खेलको आवरणमा धन्दा

शुक्रबार, १८ जेठ २०७५, ०३ : २२ केपी ढुंगाना
खेलको आवरणमा धन्दा

युवा व्यापारीका रुपमा परिचित गौरव तिवारीको नाम हुन्डी र जुवा खेलाउन सक्रिय रहेको बजार चर्चा भएको लामै समय भयो । विश्वकप फुटबल होस् या युरोपियन च्याम्पियनसिप लिग या इन्डियन प्रिमियम लिग, उनको काठमाडौंमा सट्टा मज्जैले जम्थ्यो । र, सँगै चर्चामा आउँथे उनै तिवारी । 

सट्टाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अर्का व्यक्ति अमित अग्रवालको नामसमेत लिइरहन्थे । तिवारी कहलिएका सट्टेबाज अग्रवाल समूहका मुख्य व्यक्ति भएको प्रहरीको निजी डायरीमा उहिल्यै थियो । दरबारमार्गमा महँगा लाउञ्जमा प्रहरी अधिकारीसँग कफीको चुस्की लिइरहेको अवस्थामा भेटिने तिवारी पक्राउ भने कहिल्यै पर्दैनथे ।

इन्डियन प्रिमियर लिगको समापन र विश्वकप फुटबलको माहौल बढिरहेको बेला तिवारी प्रहरीको फन्दामा परे । महानगरीय प्रहरी परिसर काठमाडौंले आखिरमा उनलाई पक्राउ गरिछाड्यो ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनीहरुले काठमाडौंको सपिङ मललाई सट्टाको मुख्य आधार बनाउने गरेका थिए भने सम्पर्क बढाउन काठमाडौंमा रेस्टुराँको उपयोग गर्ने गरेका थिए । स्रोतका अनुसार उनले भुटानमा १४ करोड लगानीमा होटल खोलेको सूचना आएको छ । त्यसको पुष्टि भने हुन सकेको छैन ।
सट्टामा पूर्व फुटबलरदेखि गुण्डासम्म

प्रहरीले काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय म्याचको जुवा खेलाउन सक्रिय रहेको आरोपमा गौरवसँगै यसअगाडि म्याच फिक्सिङको अभियोग लागेका फुटबलर अञ्जन केसी, प्रतिस्पर्धी समूहले गोली हानेर मार्न खोज्दासमेत जोगिएका गुण्डा नाइके दावा लामा र रेस्टुराँ सञ्चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका सबै सट्टा खेलाउने मुख्य नाइकेहरु भएको प्रहरीको दाबी छ ।

गौरवका प्रमुख एजेन्ट भूपेन कुँवर हुन् । उनी ठमेलमा रहेको बियर बार र रिफ बारका सञ्चालक हुन् । उनीहरुले एसएमए डट एक्रेस डटकम नामक वेभसाइटमार्फत् सट्टाको धन्दा चलाउँदै आएका थिए । 
अञ्जन केसी २०७२ कात्तिकमा म्याच फिक्सिङको अभियोगमा पक्राउ परेका थिए । उनी राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडीसमेत हुन् । 

केसी ललितपुर जिल्लामा जुवाको मुख्य एजेन्टका रुपमा सक्रिय रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनी भूपेन्द्र कुँवरसँग मिलेर जुवा खेलाउन सक्रिय थिए । 

थ्रिस्टार टिमका पूर्वखेलाडी केसीले २०७२ सालदेखि नै अनलाइन जुवाको कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । २०७२ कात्तिकमा उनी राष्ट्रिय टिमका कप्तान सागर थापासहित म्याच फिक्सिङमा समातिएका थिए । सो मुद्दा विशेष अदालतमा विचाराधीन छ । 

प्रहरीले उनीसँगै ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मुख्य नाइके दाबी गरिएका गौरव काठमाडौंको थ्रिडी हलका सञ्चालकसमेत हुन् । प्रहरीले उनीसँगै भक्तपुरका नरेन्द्र सुवाल र दिनेश बोगटीलाई समेत पक्राउ गरेको छ । 

सट्टाका मुख्य नाइके हुन्, गौरव र भूपेन्द्र । एसएसपी पोखरेलका अनुसार अनुसन्धानमा गौरवले आइपिएल र च्याम्पियनसिप लिगमा मात्र ७ करोड ६७ लाखको जुवा खेलाएको रेकर्ड फेला परेको छ । उनले जुवा खेलाउनका लागि लन्डनबाट अकाउन्ट खोलेर २४ वटा सहयोगी अकाउन्ट खोलेको फेला परेको पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार भूपेन्द्रले ३ करोड २२ लाख र केसीले २ करोड ७७ लाखको जुवा खेलाएको रेकर्ड फेला परेको छ । 

सोही समूहका अर्का गुण्डा नाइके दावासमेत जोडिएका छन् । काठमाडौंमा हप्ता असुलीमा जोडिने गरेका उनी यो केसमा जुवामा समेत जोडिएका छन् । गौरीघाटमा उनलाई दुई वर्षअघि गोली हानेर हत्या प्रयास भएको थियो तर उनी जोगिएका थिए । 

अनुसन्धान अधिकारीका अनुसार तिवारीले अन्तर्राष्ट्रिय गिरोहसँग ६५ लाख रुपैयाँ भारतीय रुपैयाँ राखेर मास्टर अकाउन्ट बनाएका थिए । त्यसबाट उनले २५ जनालाई एकान्उट बाँडेका थिए । उनलाई मास्टर अकाउन्ट बनाउने गिरोहका नाइके दुबई र कराँचीका हुन् । 

यसरी खुल्यो धन्दा
रेस्टुराँमार्फत् बाजी खेल्न चाहनेहरुलाई एसएमएसमार्फत् खेलको मूल्य पठाउँदै उनीहरुले खेलाउँथे । खेल खेल्न चाहनेले प्रारम्भमा निश्चित रकम बुझाउनु प¥थ्यो । नियमित भएपछि उधारो जुवासमेत चल्थ्यो । 
खेल अनुसारको रेटका लागि उनीहरुले भाइवर, ह्वाट्सएप र एसएमएससमेत चलाउने गरेका थिए । जसमा खेल सुरु हुनु अगाडिको रेटदेखि खेल सुरु भएपछिको जुवाको रेटको उतारचढावसमेत अपडेट हुन्थ्यो । त्यसैको आधारमा बाजी लगाउन चाहनेले बाजी लगाउने गर्थे ।

आइपिएल सुरु भएलगत्तै काठमाडौंमा जुवाडेहरु सक्रिय हुने अनुमान गर्दै प्रहरीले विशेष टोली परिचालन गरेको थियो । सो टोलीमा काठमाडौंमा चल्ने जुवाको बारेमा जानकार प्रहरी अधिकारीसमेत थिए, जसले यसअगाडि सो समूहलाई पक्राउ गरेको थिएन ।

सो समूहले पहिला समूहका सदस्य दिनेश बोगटीलाई पक्राउ गरेर नियन्त्रणमा लिई जुवा खेलाउने समूहसँग सक्रिय गराएका थिए । उनको सक्रियताको आधारमा कुन व्यक्तिको कस्तो भूमिका हो भन्ने निश्चित गरेर बाँकी व्यक्ति पक्राउ गरेको थियो । 

ठूलै समूह देखियो 

एसएसपी विश्वराज  पोखरेल
प्रमुख महानगरीय प्रहरी परिसर काठमाडौं

यसअगाडि पनि जुवा खेलाउने समूहबारे सुनिए पनि पक्राउ गर्न सकिएको थिएन । यसपालि सो समूहका सदस्यबारे जानकारी आएपछि सूक्ष्म अनुसन्धान गरेर समूहका मूल नाइकेसम्म पुग्न सफल भएको छ प्रहरी । समूहमा व्यापारी, गुण्डा र पूर्वखेलाडीसमेत संलग्न देखिएका छन् । केही फरार छन् भने केही पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुको बयानअनुसार काठमाडौंबाट ठूलो रकमको सट्टा हुने गरेको देखिएको छ । सट्टामा एकै व्यक्तिबाट करोडौंको कारोबार भएको देखिन्छ । जसको कानुनी रेकर्ड छैन । सट्टाको पैसा बाहिर पठाउन हुण्डीसमेत हुने गरेको देखिन्छ । अहिले केही व्यक्ति पक्राउ परेका छन्, यसलाई टेकेर थप अनुसन्धान गर्ने तयारीमा छौं ।
 

Leave A Comment