दै, हिँड्दै, भेट्दैमा ब्वायफ्रेन्ड ट्याग नलगाइदिए बेस, भएपछि म आफैँ दिल खोलेर भनुँला नि हुन्न र ?’ कोसँग ट्याग लाग्यो यसरी ? 
मान्छेहरू म फ्र्याक छु, बोल्छु, हाँस्छु भन्दैमा ट्याग लाइदिने रैछन् । मलाई नै फलानासँग तेरो अफर छ रे भनेर एउटाले सोध्यो । अनि रिस उठेर लेखेको हो । अहिले मेरो दुईजना बेस्टफ्रेन्ड नै केटाहरू छन् । अब उनीहरूसँग नाम जोड्ने त ? केटा/केटी सँगै हिँड्दैमा ब्वायफ्रेन्डको ट्याग लगाइदिने, योसँग सियोर अफेयर छ भनेर दाबी गरेको चाहिँ मलाई मन पर्दैन । अरे यार, खा’को विष पो लाग्छ त, नखा’को किन ? 

राजनीतिमा पनि रुचि छ हो तपाईंको ?
रुचि त छ तर जाने मनस्थिति बनाइसकेकी छैन । 

मनोरञ्जन क्षेत्रको के कुरा देख्दा दुःख लाग्छ ?
एक समय ‘हाइ हाइ’ भएका कलाकार पछि ‘बाइ बाइ’भएपछि निराश भएको देख्दा दुःख लाग्छ । दुःखी नभएर समयलाई सजिलै स्वीकारे हुन्थ्यो भन्ने लाग्छ । 

आस्थाको मनमा कहीँकतै हिरोइन बन्ने रहर पनि छ, हो ?
म त बच्चैदेखि हिरोइन हो नि (लामो हाँसोसहित) ! बच्चादेखि स्टेज पर्फर्मर हो, डान्स गर्थेँ । ४ वर्षको नहुँदै मैले स्टेजमा डान्स गर्दा मुभीको अफर आ’को थियो । पढाइ बिग्रिन्छ भनेर घरबाट दिनुभएन । ममा एक्टिङ कला भरपुर छ भन्ने लाग्छ । सायद आफूले गर्न सक्छु भने सबैलाई लाग्दो हो । तर गायनसँगसँगै अभिनयमा पनि जाने सोच बनाइसकेको छैन । कुनै दिन मलाई सुहाउँदो र मैले गर्न सक्ने रोलमा अफर आयो भने सोचौँला । मामुले त ‘म फिल्म खेल्न दिन्नँ, पछि बिहे गरेसी बुढाले दियो भने अर्कै कुरा’ भनिसक्या छ ।  

किन नि ?
मामुलाई लाग्छ, ‘म सिगिंङमै ठिक छु र दुईतिर हात नहालेकै राम्रो !’ म मेरो मामुको आज्ञाकारी छोरी हो, मामुले जे भने त्यही गर्ने हो । यो दुनियाँमा आस्था कोही माइकालालसँग डराउँदैन, सिवाय मेरो मामुसँग (हाँस्दै) । 


 

Leave A Comment