पारस शाह उस्तै उद्दण्ड

सोमबार, ११ असार २०७५, ०८ : १५ केपी ढुंगाना र अनिल यादव
पारस शाह उस्तै उद्दण्ड

थाइल्यान्डमा खानुसम्म ठक्कर खाएर नेपाल फर्किएपछिको सार्वजनिक व्यवहारले उदण्ड छवि सुध्रँदै थियो, पूर्व युवराज पारसको । लागूऔषध केसमा चार पटक पक्राउ परेसँगै गम्भीर बिरामी भएका उनी धन्न बाँचेका थिए । एक महिना लामो उपचारपछि बौरिएर नेपाल फर्किएपछि उनको दैनिकी निक्कै बद्लिएको देखिन्थ्यो । 

लागूऔषधको लत र गम्भीर बिरामीको प्रभावले पहिलाझैँ चमक थिएन उनको मुहारमा । सार्वजनिक कार्यक्रमहरुमा पनि मायालाग्दो हुलियामा देखिन्थे उनी । नेपाल बसाइका क्रममा उनको उदण्ड व्यवहार ठप्पै रोकिएको थियो । उनी कहिले परिवारसँग रेस्टुराँमा देखिन थालेका थिए भने कहिले मन्दिर र आश्रममा । 

थाइल्यान्ड बसाइका क्रममा चलेको अफेयर्सको प्रभावले श्र्रीमती हिमानी शाहसँग उनको सम्बन्ध सुध्रन सकेन । छोराछोरीसँग घुम्न निस्किएको तस्बिरले उनमा अभिभावकको दायित्वबोध भएको देखिन्थ्यो ।
तर उनको यो छवि लामो समय टिक्न सकेन । जेठ २८ को घटनाले शाहज्यादाबाट युवराज हुँदै पूर्वयुवराज भएका पारस वीर विक्रम शाहमा चौवन्न ठक्कर त्रिपन्न घुस्सापछि पनि कुनै परिवर्तन हुन नसकेको र उस्तै उदण्ड रहेको देखायो । 

सार्वजनिक भएको घटना सामान्य नै हो तर लुकाएको पाटो भने निक्कै गम्भीर छ । जेठ २८ दिउँसो बा १४ च २१३१ नम्बरको गाडीले ट्राफिक नियम उल्लंघन गर्दै जाउलाखेलबाट हुइँकिएपछि सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले उनले चलाएको गाडी नियन्त्रणमा लिएर पाँच सय जरिवाना तिराएको थियो ।

अनियन्त्रित रुपमा चलाएको गाडी ट्राफिकले जाउलाखेलमै नियन्त्रणमा लिन खोज्दा उनले अटेर गरे । गाडी हुत्तिदै थापाथली आइपुग्दा ट्राफिकले नियन्त्रणमा लिएर ब्लुबुक र लाइसेन्स नियन्त्रणमा लियो र  पाँच सयको चिट काट्यो । सार्वजनिक भएको घटना विवरण यत्ति हो । 

पारसको गाडी नियन्त्रणमा लिएर चिट काट्ने ट्राफिक प्रहरीको खोजीका क्रममा खुल्यो, त्यस दिनको अर्को गम्भीर पाटो । जसले बाहिर आएझैँ सो दिन पारसले ट्राफिक नियम उल्लंघन मात्र नगरेको बरु हत्या प्रयासै गरेको पोल खुल्यो । 

पारसको सन्काहापनले १८ वर्ष अगाडिको प्रवीण गुरुङ काण्ड दोहोरिँदै थियो थापाथलीमा । सावधानी नअपनाएको भए पारसको झोँकको दोस्रो सिकार हुन्थिन्, थापाथलीमा कार्यरत ट्राफिक प्रहरी जवान सुष्मा चौधरी ।

शुक्रवारसँगको भेटमा चौधरीले भनिन्, ‘पहिल्यै सावधान भएर नबसेको भए किच्ने नै रहेछन् !’
निर्देशनअनुसार गाडी रोकेर चौधरीले कागजपत्र माग्दासम्मको अवस्था सामान्य नै थियो । जब उनले कागजपत्र लिएर अलि पर पुगिन्, पारसले उनीतिरै ताकेर स्पिडमा गाडी चलाए । आइल्यान्ड पार गरिसकेकाले उनलाई गाडीले भेटेन र मात्र उनी जोगिइन् । 

‘चालकको नामको ठाउँमा पारस वीर विक्रम शाहदेव लेखेको पढ्नासाथ एकछिन त के गर्ने के गर्ने भयो,’ उनले भनिन्, ‘चालक गाडीभित्र रिसले आगो भइसकेका थिए । गाडीभित्रै स्टेयरिङ नजिकै हातले जोडजोडले हानिरहेका थिए ।’ 

चौधरीले शुक्रबारलाई त्यो दिनको दृश्य सुनाइन्, ‘एकछिन टाइम लाग्छ है, म माथि सोध्छु भनेर अलि पर गएँ । कुपन्डोल जाने साइडतिरको गाडी छोडेपछि पारसको गाडी स्पिडमा हामी भएतिर आयो । गाडी आएको स्पिड देख्दा त ‘लौ हान्यो !’ भन्ने लागेको थियो तर आइल्यान्डमाथि बसेकाले धन्न लागेन । मेरो डकुमेन्ट घरमा पुर्याउन आइज’ भन्दै उनले गाडी माइतीघरतर्फ हुइँक्याए ।’ 
..............
दुई वर्षदेखि थापाथलीमा ट्राफिक व्यवस्थापनमा खटिँदाको अनुभवले कहाँ बस्दा सुरक्षित होइन्छ भन्ने जानकार थिइन् चौधरी र जोगिइन् तर  १८ वर्षअगाडि उनै पारसको सन्काहापनले एक गायक तथा संगीतकारको ज्यान गएको थियो, ठाउँका ठाउँ सडकमा । 

घटना २०५७ साउन २२ को हो । पारसले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका गायक तथा संगीतकार प्रवीण गुरुङ मारिएका थिए । शक्तिमा रहेको दरबारले त्यसबेला नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । 

घटनाको दिन दरबारको दक्षिणी ढोकामा ल्यान्डक्रुजर गाडीले गुरुङ चढेको मोटरसाइकललाई ठक्कर दिएर केसरमहल, लाजिम्पाट, पानीपोखरी हुँदै निर्मल निवास छिरेको थियो । गाडी नम्बरका आधारमा प्रहरीले खोज्दा गाडी महेन्द्र प्रकृति संरक्षण कोषको रहेको खुल्यो । दरबारको सोधखोजमा गाडी पारसले चलाएको देखियो । 

तात्कालीन नेकपा एमालेको युवा संगठनले पारसको शाहज्यादा पदवी खोस्न र कारबाही गर्न पाँच लाखको हस्ताक्षर बुझाए पनि चालकको रुपमा खड्गबहादुर भुजेलको नाम सार्वजनिक भयो । बदमासी पारसले गरेको पक्कापक्की भए पनि केस त्यत्तिकै सेलायो ।

यो घटनाका बेला नारायणहिटी दरबारमा कार्यरत शाही पाश्र्ववर्ती विवेककुमार शाहले पुस्तकमार्फत् सो घटना गराउने पारसै भएको पुष्टि गरिदिए ‘मैले देखेको दरबार’ पुस्तकमार्फत् ।
पुस्तकमा उनले लेखेका छन् :
प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले फोन गरेर भन्नुभयो, ‘दरबारको दक्षिण ढोकाअगाडि आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक गायक प्रवीण गुरुङको घटनास्थलमै मृत्यु भयो । दुर्घटनापश्चात् मोटर नरोकिई तेज गतिमा भागेर निर्मल निवासमा छि¥यो । उहाँले ल्यान्डक्रुजर मोटरको नम्बरसमेत दिनुभयो । तत्कालै महाराजाधिराजमा यो कुरा जाहेर गरेँ । सरकारबाट ‘माइला भाइ (अधिराजकुमार ज्ञानेन्द्र) लाई फोन गरेर तुरुन्त बुझ’ हुकुम भयो । ज्ञानेन्द्र सरकारलाई फोन गरेँ । सरकारलाई पनि यसबारे केही जानकारी रहेनछ । ‘म बुझेर खबर गर्छु’ हुकुम भयो । आधा घन्टापछि ज्ञानेन्द्र सरकारले फोन गरेर हुकुम भयो, ‘विवेक, यस इट् इज हिम, त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ, अब यो समस्या कसरी समाधान गर्ने, उपाय निकाल ।’ 

१८ वर्षको अवधिमा शक्ति सन्तुलन परिर्वतन भइसक्यो । राजतन्त्रको अन्त्य भयो । दरबार हत्याकाण्डसँगै शाहज्यादाबाट युवराज भएका पारस पूर्वयुवराज भइसके । नारायणहिटी दरबार संग्रहालयमा परिणत भइसक्यो । राजा ज्ञानेन्द्र शाह, गद्दीच्युत हुँदै निर्मल निवास पुगे ।
तर पारस उस्तै देखिए, उदण्ड र सन्काहा अनि व्यवहार गर्न नजान्ने घमण्डी व्यक्ति ।
....................
घटनाको एक सातापछि ट्राफिक प्रहरी चौधरीलाई भेट्दा पनि घटनाको दिन पारसले आफूतिर स्पिडमा ल्याएको गाडी सम्झँदा डराइरहेकी थिइन्, सुष्मा । 

उनी शुक्रवारसँग कुरा गर्न राजी भए पनि आफूमाथिका अधिकारीसँग अनुमति लिन आग्रह गरिरहेकी थिइन् । अनुमति लिएरै कुराकानी सकियो । तस्बिर खिच्दा उनी अलि डराइन् । तस्बिरबारे पुनः हाकिमसँग अनुमति लिन आग्रह गरिन् ।

‘कुराकानी गरिहाल्नु भएछ ठीकै छ तर तस्विर नछाप्नुहोला,’ माथिल्लो तहका अधिकारीले भने, ‘सडकमा उभिएर काम गर्ने कर्मचारी हुन्, भोलि केही होला कि !’
तस्बिर छापिएकै कारणले भोलि सडकमा केही होला भन्ने आशंका माथिल्लो तहका अधिकारीले व्यक्त गरे ।

उदण्डताको श्रृंखला

पारसको विवादको श्रृंखला लामै छ । शाहज्यादा हुँदादेखि सुरु भएको उनको विवादको यात्रा पूर्व युवराज हुँदासम्म रोकिएको छैन । लागूऔषधको कुलतबाट निकाल्न सुधार केन्द्रमा बसे पनि उनमा सुधार देखिएको छैन । गम्भीर बिरामी भएसँगै एक महिना लामो अस्पताल बसाइपछि उनले दोस्रो जन्म पाए तर उनको ‘ब्याड ब्वाई’को व्यवहारमा सुधार आएको बिल्कुलै देखिएको छैन । 

श्रीमती हिमानीसँगको सम्बन्धका कारण बेलाबखत उनी विवादमा आउने गरेका थिए । सार्वजनिक रुपमै विवादमा तानिएको २०५७ साउन २२ को घटनापछि नै हो । गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भएपछि उनको खराब छवि सार्वजनिक भयो । उनलाई कारबाही गराउन पाँच लाख सर्वसाधारणको हस्ताक्षर संकलन भए पनि जोगिएका थिए उनी ।

तात्कालीन राजा वीरेन्द्रको वंशै नास हुनेगरी भएको दरबार हत्याकाण्डमा बाबु ज्ञानेन्द्र शाहसँगै उनी पनि आशंकामा तानिएका थिए । घटनाको गम्भीर अनुसन्धान नहुँदा न उनको संलग्नता खुल्यो न आशंका नै हट्यो । 

गणतन्त्र घोषणापछि पनि उनको उदण्डताको क्रम जारी नै रह्यो । २०६७ फागुन २८ मा  चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीसँग उनको जम्का भेट हुँदा गोली नै चलाए । घटनापछि पोखराको फूलबारी रिसोर्टमा आएर बसेका पारसलाई प्रहरीले होटलबाटै नियन्त्रणमा लिएर हेलिकप्टरमा चितवन लगेको थियो । उनीमाथि सार्वजनिक अपराध अभियोग लागे पनि ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा रिहा भएका थिए ।

२०६८ जेठमा उनले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । २०६६ भदौमा उनी जाली भारतीय रुपैयाँको कारोबारमा जोडिए । भारत मध्य प्रदेशबाट नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय राजेश गुप्ता पक्राउ परेपछि भारतीय मिडियाले जाली भारतीय रुपैयाँको कारोबारमा पारसको नामसमेत जोडेका थिए । बैंककमै रहँदा उनले आफू असुरक्षित रहेको भन्दै त्यहाँको नेपाली दूतावासमा निवेदनसमेत दिएका थिए । 

यता बस्ने वातावरण नभएपछि ०६७ भदौ ११ मा सिंगापुर हुँदै थाइल्यान्ड पुगे पनि उनको उदण्डता र विवाद रोकिएन । चार पटक लागूऔषधसहित पक्राउ परे उनी । हृदयाघात भएर कोमामा पुगेपछि अस्पतालमा एक महिनाको उपचारपछि बौरिए र नेपाल फर्किए । 

थाइल्यान्डमा थाई युवती कन्निका चाइसानसँगको सम्बन्धले समेत उनी विवादमा छाएका थिए । पारस–कन्निका सम्बन्धको खुलासापछि नेपालमा रहेको परिवारसँगको उनको सम्बन्ध चिसिएको थियो । उनी नेपाल फर्किएपछि पनि कन्निकाले पछ्याउन भने छाडेकी छैनन् । उनले सामाजिक सञ्जालमा दुवैको अन्तरंग तस्बिर सार्वजनिक गर्दै आएकी छन् । 

पारिवारिक जमघटमा पहिला त्यत्ति धेरै नदेखिने पारस पछिल्लो समय ज्ञानेन्द्र, कोमलसँगको पारिवारिक जमघटमा सँगै देखिने गरेका छन् । क्लबहरुमा छोराछोरीसहित पुग्ने गरेका छन् । लामो समयदेखि पारस र हिमानी सँगै देखिएका थिएनन् । एक साताअघि लाजिम्पाटस्थित त्रिसारा रेस्टुराँमा भएको पारिवारिक भेटघाटमा लामो समयपछि हिमानीसँगै देखिएका थिए ।

 

पारसलाइ चिट काट्ने ट्राफिक प्रहरीकाे बयान

‘पारसको गाडीले झण्डै किचेन’

सुष्मा चौधरी, प्रहरी जवान

त्यस दिन म बिहान १० बजेदेखि ड्युटीमा खटिएकी थिएँ । सवा १ बजेदेखि वाकीटकीमा सन्देश आइरहेको थियो, ‘जावलाखेल साइडबाट एउटा गाडी अनियन्त्रित गतिमा आइरहेको छ । दुर्घटना निम्त्याउन सक्छ, रोक्नुस् । गाडी नम्बर बा ३१ प २१३१ । चालक विदेशीजस्ता छन् ।’ 
म थापाथली चोकैनेर खटिएकी थिएँ । हरिहर भवन र कुपन्डोलको ट्राफिकले पनि रोक्न नसकेको खबर आयो । रोक्नुपर्ने गाडी थापाथली आउँदै थियो । वाकीटकीमा टिपाइएको नम्बरको गाडी आइपुग्यो । परैबाट हात दिएर रोकेँ । गाडी रोकियो । 
गाडीनजिकै पुगेपछि भित्रैबाट हप्काए, ‘के भो ? किन रोकेको ?’
‘हजुरको गाडीको नम्बर देखिएन, नम्बर प्लेटमा हिलैहिलो भा’को रहेछ, त्यसैले बिलबुक दिनुस् न,’ मैले भनेँ । 
गाडीभित्र बसेका व्यक्ति उत्तेजित हुँदै गाडीको अगाडिको भागमा हत्केलाले हानिरहेका थिए । 
‘तैँले मलाई चिनिनस्, तैँले मलाई चिन्न आवश्यक छ,’ भन्दै बिलबुक दिनुभयो । 
थापाथली चोक हुँदै धेरै पावरफुल व्यक्तिहरु हिँड्नुहुन्छ । एकपटक एकजना सभासदले त्यसरी नै थर्काएका थिए । गाडीभित्र रहेका व्यक्तिले थर्काउँदा ठूलै मान्छे पो हुन् कि भन्ने लाग्यो । बिलबुक हेरेँ । नाम याद गरिनँ । अनि, ‘लाइसेन्स हेरौँ न’ भनेँ । रिसाई–रिसाई भए पनि दिनुभयो । 
लाइसेन्समा नाम पढेपछि एकछिन झसङ्गै भएँ । 
चालकको नाममा पारस वीर विक्रम शाहदेव लेखिएको थियो । पूर्व युवराज पो हुनुहुँदोरहेछ ! नाम पढ्नासाथ एक छिन त के गर्ने, के भयो ! यसो हेरेको गाडीभित्र उहाँ रिसले आगो भइरहेको देखेँ । गाडीमा हातले जोडजोडले हानिरहेको देखेँ । 
‘तपाईंलाई एकछिन टाइम लाग्छ है, ममाथि सोध्छु,’ भनेँ अनि गाडीभन्दा अलि पर गएँ ।
वाकीटकीबाट कन्ट्रोलमा खबर गरँे, ‘चालकको नाम पारस वीर विक्रम शाहदेव छ ।’ 
‘जो भए पनि कारबाही गर्ने हो, एकछिन वेट गर्नुस्, खबर आउँछ,’ भन्ने आदेश आयो । 
म यतातिर उभिएको बेला उता पारस गाडीबाट ओर्लिएर हिलो लागेको नम्बर प्लेट आफँै पुछ्नुभएछ । त्यतिबेलै वरिपरि रहेका सर्वसाधारण र चालकहरु ‘पारस, पारस’ भन्दै कराए । हल्लीखल्ली बढ्यो । उहाँ सरासर गाडीभित्र गएर बस्नुभयो ।
कुपन्डोल जाने साइडतिरको गाडी छोडेपछि स्पिडमा गाडी हुइक्याउँदै आयो । मसहित अन्य साथीहरु नजिकै थियौँ । गाडी आएको स्पिड देख्दा त लौ हान्योझँै लागेको थियो । सात्तो गयो ।
कन्ट्रोलबाट सवारी नियम उल्लंघन गरेअनुसार कारबाही गर्नु भन्ने आदेश आयो । कसुर जथाभावी गाडी चलाएको थियो । त्यहीअनुसार चिट काट्न लागेको थिएँ । ‘मेरो डकुमेन्ट घरमा पु¥याउन आइज,’ भन्नुभयो । 
मैले ‘हस् हजुर’ भन्दिएँ । 
गाडी माइतीघरतर्फ हुइँकियो । 
‘कन्ट्रोलबाट कारबाही गरेर छाड्नुस् भन्ने आदेश आएपछि कारबाहीतिर लागेँ । जथाभावी गाडी चलाएको कसुरमा चालकको नाममा पाँच सय जरिवानाको चिट काटेँ । चिट र लाइसेन्स महानगरीय ट्राफिक प्रहरी महाशाखा पठाएँ ।
(कुराकानीमा आधारित)
 

Leave A Comment