प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ

शुक्रबार, १८ जेठ २०७५, ०४ : ५५ केपी ढुंगाना
प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ

२०५१ मंसिर २८

जग्गा :  झापाको पृथ्वीनगरमा १ बिगा २ कट्ठा जग्गा । दमकमा १५ धुर जग्गा, चारपानेमा १२ कट्ठा जग्गा, भक्तपुरमा ४ आना जग्गा।

सुनः ७ तोला ।

पैसाः नगद ५० हजार ।

ऋणः १ लाख ४५ हजार

(स्रोतः सरकारी समाचारपत्र गोरखापत्र दैनिक।)

......................

२०७४ चैत २९

घरजग्गाः भक्तपुरको सूर्यविनायकमा डेढ रोपनी जग्गा  र तीन तलाको २ वटा घर । झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा।

सुनः १८ तोला।

पैसाः ५२ लाख रुपैयाँ वचत र २५ लाखको वचतपत्र।

ऋणः छैन।

(स्रोतः मन्त्रिपरिषद्को कार्यालय )

२४ वर्ष बीचको यो दुई सम्पत्ति विवरण नेपाललाई समृद्धिको यात्रामा हिँडाउने वाचा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको हाे। पहिलो  उनी २०५१ मा गृहमन्त्रीको रुपमा एमालेको अल्पमतको सरकार बन्दाताका सरकारलाई बुझाएको विवरण हो । जुन समयमा प्रधानमन्त्री थिए, मनमोहन अधिकारी। सरकारको निर्णयअनुसार मंसिर २८ मा सरकारी मुखपत्र गोरखापत्रको पहिलो पृष्ठमा छापिएको थियो उनको सम्पत्ति विवरण।

दोस्रो विवरण उनी दोस्रो पटक बहुमतसहित प्रधानमन्त्री नियुक्त भएपछिको हो। सरकारले जेठको दोस्रो हप्तामा विवरण मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरे पनि विवरण भरेको पत्रमा बुझाएको मिति छ, फागुन २५ अनि दर्ता मिति छ, चैत २९ । सरकारले सार्वजनिक गरेको विवरणमा २०५१ को तुलनामा उनी ऋणमुक्त मात्र देखिँदैनन् सम्पत्ति पनि रामै्र जोडेको प्रस्टै हुन्छ ।

२०५१ तालका जम्मा ५० हजार वचत रहेको उनको अहिले आफ्नो नाममा एभरेस्ट बैंकमा ४२ लाख नगद छ। पहिलाको तुलनामा ४१ लाख ४८ हजार बढी । उनकी पत्नी राधिका शाक्यको माछापुच्छ्रे बैंक र प्रभु बैंकमा नगद ४ र ६ गरी १० लाख नगद वचत छ।

जुन विवरणअनुसार उनी ऋणमुक्त भएको त देखाउँछ नै जग्गाजमिन, घर अनि सुनमा पनि उनको बढोत्तरी नै भएको देखाउँछ । २४ वर्षका बीचमा सुन त्यत्ति बढेको देखिएन । त्यस बेलामा ७ तोला थियो अहिले हाराहारी १८ । दुवै विवरणको आधारमा उनको सम्पत्तिमा ११ तोला जति सुन बढेको छ ।

जग्गामा भने राम्रै प्रगति गरेको देखियो । न्यून आयस्रोत भएको परिवारका सदस्य रहेका उनले स्वआर्जन मात्र मन्त्री हुनुभन्दा अगाडि नै भक्तपुरमा ४ आना जग्गा किनेको देखिन्छ । झापाबाट काठमाडौं प्रवेश गरेको व्यक्तिले त्यस बेलामा ४ आना जग्गा किन्नु बुद्धिमानीपूर्ण निर्णय नै हो।

२०५१ ताका उनले भक्तपुरको कहाँनिर जग्गा किनेका हुन्, सार्वजनिक भएको विवरणमा खुल्दैन । प्रधानमन्त्री भएपछि हालसालै सार्वजनिक विवरणअनुसार उनको भक्तपुरको सूर्य विनायक वडा नम्बर २ मा जग्गा मात्रै हैन, घर पनि छ । विवरणअनुसार अहिले उनीसँग २ कित्तामा गरी डेढ रोपनी जग्गा छ अनि तीन तलाको २ वटा घर पनि। तस्बिरका लागि बालकोट पुग्दा एल आकारको जग्गाको एकै कम्पाउडभित्र दुवै जग्गा देखिए ।

 

प्रधानमन्त्री भएपछि हालसालै सार्वजनिक विवरणअनुसार उनको भक्तपुरको सूर्य विनायक वडा नम्बर २ मा जग्गा मात्रै हैन, घर पनि छ । विवरणअनुसार अहिले उनीसँग २ कित्तामा गरी डेढ रोपनी जग्गा छ अनि तीन तलाको २ वटा घर पनि। तस्बिरका लागि बालकोट पुग्दा एल आकारको जग्गाको एकै कम्पाउडभित्र दुवै जग्गा देखिए ।

२०५१ को सम्पत्ति विवरणअनुसार दुवै घर त बोनस भयो । उनको जग्गा मात्रै २० आना थप भएछ। झापामा रहेको जग्गा भने तलमाथि भएको देखियो । पहिला झापाको पृथ्वीनगरमा १ बिगाहा जग्गा रहेकामा अहिले त्यहीँ १० कट्ठा जग्गा छ । पहिला दमकमा जग्गा देखिए पनि अहिले छैन ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई अहिलेको बजारभाउअनुसार मूल्यांकन गर्दा सालाखाला १५ करोड निकट देखिन्छ । जानकारका अनुसार बालकोटमा जहाँ उनको जग्गा छ, अहिले त्यहाँ न्यूनतम आनाको ३५ लाखसम्म चलेको छ । डेढ रोपनी अर्थात् २४ आनाको हिसाब निकाल्दा ८ करोड ४० लाख निस्किन्छ ।

पहिलो घर पुरानो हो भने दोस्रो घर नयाँ । दुवै घरको सालाखाला मूल्य ५ करोड आउने घरजग्गा कारोबारका एक पोख्त जानकारले बताए । उता झापामा जहाँ उनको जग्गा छ, त्यसमा बाटोले छोए पनि नजिकै चिहानघारी भएकाले मूल्य त्यत्ति उच्च छैन । जानकारका अनुसार सो क्षेत्रमा अहिले कठ्ठाको ८ लाख रुपैयाँसम्म किनबेच हुने गरेको छ। यही मूल्यअनुसार झापामा रहेको जग्गाको कुल मूल्य ८० लाख देखिन्छ।

उनको र पत्नीको नाममा रहेको नगद र राष्ट्रिय वचतपत्र जोड्दा ७७ लाख पुग्छ। यही विवरण पत्याउने हो भने अहिले प्रधानमन्त्री ओली र उनकी पत्नीको नाममा १४ करोड ९७ लाख सम्पत्ति भएको देखिन्छ।

सार्वजनिक भएको ओलीको व्यक्तिचित्रअनुसार राजनीतिबाहेक उनको अन्य आयस्रोत छैन । उनकी पत्नी भने बैंकमा जागिरे थिइन् । सार्वजनिक व्यक्तिचित्रअनुसार २००८ को फागुनमा तेह्रथुमको आठराईमा जन्मिएका उनको परिवारको आर्थिक अवस्था न्यून नै हो । उनी २०२५ सालबाट राजनीतिमा सक्रिय भएका हुन् ।

यस बीचमा उनी पहिलो पटक गृहमन्त्री, दोस्रो पटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि लगातार प्रधानमन्त्री हुन सफल भए । २०४६ को राजनीतिक परिर्वतनपछि देशले आर्थिक उन्नतिमा आशा गरेअनुसार छलाङ नमारे पनि आयआर्जनको निश्चित स्रोत नभए पनि प्रधानमन्त्री ओलीले राजनीतिसँगै आर्थिक पाटोमा समेत छलाङ मारेको देखियो । राजनीतिबाहेक दोस्रो आम्दानीको स्रोत नहुँदा पनि उनले २४ वर्षभित्र स्वआर्जनबाट १५ करोडको चलअचल सम्पत्ति जोडेको देखियो।

यस्तो छ सम्पत्तिको ग्राफ

पहिलो पटक आधिकारिक रुपमा सार्वजनिक ओलीको जीवनीअनुसार उनी २०२३ बाट प्रगतिशील राजनीतिमा सक्रिय भएका हुन् । उनी २०२५ बाट कार्यकर्ताको रुपमा राजनीतिमा सक्रिय भए र २०२६ मा पार्टीको सदस्यता पाए । उनी २०२७ मा झापा जिल्लाको एरिया कमिटी सदस्य भएका थिए र पछि उपसचिव भए ।

२०२७ मा केही समय जेल परेका उनी २०३० देखि २०४४ सम्म भने विभिन्न जेलमा परे । २०४८ मा झापाको क्षेत्र नम्बर ६ बाट उनी सांसद् भए। २०५१ मा पनि उनी त्यही क्षेत्रबाट निर्वाचित भएर तेस्रो वरियतामा मन्त्री भएका थिए।

पार्टीको अल्पमतको सरकार नौ महिनामै ढलेपछि उनी पुनः सरकारमा २०६३ मा सहभागी भए । ०६२–०६३ को आन्दोलनको सफलतापछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको रुपमा सहभागी भए । प्रधानमन्त्री थिए, गिरिजाप्रसाद कोइराला ।

त्यस बेला पनि उनको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । तात्कालीन सम्पत्ति विवरणअनुसार १२ वर्षका बीचमा उनको ४ आना जग्गा १ रोपनी बनिसकेको थियो भने घरसमेत बनाइसकेका थिए।

२०६३ भदौ ७ मा सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुर बालकोट वडा नं.४ मा एक रोपनी जग्गाभित्र बनेको साढे दुई तले पक्की घर, झापा पृथ्वीनगर गाविस वडा नम्बर ९ मा १० कठ्ठा जग्गा, करिब सात तोलाको सुनका गहना, एउटा निशान कार, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा ५० हजार, नेपाल बङ्गलादेश बैङ्कमा छ हजार र राष्ट्रिय वाणिज्य बैङ्कमा आठ हजार नगद वचत थियो ।

उनले त्यो बेला भक्तपुर बालकोटको घर निर्माणका लागि एभरेस्ट बैङ्क बानेश्वरबाट १० लाख र नेपाल राष्ट्र बैङ्कबाट छ लाख ऋण लिएको देखिन्छ।

यस बीचमा धेरै राजनीतिक उतारचढाव भए पनि उनी सत्तामा पुगेनन् । पार्टीको अध्यक्ष पदमा विजयी भएसँगै उनको सरकारको यात्रा सुरु भयो प्रधानमन्त्रीको रुपमा।

२०७२ कात्तिक २६ मा सार्वजनिक सम्पत्ति विवरणमा पनि बढोत्तरी नै देखिन्छ। त्यसबेला भक्तपुरमा उनको जग्गा एक रोपनीबाट ६ आना बढिसकेको थियो। २०६३ मा एउटा घर थियो । २०७२ मा घरको संख्या २ पुग्यो । दुवै घर साढे २ तलाको थियो । झापामा जग्गा उही १० कठ्ठा नै उल्लेख थियो ।

२०६३ को तुलनामा यतिबेला सुनका गहना ७ तोला बढेको छ । पत्नीको नाममा १४ र उनको नाममा ७ लाख रुपैयाँ थियो । दुवैको जोड्दा २१ लाख देखिन्छ । २०६३ मा दुवैसँग ५८ हजार नगद देखिन्छ भने १६ लाख ऋण।

२०७२ मा ऋण नदेखिएकाले त्यो तिरेको देखिन्छ । १६ लाख ऋण तिरेर पनि उनले यस बीचमा नगद २० लाख बढेको देखिन्छ। तिरेको ऋण जोड्दा पनि अचल सम्पत्तिबाहेक ३६ लाख जोडेको देखिन्छ ।

२०७५ मा सार्वजनिक सम्पत्ति जोड्दा तीन वर्षको बीचमा उनको घर साढे २ तलाबाट ३ तला पुग्यो । उनको नगद ३१ लाख थपिएर ५२ लाख पुग्यो भने सुन ४ तोला बढ्यो ।

सामान्यतः एक तले घर बनाउन न्यूनतम १५ लाख लाग्छ। दुवै घरमा आधा–आधा तला थपेकाले दुवैतिरको खर्च १५ लाख देखिन्छ । ५० हजार आनाको हिसाबले ४ तोला सुनको मूल्य २ लाख हुन्छ। जोगिएको नगद र अचल सम्पत्तिमा भएको लगानी जोड्दा उनी पहिलो पटक प्रधानमन्त्री भएपछि ६९ लाख थपिएको देखिन्छ । यस बीचमा भएको संघीय निर्वाचनमा उनी पनि उम्मेदवार थिए । उम्मेदवारी प्रचारप्रसारमा खर्च हुन्छ नै।


गणतन्त्रपछिका प्रधानमन्त्रीको सम्पत्ति

गणतन्त्रपछि पटक–पटक प्रधानमन्त्री परिर्वतन भए । उनीहरु प्रधानमन्त्री भएसँगै सम्पत्ति विवरणसमेत सार्वजनिक भए। संसद् पुनस्र्थापनासँगै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले आफ्नो सम्पत्ति विवरणमा विराटनगरको पुख्र्यौली सम्पत्ति देखाएका थिए।

कोइरालापछि तात्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए । दाहालले चितवनको भरतपुरमा एक कठ्ठा पुस्तौनी जग्गा र तीन तोलाको पैतृक सुन मात्र देखाए । उनको सम्पत्ति विवरणअनुसार उनीसँग एक पैसा वचत थिएन । भव्य जीवनशैली भए पनि दोहोरिएन प्रधानमन्त्री हुँदासमेत उनको सम्पत्ति विवरण उस्तै थियो ।

११ वर्ष अगाडि सन् २००७ मा माओवादीले आफ्ना केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । जसअनुसार प्रचण्डसँग २ तोला सुन र एक कठ्ठा, ७ धुर जग्गा रहेको उल्लेख थियो ।

माधव नेपालको सम्पत्ति विवरणमा कोटेश्वर, काठमाडौँमा एक रोपनी दुई आनामा बनेको साढे दुई तलाको घर, रौतहटमा १७ धुर जग्गा, चन्द्रनिगाहपुर र रौतहटमा ११ धुर जग्गा, ७ तोला सुन, नवयुग सहकारीमा रू. १० हजारको सेयर, मनमोहन मेमोरियल अस्पतालमा एक लाखको सेयर, पिपुल्स बैङ्क नेपालमा दुई लाख ७० हजारको सेयर, १६ लाख नगद र नौ लाख ऋण देखाएका थिए ।

अर्का प्रधानमन्त्री झलनाथ खनालको सम्पत्ति विवरणमा अधिकांश सम्पत्ति श्रीमती रविलक्ष्मी चित्रकारको नाममा उल्लेख थियो ।

विवरणअनुसार चित्रकारको नाममा डल्लुआवास क्षेत्रमा ९ सय ४४ वर्गफिटमा बनेको घर, इलामको साँखेजुङ ७ मा अंशबाट २३ रोपनी ३ आना ३ पैसा २ दाम, नौ रोपनी चार आना एक पैसा एक दाम, सात रोपनी १० आना र २१ रोपनी ४ आना जमिन रहेको उल्लेख थियो ।

गहनामा १० तोला सुन र नगदमा खनालका नाममा एभरेस्ट बैंकमा एक सय ६० र बैंक अफ काठमाडौंमा एक हजार मौज्दात रहेको उल्लेख थियो । रविलक्ष्मी चित्रकारका नाममा नेपाल बैंक लाजिम्पाटमा तीन हजार, मालिका विकास बैंकमा एक लाख ८५ हजार, बजारको प्राइमरी सेयर १ हजार ८ सय ५० थान रहेको उल्लेख छ । पत्नी रविलक्ष्मीको नाममा फुङसेङ चिया बगान, युनिफाइड हाइड्रो पावर र सिक्लेस हाइड्रो पावरमा लगानी देखिएको थियो ।

बाबुराम भट्टराईको सम्पत्ति विवरणमा खोप्लाङ गाविस–४ गोरखामा करिब दुई रोपनीको पैतृक सम्पत्ति, राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाका दुई खातामा ११ लाख, किताब र घरायसी सामान उल्लेख थियो । छोरी र पत्नीको सम्पत्ति विवरण उल्लेख नगरी मेरै बराबरको सम्पत्ति रहेको लेखेका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति विवरणमा तीन थान मोबाइल उल्लेख थियो । उनको विवरणमा घरसम्पत्ति, जग्गा, सुन, चाँदी केही उल्लेख थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्ना, रुवी र मुगाजडित औंठी, एभरेस्ट बैंकमा १६ लाख ५० हजार नगद रहेको उल्लेख गरेका थिए । सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्राम लगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको उल्लेख थियो ।

उनी बूढानीलकण्ठस्थित आलिशान घरमा बसे पनि सो घर कसको हो खुलाएनन् । उनले श्रीमती आरजू राणाको नाममा रहेको सम्पत्ति विवरणसमेत गोप्य राखेका थिए।

 

Leave A Comment