संसारको पहिलो धुन

आइतबार, २० जेठ २०७५, ०९ : २४ शुक्रवार
संसारको पहिलो धुन

अरब राष्ट्र सिरियामा यतिबेला जताततै लडाईं चलिरहेको छ । यस लडाईंमा हजारौँ सर्वसाधारणको ज्यान गइसकेको छ । सिरियामा पछिल्ला एक दसकयता चारैतर्फ ध्वंश, भागदौड, गरिबी र बेरोजगारी देखिन्छ । असुरक्षाको वातावरण कतिसम्म छ भने सर्वसाधारण घरबाट बाहिर निस्कदैनन् ।
कैयौँ सिरियाली जनता शरणार्थीका रुपमा अन्यत्र गइसकेका छन् । अहिलेको यस्तो दृश्यका बीच हाल एउटा नयाँ खबर यहीँबाट आएको छ । यस खबरले भन्छ, संसारको पहिलो संगीतमय गीत सिरियामा नै तयार भएको थियो ।

आत्मामा बसेको सङ्गीत
सिरिया नै यस्तो मुलुक हो, जसको आत्मामा सङ्गीत बसेको छ । यसैले संसारलाई सङ्गीतको चास्नी चखायो । यसले नै मिलिजुली एकैसाथ बस्ने र प्रेम गर्ने सन्देश दियो ।
संसारको नक्सामा अहिलेको सिरिया सन् १९४६ मा बन्यो । यसअघि यसको क्षेत्रफल निकै ठूलो थियो । यहाँ मुस्लिम मात्र होइन, यहुदी, इसाई र कुर्द समेत बस्थे । सबैले आ–आफ्नो स्तरमा यहाँको सङ्गीतलाई परिपूर्ण पार्न र जोड्न योगदान दिए ।

संसारको पहिलो धुन
सन् १९५० मा पुरातत्वविद्हरुले गरेको अनुसन्धानमा करिब ३ हजार ४ सय वर्ष पुराना २९ वटा माटोको पत्र फेला परेको छ । हुन त तीमध्ये अधिकांश टुटेफुटेको अवस्थामा भेटिएका थिए तर एउटा पत्र भने बिल्कुलै सबल पाइएको छ, जसमा सङ्गीतका केही धुन अंकित छन् । यस पत्रलाई एच६ नामकरण गरिएको छ । जानकारहरुले यसलाई संसारकै पहिलो गीतको धुन भएको दावी गरेका छन् । सिरियाको भूमध्यसागर तटमा रहेको उगारिट गाउँमा जसरी यो पत्र पाइएको थियो, त्यो कुनै बेला पुस्तकालय पो थियो कि भन्ने आशङ्का गरिएको छ ।

कैयौँ वैज्ञानिकहरुले ती टुटफुट भएका पत्र जोड्ने र त्यसमा लेखिएको भाषा पढ्ने प्रयास गरेका थिए । ती पत्रमा बेबिलोन किलाक्षर हुर्रियन लिपि कुँदिएको छ । सताब्दिऔँ पहिले बेबिलोन सभ्यतामा ती लिपि लेख्नमा उपयोग हुन्थ्यो भन्ने पुरातत्वविद्हरुको धारणा छ ।

सङ्गीतको भाषा
इराक विश्वविद्यालयका प्राध्यापक रिचर्ड डम्ब्रिल भन्छन्, ‘यो लिपि अर्मेनियाबाट आएका मानिसहरुको भाषा हो, जसलाई हुर्रियन भनिन्छ । तर त्यहाँ प्रयोग गरिएको चिह्न भने बेबिलोन सभ्यतामा प्रयोग हुने चिह्न हुन् । त्यसैले ती पत्रमा लेखिएको भाषामा वास्तवमै के कोरिएको हो भनेर बुझ्न कठिन भइरहेको छ ।’
तर अधिकांश पुरातत्वविद् भने एउटा कुरामा निश्चित छन्, ती चिह्न हालको आधुनिक सङ्गीतको नोटेसनकै प्रारम्भिक चिह्न हुन् ।

ती पत्रमा लेखिएको भाषालाई जति प्राध्यापक डम्ब्रिलले बुझे, त्यसको आधारमा उनको भनाइ छ, ‘प्राचीनकालमा सिरियामा बसेकाहरुले जुन धुन सिर्जना गरेका थिए, त्यो धुन अवसर अनुसार फरक फरक किसिमका हुन्थे । खुसीका लागि एक किसिमका धुन, उत्सवमा एक किसिमको र दुःखका बेला अर्को किसिमको ।’

प्राचीन प्रमाणहरुले एउटा गीतमा एक रक्सी भट्टीकी मैयाँको कथा बयान गरिएको पाइएको थियो । हाल एच६ पत्रमा भेटिएको गीतको कथा भने रोचक छ ।

ऊद यन्त्र

प्राचीन कालदेखि नै सिरियालीमा सङ्गीतप्रति औधि मोह थियो । त्यसैले उनीहरुले धुन मात्र होइन, कैयौँ वाद्ययन्त्रसमेत बनाएका थिए ।

वीणा र तम्बुरा उनीहरुले नै सिर्जना गरेका थिए । पछि उनीहरुबाट प्रेरित भएर अरबीहरुले ऊद यन्त्र बनाएका थिए । यस यन्त्रको विशेषता के भने यसबाट निस्कने आवाजले पुराना याद ताजा गराइदिन्छन् ।
बिसौँ शताब्दीमा सिरियाका पुराना ठाउँहरु उत्खनन गर्ने बेला सुरुवाती कास्य युगको सहर मरीबाट थुप्रै कुरा फेला पारिएका थिए । उत्खननले यहाँ ठूलो परिणाममा सङ्गीत वाद्ययन्त्रको कारोबार हुन्थ्यो भन्ने कुरा संकेत गरेको थियो ।

सङ्गीतमा निखार
उत्खनन गर्दा यस्ता कैयौँ पत्र फेला परेका थिए, जहाँ सङ्गीतका सामग्री खरिदबिक्री गरिने जानकारी उल्लेख गरिएको थियो । यस्ता पत्रमा काठ, काँचो छाला र सुनचाँदीको अर्डर पनि टिपिएको फेला परेको छ ।

प्राध्यापक डम्ब्रिल भन्छन्, ‘जो व्यक्ति दूरदराज ठाउँबाट सिरियामा आएर शरण लिएका थिए उनीहरुले आफूसँग सङ्गीतको कौशल पनि विरासतमा लिएर आएका थिए । चार हजार वर्षअघि नै उनीहरुले सङ्गीतको वाद्ययन्त्र बनाइसकेका थिए । जसै सिरियाको स्थानीय संस्कृतिमा बाहिरी संस्कृति पनि घुलमिल हुन थाल्यो, दुवै किसिमका संस्कृति मिलेर सङ्गीतमा अझ बढी निखार, शुद्धता र उम्दापन थपिदै जान थाल्यो ।’

उदाहरणका लागि इरानको सङ्गीत वाद्ययन्त्र ‘प्राशितुम’ एक किसिमको खास वीणा थियो, जुन प्रारम्भिक कास्य युगको सहर ‘मरी’मा युवतीहरुबीच निकै लोकप्रिय थियो ।

सीमा बन्नुअघिको संस्कृति
सिरियामा सङ्गीत सम्बन्धी वाद्ययन्त्र र अन्य सरसजावटका सामग्री बनाउने काम सदियौँ पुरानो हो ।
समयक्रमसँगै यसमा सुधार आउँदै गयो । यहाँ अझै पनि सताब्दीऔँ पुराना वाद्ययन्त्र सर्वसाधारणले संरक्षण गरेर राखेका छन् ।

सङ्गीतप्रेमीहरु टाढा–टाढाबाट यी शताब्दीऔँ पुराना वाद्ययन्त्र हेर्न आउने गरेका छन् । उदाहरणका लागि लेबनानको साइदा सहरमा ओटोमन साम्राज्यको बेला ‘दिब्बान दरबार’मा त्यस बेलाका कैयौँ वाद्ययन्त्र सम्हालेर राखिएको छ । तिनलाई हेर्दा लेबनान र सिरियाका बीच सीमा बन्नुअघि नै कस्ता किसिमका संस्कृति थिए भन्ने थाहा हुन्छ ।

सङ्गीतको चलन
दिब्बान दरबारका गाइड गासन डिम्से भन्छन्, ‘ओटोमन साम्राज्यमा सङ्गीतको व्यापक प्रचलन थियो । यहाँका स्त्रीहरु हरेक किसिमका वाद्ययन्त्र बनाउन जान्दथे । उनीहरुले सङ्गीत समारोह चलाउने गर्थे ।’
गत वर्ष सिरियाले आफ्नो दोस्रो ठूलो सहर अलेप्पोलाई युनेस्कोको क्रिएटिभ सिटिजन नेटवर्कमा ‘सिटी अफ म्युजिक’का रुपमा समावेश गराएको थियो ।

सत्रौँ शताब्दीमा अलेप्पोलाई ‘मुवाससाह’को नामले चिनिन्थ्यो । जसको अर्थ सङ्गीतमय सायरी लाग्छ । यहाँ शास्त्रीय अरबी, अन्डालुसी सायरी र मिश्रको सायरीको मिश्रण अझै सुन्न सकिन्छ । अन्डालुसिया सायरी स्पेनको सायरी हो ।

‘मुवाससाह’ यस्तो कार्यक्रम हुन्थ्यो, जसलाई अहिलेको साङ्गीतिक ब्यान्डको प्रतिस्पर्धाजस्तो मान्न सकिन्छ । यहाँ सायरीसँगै सङ्गीतका अन्य सामग्रीहरु ऊद, कानुन, कमानजा, दाराबुक्का र डफलीजस्ता वाद्ययन्त्र प्रयोग गरिन्थ्यो ।

कानुन भन्ने वाद्ययन्त्र सीतार या गीतारजस्तै निकै धेरै तार बाँधिएको यन्त्र हुन्थ्यो । यसलाई बजाउँदा पानीका थोपा झरेजस्तै आवाज निस्कन्थ्यो । यसलाई हालको सन्तूरजस्तै मान्न सकिन्छ । कमानजा भने अहिलेको भ्वाइलिनजस्तै हुन्थ्यो । दाराबुक्का आधुनिक ढोलजस्तै यन्त्र थियो ।

मुवाससाहमा मुस्लिम र इसाई दुवै किसिमका मानिसहरु भाग लिन्थे । अर्थात् सिरियामा त्यो बेला सङ्गीतले धर्मका सारा पर्खाल तोडेर मानिसहरुलाई एकअर्काको नजिक ल्याउने काम गरिरहेको थियो । 

लेबनानले खेल्दैछ भूमिका
सन् २०१५ ताका लेबनानको राजधानी बेरुतमा मिजफ नामक एउटा संस्था बनाइयो । यसको उद्देश्य सिरिया र पूरै मध्यपूर्व एसियामा भएका सङ्गीतको विरासतलाई सम्हाल्नु थियो ।
त्यस्तै बेरुतमा अस्सालिक नामक एउटा साङ्गीतिक ब्यान्ड पनि छ । यसमा सरिया र नर्वेका सङ्गीतार समावेश छन् । यो ब्यान्डले आफूलाई रबिनहुडसँग गर्छन्, जुन रबिनहुड शासक वर्गको काम गर्ने तरिका बदल्ने प्रयास गरेको थियो । यस ब्यान्डका गायकमध्येका एक मोना भन्छन्, ‘सङ्गीत हाम्रो पहिचान र संस्कृति हो । यसलाई संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।

र, त्यसलाई सङ्गीतमार्फत् संरक्षण गर्ने तयारी उनीहरुको छ ।

उनीहरुले भएभरका कुरीति र कुसंस्कारहरुविरुद्ध यस्तै पुराना गीत गाउने गरेका छन् । महिला र बालबालिकामाथि भएका अत्याचार, खराब बानीव्यवहारसँग जुझ्न उनीहरुले सङ्गीतको सहारा लिइरहेका छन् । 

त्यस्तै लेबनानमा अर्को एउटा समूह छ, जसले सन् २०१३ देखि सिरियाका लोकगीतलाई आफ्नो देशमा प्रचार गरिरहेका छन् । यसैमा आधारित रहेर कैयौँ नयाँ सिर्जना पनि गरिएका छन् । अस्सालिक समूह सिरियाको प्राचीन सङ्गीतलाई एउटा नयाँ अनुहार दिने काम गरिरहेको छ । पुराना र नयाँ सङ्गीतको ककटेलका कारण नयाँ पिँढी आकर्षित भइरहेका छन् ।

मोना भन्छन्, ‘हिजोआज कसैले मलाई सिरियाको पहिचान के हो भनेर सोध्यो भने स्पष्टसँग भनिदिने गरेको छु– सिरियाको अर्थ सङ्गीत र कला !’
बिबिसीबाट

 

Leave A Comment