मदिराः कलेजोको शत्रु

आइतबार, १६ असोज २०७३, ११ : ३८ डिबी खड्का , Kathmandu
मदिराः कलेजोको शत्रु

मदिरा आधुनिक जीवनशैलीको अभिन्न हिस्साजस्तो भएको छ । तर, यसैका कारण कैयौँ जिन्दगी ध्वस्त भएका छन् । अत्यधिक मदिरा सेवनले कम उमेरमै कलेजोको समस्या निम्त्याएर अस्पताल धाउनेहरू बढिरहेका छन् । चिकित्सकहरू कलेजो जोगाउने एउटै उपाय सुझाउँछन्– पिउँदै नपिउने । डिबी खड्काले मदिरा केकति कारणले कलेजोको शत्रु हो भन्ने खुलाएका छन् ।
प्रसिद्ध गायकद्वय खेमराज गुरुङ र सुनिल बर्देवा हालसालै अल्पायुमा बिते । दुवैको मृत्युको कारण थियो, अत्यधिक मदिरा सेवनबाट आएको कलेजोको समस्या । मदिरा सेवनले कलेजो (लिभर) मा समस्या आएपछि उनीहरूलाई चिकित्सकले जोगाउन सकेनन् । चिकित्सकीय भाषामा दुवैको निधन ‘लिभर सिरोसिस’बाट भएको थियो ।
सबैले बुझ्ने भाषामा गायक गुरुङको ‘जन्डिस बिग्रेको’ र बर्देवाको ‘रगत वमन गरेर’ मृत्यु भएको भनियो । लक्षणका आधारमा दुवैको मृत्युको कारण ‘अल्कोहलिक लिभर सिरोसिस’ भएको चिकित्सकहरू बताउँछन् । ‘दुवैको मृत्युपछि उपचारमा संलग्न चिकित्सकले आफन्तलाई गराएको जानकारी र साथीहरूले बताएको खानपान शैलीअनुसार अल्कोहलिक लिभर सिरोसिस भएको हुनसक्ने देखिन्छ,’ वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेल भन्छन् ।
यी दुवै चर्चित कलाकार भएकाले सर्वसाधारणले मृत्युको कारण बुझ्दै जाँदा मदिराका कारण कलेजोको क्षति भएको थाहा पाए । चिकित्सकका लागि भने मदिराका कारण कलेजो बिग्रेर अल्पायुमै ज्यान गुमाउने यी नयाँ घटना होइनन् । कलेजो बिग्रिएर अस्पताल आइपुग्ने ५० प्रतिशतभन्दा बढीको कारण मदिराको अत्यधिक सेवन नै हुने चिकित्सकहरू बताउँछन् । डा. पौडेलका अनुसार केही वर्षअघिसम्म ५०–६० वर्षको उमेरका मदिरा सेवनकर्तामा देखिने यो समस्या अहिले कतिपयको ३५ मै र धेरैको ४० वर्षमा आउन थालेको छ । त्यसैले मदिराका कारण कलेजो बिग्रेर अस्पताल पुग्नेको चाप बढ्दै गएको छ ।
मदिरा कुलत अत्यधिक बढिरहेकाले पछिल्लो समय निम्तिएका नयाँ स्वास्थ्य समस्यामा कलेजोको रोग पनि रहेको चिकित्सकहरू बताउँछन् । ‘कुनै समय भाइरल हेपाटाइटिस (बी र सी) र अन्य कारणले कलेजो बिग्रिने समस्या धेरै थियो तर पछिल्लो समय मदिराका कारण कलेजोको क्षति बेहोरेकाहरू पहिलो नम्बरमा छन्,’ कलेजो रोग विशेषज्ञ डा. पौडेल भन्छन् ।
लिभर सिरोसिसको अवस्था
लिभर सिरोसिस रोगभन्दा पनि यस्तो अवस्था हो, जुन अवस्थामा पुगेपछि कलेजोले काम गर्न छोड्छ । त्यसपछिको विकल्प भनेको प्रत्यारोपण हो । यो सेवा नेपालमा उपलब्ध छैन । केही वर्षदेखि त्रिवि शिक्षण अस्पतालले प्रत्यारोपणको तयारी थाले पनि अहिलेसम्म सुरु हुने संकेत देखिएको छैन । जटिल उपचार प्रक्रिया भएकाले विश्वमा पनि कलेजोको प्रत्यारोपण महँगो उपचार सेवामा पर्छ ।
डा. पौडेलका अनुसार लिभर सिरोसिस भनेको कलेजोमा देखिने कडापन हो । उनी भन्छन्,  ‘विभिन्न कारणले कलेजोमा लाग्ने रोगले त्यसका तन्तु र कोषिकाहरू मर्दै जान्छन्  । कलेजो खुम्चिने र कडा हुने गर्छ ।’
कलेजोमा रहेका मरेका कोषिकालाई हटाउने हो भने कलेजो फेरि दुरुस्तै हुन सक्छ । तर, सही उपचार नपाउँदा वा त्यसपछि पनि मदिराको नियमित सेवनले बिग्रिने क्रम बढ्दै जान्छ र सिरोसिसको अवस्थामा पुग्ने गर्छ ।
चिकित्सकका अनुसार सुरुको अवस्थामा कलेजो सुन्निन्छ तर बिस्तारै कलेजो सुक्दै जान्छ र काम गर्न नसक्ने साना–साना गाँठाहरूले कलेजोको कोषिकाको ठाउँ लिन्छ । यसलाई लिभर सिरोसिस भनिन्छ ।
मुख्य कारण मदिरा
लिभरलाई सिरोसिसको अवस्थामा पु¥याउने अनेक कारण छन् । तीमध्ये नेपालमा भने मदिरा प्रमुख कारण भएको चिकित्सकहरू बताउँछन् । वीर अस्पतालमा पनि कलेजोको उपचारका लागि आउनेमध्ये अहिले धेरै मदिराको कुलतमा परेकाहरू रहेको डा. पौडेल बताउँछन् । ‘नेपालमा धेरैमा हुने लिभर सिरोसिसको प्रमुख कारण मदिरा सेवन नै हो,’ उनी भन्छन्, ‘नियमित रूपमा मदिरा सेवन गर्दा कलेजो सुन्निँदै जान्छ । किनभने, रक्सीको मात्रा बढेसँगै कलेजोमा बोसो जम्छ । बोसो जमेपछिको अवस्थामा जन्डिस देखापर्ने गर्छ । यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस’ भनिन्छ ।’
यस अवस्थाबाट बिरामी बाँचेमा र रक्सी सेवन अझै गरेमा लिभर सिरोसिस हुन्छ । एकै बिरामीमा यी तीनै अवस्था अथवा बोसो जम्ने, जन्डिस देखिने र सिरोसिस हुने हुन्छ । गायक गुरुङमा मदिराका कारण जन्डिस देखिएको थियो । उक्त जन्डिसको उपचारमा रहेको समयमा उनले मदिरा सेवन गरेपछि सिरोसिसको अवस्था आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । गायक गुरुङले पनि चिकित्सकले मदिरा सेवन रोक्न भने पनि आफूले नसकेको निधनअघि अस्पतालमा भेट्न पुगेका आफन्त र साथीभाइलाई बताएका थिए ।
त्यसै गरी, बर्देवाको कलेजो साँघुरिएर कडा हुँदा कलेजोको बाटो हुँदै जानुपर्ने रक्तनलीमा समस्या आएपछि रगत छादेको हुन सक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार कलेजो हुँदै जाने पित्तका नलीहरू र आर्टरीका नलीहरूलाई कलेजो खुम्चिँदा काममा बाधा पर्छ । त्यसपछि कलेजो हुँदै बग्ने रक्त र पित्तका नलीहरूले बाटो परिवर्तन गर्छन् । जसले गर्दा अन्य नलीमा चाप पर्न गई फुट्छन् र रगत वमन गर्ने समस्या आउने गर्छ ।
कलेजो बिग्रिने कारण
सिरोसिस कलेजो बिग्रिएको अन्तिम अवस्था हो । यो अवस्थामा धकेल्ने मुख्य कारण मदिरा हो । त्यसबाहेक अर्काे ठूलो कारण भाइरल हेपाटाइटिस रहेको विश्वका विभिन्न अनुसन्धानले जनाएका छन् । हेपाटाइटिसले लामो समयसम्म बिरामी बनाउने भएकाले अन्त्यमा लिभर सिरोसिससमेत गराउने बताइन्छ ।
सबै अवस्थामा कलेजो बिग्रिँदै गएको लक्षण नदेखिन सक्ने बताइन्छ । जसले गर्दा पनि कलेजोको समस्या आउनुलाई गम्भीर रूपमा हेरिन्छ । तर, सिरोसिस हुनुअघि हुने कलेजोमा बोसो जम्ने अर्थात् फ्याटी लिभरमा केही लक्षण देखिन्छन् । पेटको दायाँतर्फ केही माथि बिस्तारै तर निरन्तर दुखिरहने, पेट छाम्दा कलेजो सुन्निएको जस्तो लाग्ने, जहिल्यै थकाइ अनुभव हुने, वाकवाकी लाग्ने, भोक नलाग्ने, चिडचिडाहट, शरीरको रङ परिवर्तन लगायतका लक्षण देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।
कलेजोमा बोसो जमे पनि लक्षण भने नदेखिन सक्छन् । अवस्था गम्भीर भए मात्रै माथिका लक्षण देखिने चिकित्सकहरू बताउँछन् । कलेजोमा बोसो जम्ने समस्या देशको जनसंख्याको ७५ प्रतिशत वयस्कमा हुने आकलन गरिएको छ ।  यीमध्ये ५० प्रतिशतभन्दा बढीलाई मदिराका कारण कलेजोमा बोसो जम्ने समस्या हुने गरेको डा. पौडेल बताउँछन् । मदिराले शरीरका अन्य भागमा भएको बोसोलाई समेत कलेजोतर्फ आउन आकर्षित गर्ने भएकाले मद्यपान गर्ने करिब ९० प्रतिशत व्यक्तिमा फ्याटी लिभरको समस्या देखिने गरेको बताइन्छ ।
शारीरिक सक्रियतामा कमी, फास्टफुडलगायत बोसो र चिल्लोयुक्त खाद्यपदार्थको अत्यधिक सेवनले गर्दा मदिरा सेवन नगर्नेहरूमा ‘नन अल्कोहलिक फयाटी लिभर’ को समस्या देखिएको छ ।
‘सितन’ पनि समस्या
फ्याटी लिभरको मदिरा बाहेकका कारण मोटोपन, हाइपर लिपिडेमिया, मधुमेह भएको रगतमा बढी बोसो हुनु लगायतका कारण पनि छन् । यी समस्या अस्वास्थ्यकर खानपानले निम्त्याउने गर्छन् । धेरैले मदिराजन्य पदार्थसँग सितनका रूपमा अत्यधिक मासु सेवन गर्छन् । रातो मासु, बोसो भएका, चिल्लो खानेकुराको माध्यमले पनि कलेजोमा बोसो जम्ने अर्थात् फ्याटी लिभरको समस्या हुने डा. पौडेल बताउँछन् ।
यसै गरी, निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खानपान, एकै ठाउँमा बस्ने काम, हिँडडुल कम गर्नेलाई लिभरको समस्याले गाँज्दै लैजाने गरेको छ ।
कलेजो बिग्रिन नदिन
मदिराको सेवन नगर्नु कलेजो नबिगार्ने पहिलो उपायका रूपमा चिकित्सकहरू सुझाउँछन् । कलेजोमा बोसो जम्न थाल्यो भने गाई, भैँसी, चौँरी आदिको घ्यू सेवन नगर्ने, रातो मासु नखाने, अण्डाको पहेँलो भाग नखाने, चकलेट, तर, खुवाजस्ता बोसो र चिल्लोयुक्त खाद्यपदार्थ सेवन पनि छाड्नुपर्छ ।
नियमित व्यायाम गर्नु, मोटोपन घटाउनु र बेला–बेला रगतको जाँच गर्नु यसबाट जोगिने उपाय हुन् ।
कलेजोमा जम्दै गएको बोसो नियन्त्रण नगर्दा बिस्तारै यो अंग कडा (फाइब्रोसिस) हँुदै जान्छ । फाइब्रोसिस अवस्थामा पुगिसकेपछि कलेजो पुनः सामान्य अवस्थामा फर्किन नसके पनि उपचार र हेरचाह ग¥यो भने रोग बढ्नबाट रोकिने चिकित्सकहरू बताउँछन् ।
फाइब्रोसिसको अवस्थामा समेत रोगलाई रोक्ने प्रयास गरिएन भने सिरोसिस हुन्छ । सिरोसिस भइसकेपछि निको हुने सम्भावना भने कम हुन्छ ।  औषधि, खानपान, जीवनशैलीद्वारा कलेजोलाई झन् खराब हुनबाट भने जोगाउन सकिने चिकित्सकहरू बताउँछन् ।
मदिरा कति पिउने ?
मदिरा आधुनिक जीवनशैलीको एउटा हिस्साजस्तै भइसकेको छ । विकसित देशका र शिक्षितभन्दा शिक्षित व्यक्तिले पनि मदिरा पिउने भएकाले सर्वसाधारणमा अनेक भ्रम छन् । त्यसैले मदिराले हानि गर्ने भनिए पनि उनीहरू त्याग्न तयार हुँदैनन् । बरु सबैले खाने गरेको भन्दै आफैँलाई ‘कन्भिन्स्ड’ गर्ने गरेको चिकित्सकहरूको अनुभव छ । यसबारे जानकारी भएका चिकित्सकले पनि कहिलेकाहीँ मदिरापान गर्ने कुराले झन् उनीहरू मदिराको असरसँग डराउँदैनन् ।
मदिरा पिउँदै नपिउनु राम्रो भए पनि पिउनैपर्नेका लागि विश्वमा केही अनुसन्धान भएका छन् । कति पिउँदा हानि नगर्ने, कति समयको अन्तरालमा पिउँदा ठीक हुने जस्ता विषयमा भएका अनुसन्धानका आधारमा चिकित्सकले मदिरा पिउने मात्रा निर्धारण गरेका छन् र त्यहीअनुसार सल्लाह दिन्छन् ।
नियमित रूपमा अत्यधिक मदिरा सेवन गर्नेमा पाँचदेखि १० वर्षभित्र कलेजोको समस्या आउने चिकित्सकहरू बताउँछन् । अनुसन्धानका अनुसार पुरुषहरूले दिनमा ८० ग्राम अर्थात् लगभग आठ युनिटभन्दा बढी अल्कोहल लगातार पाँच वर्ष सेवन गर्दा कलेजोमा समस्या निम्तिने जोखिम उच्च हुन्छ । महिलामा भने यसको झण्डै आधा मदिरा सेवनले पनि समस्या निम्तिने बताइन्छ ।
त्यसो भए कति मदिरा सेवनले हानि गर्दैन त ? नियमित मदिरा सेवनका गर्नेका लागि ब्रिटेनमा भएको एक अनुसन्धानले हप्तामा २१ युनिट मदिरा सेवन गर्दा हानि नगर्ने जनाएको छ । जसअनुसार दिनमा तीन युनिटसम्म मदिरा सेवन हानिकारक मानिँदैन । तर, महिलाका हकमा भने १४ युनिटमात्रै सेवन गर्न भनिएको वीर अस्पतालका चिकित्सक डा. विधाननिधी पौडेल बताउँछन्  । उनी उदाहरण प्रस्तुत गर्छन्, ‘जस्तै ४ सय ४० एमएलको क्यान बियरमा ३ दशमलव ५ प्रतिशत मदिरा छ भने दुई युनिट हुन्छ । यसैगरी ७ सय ५० एमएलको ४० प्रतिशत मदिरा हुने कुनै भोड्का अथवा  ह्विस्कीमा २८ युनिटसम्म मदिरा हुन्छ । यसरी युनिटको हिसाब गरिन्छ ।’
प्रतिदिन तीन युनिटभन्दा बढी मदिरा पिउनेले केही दिन बिराएर मात्रै पिउनुपर्छ । डा. पौडेलका अनुसार अत्यधिक मदिरा सेवनले लिभरमा पु¥याएको हानि निको हुन समय लाग्ने भएकाले केही दिन बिराउन जरुरी छ । तीन युनिटभन्दा बढी मदिरा सेवन गर्नेले हप्तामा एकपल्ट मात्रै सेवन गर्नु उपयुक्त हुने उनको राय छ ।


महिलालाई किन चाँडै लाग्छ मदिरा ?
सामान्यतया पुरुषको तुलनामा महिलालाई मदिरा चाँडो लाग्ने गरेको पाइन्छ । यसको वैज्ञानिक कारण छ । उनीहरूको शरीर पुरुषको तुलनामा सानो र शरीरमा पानीको मात्रा कम हुने भएकाले मदिराले चाँडो असर गर्ने बताइन्छ । यसकारण पनि महिलालाई हप्तामा १४ युनिट अर्थात् दिनको दुई युनिट मात्रै मदिरा सेवन गर्दा उपयुक्त हुने अनुसन्धानले सुझाएको छ । डा. पौडेल भन्छन्, ‘पानीको मात्रा जति कम हुन्छ, मदिराले त्यति नै चाँडो असर गर्छ ।’
यसै गरी मदिराको असर चाँडो देखिने अर्काे वर्ग ‘ओ’ ब्लड ग्रुप भएकाहरू पनि हुन् । उनीहरूलाई पनि सामान्य व्यक्तिको तुलनामा चाँडो मदिराको असर देखिने अनुसन्धानहरूले जनाएका छन् ।
जोखिममा कलाकार
कलेजो बिग्रने समस्याको ठूलो जोखिममा नेपाली कला क्षेत्रमा रहेकाहरू छन् । एकातिर अनियमित खानपान हुन्छ भने अर्कातिर धेरैले नियमित मदिरा सेवन गर्ने गरेका छन् । संघर्षका समय बसेको मदिराको लत पछिसम्म छुट्न नसक्दा धेरजना ‘पियक्कड’का दर्जामा छन् । यो क्षेत्रमा रहेका अधिकांश मदिराप्रेमी भएकाले नयाँ आगन्तुक पनि सोही वातावरणमा घुलमिल हुन मदिरा सेवनको लतमा फस्ने गरेको देखिन्छ ।
यसै गरी मदिरा सेवन नगरी प्रस्तुतिका लागि स्टेज चढ्न नसक्ने समूह पनि छ । ‘कन्फिडेन्स’का लागि मदिरा सेवन गर्नेहरूको यो लतका रूपमा विकसित भएको देखिन्छ । धेरैभन्दा धेरै पब्लिक रिलेसन मेन्टन गर्नुपर्ने भएकाले पनि मदिरा सेवन अत्यधिक हुने गरेको भेटिन्छ । यसले गर्दा यो क्षेत्रमा रहेकाहरू कलेजो बिग्रिने समस्याको उच्च जोखिममा छन् ।
मदिराले गराएको ‘लिभर सिरोसिस’का कारण गायक खेमराज गुरुङ अल्पायुमै बिते । उनलाई साथीहरू भेट हुँदा, कार्यक्रममा जाँदा मदिरा पिउनैपर्ने लत थियो । यसरी कलेजो बिग्रिएपछि अस्पताल पुगेका उनलाई चिकित्सकले मदिरा नखान सुझाए पनि छाड्न सकेनन् र उपचारै नहुने अवस्थामा आइपुग्यो ।  त्यसपछि गायक, संगीतकार र एरेन्जर सुनिल बर्देवाको पनि मदिराको लत मृत्युको कारक बन्यो ।
त्यसअघि नारायण गोपाल, तीर्थ गन्धर्व, पाण्डव सुनुवार, कृष्णविक्रम थापालगायत कलाकार पनि मदिराकै कारण अल्पायुमै बितेको उनीहरूका समकालीनहरूले बताउँदै आएका छन् ।
चाडबाड र खानपान
चाडबाडमा रमाइलो गर्ने मुड सबैको हुन्छ । पहिले खेलकुद, नाचगान र मेलामा गएर रमाइलो गरिने भए पनि आजभोलि घरमै खानपान गर्नुलाई रमाइलोका रूपमा लिन थालिएको ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन् । ‘चाडबाडमा मीठो मसिनो खाने नाममा मदिरा, मासु र तेलमा फ्राई गरेको खानेकुरा धेरै खाने गरिन्छ,’ उनी भन्छन्, ‘त्यसैले चाडबाडमा रमाइलो गर्नुअघि त्यसरी खाएका खानाले स्वास्थ्यमा कस्तो असर पार्छ भनेर सावधानी अपनाउनुपर्छ ।’
मदिरा सेवन र धूम्रपान चाडबाडका बेला ज्यादा हुने गर्छ । कुनै पनि दृष्टिकोणबाट मदिरा र धूम्रपान उपयोगी होइनन् । डा. अनिल भन्छन्, ‘मदिरापानसँगै धूम्रपान गर्ने वातावरण पनि हुन्छ, जुन परिपाटीलाई जुनसुकै हालतमा नियन्त्रण गर्नुपर्छ ।’
त्यस्तै, अल्कोहलले पनि शरीरभर असर गर्छ । उनका अनुसार कलेजो, पेट, मस्तिष्कलगायत अंगमा ज्यादा असर हुन्छ । हृदयाघातको खतरा, रक्तचापको खतरा पनि उत्तिकै हुन्छ । उनी मदिरालाई साामाजिकीकरणमा प्रयोग गर्नुपर्छ भन्ने तर्कलाई नकार्नुपर्ने बताउँछन् ।
मदिरासँगै दशैँजस्ता चाडबाडमा खसीको मासु खाने प्रचलन छ । तर, त्यसबाट हुने नकारात्मक असर पनि विभिन्न उपायले घटाएर खान सकिने उनी बताउँछन् । भन्छन्, ‘खसीको छालामुनि पट्टिको भागमा ज्यादा फ्याट हुने भएकाले हटाउनु उपयुक्त हुन्छ । कुन अंग र भागको मासु हो, त्यसले पनि फ्याट निर्धारण गर्छ । तिघ्राको मासुमा फ्याट कम हुन्छ । ढाड र करङमा भने बढी हुन्छ । कलेजो र मिर्गौला, आन्द्रामा पनि फ्याट बढी हुन्छ । तसर्थ कुन भागमा फ्याट कम हुन्छ, त्यसतर्फ जोड दिन जरुरी हुन्छ ।’ कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासु कम खान उनी सुझाउँछन् ।
चाडबाडको बेलामा खानपान धेरै हुन्छ । तर, शारीरिक परिश्रम कम हुन्छ । त्यसैले यो बेला दोब्बर शारीरिक अभ्यास गर्न डा. अनिल सुझाउँछन् । भन्छन्, ‘अतिरिक्त खानपान हुने भएकाले अरू बेलामा भन्दा बढी दौडधूप हुनैपर्छ ।’

कलेजोले के  गर्छ ?
शरीरभित्र भएको दोस्रो ठूलो अंग कलेजो हो । कलेजो एकपल्ट बिग्रिए पनि थप क्षति हुन दिइएन भने वर्षौंसम्म काम गर्न सक्छ । हाम्रो दिनहँुको खानपान र रगतमा भएका हानिकारक तŒवलाई कलेजोले ‘प्रोसेस’ गर्छ । कलेजोले शरीरलाई ऊर्जा भण्डारण गर्न, खाना पचाउन, विषाक्त पदार्थ बाहिर निकाल्न सघाउँछ । करिब पाँच सयभन्दा बढी शारीरिक गतिविधिमा कलेजो संलग्न  हुन्छ ।  कलेजोले प्रोटिन, कार्बोहाइड्रेट र फ्याटलाई पचाउने काम समेत गर्छ ।

लिभर सिरोसिसका लक्षण
–खाना नरुच्ने, भोक नलाग्ने
–नाकबाट रगत बग्ने
–कमजोरी हुने
–शरीर चिलाउने
–शरीर पहेँलो हुने (जन्डिस)

अन्य समस्या
–पेटमा पानी जम्ने
–खुट्टा सुनिने
–पुरुषमा स्तन वृद्धि हुने (गाइनेकोमास्टिया )
–प्रजननसम्बन्धी समस्या
–मस्तिष्क अनियन्त्रित हुने
–कलेजो सुन्निने

कलेजो जोगाउने उपाय
–मदिरा सेवन नगर्ने
–धूम्रपान नगर्ने  
–सुरक्षित यौनसम्पर्क गर्ने (हेपाटाइटिस बी र हेपाटाइटिस सीबाट जोगिन)
–हेपाटाइटिस बीविरुद्धको भ्याक्सिन र खोप लगाउने
–सन्तुलित भोजन गर्ने
–दैनिक व्यायाम गर्ने

‘पिउँदै नपिउनु राम्रो !’

  डा. विधाननिधि पौडेल, कलेजो रोग विशेषज्ञ, वीर अस्पताल


कलेजोको समस्या लिएर आउने ५० प्रतिशतभन्दा बढी पुरुषको कारक मदिरा देखिएको छ । सिरोसिस कलेजो बिग्रिएको अन्तिम अवस्था हो । यो अवस्थामा धकेल्ने मुख्य कारण मदिरा हो ।
लिभर सिरोसिस रोगभन्दा पनि यस्तो अवस्था हो, जुन अवस्थामा पुगेपछि कलेजोले काम गर्न छोड्छ । त्यसपछिको विकल्प भनेको प्रत्यारोपण हो । यो सेवा नेपालमा उपलब्ध छैन । सबै अवस्थामा कलेजो बिगिँ्रदै गएको लक्षण नदेखिन सक्ने बताइन्छ । जसले गर्दा पनि कलेजोको समस्या आउनुलाई गम्भीर रूपमा हेरिन्छ ।
नियमित अत्यधिक मदिरा सेवन गर्नेहरूमा पाँचदेखि १० वर्षभित्र कलेजोको समस्या आउने गरेको पाइन्छ ।  अनुसन्धानहरूका अनुसार पुरुषहरूले दिनमा ८० ग्राम अर्थात् लगभग आठ युनिटभन्दा बढी अल्कोहल लगातार पाँच वर्ष सेवन गर्दा कलेजोमा समस्या निम्तिने जोखिम उच्च हुन्छ । महिलामा भने यसको झण्डै आधा मदिरा सेवनले पनि समस्या निम्त्याउने गर्छ ।
मदिरा पिउँदै नपिउनु राम्रो भए पनि पिउनैपर्नेका लागि विश्वमा केही अनुसन्धान भएका छन् । कति पिउँदा हानि नगर्ने, कति समयको अन्तरालमा पिउँदा ठीक हुने भन्ने जस्ता कुरालाई लिएर भएका अनुसन्धानका आधारमा मदिराको मात्रा निर्धारण गरिएको छ ।
नियमित मदिरा सेवनका गर्नेका लागि यूकेमा भएको एक अनुसन्धानले हप्तामा २१ युनिट मदिरा सेवन गर्दा हानि नगर्ने जनाएको छ । जसअनुसार दिनमा तीन युनिटसम्म मदिरा सेवन हानिकारक मानिँदैन । तर, महिलाका हकमा भने १४ युनिट मात्रै सेवन गर्न भनिएको छ । किनभने, उनीहरूको शरीर पुरुषको तुलनामा सानो र शरीरमा पानीको मात्रा कम हुन्छ ।
मदिरा सेवन नगर्नु कलेजो नबिगार्ने पहिलो उपाय हो । यसै गरी नियमित व्यायाम गर्दा, मोटोपन घटाउँदा र बेला–बेला रगतको जाँच गर्दा कलेजो जोगाउन सकिन्छ ।


चाडबाडको खानपान र असर
  डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ, ग्रान्डी इन्टरनेसनल अस्पताल

चाडबाडमा खानपानमा मग्न भइने हुँदा स्वास्थ्यबारे त्यति ध्यान पु¥याइँदैन । अस्वास्थ्यकर खाना, मदिरा र धूम्रपान, शारीरिक परिश्रमको अभाव, स्वास्थ्यप्रतिको हेलचेक्य्राइँलगायत समस्या चाडबाडका क्रममा देखिन सक्छन् । त्यसैले बेलैमा ध्यान दिन जरुरी छ । पर्याप्त ध्यान पुग्न सक्यो भने चाडबाडका कारण स्वास्थ्यमा समस्या हुँदैन ।
चाडबाडमा, त्यसमा पनि दशैँमा हामी अस्वास्थ्यकर खानेकुरा बढी खान्छौँ । चाडबाडमा यसै पनि आहार ज्यादा हुन्छ, त्यसमा पनि अस्वास्थ्यकर आहार त झनै बढी हुन्छ ।
तर, हामीलाई अस्वास्थ्यकर खाना खाएजस्तो लाग्दैन । गुलियो, चिल्लो र नुन बढी हुने खानेकुरा नै अस्वास्थ्यकर आहार हुन् । तिनमा फाइबर, भिटामिन र खनिजको कमी हुन्छ ।
अस्वास्थ्यकर आहारको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फाइदा गर्छ ।
मिठाईको मुख्य स्रोत मानिने दूध जनावरजन्य उत्पादन भएकाले यसमा स्याचुरेटेड फ्याट बढी हुन्छ । दूधले पनि मोटोपन र ब्याड कोलेस्टेरोल बढाउने भएकाले यो मासुझैँ स्याचुरेटेड फ्याट भएको खाद्यपदार्थ हो । वयस्क मानिसका लागि दूध खानु अनिवार्य हुँदैन, नखाँदा पनि फरक पर्दैन । दूधको तुलनामा दही राम्रो मानिन्छ । दूधबाट दही बन्ने क्रममा हुने रासायनिक परिवर्तनले दही स्वास्थ्यका लागि तुलनात्मक रूपमा राम्रो मानिन्छ ।
अन्य दृष्टिकोणबाट हेर्दा पनि मिठाई स्वास्थ्यका लागि उपयोगी मानिँदैन । मिठाईमा प्रयोग हुने दूधमा उच्च मात्रामा स्याचुरेटेड फ्याट हुन्छ ।
मदिरा सेवन र धूम्रपान पनि चाडबाडका बेला ज्यादा गरिन्छ । कुनै पनि दृष्टिकोणबाट मदिरा र धूम्रपान उपयोगी होइनन् । मदिरापानसँगै धूम्रपान गर्ने वातावरण पनि हुन्छ, जुन परिपाटीलाई जुनसुकै हालतमा नियन्त्रण गर्नुपर्छ । त्यस्तै, अल्कोहलले पनि शरीरभर असर गर्छ । कलेजो, पेट, मस्तिष्कलगायत अंगमा ज्यादा असर हुन्छ । हृदयाघातको खतरा, रक्तचापको खतरा पनि उत्तिकै हुन्छ । मदिरालाई साामाजिकीकरणमा प्रयोग गर्नुपर्छ भन्ने तर्क गरिन्छ । तर, यसको बढी प्रयोगले कुनै पनि फाइदा गर्दैन । हल्का पेयपदार्थले पनि फाइदा नगर्ने भएकाले यसको उपयोग कम गर्नुपर्छ ।
चाडबाडको बेलामा शारीरिक परिश्रम कम हुन्छ । तर, चाडबाडको बेलामा दोब्बर मेहनत वा परिश्रम गर्नुपर्छ । अतिरिक्त खानपान हुने भएकाले अरू बेलामा भन्दा बढी दौडधूप हुनैपर्छ । शहरी क्षेत्रका बासिन्दाले कम्तीमा दुई घण्टा मर्निङवाक गर्नुपर्छ । अतिरिक्त खाइने भएकाले त्यसलाई पचाउन आवश्यक पर्ने शारीरिक परिश्रम पनि हुनुपर्छ ।

 

 

Leave A Comment