सडक कि सम्पदा !

सोमबार, ११ असार २०७५, ०१ : ०५ रेणु त्वानाबासु
सडक कि सम्पदा !

पशुपतिनाथको सुनौलो गजूरयुक्त आकर्षक मन्दिर, मन्दिर वरपर घना बगैँचा ! आहा, कल्पदै मात्र पनि आनन्द लाग्छ ! यो कल्पना यो पंक्तिकारले गरेको होइन, पशुपतिक्षेत्र विकास कोषको हो । यो परिकल्पना पूरा गर्न मन्दिरको गुरुयोजना लागू भएसँगै पशुपति क्षेत्रको पुराना बस्ती हटाइयो । पुस्तौँदेखि बस्दै आएकाहरु आफ्नै आँगनबाट विराना पारिए ।

टिलिक्क टल्किने टायल, चिटिक्क परेको बगैँचा र खुला अनि फराकिलो स्थान– झट्ट हेर्दा रमाइलो देखिन्छ पशुपति क्षेत्र तर धार्मिक पक्षसँगै जोडिएको जात्रा, पर्व र परम्परा लगायतका सांस्कृतिक पाटो भने यसबेला रौनकविहीन बन्न पुगेको छ । 

पशुपतिभित्रको बस्ती हटाइएसँगै जात्रा, पर्व र परम्परासँग जोडिएका स्थानीयबासी विस्थापित भए । जात्रा र परम्परासँग जोडिएका भण्डारी, महर्जन, श्रेष्ठ, नापित र कपाली लगायतका स्थानीय आदिवासी छिन्नभिन्न भएर कोही कपन पुगे, कोही जोरपाटी त कोही तिलगंगा सरे । उनीहरुको बसाइँ सरेसँगै जात्रापर्वको रौनकले पनि डेरा सर्याे ।

पशुपति छेउको आँगन हुँदै चल्ने जात्रा र परम्परा उनीहरुका लागि मनोरञ्जन मात्रै थिएन, जीवनशैली थियो । भौगोलिक रुपमा टाढा भए पनि परम्परा धान्ने प्रयास त उनीहरुले गरेका छन् तर हिजोको जस्तो आत्मीयता भने छुटेको छ । अहिले जात्रा र पर्व चलाउनै हम्मे छ गुठियारहरुलाई ।

काठमाडौं–निजगढ फास्ट ट्र्याक बनाउन खोकनाको संस्कृति र परम्परा जोडिएको क्षेत्र रोजिएपछि स्थानीय र सडक निर्माणको जिम्मेवारी पाएको सेनाबीच सुरु भएको विवाद अझै सल्टिएको छैन । स्थानीयवासी सम्पदा र संस्कृति नमासिने गरी सडक निर्माणको पक्षमा छन् । जिम्मेवार निकाय भने विकास र परम्परा एकै साथ जान सम्भव छैन भन्दै रहलपहल पाटी–पौवा र मन्दिरलाई पनि पेलेर जाने मनस्थितिमा छ ।

खोकनाबासीको संस्कृति र परम्परा नास हुने गरी बनेको फास्ट ट्र्याकको गुरुयोजनासँगै विकासका अगाडि जीवन्त संस्कृति र परम्पराको कुनै मूल्य नै हुन्न त ? बहस त्यतिबेलै सुरु भएको थियो, अझैसम्म सकिएको छैन ।

यहीबीच सडक चौडा बनाउन सडक विभागले ललितपुरमा रहेको लिच्छविकालीन बटुक भैरव मन्दिर परिसरमा डोजर चलेपछि बहस थप पेचिलो बन्न पुगेको छ । 

यसैसाता सडक विभागले लगनखेल–सातदोबाटो सडक २२ मिटर बनाउन भन्दै मन्दिरको पर्खालमा डोजर लगायो । स्थानीयबासी पुरातात्विक र धार्मिक स्थलको संरक्षणका लागि आन्दोलित छन् । 

मन्दिर नजिकै सेनाको पेट्रोल पम्प छ । स्थानीयले मन्दिरकै गुठीको जग्गाबाट सडक बनाइएकाले अब सडक विस्तारका नाममा मन्दिर मास्ने गरी काम नगर्न आग्रह गर्दै विकल्पमा सेनाको पेट्रोल पम्प सार्न माग गरिरहेका छन् । चौडा सडकको पक्षमा रहेकाहरु भने पम्पको साटो मन्दिरतिरै सोझिइरहेका छन् । 
बटुक भैरव मन्दिर व्यवस्थापन संरक्षण समितिका अध्यक्ष विनोद रञ्जितकार पार्किङको सुविधा बढाउन ऐतिहासिक मन्दिर भत्काउने  प्रयास भइरहेकामा दुःखी देखिए ।  

‘सडक बढाउन भन्दै मन्दिरै भत्काउन लागिसके,’ उनले भने, ‘मन्दिरसँग धार्मिक, सांस्कृतिक र ऐतिहासिक पाटो पनि जोेडिएको हुन्छ तर सरकार हाम्रो कुरा सुन्नै चाहँदैन ।’

सडक विस्तारको बहाना र अतिक्रमणको चपेटामा परेर काठमाडौं उपत्यकाका अधिकांश पाटी–पौवा हराइसके । सडक विस्तारको आवरणमा सोह्रखुट्टेमा रहेको ऐतिहासिक पाटी भत्काइएपछि स्थानीयको पहलमा सोही स्थानमा पाटी ठड्याउने प्रयास सुरु भएको छ । 

ऐतिहासिक मन्दिर परिसरभित्र डोजर चल्दासमेत ललितपुर महानगरपालिकाका अधिकारीहरु भने घटनाबारे जानकारी नै नभएजस्तै गरिरहेका छन् ।

ललितपुरका स्थानीयबासी महानगरपालिकाको कार्यालयमै पुगेर मेयर चिरिबाबु महर्जनको ध्यानाकर्षण गराउँदै धार्मिक र ऐतिहासिक क्षेत्रको संरक्षणका लागि पहल गरिदिन आग्रह गरेका थिए तर उपलब्धि भने केही आएन ।

शुक्रवारसँगको कुराकानीमा मेयर महर्जनले बटुक भैरव मन्दिर परिसरको पर्खाल भत्काउने विषयमा आफूलाई जानकारी नै नदिएको बताएर पन्छिए । 

‘म यस विषयमा सम्बन्धित निकायसँग कुरा गर्नेछु,’ मेयर महर्जनले भने । 

संस्कृतिविद् ओम धौभडेल नेपालको परिचय बनेको ऐतिहासिक सम्पदालाई विभिन्न बहानामा नष्ट गर्ने प्रयास भएकोमा दुःखी देखिए ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सडक बिस्तारको नाममा ऐतिहासिक मठमन्दिर, पाटी–पौवा, देवघर–मन्दिर भत्काउन नमिल्ने बताए । भत्काउनै परे मन्दिरलाई सरोकारवाला सबैसँग छलफल गरी स्थानान्तरणको सुनिश्चितता गर्नुपर्ने उनले बताए । उनले अहिलेको अवस्थामा काठमाडौंका कुनै पनि पुरातात्विक महत्वका मन्दिर स्थानान्तरण नै गर्नुपर्ने अवस्था नआएको दाबी गरे ।

काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका आयोजना प्रमुख दीपक केसी काठमाडौं व्यवस्थित पार्न सडक बिस्तार गर्नुपरेको बताए । उपत्यकामा भएको दैनिक सबैतिर हुने जाम हटाउन पनि सडक बिस्तार हुन आवश्यक भएको बताउँदै उनी पुरातात्विक मठमन्दिरबारे भने मौन नै रहे । 


बटुक भैरव के हो ?
ललितपुरको लगनखेलमा रहेका बटुक भैरवलाई मीननाथको कुलदेवता मानिन्छ । किंवदन्ती अनुसार, लिच्छवि राजा अंशुवर्माले प्रयागको भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए । 
यस मन्दिरमा भैरवको मूर्ति राखिएको देखिंदैन । प्रस्तरलाई बटुक भैरवका रूपमा पूजाआजा गर्ने गरिन्छ । मन्दिरको गर्भगृहमा गणेश, कुमार र कुमारीका मूर्ति पनि छन् । यो मन्दिर वि.सं. १९९१ मा जुद्ध समसेरले जीर्णोद्धार गराएका थिए । मन्दिरछेउ दुई वटा पाटी निर्माण गरिएका छन् । बटुक भैरव काठमाडौं उपत्यकामा पुजिने अष्ट भैरव मध्येका एक हुन् । यिनलाई शिवजीको उग्र रूप मानिन्छ । 

 

Leave A Comment