रूपरङको उपचार

बुधबार, १९ असोज २०७३, ०१ : ०३ अम्मर जिसी , Kathmandu
रूपरङको उपचार

मान्छे सुन्दरताको भोको हुन्छ । शारीरिक रूपमा सुन्दर देखिन चाहन्छ । सुन्दर बन्न चाहने उसको आकांक्षामा दाग, चायापोतो, अनावश्यक रौँ, कोठी, खत आदिले पानी खनाइदिन सक्छन् । सुन्दरतामा भाँजो हाल्ने विकारका कारण थुप्रै मान्छे दुःखी छन् ।    कतिपय चाहिँ ‘दुईचार दिनमै अनुहार चम्किलो बनाइदिने’ हावादारी विज्ञापन र तथाकथित सौन्दर्य विशेषज्ञका पछाडि लागेर र बट्टाका बट्टा क्रिम दलेर झन्–झन् बिरूप भइरहेका छन् ।
सौन्दर्यसम्बन्धी यस्ता थुप्रै समस्या समाधान हुन सक्छन् । अम्मर जिसीले आशाको किरण देखाइरहेका केही चिकित्सकसँग भेटेर यो सामग्री तयार गरेका छन् ।
काठमाडौँको उच्चवर्गीय परिवारकी सविता (नाम परिवर्तन) ले अनुहार र शरीरका विभिन्न भागमा आउने सेतो दागका कारण जीवनमा भोगेको दुःखलाई लिपिबद्ध गर्ने हो एउटा किताब नै तयार हुन सक्छ । समाजशास्त्रमा एमए गरेकी सविताका हजुरबुबा नाम चलेका वैद्य थिए । घरका सबै सदस्यले उच्च शिक्षा हासिल गरेका छन् । तर, उनको शरीरमा आएको सेतो दागले पारिवारिक प्रतिष्ठामा कालो पोतिने भन्दै उनलाई घरमा छिःछिः र दूरदूर गर्न थालियो । बाल्यकालमा सँगै खेल्ने दाइहरू उनीबाट टाढिन थाले । दाइहरूको बच्चा जन्मेपछि त उनलाई झनै परपर गर्न थालियो । बच्चालाई छोयो भने सेतो दाग सर्ने भन्दै उनलाई बच्चाको वरिपरि जानसमेत बन्देज लगाइयो । उनका अनुसार सात वर्षको उमेरमा देखापरेको यो समस्या १७ वर्षको हुँदासम्म बीचमा हरायो र त्यसपछि अनुहार र शरीर पूरै ढाक्नेगरी आयो । सेतो दागका कारण पारिवारिक र सामाजिक अपहेलना खेपेकी सविताको यसै कारण बिहे पनि भएन । अहिले उनी ४१ वर्षकी भइन् । सात वर्षदेखि नै विभिन्न उपचार गराउँदै आएकी उनले १७ वर्षसम्म एकैजना चिकित्सकले ‘प्रेस्काइब’ गरेको औषधि सेवन गरिन् । तर, उनको समस्या बीसको उन्नाइस भएन ।
धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णलाई पहिलोपटक भेट्दा उनी आफ्नो समस्या सविस्तार बताउन सक्ने अवस्थामा पनि थिइनन् । डा. कर्णका अनुसार विभिन्न उपचार गराएर थाकेकी उनी परिवार तथा सामाजिक अपहेलनाका कारण निकै दुःखी देखिन्थिन् । सेतो दुभी रोग नभएको र नियमित डेढ वर्ष उपचार गर्दा ९० प्रतिशत समस्या समाधान हुने डा. कर्णले बताएपछि आफू खुशीले रोएको उनले बताइन् । ‘डाक्टरले मलाई पहिलो भेटमा नै ‘आज रुनुभएको छ, डेढ वर्षपछि तपाईंलाई हँसाएर पठाउँछु’ भन्नुभएको थियो । आज म हाँस्ने अवस्थामा आइपुगेकी छु,’ उनले भनिन्, ‘मेरो अनुहार तथा शरीरका अन्य भागको छालामा स्वाभाविक रङ देखापरेको छ ।’
०००
खोकना, ललितपुरका रामकृष्ण डंगोलले पनि डा. कर्णसँगै सेतो दुभीको उपचार गराइरहेका छन् । ३६ वर्षीय डंगोलको सेतो दुभी आएको १६ वर्ष भयो । बिहे गर्दा छातीमा मात्रै सेतो दाग थियो । पछि अनुहार, गोडा तथा शरीरको अन्य भागमा पनि देखाप¥यो । शरीरका विभिन्न भागमा सेतो दुभी देखिएपछि उनकी श्रीमती तर्सिएकी थिइन् । इष्टमित्र र साथीभाइले ‘के भएको यस्तो ?’ सोधिरहने र बाहिर हिँड्दा सबैले आफूलाई नै हेरिरहेको जस्तो लाग्न थालेपछि उपचारका लागि डा. कर्णकोमा आइपुगेको डंगोलले बताए । ‘उपचार सुरु गरेको तीन महिनामा नै निकै सुधार भएको छ,’ उनले भने ।  
०००
धादिङका ३२ वर्षीय सरकारदीप श्रेष्ठ सिभिल इन्जिनियर हुन् । उनलाई सेतो दुभी देखिएको पाँच वर्ष भयो । दुभी आउनुअघि निकै ‘ह्यान्डसम’ थिए । यसले आफ्नो रूप नै बिगारेको श्रेष्ठ बताउँछन् । ‘काममा जाँदा सबैले सहानुभूति देखाउँदै ‘ला यस्तो भएछ’ भन्ने, बाटोमा हिँड्दा पनि सबैले मलाई नै हेरिरहेको जस्तो लाग्ने, ‘अड फिलिङ’ हुने । यसले गर्दा आत्मविश्वास घट्न थालेपछि उपचारका लागि डा. कर्णकोमा आएको हुँ,’ उनले भने, ‘उपचार थालेको एक वर्षमा निकै सुधार भएको छ । यहाँ आउनुअघि धेरै चिकित्सकसँग उपचार गराएर औषधि सेवन गर्दा खासै फाइदा भएन ।’
०००
भारत बिहार छत्तीसगढका नन्दन झा आठ वर्षीया भाञ्जीको उपचारका लागि काठमाडौँमा डेरा गरेर बसिरहेका छन् । अनुहार र पूरै शरीरभरि सेतो दुभी आएकी रियालाई हैदराबाद, बैंगलुरुका ठूला अस्पतालमा लग्दा पनि डाक्टरले ‘के भएको हो’ भनेर स्पष्ट जबाफ नदिएपछि उनी लालगढमा रहेको कुष्ठरोग अस्पताल हुँदै धुलिखेल आइपुगेका हुन् । डा. कर्णले उपचार सुरु गरेपछि रियाको अनुहारको रङ पुरानै अवस्थामा फर्किसकेको छ । यो समस्या कायमै रहेको अवस्थामा भविष्यमा विवाह गर्न नसकिने भन्दै रियाका अभिभावकले उनलाई नेपालमै राखेर उपचार गराइरहेका छन् ।

दुभी रोग होइन
सेतो दुभीलाई ठूलो रोग भन्ने अन्धविश्वास छ । वास्तवमा यो कुनै रोग होइन । यसले शरीरलाई हानि–नोक्सानी पनि पु¥याउँदैन । हेर्दा नराम्रो देखिनेबाहेक योसँग डराउनु र तर्सिनुपर्ने कुनै कारण छैन । धुलिखेल अस्पताल छाला तथा यौन रोग विभागमा कार्यरत डा. शेखर केसीका अनुसार चिकित्सकीय भाषामा यसलाई ‘ल्युकोडर्मा’ वा ‘भिटिलिगो’ भनिन्छ । बोलचालको भाषामा सेतो दाग, श्वेतकुष्ठ, दुभी, पाण्डुरोग, फुलबहरी भन्ने गरिन्छ । ‘यो एक व्यक्तिबाट अर्कोमा सर्दैन,’ डा. केसीले भने ।
चिकित्सकका अनुसार हाम्रो शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमता गडबड हुँदा त्यसले छालामा रङ दिने तŒव मेलानोसाइट्सलाई नष्ट गरिदिन्छ । जसका कारण छालाको स्वाभाविक रङ परिवर्तन भई सेतो हुन थाल्छ ।
धुलिखेल अस्पतालले फोटोथेरापी पद्धतिबाट उपचार गर्न थालेपछि यसको उपचार सहज भएको छ । औषधि सेवन गर्ने, क्रिम लगाएर घाममा बस्नेजस्ता उपचार पद्धतिको विकल्पमा आएको ‘न्यारो ब्यान्ड  फोटोथेरापी’ उपचार पद्धति निकै प्रभावकारी रहेको डा. कर्ण बताउँछन् । ‘विशेष प्रकारको मेसिनभित्र ट्युबलाइटको माध्यमबाट सेकेर गरिने यो उपचार विधिले सेतो दुभी ९० प्रतिशतसम्म ठीक हुन्छ,’ डा. कर्णले भने । उनले मेलेनोसाइट्स प्रत्यारोपण गरेर पनि सेतो दुभीको उपचार गर्ने गरेका छन् । उनको नेतृत्वमा धुलिखेल अस्पतालले दुभीको उपचारमा मारेको छलाङ निकै अनुकरणीय छ । डा. कर्णका अनुसार दुभीको उपचार गराउनका लागि धुलिखेल अस्पतालमा छिमेकी देश भारतबाट समेत मानिस आउने गरेका छन् ।
अनावश्यक रौँ सफाचट
२०६८ साल चैतमा धुलिखेल अस्पतालमा दोलखा खारे–४ की देवी बुढाथोकी र उनका छोरीहरू मजुरा, मन्दिरा तथा छोरा निरोजको अनुहारभरि उम्रिएका रौँ हटाइएका थिए । यो उपचार पनि डा. कर्णकै नेतृत्वमा सम्पन्न भएको थियो । उनीहरूलाई कन्जेनाइटल हाइपरट्रइकोसिस ल्यानुजिनोसा भन्ने रोगका कारण शरीरभरि रौँ उम्रिएको पत्ता लागेपछि अस्पतालले लेजर प्रविधिबाट रौँ हटाएको थियो । अहिले उनीहरूको समस्या ९० प्रतिशत ठीक भइसकेको छ । ‘हरेक दुई महिनामा एकपटक लेजर गरेका थियौँ । छ पटक गर्दा उनीहरूको रौँ गयो,’ डा. कर्णले भने, ‘लेजरले अनुहार तथा शरीरका विभिन्न भागमा पलाएका अनावश्यक रौँ हटाउँदा स्थायी समाधान हुन्छ । बेला–बेलामा सामान्य टचअप गर्ने हो भने लेजर गरेर रिमुभ गरेका रौँ फेरि पलाउँदैन ।’
डा. कर्णकोमा अहिले अनुहार तथा गोडामा अनावश्क रौँ भएका महिलाहरू (जो थ्रेडिङ र वाक्सिङ गर्दा–गर्दा हैरान भएका छन्)  लेजर प्रविधिबाट रौँ हटाउन आउने गरेका छन् । लेजरबाट रौँ हटाउँदा दीर्घकालीन हुने र खासै महँगो पनि नपर्ने भएकाले महिलाहरू यसतर्फ आकर्षित भएको डा. स्मृति श्रेष्ठले बताइन् ।
हेयर रिमुभका लागि महिलामात्र होइन, पुरुष पनि अस्पताल धाउने गरेका छन् । चाउरीपनाको उपचारका लागि आएकी एक महिला श्रीमान्को काँध, छाती र पेटमा भएको रौँ रिमुभ गर्न डा. कर्णसँग परामर्श गर्दै थिइन् । टाउकाको कपाल झरेर तालु भइसकेका ती पुरुष टाउकोमा कपाल उर्मान चाहन्थे भने काँध, छाती र पेटको रौँ हटाउन चाहन्थे ।
चायापोतोको पीडा
गत बिहीवार धुलिखेल अस्पताल, छाला तथा यौन रोग विभागको ओपीडीमा विभागका प्रमुख डा. कर्ण, विभागमा कार्यरत डा. स्मृति श्रेष्ठ तथा डा. केसीकोमा उपचारका लागि आएका बिरामीहरूको कुरा सुन्दा छाला तथा सौन्दर्यसँग सम्बन्धित अधिकांश केस ‘यसो गरे होला कि ?’, ‘उसो गरे होला कि ?’ भनी प्रयोग गर्दागर्दै अनुहार बिगारेर आउने धेरै थिए । ‘चायापोतो आयो यी क्रिम लगाएँ, निको भएन’ भन्दै चिकित्सकको अगाडि क्रिमका बट्टा थुपारेर गुनासो गर्नेहरू धेरै देखिन्थे । तिनैमध्ये एक थिइन्, पत्रकार बाला अधिकारी । अनुहारको चायापोतो हटाउन काठमाडौँको नाम चलेको ब्युटिपार्लरमा फेसियल गराएपछि अनुहार छपक्कै ढाकिने गरी चायापोतो आएको उनले बताइन् । उपचारका लागि कस्तो ठाउँमा जानुपर्छ भन्ने थाहा पाएका नै विभिन्न हल्लाको पछाडि लागेर अनुहार कुरूप बनाएर आफूहरूकोमा आइपुग्ने डा. श्रेष्ठले बताइन् । काठमाडौँका नाम चलेका अस्पतालका चिकित्सकले लेखिदिएको औषधि प्रयोग गर्दा पनि निको नभएको, एक हप्तामै चायापोतो चट हुने भन्दै प्रचार गरिएका चाइनिज तथा कोरियन क्रिम लगाएर अनुहारको छाला बिगारेर धुलिखेल अस्पताल आइपुगेका धेरै भेटिए ।
चायापोतोका कारण धेरै महिला तनावमा हुने गरे पनि यो पूर्ण रूपमा निको हुने रोग होइन । ‘यो रोगको मुख्य कारण घाम भएकाले घामबाट जोगिन सक्दामात्रै यसबाट छुट्कारा पाउन सकिन्छ,’ डा. कर्णले भने ।
सजिलै पुरिन्छ खत
अनुहार तथा शरीरको अन्य भागमा धारिलो हतियारले काटेर बनेका खत हुन् या युवास्थामा आएको डन्डीफोरका कारण गालामा बसेका खत, तिनलाई सजिलै पुर्न सकिने भएको छ । आगोले पोलेर बनेका खतको पनि उपचार हुने गरेको छ । डा. कर्णका अनुसार खतको प्रकृतिअनुसार शल्यक्रिया (स्कार एक्सिजन) गर्ने कि फ्रयाक्सनल लेजर गर्ने भनेर टुंगोमा पुग्नुपर्ने हुन्छ । स्कार एक्सिजन गर्न नमिल्ने खतलाई लेजरको माध्यमबाट पुर्न सकिन्छ ।
कसरी हट्छ चाउरीपना ?
अमेरिकामा बसोबास गर्दै आएका रोशन बेला–बेला नेपाल पनि आउने गर्छन् । नेपाल आएपछि उनको पहिलो गन्तव्य हुन्छ, धुलिखेल अस्पताल । जहाँ उनी आफ्नो अनुहारमा आएको चाउरीपनाको उपचार गराउँछन् । हरेक पटक अस्पताल आउँदा चकलेट बोकेर आउने उनी आफ्नो अनुहारमा आएको परिवर्तन देखेर छक्क पर्छन् । उमेरले ६२ वर्ष काटिसकेका उनी झ्वाट्ट हेर्दा ४०÷४५ वर्षका जस्ता देखिन्छन् । धुलिखेल अस्पतालमा भेटिएका रोशनले अमेरिकामा व्यक्तिको ‘स्मार्टनेस’ हेरेर व्यवहार र तलब निर्धारण गरिने भएकाले आफूलाई फुर्तिलो र जवान देखाउन यस्ता उपचार पद्धतिमा लाग्नुपर्ने बाध्यता रहेको बताए । ‘नेपालमा भएको भए ६२ वर्षको मानिसले चाउरीपना हटाउने उपचार लिएको भन्दै खिसी गरेर उडाउने गर्थे होलान् तर उताका लागि यस्तो उपचार अनिवार्यजस्तै हुन्छ,’ उनले भने । यस्तो उपचार अमेरिकामा महँगो पर्ने भएकाले उनी नेपाल आउँदा हरेक पटक चाउरीपनाको उपचार गराउँछन् ।
चाउरीपना हुनुका विभिन्न कारण हुन्छन् । एजिङ फ्याक्टरका कारण हुने चाउरीपना तथा छालाको स्याहारसम्भारमा ध्यान नदिएर हुने चाउरीपनाको छुट्टाछुट्टै उपचार गर्नुपर्ने हुन्छ । चाउरीपना हटाउन दुई थरी उपचार विधि अपनाउने गरिन्छ । बोटक्स इन्जेक्सन र लेजरको माध्यमबाट चाउरीपना हटाउन सकिन्छ । बोटक्स महँगो हुने र दीर्घकालीन पनि नहुने भएकाले लेजर गरेर चाउरीपना हटाउने  गरिएको छ । बोटक्स इन्जेक्सन लगाउँदा चाउरी परेको प्वाइन्टमा नपरेर अन्यत्र प¥यो भने आँखाको ढकनी नखुल्ने गरी बन्द हुने समस्या आइलाग्न सक्छ । कसैको अनुहारमा बोल्दामात्र चाउरीपना देखिन्छ भने त्यो ‘डाइनामिक’ चाउरीपना हो । जतिबेला पनि देखिने चाउरीपनालाई ‘स्टाटिक’ चाउरीपना भनिन्छ । ‘डिप’ चाउरीपना छ भने बढीमा तीन पटक लेजर गर्दा चाउरी हराएर जान्छ ।
कोठीलाई के गर्ने ?
गोरो अनुहार भएको मानिसको अनुहारमा ठूला आकारका काला कोठी दुईचारवटा भए भने त्यो मानिसको स्वरूप नै अर्कै देखिन्छ । मानिसमा हुने कोठी दुई किसिमका हुन्छन् । एउटा जन्मजात र अर्को पछि आएका । कोठी जुनसुकै भए पनि यसलाई लेजरमार्फत हटाउन सकिन्छ । लेजर गर्नुअघि एक हप्तादेखि १० दिनसम्म मलम लगाएर लेजर गर्नुपर्ने हुन्छ । यसरी कोठी निकाल्दा एकदेखि दुई महिनासम्म खत बस्न सक्छ र पछि बिस्तारै खत पुरिँदै जान्छ ।
स्लिम बनाउँछ मेसिनले  
भ्यात्त शरीर भएका मोटा मानिसलाई स्लिम बनाउन सहयोग पु¥याउने मेसिन पनि नेपालमा उपलब्ध छ । यस्ता मेसिन सौन्दर्य विशेषज्ञले प्रयोगमा ल्याउन थालेका छन् । यस्तो मेसिनले तौल घटाउने, छाला टाइट पार्ने, मोटो भएपछि शरीरका विभिन्न भाग विशेषगरी हिपमा देखिन खाल्डो पुर्ने, चाउरी हटाउने काममा स्लिम बनाउने मेसिन उपयोगी हुने डा. कर्ण बताउँछन् । यो मेसिनको सहायताले तिघ्रा, पाखुरा, पेट र हिपको मोटोपन हटाउन सकिन्छ । यसका लागि अल्ट्रा सोनिक लेजर गर्नुपर्ने हुन्छ । जम्मा भएको बोसोलाई वेभ र हिटले पगाल्ने काम हो यो । बोसो पगालिसकेपछि तुरुन्त एक्सरसाइज गरेर त्यसलाई पसिनाबाट बाहिर निकाल्दा र प्रशस्त पानी पिएर पिसाबमार्फत बाहिर निकाल्न सक्दामात्र यो मेसिनले काम गर्छ । अन्यथा, बोसो पगाल्दैमा मोटो मानिस स्लिम हुँदैन ।
के हो लेजर पद्धति ?
लेजर पद्धति भनेको प्रकाशको माध्यमद्वारा उपचार गरिने पद्धति हो । विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडियसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ । विशेष गरेर छालासम्बन्धी रोग तथा आँखाको उपचारमा लेजरको बढी प्रयोग हुन्छ । लेजरको वेभलेन्थअनुसार यसको प्रभाव छुटिन्छ । यसको वेभ लेन्थलाई न्यानोमिटरमा नापिन्छ । लेजरले अनुहारमा भएका कोठी, अनावश्यक रौँ, खत, ट्याटु, मुसा, जन्मजात रहेका रातो तथा नीलो कोठी निकाल्न सकिन्छ ।
‘विज्ञापनको पछि लाग्दा कुरूप भइएला’
  डा. धर्मेन्द्र कर्ण
 छाला रोग तथा सौन्दर्य   विशेषज्ञ, धुलिखेल अस्पताल
 उपचारका क्रममा विभिन्न केस भेटिन्छन् । ग्रामीण भेगबाट आउने बिरामी छालासम्बन्धी भिन्न खालका समस्या लिएर आउँछन् भने शहरबाट आउनेहरू ‘अनुहारको सौन्दर्य बिग्रियो, कसरी राम्रो बनाउन सकिन्छ ?’ भन्दै आउँछन् ।
छालाको बाथ, कत्ले रोग (सोरियासिस), जीउभरि फोका आउने रोग (पेम्फिगस), डन्डीफोर, सुक्खा छाला, एलर्जीका बिरामी पनि धेरै नै आउने गरेका छन् । नेपालमा अन्यत्र उपलब्ध नहुने स्किन एलर्जी टेस्ट धुलिखेलमा हुन्छ । मेलानोसाइट्स प्रत्यारोपाण गरेर सेतो दुभीको उपचार गर्ने प्रविधि पनि धुलिखेल अस्पतालबाटै सुरु भएको हो । कपाल झर्ने, अकस्मात् दाह्री तथा कपाल खुइलिने समस्याको पनि भरपर्दो उपचार सेवा धुलिखेल अस्पतालमा उपलब्ध छ ।  
जो कोही पनि आफ्नो सौन्दर्य लामो समयसम्म टिकिरहोस् भन्ने नै चाहन्छन् । कोही पनि नराम्रो अनुहार लिएर हिँड्न चाहँदैनन् । सुन्दर बन्ने धुनमा धेरैले आफ्नो अनुहारको छालामा जथाभावी क्रिम तथा औषधि दलेर बिगारिरहेका हुन्छन् । विशेष गरेर अनुहारमा आउने विभिन्न खालका दाग तथा धब्बा यति दिनभित्र सफाचट भएर जान्छ भन्ने विज्ञापनको पछि लागेर अनुहार कुरूप बनाउनेहरू उपचारका क्रममा धेरै भेटिन्छन् । सामान्य ब्युटिपार्लरदेखि लेजर मेसिन राम्रोसँग अपरेट गर्न नजान्नेसम्मकाले सौन्दर्य विशेषज्ञको ट्याग भिरेर धेरैको अनुहार कुरूप बनाइदिएका छन् ।
कुनै पेशा तथा व्यवसायको फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने व्यक्तिको अनुहारमा चायापोतो आयो, अनुहारमा चाउरी प¥यो, ठूला–ठूला कोठी आयो भने उसले काम नै गुमाउनुपर्ने परिस्थिति आउन सक्छ । हामीकहाँ उपचारका लागि आउने कतिपयले अनुहारमा आएको दाग, पेटमा देखिएको स्ट्रेचमार्क, कपाल झरेको कारणले व्यावसायिक जीवनमा विभिन्न कठिनाइ भोग्नुपरेको गुनासो गर्छन् । मार्केटिङमा हिँड्नुपर्ने युवा ‘कपाल झरेर तालु हुन लागियो, काममा समस्या हुन्छ’ भन्दै उपचारका लागि आउने गरेका छन् । आफ्नो रूप र सौन्दर्यलाई मेन्टेन गरिराख्न अहिले विभिन्न उपचार सेवा उपलब्ध भएकाले यसको उपयोग गर्न सक्दा आफूलाई सुन्दर र स्मार्ट राख्न सकिन्छ ।
कलाकार, व्यापारी, एक्सपोजर हुनुपर्ने पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति अहिले विभिन्न खाले सौन्दर्य बढाउने उपचारका लागि आउने गरेका छन् । सबैजना अनुहारको छाला चाउरी परेको, दाग आएको, कपाल झरेको, मोटापन बढेकोजस्ता समस्या लिएर अस्पताल आउने गरेका छन् ।
(कुराकानीमा आधारित)

Leave A Comment