लिंग फेर्ने लालसा

आइतबार, ०५ असार २०७३, ०६ : १८ शुक्रवार , Kathmandu
लिंग फेर्ने लालसा

पुरुषका रूपमा जन्मेको कोही आफूलाई मनैदेखि महिला ठान्छ भने उसलाई के भन्ने ? उसले खोजेको लैंगिक पहिचान उसले पाउने कि नपाउने ? त्यसअनुसार जीवनयापन गर्ने स्वतन्त्रता पाउने कि नपाउने ? नेपाली समाजमा यस विषय र लैंगिक अल्पसंख्यकका मामिलामा त्यति धेरै बहस चलेको छैन । तेस्रोलिंगीका हकअधिकारबारे धेरथोर कुरा भने उठ्न थालेका छन् ।
नेपालमा ‘सेक्स चेन्ज सर्जरी’ गरेका व्यक्तिहरू भेटिन थालेका छन् । सँगै, लिंग फेर्ने लालसा भएका तेस्रोलिंगी थुप्रै छन् ।

सलक्क परेको लामो कपाल, पुष्ट छाती, हँसिलो चेहरा, हल्का गाजल पोतिएका आँखावरपर झिमझिम गर्ने परेला, मिलेको जीउडाल ! साँच्चीकै सुन्दर युवती लाग्छिन् उनी । अपरेसन सफल भएपछि उनको मुहारको उज्यालो झन् तेज भएको छ । अब उनलाई कसैले ‘तँ महिला होइनस्’ भन्न सक्दैन ।
दुई वर्षअघि बैंककबाट ‘सेक्स चेन्ज अपरेसन’ गरेकी बुटवलकी करुणा मगर घरजमको योजना बुन्दै छिन् । एक फाइनान्समा कार्यरत उनले १२ लाख रुपैयाँ खर्चेर लिंग फेरेकी हुन् । ‘मेरो भावना बुझ्ने मान्छे भेटिसकेकी छु,’ उनले खुशी व्यक्त गरिन्, ‘उहाँलाई मेरो वास्तविकता सबै थाहा छ । परिवारलाई मनाउन सक्छु भन्नुभएको छ ।’
१५ वर्षको उमेरसम्म उनी अशोक थिइन् । त्यसपछि उनमा देखिएको फरक स्वभावले उनलाई करुणा बनायो । उनकै शब्दमा ‘अपूर्ण’ करुणा ! उनलाई अपूर्ण अनुभव गराउने एउटै चिज थियो, पुरुष यौनांग । तीन लाख रुपैयाँ खर्चेर स्तनको साइज उकास्दा पनि उनी सन्तुष्ट हुन सकेकी थिइनन् । ‘बल्ल पूर्ण करुणा भएको फिल गर्दै छु,’ अपरेसनपछि लिंग हटाएर योनी प्राप्त गरेकी उनले भनिन्, ‘नयाँ जन्म लिएकी छु । खुशीको सीमा छैन ।’
०००
यतिबेला दिलकुमारीको दिल खुशीले भरिपूर्ण छ । आफूले चाहेको लैंगिक प्रकृति अपनाएर बाँच्न पाउँदा उनी खुसी नहुने कुरै रहेन । ‘पहिला भेट्दा मेरो अनुहार यति हँसिलो थियो र ?’ करिब अढाई वर्षअघि शुक्रवारकर्मीसँगको भेट सम्झाउँदै उनले भनिन्, ‘अहिले यो संसारमा म जति खुशी कोही छैन जस्तो लाग्दै छ ।’ उतिबेला ‘दिनमा कुमार, रातमा कुमारी’ बन्ने उनको दिनचर्या अहिले फेरिएको छ । अपरेसनपछि आफू सदाका लागि महिला बनेको बताउँछिन्, उनी ।
अपरेसनअघिका उनका दिन कम्ती दुःखपूर्ण थिएनन् । तन पुरुषको थियो, मन भने महिलाको । यौनांगकै कारण उनको मनमा वितृष्णाको ज्वाला दन्किरहन्थ्यो । आफ्नो यौनांगतिर हेर्दै आँशु झार्न मात्र सक्थिन् । बाहिर घरपरिवार र समाजले धिक्काथ्र्यो । भित्र मनले नकाथ्र्यो । कता जाऊँ ? के गरौँ ? दोधारमा थियो, उनको जीवन । ‘अब ती दिन बिर्सन खोज्दै छु,’ माथिसम्म देखिएका अपरेसनका टाटा देखाउँदै दिलकुमारी भन्छिन्, ‘अरूले जेसुकै भने पनि कम्तीमा यसले आत्मसन्तुष्टि त पाएकी छु । लिंग फेर्ने सपना पूरा हुँदा खुशी नहुने फरक लिंगी को होला ?’
अपरेसन गर्नेहरू बढ्दै छन्
यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको पक्षमा कार्यरत संस्था नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङका अनुसार लिंग फेर्ने अपरेसन गर्नेहरूको संख्या बढ्दो छ । ‘संख्या यति नै भन्ने छैन । धेरैजना तेस्रोलिंगी महिला–पुरुषले सेक्स अग्र्यान चेन्ज अपरेसन गरेका छन्,’ उनले भनिन्, ‘तीमध्ये केही मात्र खुल्ने गरेका छन् ।’
पहिला तेस्रोलिंगीकै रूपमा अभियानमा लागेकाहरू अपरेसनपछि आफूलाई तेस्रोलिंगी नस्विकार्नेहरू पनि छन् । आफू महिला वा पुरुषभन्दा फरक रहेको भन्ने कसैलाई जानकारी नै नदिएर आफूले चाहेको अंग परिवर्तनको अपरेसन गर्नेहरू पनि छन् । यसमा धेरैजसो उच्च घरानाका सदस्यहरू छन् । अध्यक्ष गुरुङका अनुसार धेरैजसो तेस्रोलिंगीको सपना नै हुन्छ, लिंग परिवर्तन । तर, आर्थिकलगायत कारणले सबैमा त्यो पहुँच रहँदैन । अनौपचारिक तथ्यांकअनुसार अहिलेसम्म नेपालका एक सय जतिले थाइल्यान्ड, भारतलगायत देशबाट लिंग परिवर्तनको अपरेसन गरिसकेका छन् ।
अधिकारकर्मी भूमिका श्रेष्ठ लिंग परिवर्तनमा धेरैको पहुँच पुग्नु सुखद बताउँछिन् । भन्छिन्, ‘आफूले चाहेको लिंग अपनाएर बाँच्न सजिलो हुन्छ भने जसले पनि अपरेसन गर्न पाउँछ । तर, लहडमा गर्ने हो भने त्यसले उल्टै हानि गर्ने पक्का छ ।’ यसलाई व्यवस्थित गर्नतर्फ बेलैमा सोच्नुपर्ने उनको भनाइ छ ।
प्रशासनको मनपरी
पहुँच हुनेहरू चाहेका बेला चाहेको अपरेसन गरेर चाहेको लिंग उल्लेख भएको नागरिकता लिइरहेकै छन् । तेस्रोलिंगी उल्लेख गर्न नचाहनेहरू पुरुष वा महिलाको नागरिकता लिन्छन् । गृह मन्त्रालयका अनुसार कलाकार सन्तोष पन्तकी छोरी केटलिन बाहेकले महिला उल्लेख भएको दोस्रो नागरिकता लिएका छैनन् । जानकारहरूका अनुसार अन्यले केटा साथीलाई श्रीमान् देखाएर नागरिकता लिने गरेका छन् । प्रक्रिया मिलाउन नसक्नेहरू रनभुल्लमा परिरहेकै छन् ।
केटलिनको केसमा गृहले निर्देशिका नै छुट्टै जारी गरेर महिलाको नागरिकता दिलायो । करिब तीन वर्षअघि बैंककबाटै लिंग परिवर्तनको अपरेसन गरेकी केटलिन अतीत कोट्याउन भने चाहन्नन् । ‘म अतीत कोट्याउनुभन्दा नयाँ जीवनमा बाँच्न चाहन्छु,’ उनले भनिन्, ‘यसबारे मलाई केही बोल्नुछैन ।’
उनकै केसलाई नजिर मानेर अब अरूले पनि लिंग परिवर्तनको अपरेसन सफल भएको मेडिकल प्रमाण पेश गरे चाहेको लैंगिक पहिचानसहितको नागरिकता प्राप्त हुने कानुनी जानकारहरू बताउँछन् । लिंग परिवर्तन र नागरिकता वितरणबारे स्पष्ट नीति आवश्यक रहेको उनीहरूको भनाइ छ । ‘गैरकानुनी भन्ने हो भने त स्तनलगायत कस्मेटिक सर्जरीलाई पनि कानुनले चिन्दैन,’ अधिवक्ता सुजन पन्त भन्छन्, ‘नेपालमा पनि यो अपरेसनलाई वैधानिकता दिनुपर्ने बेला भइसक्यो । यो विषयलाई चानचुने ठानियो भने गम्भीर समस्या आउन सक्छ ।’ लिंग परिवर्तनपछि अर्को नागरिकता पाउने कुरालाई पनि व्यवस्थित गर्नुपर्छ भन्छन् उनी ।
महान्यायाधिवक्ता हरि फुँयाल पनि यसबारे स्पष्ट व्यवस्था हुन आवश्यक ठान्छन् । ‘नयाँ संविधानले लैंगिक पहिचान सम्बन्धमा धेरै कुरा उल्लेख ग¥यो,’ उनी भन्छन्, ‘तर, त्यो सम्बन्धी कानुन बनेर यो समुदायका पक्षमा सहज व्यवस्था अझै भइसकेको छैन ।’
गत वर्ष लिंग परिवर्तन गरेकी सिन्धुपाल्चोककी सम्झना महिलाको नागरिकता लिन गृह मन्त्रालय धाइरहेकी छिन् । उनलाई त्यहाँका अधिकारीहरूले विभिन्न कारण देखाउँदै झुलाइरहेका छन् । ‘पहुँच हुनेले मन्त्रालयबाट सीधै निर्देशिका जारी गराएर नागरिकता लिन सक्छन्,’ उनको दुखेसो छ, ‘तर, हामीलाई भने गलत नजरले मात्र हेरेर मजाककोे पात्र बनाउँछन् ।’
गृह मन्त्रालयका अधिकारीहरू यसबारे हलुका रुपमा प्रस्तुत हुन्छन् । ‘यस्ता माइनर विषयलाई जनरलाइज नगरौँ,’ मन्त्रालयका सह–सचिव विनोद केसी भन्छन्, ‘नागरिकता सबैले पाइरहेकै छन् । नपाएकाहरूले कानुनी लडाइँ लडेर भए पनि लिन सक्ने आँट गर्नुप¥यो । तर, यहाँ समस्या लिएर कोही आएकै छैनन् । हामीले जिल्लातिरबाटै मेडिकल रिपोर्ट हेरेर चाहेको नागरिकता दिइरहेकै छौँ ।’ जानकारहरूका अनुसार नागरिकता वितरणको कुरालाई यसरी केही व्यवस्थाविना हल्का रूपमा लिए भविष्यमा आरक्षणलगायत सवालमा गम्भीर समस्या आउन सक्नेतर्फ सचेत हुनुपर्छ ।
०००
लिंग परिवर्तन गर्नेहरूमा धेरैजसो पुरुषबाट महिला बन्न चाहनेहरू छन् । महिलाबाट पुरुष बन्न चाहने केहीले मात्र अपरेसन गरिहाले पनि खुल्न भने चाहँदैनन् । चिकित्सकका अनुसार महिलाको योनीलाई लिंगले प्रतिस्थापन गर्ने अपरेसन जटिल पनि छ । यसको तुलनामा पुरुषलाई महिला बनाउने अपरेसन सहज र सस्तो छ ।
प्लास्टिक सर्जन डा. जयनमान श्रेष्ठका अनुसार लिंगको मासु तथा अण्डकोषको अण्डा हटाएर त्यहाँको छाला र नशालाई व्यवस्थापन गरेर योनीको आकार दिइन्छ । पुरुष लिंग चाहने महिलाका लागि भने छुट्टै मासुबाट लिंग बनाएर इम्प्लान्ट गरिन्छ । त्यो लिंगले चाहेजस्तो काम नगर्न सक्छ । ‘यो अपरेसन हामी नेपालमै गर्न सक्षम छौँ,’ उनी भन्छन्, ‘यसबारे बुझेर प्रक्रिया पनि सुरु गरिसकेका छौँ ।’

लिंग फेर्ने लालसा
तेस्रोलिंगी धेरैमा लिंग परिवर्तनको लालसा रहन्छ । विभिन्न कारणले उनीहरू त्यो गर्न समर्थ भइरहेका हुँदैनन् ।
पोखराकी विन्दिया गौतम आफ्नो आर्थिक अवस्थाले साथ नदिँदा वर्षौंदेखिको सपना अधुरै रहेको बताउँछिन् । ‘धेरै पहिलेदेखि सुन्दै, देख्दै आएकी हुँ,’ उनले भनिन्, ‘सपना देखेर मात्र नहुने । यहाँ भइदिएको भए सजिलै गरेर सन्तोषसाथ बाँच्न पाइन्थ्यो ।’ उनले हर्मोन प्रयोग गरेर स्तन बढाएकी छिन् ।
ट्रान्सजेन्डर मोडल मेघना लामाले लिंग परिवर्तनको योजना बनाइसकिन् । ‘म पनि चाँडै गर्दै छु,’ उनले भनिन्, ‘त्यसबाट महिला वा पुरुष नै बन्ने भन्दा पनि आत्मसन्तोषको कुरा ठान्छु म ।’ आफ्नो पहिचान तेस्रोलिंगी नै भएकाले यही समुदायको हकअधिकारका लागि लडिरहने उनको भनाइ छ ।  
अर्की मोडल अञ्जली लामाको पनि लिंग परिवर्तनको सपना छ । ‘लिंग परिवर्तन गरी सामान्य जीवन बाँच्न पाए हुन्थ्यो भन्ने चाहना सबै तेस्रोलिंगीमा हुन्छ । ममा पनि छ,’ लामाले भनिन्, ‘सोचेजस्तो सजिलो चाहिँ छैन । मलाई पारिवारिक सपोर्ट छैन ।’ नुवाकोट घर भएकी अञ्जली नीलहिरा समाजमा काम गर्छिन् । उनका अनुसार विदेशमा लिंग परिवर्तनलाई सामान्य मानिन्छ ।

लिंग परिवर्तन गर्नेका अनुभव

‘आत्मसम्मानसाथ बाँच्न पाएँ’
चञ्चला सुब्बा (२७), झापा
म १२ वर्षकी हुँदा मैले आफू महिला वा पुरुषभन्दा फरक मान्छे हुँ भन्ने फिल गरेकी हुँ । परिवार, स्कुल, समाज सबैले सकुन्जेल हेला गरे । मेरो पीडा कसैले बुझ्ने प्रयाससम्म गरेनन् । धेरै संघर्ष गरेर बीएडसम्म पढेँ । आफ्नो अधिकारका बारेमा केही बोल्न सक्ने भएँ । सामान्य काम गरेर जीवन धान्दै गएँ पनि ।
१८ वर्षको उमेरपछि दिदीभिनाजुको सपोर्ट पाएँ । स्तन बढाउनेबारे पहिला पनि सुनेकी–देखेकी थिएँ । नेपालमै पनि यो सेवा पाइन्छ भन्ने थाहा थियो । तर, थाइल्यान्डमा राम्रो हुने साथीहरूबाट थाहा पाएर उता लागेँ । पैत्रुनम पोलिक्लिनिकमा सबै कुरा बुझेँ । स्तन र योनी दुवैको अपरेसन चाहन्थेँ । तर, गम्भीर अपरेसन भएकाले एकैपटक नगर्न चिकित्सकको सल्लाहअनुसार सुरुमा छ लाख रुपैयाँजति खर्चेर स्तनको मात्र अपरेसन गरेँ ।
छातीको घाउ पुरिइसकेपछि योनीको पनि अपरेसन भयो । नयाँ जुनी पाएँ । आत्मसम्मान साथ बाँच्न पाउने बल्ल भइयो भन्ने लागेर दुखाइ, पीडा, आर्थिक बोझ सबै बिर्सें । आठ घण्टाको अपरेसनपछि होस खुल्यो । १० दिनपछि डिस्चार्ज भएँ । लिंगको मासु र अण्डकोष झिकिँदो रहेछ । नसा चाहिँ कुनै पनि खेर जान नदिएर त्यसलाई त्यतै वरिपरिको छालामा संयोजन गरेर भेजिनाको आकार दिइँदो रहेछ । जे होस्, पूर्ण रूपमा महिला भएको फिल हुँदो रहेछ । मसँगै मेरी साथीको पनि लिंग परिवर्तन सर्जरी सफल भयो । त्यो पोलिक्लिनिकमा संसारभरबाट महिला, पुरुष, तेस्रोलिंगी सबै यस्तो सर्जरी गर्न आउँदा रहेछन् । लाइन लाग्नुपर्दो रहेछ । नेपालबाट पनि थुप्रै जाँदा रहेछन् । मजस्ता केही मात्र खुल्छन् । धेरैजसो त लुकेरै बस्छन् । सर्जरीबारे थाहा दिँदैनन् । कोही त आफू एलजीबीटीआईभित्र पर्छुसम्म नभनेर सर्जरी गरेर आफूले चाहेको लिंग आत्मसात् गरेर जिउन सक्दा रहेछन् ।
मेरो अपरेसन गरेको छ महिना भइसक्यो । स्वास्थ्य अवस्था एकदम सामान्य छ । कुनै समस्या छैन । अहिले परिवार, समाज पनि सकारात्मक पाएकी छु । आफूलाई भाग्यमानी ठान्दै छु । लिंग परिवर्तनको एउटा सपना पूरा भयो । समयले साथ दियो भने बिहे गर्ने योजना छ । ‘अन्य’को नागरिकता लिने प्रक्रियामा छु । म मनको चाहनाअनुसार महिला बने पनि मेरो पहिचान तेस्रोलिंगी नै हो । तेस्रोलिंगीकै रूपमा बाँच्न चाहन्छु । यही समुदायको हितमा लड्नु छ ।


‘पूर्ण महिला भएँ’
पल्पसा (२५), काठमाडौँ
म १८ वर्षसम्म छोराकै रूपमा थिएँ । तन मात्र छोरा ! मनमा त छोरी नै थिएँ । तर, यो महिला मनलाई आफैँभित्र जबर्जस्ती दबाएर राखेँ । आमाबुबा बितेपछि राजधानी आएँ । मन मिल्ने साथीहरू भेटेँ । मन खोलेर बाँच्न सिक्दै गएँ । अहिले म माइतीको सम्पर्कमै छैन । दाजुभाउजू विदेशतिर हुनुहुन्छ । ‘झल्ला भएर खै कता हिँड्यो’ भन्ने ठान्नुभएको छ ।
केही भाग्यमानी यस्ता पनि हुँदा रहेछन्, जसको जीवनमा कोही व्यक्ति भगवान बनेर आइदिन्छ । म त्यही भाग्यमानी हुँ, जो अहिले उही भगवानको जीवनसाथी भएर बाँच्न पाएकी छु । उहाँबाटै थाहा पाएँ, मनले चाहेको लिंग अपनाएर पनि बाँच्न सकिँदो रहेछ । उहाँकै तन, मन र धनले थाइल्यान्डबाट अपरेसन सम्भव र सफल भयो । मेरो स्तन र योनीबाहेक सबै जन्मजात हो । दुई पटकमा २० लाख रुपैयाँजति खर्च गरेर स्तन र योनीको अपरेसन भयो । मलाई कसैले तेस्रोलिंगी वा फरक लिंगी भनेर शंकासम्म गरेको छैन । नगरोस् पनि । श्रीमान्बाहेक कसैलाई योबारे थाहा छैन । विगतमा जे भयो बिर्सिसकेँ । म अहिले पूर्ण महिला हुँ । श्रीमान्को नामबाट नागरिकता लिन खोज्दै छु ।
मलाई सबै खाले सन्तुष्टि छ । तर, एउटा मात्र असन्तोष सधँै रहने भयो । आमा बन्न नसक्ने । ठूलो जोखिम लिएर यहाँसम्म पुगेँ । अब धेरै जोखिम लिन सक्ने अवस्था रहेन । पाठेघर ‘एडप्ट’ गर्न पाइन्छ भन्ने सुने पनि त्योबारे चासो छैन । यसमै खुशी छौँ । बच्चा आफैँले नजन्माएर पनि सन्तानको अभिभावक बन्न सकिन्छ भन्ने थाहै छ । कोही अनाथ बच्चालाई पालेर जीवनमा अर्को खुशी ‘फिल’ गर्ने सपना देखेकी छु ।
(पल्पसा परिवर्तित नाम हो ।)  


‘राज्यले नागरिकै ठान्दैन’  
सम्झना (२९), सिन्धुपाल्चोक
मलाई छोराका रूपमा मात्र जबर्जस्ती स्विकार्न खोज्ने परिवार, गाउँसमाजबाट अपहेलित हुँदै राजधानी पसेँ । यहाँ मन मिल्ने केटी साथी भेटेँ । उनकै साथ र सहयोगले यहाँसम्म पुग्न सजिलो भयो ।
मसँग छोरीमा हुनुपर्ने सब चिज थियो । मात्र योनी र स्तन थिएनन् । साथीसँग मिलेर गरेको व्यवसायबाट भएको आम्दानीले थाइल्यान्ड गएर चार लाख रुपैयाँ खर्चेर स्तनमा सिलिकन राख्ने अपरेसन गरेँ । केही खुशी प्राप्त भयो । कुरा काट्नेले काट्दै गए । बरु घरपरिवार मप्रति सकारात्मक हुँदै गयो । पछि साढे नौ लाखजति रुपैयाँ खर्च लाग्ने सेक्स चेन्ज सर्जरी गरेँ ।
नयाँ जुनी पाएँ । १० घण्टा जतिमा अपरेसन सकियो । अहिले सामान्य जीवन जिउँदै छु । मसँगै सेक्स चेन्ज अपरेसन गरेकी साथीसँग मिलेर क्याबिन रेस्टुरेन्ट चलाएकी छु । पुरानै साथीसँग मिलेर होटल पनि खोलेकी छु । खुशी छु । तर, समाजमा ससम्मान खुलेर बाँच्न पाउने अधिकार खोसिएको फिल हुँदा दुःख लाग्छ । धेरैले मलाई मन पराउँछन् । कतिले त केटीकै रूपमा बुझ्छन् । खुशी लाग्छ । तर, म ढाँटेर कसैसँग सम्बन्ध राख्दिनँ । आफ्नो वास्तविकता खुलाइरहेकै छु । कैयौँ साथीहरूले पहिला ढाँटेर पछि खुल्दै जाँदा विवाद गर्ने गरेको सुन्दा दुःख लाग्छ ।
लिंग परिवर्तनको सर्जरी नेपालमै गर्ने व्यवस्था भइदिए कति सजिलो हुन्थ्यो ? हुन त यो राज्य हामीलाई आफ्नो नागरिकै ठान्दैन । हामीले चाहेको पहिचानसहितको नागरिकता पाउनुपर्छ । म महिलाको नागरिकता चाहन्छु । अहिले गृह मन्त्रालयले मसँगै एकजना पुरुष नामबाट नागरिकता चाहने साथीको फाइल अड्काएर राखेको छ । पहुँच हुनेले जे पनि गर्न पाउने । हामी सामान्य मान्छेलाई भने लछार्नेपछार्ने सरकार र यसका निकाय देखेर रिस उठ्छ । पहुँचवालाहरूले सरकारबाटै निर्णय गराएर आफूले चाहेको लैंगिक पहिचानको नागरिकता लिइरहेकै छन् । म महिला बनेर बाँच्न किन नपाउने ? मलाई महिला होइन कसले भन्न सक्छ ? सरकारलाई मेरो चुनौती छ । आफू र आफूजस्ता पीडितका लागि लडेरै छाड्ने योजना छ । सरकारले यसका लागि छुट्टै र सजिलो व्यवस्था ल्याउनैपर्छ ।
परिवारले राम्रै साथ दिइरहेको छ । तर, राजनीतिक र प्रशासनिक क्षेत्रबाट असहयोग छ । युद्धकालमा भूमिगत समेत भएकी मैले राजनीतिका लागि पनि केही नगरेकी त होइन । तर, आफूलाई पर्दा कसैले नहेर्दो रहेछ । दुःखमा परेपछि चिनिँदो रहेछ, मान्छे ।
(सम्झना परिवर्तित नाम हो ।)
 
‘लिंग परिवर्तन शल्यक्रिया नेपालमै सम्भव छ’
डा. जयनमान श्रेष्ठ, प्लास्टिक सर्जन
आफ्नो जन्मजात यौनांग चित्त नबुझेर त्यसलाई हटाई आफूले चाहेजस्तो यौनांग राख्न चाहनेहरू धेरै छन् । महिलाले पुरुषको र पुरुषले महिलाको । जसका लागि पुरुषको लिंग र महिलाको योनी परिवर्तन गर्ने गर्छन् । यसलाई लिंग परिवर्तन शल्यक्रिया भनिन्छ ।
शल्यक्रियाबाट आफूलाई मन परेको यौनांग राख्न सकिन्छ । यसबाट प्रजनन नभए पनि आत्मसन्तुष्टि भने मिल्छ । लिंग परिवर्तन गर्ने शल्यक्रिया अन्य शल्यक्रियाको तुलनामा कठिन छ । नेपालमा लिंग परिवर्तनको शल्यक्रिया नै भनेर अहिलेसम्म भएको छैन । ठ्याक्कै त्यो नभए पनि त्योसँग सम्बन्धित शल्यक्रिया स्तन बढाउने वा हटाउने, रौँ खुर्कने वा उमार्ने, आँखा, नाक, गाला मिलाउनेलगायत भइरहेका छन् ।
नेपालमै लिंग परिवर्तन शल्यक्रिया नसकिने होइन । यसका लागि हामीले प्रक्रिया पनि सुरु गरिरसकेका छौँ । सम्बन्धित पक्षको राय बुझिरहेका छौँ । नेपालमै यो सम्भव छ । बाहिरको तुलनामा सस्तो हुन्छ । प्यासेन्टलाई सजिलो पनि हुन्छ ।

Leave A Comment