‘पुरस्कार पाउन पुस्तक लेखिँदैन’

शनिबार, १५ असोज २०७३, ०९ : ३५ शुक्रवार , Kathmandu
‘पुरस्कार पाउन पुस्तक लेखिँदैन’

मदन पुरस्कार प्राप्त गरेपछि ‘ऐना’ कथासंग्रहका स्रष्टा रामलाल जोशी अहिले चर्चामा छन् । सुदूरपश्चिमको डोटी, कानाचौरमा जन्मिएर धनगढीलाई कर्मथलो बनाएका जोशी लामो समयदेखि साहित्यिक गतिविधिमा संलग्न छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रहेका उनी शिक्षण पेशामा आबद्ध छन् । २०५७ सालमा ‘हत्केलामा आकाश’ गजलसंग्रह प्रकाशन गरी साहित्य क्षेत्रमा क्रियाशील जोशीसँग उत्तम ओझाले गरेको संवाद ।
पछिल्ला दिनमा निकै चर्चामा हुनुहुन्छ । ‘सेलिब्रिटी’ भएपछि कस्तो महसुस गरिरहनुभएको छ ?
पाठक, समिक्षक, मिडिया लगायतले ‘ऐना’लाई जुन महŒव दिए, यसका लागि म सबैप्रति आभारी छु । राजधानीभन्दा निकै टाढा मोफसलको कुनामा बसेर लेखिएको कृतिले यति ठूलो सफलता पायो । निकै खुशी छु ।
मदन पुरस्कार घोषणापछि व्यस्तता कत्तिको बढेको छ ?
सुदूरको कुनामा गरेको प्रयासले यति व्यस्त भइएला भन्ने कल्पना पनि गरेको थिइनँ । देशकै सर्वाेत्कृष्ट पुरस्कारको घोषणापछि विभिन्न संघसंस्थाले बधाइ तथा सम्मान दिइरहेका छन् ।
‘ऐना’ लेख्न केले प्रेरित ग¥यो ?
स्वर्गीय बुबाको कविता पढेर साहित्यमा लागेको हुँ । यसअघि गजल र कविता लेख्ने गर्थें । समाजका विभिन्न पाटाबाट गुज्रेको जिन्दगी गजलबाट बाहिर ल्याउन सम्भव नभएपछि आख्यानलाई उपयुक्त मानेर कथा रोजेँ । जहाँसम्म प्रेरणाको कुरा छ, ‘ऐना’को प्रेरणाको बिन्दु समाज हो, समाजका पात्र हुन्, जो गरिबी, छुवाछूत, आँशु र पसिनासँग बाँचिरहेका छन् । उनीहरूका दुःख, पिरमर्का तथा मेरै आँखाअगाडि गुज्रिरहेको समाजका विविध पात्रहरूको कारुणिक जिन्दगीले मलाई लेख्न प्रेरित गरेको हो । यसमा ग्रामीण सामाजिक परिवेशका पीडा समेत समेटिएका छन् ।
‘ऐना’ले मदन पुरस्कार पाउँछ भन्ने लागेको थियो ?
यति चर्चित होला भन्ने नै लागेको थिएन । नेपाली साहित्यले ठूलो कुरा खोजिरहेका बेला सुदूरपश्चिमको स्थानीय भाषासमेत प्रयोग भएको हुनाले पाठकले महŒव दिँदैनन् कि भन्ने लागेको थियो । कृति लेखनको अवधिभर पुरस्कार, सम्मान र चर्चाको अपेक्षा गरेको थिइनँ । पुरस्कार र सम्मानको आशाले पुस्तक लेखिने पनि त होइन, तर सुदूरपश्चिमको आञ्चिलक जनजीवन, स्थानीय भाषाभाषीका शब्दहरूको प्रयोग र स्थानीय लवजलाई नेपालीभाषी पाठकहरूले मन पराऊन् र नेपाली साहित्यमा यसले प्रवेश पाओस् भन्ने आकांक्षा थियो ।
मदन पुरस्कार पाउन चाकरी गर्नुपर्छ भन्ने सुनिन्छ नि ?
आमपाठक, साहित्यकारमा यही मान्यता रहेको हुन्छ । हाम्रो समाजमा पुरस्कारका लागि भनसुन, पहुँच र आफ्ना मान्छे चाहिन्छ भन्ने मानसिकता व्याप्त छ । म पनि यसबाट मुक्त हुन सकेको थिइनँ । नेपाली समाजका राजनीतिक, प्रशासनिक, साहित्यिक सम्मान र पुरस्कारहरूमा धेरैजसो यही प्रवृत्ति व्याप्त भएको हुँदा आममानिस त्यो धारणा बनाउन विवश पनि छन्, तर जब मेरो किताब यस वर्षको मदन पुरस्कारका लागि छनोट भयो त्यसपछि म पुरानो भ्रमबाट मुक्त भएँ । भनसुनविनै मैले मदन पुरस्कार पाएँ । यसले गर्दा सबै क्षेत्रमा त्यही प्रवृत्तिले गाँजेको होइन रहेछ र कहीँ न कहीँ निष्पक्ष मूल्यांकन हुँदो रैछ भन्ने कुरा प्रमाणित भएको छ । मदन पुरस्कार गुठीले स्रष्टालाई होइन, सिर्जनालाई चिनेर पुरस्कार दिँदो रैछ भन्ने विश्वास जगायो । पुरस्कार पाउनका लागि प्रतिष्ठित लेखक नै चाहिँदो रहेनछ भन्ने विश्वास जगाएको छ ।
नयाँ कृति प्रकाशन गर्ने योजना छ ?
साहित्यको क्षेत्रमा क्रियाशील व्यक्ति भएकाले लेख्नु मेरो धर्म हो, तर नेपाली साहित्यका आमपाठकले दिएको माया, ‘ऐना’को मूल्यांकन, चर्चापरिचर्चा र मदन पुरस्कारको प्राप्तिले मप्रति पाठकको अपेक्षा बढेर गएको हुनसक्छ । त्यसैले पाठकका आकांक्षा र अपेक्षालाई पूरा गर्नका लागि म अझै संवेदनशील र सचेत भएर अर्काे कृतिको तयारीमा लाग्नेछु । मैले भोगिरहेको समाजका उघ्र्रिन बाँकी पाटाहरूलाई ल्याउने कोसिस गर्नेछु । केही समय म आख्यान लेखनलाई नै अगाडि बढाउने प्रयास गर्नेछु ।
‘ऐना’ प्रकाशनका क्रममा के–कस्ता कठिनाइ बेहोर्नुभयो ?
लेखनको अवधिमा केही महसुस भएन, प्रकाशनको अवधिमा भने केही झन्झट भोग्नुप¥यो । नाम नचलेका कारण सुरुमा पुस्तक प्रकाशनमा मैले ठूलो कठिनाइ भोगेँ । कयौँ दिन भौँतारिँदा पनि राम्रो प्रकाशक पाउन सकिनँ । अन्ततः आफैँ छाप्नुप¥यो । किताब बजारमा आएपछि पनि राष्ट्रिय मिडियाले चासो दिएनन् । जब यो मदन पुरस्कारको श्रेष्ठ सूचीमा प¥यो, त्यसपछि मिडियाले रामै्र कभरेज गरे ।
पठन संस्कृतिबारे तपाईंको धारणा के छ ?
 पछिल्लो समय पाठकहरू सचेत भएका छन् । पठन संस्कृति कल्पना गर्न नसकिने गरी बढेको छ । हजार, दुई हजार होइन, दशौँ हजार किताब छापिन लागेका छन् । पाठक बढ्नु भनेको लेखक लेखेरै बाँच्नु हो । अहिले नेपाली लेखक लेखेरै बाँच्ने अवस्था बन्दै गएको छ ।
नाम चलेका लेखकबाहेक अन्यको पुस्तक किनेर पढ्ने गरेको पाइँदैन, साहित्यिक कृति पठनीय बन्न नसक्नुको कारण के हो ?
अहिलेका पाठक लेखकभन्दा अब्बल दर्जाका छन् । पाठकको मनोविज्ञान लेखकले बुझ्न सकेन भने लेखेको कुनै अर्थ रहँदैन । लेखकले जस्तो लेख्यो त्यही कुरा पाठकले पढ्नुपर्छ भन्नेमा म सहमत छैन । पाठकले चाहेको कुरा लेखकले दिन सक्नुपर्छ । पाठकले चाहेको कुरा दिन सक्यो भने लेखकले पाठक होइन, पाठक लेखक खोज्दै आउँछन् । असली कुरा लेख्यो भने पठन संस्कृति बढ्छ । ‘ऐना’ प्रकाशनअघि रामलाल जोशीको नाम थाहा थिएन, तर आज संसारभरका पाठकबाट प्रतिक्रिया पाइरहेको छु ।
नेपाली साहित्य विश्वका अन्य मुलुकका साहित्यसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?
थुप्रै नेपाली साहित्यकारका कृति विश्व समुदायमा चर्चित छन् । ती कृति विश्व समुदायले पढिरहेका छन् । जस्तो कि, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ अंग्रेजीमा अनुवाद भएको छ । पारिजातको ‘शिरीषको फूल’, झमककुमारीको ‘जीवन काँडा कि फूल’ विश्वका थुप्रै भाषामा अनुवाद गरिएका छन् । यसले नेपाली साहित्य विश्व साहित्यसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको देखाउँछ । नेपाली साहित्यको स्तर विश्वका अन्य मुलुकको साहित्यको हाराहारीमै छ, तर यसमा थुप्रै सुधार आवश्यक छ । नेपाली साहित्यकारले साहित्यको स्तर बढाउन विश्व साहित्यको अध्ययन गर्न आवश्यक छ ।
अधिकांश नेपाली लेखकहरू माया–प्रेमकै विषयवस्तुमा रुमल्लिए भन्ने आरोप छ नि ?
आजका पाठक अब्बल छन् । उनीहरू लेखकले लेखेको कुरा पत्याइहाल्ने, रमाइहाल्ने खालका छैनन् । माया–प्रेम र आत्मविलाप मात्र होइन, पाठकले समाजका विविध पाटाहरूको चित्रण भएको किताब खोज्छन् । पाठकको मन छुने विषयवस्तु लेख्यो भने मात्रै लेखक जीवित रहन सक्छ ।
सुदूरपश्चिममा साहित्यिक गतिविधि बढाउन के गरिरहनुभएको छ ?
दुई दशकदेखि सुदूरपश्चिम साहित्य समाजमा क्रियाशील रहेँ । २०६६ सालदेखि अध्यक्षको कार्यभार सम्हालिरहेको छु । त्यसयता साहित्य गतिविधि बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस बीचमा हामीले ओझेलमा परेका स्रष्टालाई सम्मान, स्रष्टाका कृति प्रकाशन, सुदूरपश्चिमका नौ जिल्लामा शाखा विस्तार, ‘सुरभी’ साहित्यिक पत्रिका प्रकाशन, साहित्य समाजको भवन निर्माणलगायत काम गरेका छौँ । यसले सुदूरमा साहित्यको उजागर गर्नमा महŒवपूर्ण टेवा पु¥याएको भन्ने महसुस भएको छ ।
पछिल्लो समय ‘ऐना’ले मदन पुरस्कार पाउँदा यस क्षेत्रमा उत्साह थपिएको छ । पुरस्कार पाउनका लागि राजधानी बस्नुपर्ने र मिडियामा आउनुपर्ने भ्रम अन्त्य भएको छ । यस क्षेत्रमा आशालाग्दो युवाको लहर साहित्यमा क्रियाशील छ । अग्रजदेखि अनुज पुस्ताको साहित्यमा लहर देखिन्छ ।
शिक्षण र साहित्य लेखनलाई कसरी ‘मेन्टेन’ गरिरहनुभएको छ ?
शिक्षण र साहित्य एक–अर्काका परिपूरक हुन् । विद्यार्थीलाई पढाउनु भनेको शिक्षकले पढ्नु पनि हो । अरू पेशाको तुलनामा शिक्षणले लेखनलाई थप मजबुत बनाउँछ भन्ने मलाई लाग्छ ।

 

Leave A Comment