सञ्जालमा नयाँपुस्ता : बिगोमै लभ, बिगोमै ब्रेकअप

सोमबार, २१ जेठ २०७५, ०३ : १८ मनोज घर्तीमगर
सञ्जालमा नयाँपुस्ता :  बिगोमै लभ, बिगोमै ब्रेकअप

अन्तक्र्रियाका लागि युवा पुस्तामाझ विभिन्न सामाजिक सञ्जाल प्रभावकारी छन् । फेसबुक, निम्बज, याहु, ईबडी र हाइफाइभ जहिले नयाँ टुल्स आउँछ, युवापुस्ता त्यसमा झुत्तिहाल्छन् । यस्तैमा अहिले युवा पुस्तामाझ अहिले चल्तीको सञ्जाल बनेको छ बिगो ।

बिगोमा टिनएजदेखि उमेर घर्केकाहरु पनि छ्याप्छ्याप्ती भेटिन्छन् । एप्समार्फत एकल र सामूहिक भिडियो च्याट गर्न मिल्ने भएकाले यो चाँडै युवापुस्तामा लोकप्रिय छ । पोखरेली युवाहरुको अहिलेको दैनिकी नै यही बिगोमा झुत्तिने देखिन्छ । उसो त बिगोमा १८ वर्षभन्दा मुनिकालाई बन्देज छ । तर, युजर आइडी खोल्दा उमेर ढाँटेर १८ वर्ष मुनिकासमेत रमाइरहेका भेटिए यसमा । 

नेपालमा बिगो चलाउने प्रयोगकर्ता कति छन् ठ्याक्कै भन्न कठिन छ । संसारभर यसका प्रयोगकर्ता २० करोडभन्दा बढी रहेको कम्पनीको दाबी छ ।  सिंगापुरमा स्थापना भएको कम्पनी बिगो टेक्नोलोजी प्रालिले यो एप्स तयार पारेको हो । सन् २०१६ मार्चदेखि बिगो सञ्चालनमा आए पनि छोटो समयमै यसले चर्चा बटुलिसकेको छ ।

बिगोमा एक लेभलदेखि स्टार लेभलसम्मको यात्रा हुन्छ । त्यसका लागि समय र सक्रियता आवश्यक पर्छ । ५० जनाले लाइभ हेरेपछि लेभल एक हुन्छ भने एक सयजनाले हेरे लेभल दुईमा पुगिन्छ । लेभल बढ्दै जाँदा वान स्टार, टु स्टार हुँदै बढ्दै जान्छ । त्यसरी लेभल बढ्दै जाँदा बिन्स, डायमण्डलगायत आर्जन गर्न सकिन्छ । 

बिगो बोर्ड अन गरेर भावुकतामा डुब्नुहोस् अथवा रमाइलो च्याट गर्नुस्, त्यो तपाईंमा भर पर्छ । तपार्इं बिगोमा नाँच्नुस्, गाउँनुस्, घुम्नुस् साथीभाइसँग गफिनुस् वा यात्रा गर्नुस् । बिगो चलाउँदै सबै गर्न सकिन्छ । तर, इन्टरनेट सुविधा भने हुनुपर्यो । बिगो चलाउन अंग्रेजी नै आउनुपर्छ भन्ने छैन ।

नयाँ साथी बनाउन र रमाउन युवाहरू बिगो च्याटमा छिर्छन् । बिगोमा उनीहरू कफी, किलर, लेडी लभर, साइको, हाकिम, बन्दुके, तिते करेली, मिस नोबडी, डेन्जर गर्ल, मिस बेब्स्, रोलिङ, पातकी बुडो, दिदी, पोखरेली गर्ल, एन्जल, मिस बल्याकी, पिकाचु, दिदी, डिजे गर्ल, प्रिन्सी, तिते करेली, बिवोगर्ल, बुलेट नानु, लक्की, छुची, ट्वाक्यानी, म बोका हो, नट फाउन्ड, मस्ती, फलावर, गफाडी, रक एन रोल, कालीमाता, हुरहुर बाबा, परी, कुक्कु, प्रिन्सेसजस्ता छद्म नाममा भेटिन्छन् । धेरै कमले मात्रै यसमा सही परिचय खुलाएका हुन्छन् । 

‘फुर्सदको समय बिताउने गतिलो साधन  बनेको छ बिगो’ पोखरा बाँझापाटनका बिगो प्रयोगकर्ता रमेश कार्की भन्छन्, ‘सही तरिकाले चलाए साथीभाइसँग चिनजान, भेटघाट सबै हुन्छ । नत्र एकछिन कुरा गर्यो विभिन्न व्यक्तिका बोर्डमा घुम्दै रमायो ।’

मोबाइल नम्बर, फेसबुक वा जिमेल आइडीबाट यसको प्रयोगकर्ता बन्न सकिन्छ । यसको लत बसेपछि छोड्न मुस्किल पर्छ । बिगोमै लभ पर्छ बिगोमै छुट्छ । 

बिगोको मज्जा एक–अर्कालाई नचिन्नु पनि हो । आफूले चाहे अनुहार देखाउन सकिन्छ । नचाहे अनुहार नदेखाएरै बोल्न सकिन्छ । भिडियो च्याट गर्दागर्दै थुप्रैको बिगोबाट प्रेम सम्बन्ध झाँगिएको छ । कसैको प्रेम सम्बन्ध झाँगिन नपाउँदै टुटेको छ । 

फेसबुकमा प्रिन्सी युजर नेम बनाएकी एक युवती बिगोमै चिनजान भएका लिबरन युजर नेम बनाएका युवकसँग केही महिनादेखि गहिरो प्रेममा छिन् । उनीहरु हरेक दिन बिगोमा भिडियो र अडियो च्याट गर्छन् । 

उनीहरुको बोर्डमा जाने जो कसैले उनीहरुबीच हुने मायाप्रेमदेखि सबै किसिमका कुरा सुन्न पाइन्छ । ‘म लिबरनसँग केही महिनादेखि प्रेममा छु,’ ती युवती भन्छिन्, ‘तर, ऊसँग बिगोमा बाहेक प्रत्यक्ष भेट भएको छैन । सबै कुरा भिडियोमा भइहाल्छ भेट्न पनि जरुरी छैन ।’ 

बिगोको मज्जा
बिगो के रहेछ त ? यसबारे बुझ्न संवाददाताले करिब एक महिनासम्म बिगोको निगरानी गरेको थियो । थुप्रै बिगो प्रयोगकर्तासँग दोहोरो कुराकानी गरेको थियो । कतिसँग भिडियो संवाद पनि भयो । केहीसँग अडियो । धेरैजसो बिगो प्रयोगकर्तासँग च्याटमै कुराकानी भयो । केहीको गतिविधि बोर्डमा गएर हेरियो । 
पोखरा न्यूरोडकी मञ्जिला थापा प्रायः बेलुका हुनेबित्तिकै मोबाइलमा बिगो च्याटमा भुल्छिन् । ‘बिगोेले मोहनी नै लगायो, दिनको एकपल्ट त छिर्न मन लागिहाल्छ’ मञ्जिला भन्छिन्, ‘साथीभाइसँग गफियो । एकछिन रमाइलो गर्यो  अनि बल्ल निद्रा पर्छ ।’ 

भारतीय सेनामा कार्यरत एक युवाले लाहुरे युजर नेम बनाएका छन् । उनी बिगो च्याट कहिल्यै मिस गर्दैनन् । भारतीय सेनाको युनिफर्ममै बिगोमा रमाइरहेका उनी यसको अम्मली भइसकेका छन् । उनको बिगो लेभल २४ पुगेको छ । समय बिताउन गाह्रो भइरहेका बेला बिगोमा नेपाललगायत विभिन्न देशमा रहने नेपालीहरुसँगै मज्जाले लाइभ कुराकानी गर्दा उनी आफू भारतीय सेनामा कार्यरत भएको झँै महसुस गर्दैनन् रे । 

‘बिगोमा रमाउँदा नेपालमै बसेर साथीभाइसँग गफिएजस्तो हुन्छ । पाँचदेखि ६ घण्टासम्म बिगोमै रमाउँछु,’ लाहुरे भन्छन्, ‘यसलाई सदुपयोग गर्न सके राम्रै हुन्छ । टाढाटाढाका मान्छेसँग जोडिन सहयोगी छ ।’ 

टाइम पासको आधार

बिगो धेरैजसको प्रयोगकर्ताको टाइमपास गर्ने माध्यम बनेको छ । बिगोमा राम्रो कुरा गर्ने मात्रै होइन, असाध्यै नराम्रो कुरा गर्ने युवाहरुको जमात पनि उत्तिकै भेटिन्छ । बिगोमा झगडा गर्नेहरुको रमिता पनि हेर्न र सुन्न सकिन्छ । 

बिगोभित्र पसेपछि साँझ र रातको समयमा यौनबारे र भद्दा गफ गर्नेहरु बर्गेल्ती फेला पर्छन् । अत्यन्तै अश्लील शब्द प्रयोग गर्दै झगडा गर्नेहरु पनि उत्तिकै भेटिन्छन् । 

‘बिगोमा धेरैजसो झगडा नै हुन्छ । लाइभ हुन पाएको छैन गालीको वर्षा सुरु हुन्छ,’ बन्दुको युजर नेम राखेका युवा भन्छन् । 

सर्टकट शब्द
बिगोको च्याटमा सर्टकर्ट शब्द बढी प्रयोग हुन्छन् । डब्लु सी अर्थात् वेलकम, कुनै च्याटरुममा प्रवेश गर्दा मित्रले स्वागतका रूपमा लेख्ने शब्द यही हो । यदि प्राइभेट च्याट छाडेर जाँदै हुनुहुन्छ भने सियू अर्थात् फेरि भेटौंला भन्ने उत्तर आउँछ । छक्क पर्दा भने ओएमजी लेखिन्छ । 

‘बिगोमा धेरैजसो केटीको बोर्डमा केटा र केटाको बोर्डमा केटी नै सक्रिय भएर गफिरहेको देखिन्छ । गफ गर्दा गर्दै बिगो लभ गर्ने नयाँ माध्यम बनेको छ,’ लोरेन युजर नेम राखेकी पोखराकी एक बिगो प्रयोगकर्ता भन्छिन्, ‘मेरो पनि बिगोमै लभ परेको छ ।’

थुप्रै बिगो साथीहरूलाई ग्रुप च्याटमा पनि बोलाउन मिल्छ । यसमा एकैपटक आठजनासँग भिडियो वा अडियो च्याट गर्न सकिन्छ । आफूले चाहेका दुईजनासँग मात्रै गफ गर्न पनि सुविधा छ भने आफ्नो बिगो बोर्डमा एक्लै लाइभ गरेर अरूलाई दर्शकदीर्घामा पनि राख्न मिल्छ । 

बिगोले प्रयोगकर्ताको लेभल पनि निर्धारण गरेको हुन्छ । जति बिगो चलाउँदै गयो उतिउति प्रयोगकर्ताको जिम्मेवारी बढ्दै जान्छ । प्रयोगकर्ताले आफ्नै रुम निर्माण गर्न सक्छन् भने रूममा जे पायो त्यही लेख्नेलाई निष्कासन गर्न पनि मिल्छ । 

‘चाहेका मान्छेसँग बकाइदा भिडियो गफ गर्न सकिन्छ, मन नपर्नेलाई आउट गर्ने अप्सन पनि छ,’ दिदी युजर आइडी राखेकी बिगो प्रयोगकर्ता भन्छिन्, ‘दिनमा एक चोटी बिगोमा नबसी हुँदैन । लत लागिसक्यो ।’

 

Leave A Comment