तीन पूर्व प्रहरीले ल्याएको तरंग

आइतबार, २७ जेठ २०७५, ११ : ३७ शुक्रवार
तीन पूर्व प्रहरीले ल्याएको तरंग

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा छानविन समितिले अपनाएको शैलीलाई लिएर तीन पूर्व वरिष्ठ प्रहरी अधिकारीले गरेको टिप्पणीले छानविन प्रक्रियाको निष्पक्षता र समितिमा रहेकाहरुको योग्यतालाई बहसमा ल्याइदिएको छ ।

पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र पूर्व डिआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले पत्रकार सम्मेलन नै गरेर मुख्यतः शाक्य हत्यापछि अनुसन्धानमा जुटेका तीन प्रहरीमाथि लगाएको अभियोगको खण्डन गर्दै छानविन समितिले प्रहरीले गर्ने गोप्य अनुसन्धान नै नबुझेको आरोप लगाए । छानविन समिति मात्रै हैन पूर्व प्रहरी अधिकारीले वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई नालायकको संज्ञासमेत दिए ।

जो जसले प्रेम मिट गरे तिनै अधिकारीले संगठनमा रहँदा अब्बल क्षमता प्रदर्शन गरेका थिए । त्यसमा पनि दुई अधिकृत भण्डारी र मल्ल संगठित अपराधको अनुसन्धानका पोख्त अधिकृत हुन् । उनीहरुको यही पृष्ठभूमिले उनीहरुको टिप्पणीको गहनता बढाउँछ ।

तीन जना पूर्व प्रहरी अधिकारीको प्रेस मिटको ताप छानविन समिति हुँदै गृह मन्त्रालयसम्म पुग्यो । उनीहरुको प्रेस मिट सक्किएलगत्तै जो–जो प्रहरी अधिकृत अनाहकमा परेको भनिएको थियो उनीहरुको फोनको कुराकानीहरु अनलाइनमार्फत् सार्वजनिक हुन थाले । पूर्व प्रहरी अधिकारीको प्रेसमिटपछि आएका कुराकानीको अडियो संयोग मात्र थिएन । उनीहरुमाथि अभियोग लगाउनुको कारण सार्वजनिक गर्न समितिका अधिकारीले अपनाएको गोप्य शैली थियो भन्ने प्रस्टै देखियो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर खण्डन मात्र गरेन, गृहमन्त्री रामबहादुर थापा बादलले जो बोल्छ, उसलाई समेत छानविनको दायरामा ल्याउन समितिलाई निर्देशन दिँदै अनुसन्धानबारे बोल्ने तीन पूर्व प्रहरीलाई धम्क्याउने प्रयास गरे ।

नेपालमा सुन तस्करीको जालो सडकदेखि सत्तासम्म फैलिइसकेको थियो । यसमा कसै न कसैले हतक्षेप गर्न जरुरी थियो तर जो सत्तामा पुग्यो, उसैले यसलाई आर्थिक उपार्जनको आधार बनाउँदा छ्यासमिस तस्कर पक्राउ परे पनि मूल स्रोतमाथि हस्तक्षेप हुन सकेको थिएन ।

सरकारले यस प्रकरणमा विशेष छानविन समिति नै गठन गरेर अनुसन्धानअगाडि बढाउँदा यस अगाडिका प्रकरणका अनुसन्धानभन्दा भित्री तह खुल्न सक्यो । तस्करीमा संलग्न ६० भन्दा बढीको नाम खुल्नु र ३० भन्दा बढीको पक्राउ प्रशंसायोग्य काम हो ।

तर यस प्रकरणमा सुन तस्करी मात्रै जोडिएको छैन । योसँगै हत्या घटना र त्यसको अनुसन्धान प्रक्रियासमेत जोडिएको छ । तस्करी र हत्या घटनालाई एकै डालोमा राखेर जसरी छानविन समितिले अनुसन्धान गर्याे र अनुसन्धानमा संलग्न जे जति प्रहरी अधिकारीको दोष अनुसारको अभियोग लगायो, त्यसमा त्रुटि नै नभएको भने हैन । 

छानविन समितिले बनाएको प्रतिवेदनको आधारमा जिल्ला अदालत मोरङमा दर्ता भएको अभियोग पत्रमा उल्लेख गरिएको प्रमाण, तर्क र अभियोग हेर्दा सनम हत्या अुनसन्धानमा जोडिएका उपल्लो तहका प्रहरी अधिकारीमाथि लगाएको अभियोगको भार बोक्न सक्ने देखिन्न । विभागीय कारवाहीसम्म हुनसक्ने कसुरको हकमा फौजदारी अभियोगमा तान्नु त्रुटि नै हो । 

तीन पूर्व प्रहरी अधिकारीले पत्रकार सम्मेलन गरेर सरकारको छानविनमाथि उठाएका प्रश्न जायज देखिए तर प्रश्न उठाउने समय जायज देखिएन । अनुसन्धान अदालतमा नपुगेको समयमा उनीहरुबाट सामूहिक प्रतिक्रिया आएको भए अर्कै हुनेथियो तर विषय अदालतमा प्रवेश भएर थुनछेक बहसमार्फत् एक प्रकारको आदेश आइसकेको अवस्थामा भएको प्रेसमिटले मुद्दा प्रभावित गर्ने प्रयासको रुपमा विश्लेषण हुनु सामान्य हो । 

यस अगाडिका घटनाले देखाएको तथ्य के हो भने जुन विषयमा सञ्चारमाध्यम सक्रिय हुन्छ जिल्ला तहको अदालतबाट आउने थुनछेक बहसको नतिजा अधिकांश पुर्पक्ष नै हो । त्यही केस जब पुनरावेदनमा जान्छ, त्यसपछिको नतिजा धरौटी, साधारण तारेखमा बदलिएको धेरै केस छन् । अहिलेको अवस्थामा पक्राउ परेकाहरुमाथि प्रारम्भमा आएको आदेश अन्तिम हैन । पुनरावेदनको प्रक्रिया बाँकी नै जहाँ लागेको अभियोग र प्रस्तुत प्रमाणको लेखाजोखा पक्कै होला । कोही अन्यायमा परेका छन् भने अदालतले न्याय सम्पादनमा त्यसको निक्र्यौल गर्ने नै छ । 

तर अदालतमा प्रवेश पाइसकेको विषयमा प्रेसमिट गर्नु, तस्करीको जालो भत्काउन खटिएको छानविन समितिको छानविन विवादमा तानिनु र कमजोरी औँल्याउनेहरुलाई नै छानविनको दायरामा ल्याउनु भन्दै गृहमन्त्रीले धम्क्याउने प्रवृत्ति सुखद संकेत पक्कै हैन । 

छानविन समितिको अवधि अझै बाँकी नै छ । प्रमाणअनुसार बिना कुनै संरक्षण र पूर्वाग्रह छानविन भएको हो भन्ने पुष्टि गर्नु अब छानविन समितिको मुख्य चुनौती हो । यो चुनौतीको सामना गर्ने उपाय समितिको प्रतिवेदन सार्वजनिक गरेर मात्रै पूरा हुन सक्छ ।
 

Leave A Comment