‘डार्क हर्स’ एसिया

बिहिबार, ३१ जेठ २०७५, ०५ : ११ सञ्जय थापा
‘डार्क हर्स’ एसिया

आफ्नै माटोमा विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता नल्याएसम्म विश्वकपमा एसियाली टिमको छवि ह्विपिङ ब्वाइजभन्दा माथिको थिएन । सन् २००२ मा पहिलोपटक दुई एसियाली मुलुक दक्षिण कोरिया र जापानले संयुक्तरूपमा विश्वकपको भव्य आयोजना गरेर विश्वलाई आश्चर्यमा पारे । आयोजनाको पक्षमा मात्र नभई विश्वकपको त्यही संस्करणले अन्तर्राष्ट्रिय फुटबलमा एसियाली टोलीलाई हेर्ने नजरमा समेत परिवर्तन ल्याइदियो । 

एसियाली टिमका लागि विश्वकपको दोस्रो चरण पुग्ने दुलर्भ सफलता जापानले पायो । दक्षिण कोरियाले सम्पूर्ण एसियाली फुटबललाई गौरवान्वित पार्दै सेमिफाइनलसम्मको सनसनीपूर्ण यात्रा तय गर्याे । त्यसयता विश्वकपमा एसियाका टिमलाई ह्विपिङ ब्वाइजकै रूपमा मात्र लिइन छाडियो । 

स्पेन, इटालीजस्ता विपक्षीलाई निराश पार्दै दक्षिण कोरियाले गरेको रोमाञ्चक यात्रापछि विश्वकपमा एसियाली टिमलाई सम्मानको नजरले हेर्न थालियो, ठूला टिमलाई पनि स्तब्ध पार्न सक्ने डार्क हर्सका रूपमा । 

विश्वकपको इतिहास ८८ वर्ष हुँदा रुसले २१ औं संस्करण आयोजना गर्दैछ । सन् १९३० मा उरुग्वेले १३ टोली सहभागी गराएर सुरु गरेको विश्वकपमा अहिले ३२ टोली सहभागी भइरहेका छन् । सन् २०२६ देखि ४८ टिम खेलाउने फिफाले निर्णय गरिसकेको छ । तर विश्वकपमा एसियाको उपस्थिति इतिहास भने समृद्ध छैन । 

सन् १९३८ मा इन्डोनेसियाको सहभागितासँगै विश्वकपसँग सम्बन्ध सुरु गरेको थियो एसियाले । विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ इतिहासमा हालसम्म जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, इराक, चीन, कुबेत, साउदी अरेबिया, संयुत्त अरब इमिरेटस्, इजरायल, इन्डोनेसिया र उत्तर कोरिया सहभागी भइसकेका छन् । 

कुनैबेला युरोप र दक्षिण अमेरिकाका टिमका लागि गोलको भारी बोकाउन सकिने सजिलो प्रतिद्वन्द्वीबाट एसियाली टिमहरूले अहिले सशक्त प्रतिस्पर्धीको रूपमा छवि भने सुधारेका छन् । त्यसैले त यसपटक इतिहासकै सबभन्दा बढी एसियाबाट ५ टिम विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । तर अझै कुनै एसियाली टिमले विश्वकपमा दाबेदारको छवि बनाउन सकेको छैन ।

एसियाको यात्रा
इन्डोनेसिया एसियाली राष्ट्रबाट विश्वकप खेल्ने पहिलो राष्ट्र हो । जापानले छनोट खेलबाट हात झिकेपछि इन्डोनेसिया सन् १९३८ को विश्वकपमा छनोट भएको थियो । तर सहभागिता उत्साहजनक भने हुन सकेन । नकआउटका आधारमा खेलाइएको उक्त विश्वकपमा इन्डोनेसिया पहिलो खेलमा हंगेरीसँग ६–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । 

सन् १९५० को विश्वकपमा बर्मा, इन्डोनेसिया र फिलिपिन्सले छनोट चरणबाट नाम फिर्ता लिएपछि  भारत स्वतः विश्वकपको छनोटमा पर्याे । तर भारतले भ्रमण खर्च महँगो भन्दै विश्वकपमा सहभागिता जनाएन र इतिहास बनाउनबाट चुक्यो । 

सन् १९५४ फिफाले छनोट हुने १६ राष्ट्रमध्ये एक स्थान एसियाली राष्ट्रका लागि छुट्यायो । उक्त छनोटमा एसियाबाट चीन, जापान र दक्षिण कोरियाले सहभागिता जनाएका थिए । चीनले अन्तिम समयमा छनोटबाट हात झिक्यो । दक्षिण कोरियाले जापानलाई पराजित गर्दै विश्वकपको टिकट पक्का ग¥यो । तर सफलता प्रतियोगितासम्म पुग्नुमै अड्कियो । हंगेरीसँग ९–० र टर्कीलाई ७–० को नतिजा सुम्पिएसँगै दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरियो । 

सन् १९५८–१९६२ सम्मको विश्वकप एसियाली मुलुकविहिन भयो । सन् १९५८ को विश्वकपमा फिफाले दक्षिण कोरियाको छनोट चरण खेल्ने प्रस्ताव अस्वीकृत गर्याे । फिफाले अफ्रिका र एसियाली राष्ट्रलाई समावेश गर्दै छनोट खेलायो । टर्की, साइप्रस र चीनले पहिलो चरणबाट नाम फिर्ता लिए भने इन्डोनेसिया र इजिप्टले दोस्रो चरणमा नाम फिर्ता लिए । सुडानले राजनीतिक कारण देखाउँदै इजरायलविरुद्ध खेल्न अस्वीकार गर्याे । इजरायल स्वतः  विश्वकपमा छनोट हुने संघारमा पुगेको थियो । तर फिफाले छनोट चरणको एउटा पनि खेल नखेलेका कारण इजरायललाई विश्वकप खेल्ने अनुमति दिएन ।

सन् १९६२ को विश्वकपमा फिफाले एक चरणमा मात्र छनोट खेल खेलाएको थियो । छनोट चरणमा तीन टोली सहभागी थिए । उक्त छनोटको शीर्ष स्थानको टोली अन्तरमहादेशिय प्लेअफमा छनोट हुने बताइएको थियो । 

इन्डोनेसियाले छनोट खेलबाट नाम फिर्ता लियो । जापानलाई पराजित गर्दै अन्तरमहादेशिय प्लेअफमा छनोट भए पनि दक्षिण कोरिया प्लेअफमा युगोस्लाभियासँग पराजित भयो  र विश्वकप एसियाविहिन भयो ।

सन् १९६६ को विश्वकपमा फिफाले एसियाली, अफ्रिकन र ओसियाना क्षेत्रका टोलीलाई सहभागी गराउँदै छनोट खेल खेलाउने र त्यसको विजेता विश्वकपमा छनोट हुने बताएको थियो । फिफाको निर्णयका विरोधमा दक्षिण अफ्रिकासहित अफ्रिकाका अन्य १५ राष्ट्रले नाम फिर्ता लिए । जापानले पनि अन्तिम समयमा नाम फिर्ता लिएपछि उक्तर कोरिया र अस्ट्रेलियाबीच छनोट खेल खेलाइएको थियो । अस्ट्रेलियालाई पराजित गर्दै उक्तर कोरिया विश्वकपमा छनोट भयो । 

सन् १९७० को विश्वकपमा पनि फिफाले एसियाली, अफ्रिकन र ओसियाना क्षेत्रका टोलीलाई सहभागी गराउँदै छनोट खेल खेलाएको थियो । इजरायल, न्युजिल्यान्ड र रोडेसिया बाई पाउँदै स्वतः दोस्रो चरणमा प्रवेश गरेका थिए । 

छनोटमा सहभागी अन्य तीन टोली जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । उक्त छनोटबाट अस्ट्रेलिया छनोट भएको थियो । दोस्रो चरणको छनोटमा इजरायलले अस्ट्रेलियालाई ३–१ ले पराजित गर्दै पहिलोपटक विश्वकपको टिकट काटेको थियो । 

सन् १९७४ को विश्वकपमा कुनै एसियाली राष्ट्र सहभागी भएनन् । सन् १९७८ को विश्वकपमा इरानले डेब्यु गरेको थियो । तर पहिलो चरणबाटै बाहिरिएसँगै टोलीका लागि प्रतियोगिता सुखद बन्न सकेन ।
सन् १९८२ को विश्वकपमा कुबेतले प्रतियोगितामा डेब्यु गर्याे । फिफाले विश्वकपबाट सहभागी टोलीको संख्या १६ बाट २४ पुर्याएको थियो । तर टोलीका लागि प्रतियोगिता सुखद् बन्न सकेन ।

फिफाले सन् १९८६ को विश्वकपमा छनोट हुने २४ टोलीमध्ये २ स्थान एसियाली राष्ट्रका लागि छुट्यायो । छनोट चरण पार गर्दै दक्षिण कोरिया र इराक विश्वकपमा छनोट भएका थिए । प्रतियोगितामा इराकको यो डेब्यु थियो भने दक्षिण कोरियाको पुनरागमन । तर दुवै टोलीको यात्रा समूह चरणमा समाप्त भयो । 

सन् १९९० को विश्वकप पनि उस्तै रह्यो । यसमा संयुक्त अरब इमिरेट्स र दक्षिण कोरिया छनोट भए । संयुक्त अरब इमिरेट्सको प्रतियोगितामा यो डेब्यु थियो । दुवै टोलीको यात्रा पहिलो चरणमा सीमित भयो । 

सन् १९९४ को विश्वकपमा फिफाले सहभागी टोलीको संख्या २४ बाट ३० पुर्यायो । प्रतियोगितामा सहभागी ३० मध्ये तीन स्थान एसियाली राष्ट्रलाई छुट्याइयो । उक्त विश्वकपमा साउदी अरेबिया, जापान र दक्षिण कोरिया छनोट भए । जापान र दक्षिण कोरियाको यात्रा समूह चरणमा सकिए पनि साउदी अरेबियाले भने प्रतियोगिताको अन्तिम १६ सम्मको यात्रा पक्का गरेको थियो ।

सन् १९९८ को विश्वकपमा फिफाले सहभागी टोलीको संख्या ३० बाट ३२ पुर्यायो । प्रतियोगितामा सहभागी ३२ मध्ये ४ स्थान एसियाली राष्ट्रलाई छुट्यायो । उक्त विश्वकपमा साउदी अरेबिया, जापान, इरान र दक्षिण कोरिया छनोट भए । उपलब्धी यत्तिमै अड्कियो ।

दक्षिण कोरियाको चमत्कार
सन् २००२ को विश्वकप दक्षिण कोरिया र जापानले संयुक्तरूपमा आयोजना गरेका थिए ।
सन् १९९८ को विश्वकपमा फिफाले सहभागी टोलीको संख्या ३० बाट ३२ पुर्यायो र सहभागी ३२ मध्ये ४ स्थान एसियाली राष्ट्रलाई छुट्यायो । उक्त विश्वकपमा साउदी अरेबिया, जापान, इरान र दक्षिण कोरिया छनोट भए । 

एसियामा आयोजना भएको यो पहिलो विश्वकप थियो । जापान र दक्षिण कोरिया आयोजकका रूपमा स्वतः अन्तिम चरणमा छनोट भएका थिए । एसियाली राष्ट्रलाई छुट्याइएको अन्य दुई स्थानमा साउदी अरेबिया र चीन छनोट भए । 

पहिलो खेलमा पोल्यान्डलाई २–१ ले पराजित गरेको दक्षिण कोरियाले दोस्रो खेलमा अमेरिकासँग १–१ को बराबरी खेल्यो । तेस्रो खेलमा पोर्चुगललाई १–० ले पराजित ग¥यो । क्वाटरफाइनलमा इटालीलाई २–१ ले पराजित गर्दैे सेमिफाइनल प्रवेश गरेको दक्षिण कोरिया अन्तिम ४ मा जर्मनीसँग १–० ले पराजित भयो तर इतिहास बनायो ।

सन् २००६ को विश्वकपमा एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया सहभागी भएका थिए । तर कुनै पनि टोली समूह चरणबाट माथि जान सकेनन् । त्यसको चार वर्षपछि सन् २०१० को विश्वकपमा एसियाबाट दक्षिण कोरिया, अस्ट्रेलिया, उत्तर कोरिया र जापान छनोट भएका थिए ।

सन् २०१४ को ब्राजिल विश्वकपमा एसियाबाट अस्ट्रेलिया, दक्षिण कोरिया, जापान र इरानले सहभागिता जनाए । तर उपलब्धी सहभागीता मात्रै । अहिले एसियाका तर्फबाट दक्षिण कोरिया, जापान, इरान, साउदी अरेबिया र अस्ट्रेलिया गरी ५ टोली सहभागी छन् विश्वकपमा । 

विश्वकपमा पाँच एसियाली राष्ट्र सहभागी भएको यो पहिलोपटक हो । तर कसैको उपस्थिती पनि बलियो देखिन्न । तर डार्क हर्सको इतिहास दोहोरिन पनि सक्छ ।
(एजेन्सीको सहयोगमा)
 

Leave A Comment