मिठास र दृष्टिका गीतकार

बिहिबार, २० असोज २०७३, ०२ : ४७ शुक्रवार , Kathmandu
मिठास र दृष्टिका गीतकार

भूपालको गीत ‘यो तिम्रै माटो हो तिमीले टेकेको, यो तिम्रै आकाश हो तिमीले ओढेको’ लाई खम्बुवान मुक्ति मोर्चाले पूर्वमा २०५० सालतिर राष्ट्रिय गीत नै बनायो । स्कुल–स्कुलमा ‘श्रीमान् गम्भीर नेपाली’ लाई झिकियो र सट्टामा गाउन थालियो नयाँ राष्ट्रिय गीत ।

–केशव सिलवाल
म गीतको त्यस्तो पारखी होइन । सोखिन पनि परिनँ । सामान्य स्रोता हुँ, जो गीत सुन्छ, रमाइलो मान्छ र एकछिनमा भुलिदिन्छ । तर, केही गीत खास हुन्छन्, जो कानको परिधि छेडेर भित्र, धेरै भित्र पुग्छन् र हृदय झङ्कृत बनाउँछन् । कवि तथा गीतकार भूपाल राईका गीतमा त्यो सामथ्र्य हुन्छ । त्यसैले उनी मेरा प्रिय गीतकार हुन् ।
नेपाली समाजमा गीतको चर्चा तीजको वरिपरि मात्र हुने गरेको छ । गीत–सङ्गीत समीक्षकले नेपाली गीतलाई तीजमा लगेर लगनगाँठो जोडिदिएका छन् । हुन पनि त्यतिबेला तथाकथित लोकगायकले ल्याउँछन् भिजुअलसहित अनेक थरी गीत । मानिसहरू सुन्नभन्दा आँखा च्यातेर गीतको रसास्वादन गर्छन् । अनि, सुरु हुन्छ बहस छापातिर– ‘कता जाँदैछ नेपाली गीतसङ्गीत ?’ गीत, सङ्गीत र कलालाई बजारले खर्लप्पै निलेको कुरा पनि गरिन्छ । र, पोखिन्छ आक्रोश– ‘पुँजीवादले गर्नु ग¥यो !’ सिलसिलेवार बहस, ‘कन्टेन्ट’मा केन्द्रित अर्थपूर्ण विमर्श केही पनि हुँदैनन् । न गीत–सङ्गीतको स्तरको कुरा हुन्छ, न त भूपाल राईको नाम आउँछ ।
धेरैपल्ट सुनेँ मैले– ‘सुनको भाउ छ सुन्तला भारीको ।’ एउटा सिंगो नेपाल र त्यसको सुस्केरा र आशाले भिजेका एक–एक शब्दले मलाई प्रहार गरेका छन् ।  मेरी सानी छोरी कलिलो कम्मर मर्काएर यस गीतमा खूबै नाची । कुन्ति मोक्तानको नाम पाखाभित्ता हुँदै देशविदेश पुग्यो । उनले चर्चाको सगरमाथा चढिन् । तर, एउटा सामान्य स्रोतालाई के मतलब होस् यो गीत कसले लेखेको हो ? धेरै पछि थाहा भयो मलाई, यसका सर्जक रहेछन् भूपाल राई । उनै भूपाल राई त्यतिबेलाको अवस्था सम्झँदै भन्छन्– ‘यही गीत गाएर कुन्ति मोक्तान देशविदेश घुमिन्, तर गीतकारलाई कसैले सोधेन ।’ भूपालले धनकुटाको खोकु र छिन्ताङ गाउँबाट ढाकरका ढाकर सुन्तला बोकेर अरुणको गडतिरै गडतिर हिँडेर धरान ल्याई बेच्ने भरियाको विषय उनेका हुन् गीतमा ।
उनलाई मैले एउटा सचेत र राम्रो कविका रूपमा पढ्दै आएको हुँ । उनी सशक्त गीतकार पनि हुन् । सशक्त किनभने उनको गीतले केही चिज यसरी पक्रिएको हुन्छ, जसकारण उनी अन्य गीतकारभन्दा एकदमै भिन्न लाग्छन् ।

बजारमा हल्ला छ– भूपाल राईलाई जबर्जस्ती पछाडि पारिएको छ । हल्ला त यस्तो पनि छ– केही उन्मादी मान्छेहरू उनलाई निचा देखाउने उद्योग चलाइरहका छन् । तर, भूपाल राई आफ्नै सिर्जनाको बलमा अडिएको छ, टिकेको छ । एउटा असल स्रष्टा कहिल्यै पछाडि धकेलिन सक्दैन । ऊ आफ्नो रचनाको तागतले पर्दा च्यातेर रङ्गमञ्चमा उत्रिन्छ । भूपाल स्वयम् भन्छन्–‘म छापाको तिकडम जान्दिनँ । छापाकै कुरा गर्दा म हराएको देखिन्छु । तर, मेरो आफ्नो सामाजिक र साहित्यिक सक्रियता कायम छ ।’ हुन पनि भूपालको कविता र गीतले उनलाई बिर्सन दिँदैनन् । हराए भनिएका भूपाल बारम्बार सामुन्ने झुल्किरहन्छन् र सिर्जनात्मक हस्तक्षेप गरिरहन्छन् ।
०००
स्कुले जीवनदेखि नै कविता लेख्ने भूपाल २०३४ सालदेखि कविता प्रकाशित गर्दै साहित्यिक क्षेत्रमा कम्मर कसेर उत्रिएका हुन् । ४० को दशकको प्रारम्भमा सिक्किमका साहित्यकार गुमानसिंह चाम्लिङको श्याम ब्रदर्श प्रकाशनमा कविता छाप्न पाण्डुलिपि लिएर हिँडेका उनका दाजु त्यतै गायब भए । उनको प्रथम पाण्डुलिपि पनि त्यतै कतै गुम भयो । त्यसको लामो समयपछि मात्र उनले २०५३ सालमा ‘सुम्निमाको तस्बिर’ कवितासङ्ग्रह प्रकाशनमा ल्याउन सके । त्यसपछि ‘दाजै ! कविता गाउँमै छ’, ‘सीमान्त सौन्दर्य’ सहित उनका आधा दर्जन कृति प्रकाशित छन् ।
सञ्चार र यातायातबाट विमुख भोजपुरको सुदूर गाउँ बस्तीमा जन्मिएका भूपालले कुनै साहित्यिक संगत गर्न पाएका होइनन् । न त अग्रजको आशीर्वाद पाए न त साहित्यिक गुटमा सामेल भए । उनका दाइ गोपाल छाङ्छा कलेज पढ्दा कहिलेकाहीँ साहित्यिक कृति ल्याउँथे । त्यही बेला हो भूपालले लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट पढ्न पाएको । उनका दाजु नाटक लेख्ने र खेल्ने गर्थे । दाइकै प्रेरणाले उनी साहित्य अनुरागी हुन सके । एसएलसी दिएर २०३४ सालमा काठमाडौँ आएपछि दाजुले सम्पादन गरेको साहित्यिक पत्रिका ‘छहरा’मा कविता छपाउन थाले । २०४६ सालपछि सो पत्रिका साप्ताहिक भयो र भूपालले एक दशकसम्म जातीय उत्पीडनविरुद्ध निरन्तर स्तम्भ लेखे । ४० को दशकमा जातीय उत्पीडनविरुद्ध र पहिचानका पक्षमा कलम चलाउने उनी एक्लो योद्धा थिए ।

कविमनभित्र कतै न कतै गीति तŒव लुकेको हुनु अनौठो कुरा भएन । २०३० सालतिर युवाकालमा साथीभाइ गिटार बजाउँदै रातभर गीत गाएर होहल्ला गरिरहन्थे । कम्ती रमाइलो बेला थिएन त्यो । त्यतिबेलै हो भूपालको गीतसँग गहिरो प्रेम बसेको । उनी हान्निएर पुगे रेडियो नेपाल र २०३९ सालमा स्वरपरीक्षा पास गरे । अनि पक्का भयो उनी गायक बन्ने । उनले एक दशकभरि गीत गाए । ‘पूर्वै जाने रेल’ त्यतिबेला रात्रीबसदेखि घर–घरमा बज्थ्यो ।
गीत गाएर मात्र चित्त बुझेन उनलाई । भनेजस्तो स्तरीय गीत पाउने भए पो ? गीत गाउँदै गर्दा उनले गीत लेख्न थाले । अहिलेसम्म उनले पाँच सयभन्दा बढी गीत लेखिसकेका छन् । साढे दुई सय गीत नेपालका गिनेचुनेका गायकको स्वरमा रेकर्डिङ भइसकेको छ ।
‘पहिलो हरफ शिरबन्दी’ गीतसङ्ग्रह २०५९ सालमा प्रकाशित भयो । उनी दोस्रो गीत सङ्ग्रहको तयारीमा छन् । गीत समाजभन्दा अलग मानिसको हृदयमा मात्र झङ्कृत हुने लय होइन । गीतमा सामाजिक, आर्थिक र सांस्कृतिक तŒव अन्तर्घुलित भएको हुन्छ । यो कुरालाई भूपालले जहिले पनि केन्द्रमा राखेर गीत लेखे ।
अहिले भूपाल राईको नाम दृष्टिसम्पन्न गीतकारको रूपमा चर्चाको शिखरमा छ । उनी मिठास र दृष्टिका गीतकार हुन् । भर्खरै दुबई र हङकङमा गएर उनले गीति–संवाद गरेर आएका छन् ।
उनले दश÷बाह्र वटा सिनेमामा गीत लेखेका छन् । ‘नुमाफुङ’, ‘अंशबन्डा’, ‘परदेशी कान्छा’, ‘बहादुर’, ‘माया गर्छु म’, ‘शिखर आरोहण’ तीमध्ये केही नाम हुन् । सिनेमामा कथाअनुसार गीत लेख्नुपर्ने भए पनि उनले आफ्नोपन कहिल्यै छोडेनन् ।
गीतको कमाइबारे सोध्दा उनी भन्छन्, ‘व्यावसायिक भएपछि पैसा त आउँछ । तर, मैले त्यतिमै चित्त बुझाएको छैन ।’ सिनेमाको गीतभन्दा उनलाई सामाजिक विषयवस्तुमा आधारित गीत लेख्न मन पर्छ ।
गीतको कुरा गर्दा नारायण गोपालको नाम छुटाउनु हुन्न भन्ने बडेबडे सङ्गीतविद्को दाबी छ । तर, नेपाली गीत सङ्गीतलाई भ्रष्टीकरणमा कसले लग्यो भन्ने प्रश्नको उत्तर कता सोझिन्छ, त्यो अनुसन्धानको विषय हो । भूपाल राईलाई नारायण गोपालको गीतभन्दा गोपाल योञ्जनका गीत मन पर्छन् । उनका शब्द र सङ्गीत मन पर्छन् । ‘बनेको छ पहराले’, ‘देशले रगत मागे’ जस्ता गीतले उनलाई गीत लेखनप्रति आकर्षित र संवेदनशील तुल्याएका हुन् ।
रेडियो नेपालबाट बज्ने स्वरैकल्पना र प्रेमालापयुक्त आम गीत समाजबाट धेरै टाढा हुन्छन् । जीवनशून्य र अर्थहीन भावुक गीतले समाजलाई दिग्भ्रमित तुल्लाएर घोर निराशामा धकेल्दछ । भूपाल आफैँ एउटा निश्चित वर्ग, जाति र संस्कृतिबाट आएको हुनाले उनले गीतमा आफ्नोपन खोजे । सामाजिक उत्तरदायित्व पूरा गर्दै आफ्नो संस्कृति घोलेर गीत लेखे । २०४० को दशकमा उनले सांस्कृतिक र जातीय उत्पीडनविरुद्ध कविता र गीत लेख्न थालेपछि उनलाई कैयौँ मूर्धन्य साहित्यकारले जातिवादीको ट्याग लगाइदिए । तर, त्यस्ता फत्तुरले उनी आतङ्कित भएनन् । र, उत्पीडनविरुद्ध जातीय मुक्ति र पहिचानका कुरा लेख्न छोडेनन् ।
०००
नेपाली गीत–सङ्गीतमा अर्को धार पनि सक्रिय छ । यत्ति हो, मूलधारमा आउन जसलाई छेकबार लगाइएको छ । अर्काे धारमा सक्रिय सर्जक हुन्– रामेश, रायन, जीवन शर्मा, खुशीराम पाख्रिन, जेबी टुहुरेहरू । जब आन्दोलन हुन्छ, तिनका ढोका ढकढक्याउन पुग्छन् मानिसहरू । ती हुन् जनताका असली गायक । भूपाललाई ती गीतका विषयवस्तु मन पर्छ, तर कला र शैली पक्ष कमजोर लाग्छ । ‘तत्कालीन समयमा ती गीतले धेरै महŒवपूर्ण काम गरे,’ उनी भन्छन्, ‘तर, त्यसमा जीवनतŒव कम भयो । गीत भनेको विषयवस्तु मात्र होइन, त्यहाँ कला हुनुपर्छ ।’ उनको निष्कर्ष छ–‘रामेश, रायनको विषयवस्तु र गोपाल योञ्जनको कलाको सम्मिश्रणले राम्रो गीत बन्न सक्छ ।’

भूपालको गीत ‘यो तिम्रै माटो हो तिमीले टेकेको, यो तिम्रै आकाश हो तिमीले ओढेको’ लाई खम्बुवान मुक्ति मोर्चाले पूर्वमा २०५० सालतिर राष्ट्रिय गीत नै बनायो । स्कुल–स्कुलमा ‘श्रीमान् गम्भीर नेपाली’ लाई झिकियो र सट्टामा गाउन थालियो नयाँ राष्ट्रिय गीत ।
माओवादीले थुप्रै जनकलाकार जन्मायो दश वर्षमा । तिनले गाउँगाउँमा आफैँ गीत लेख्दै गाउँदै हिँडे । तर, खुला वातावरणमा अवतरण गरेपछि ती निरङ्कुश बजारमा टिक्न सकेनन् । राज्यले तिनीहरूको उपस्थितिलाई मान्यता दिएन । ती सामाजिक आवश्यकताले कलाकार बनेका थिए भन्छन् भूपाल । ‘कला र साधना भएन भने न गीत बाँच्छ न त गायक र गीतकार,’ उनी भन्छन् ।
अहिले बजार र प्रविधि हाबी छ गीतमा । बजारका लागि लेख्ने र बजारका लागि नै गाउने प्रचलन छ । नेपालमा हिन्दी र अङ्ग्रेजी गीतको प्रभाव बढ्नुमा पँुजी र बजारकै खेला हो । ठूलो गायक र गीतकार बन्न बजारलाई रिझाउन सक्नुपर्छ । भूमण्डलीकरणले नेपालमा पाश्चात्य प्रभाव बढाएको छ, जसले नेपाली गीतको मौलिकता हराउने खतरा बढेको छ । भूपालको विचारमा यो स्वाभाविक जस्तो भए पनि लोक साहित्य र लोक सङ्गीतको संरक्षण हुनुपर्छ ।
भूपाल कविता र गीतमा कुनै अन्तर भेट्दैनन् । उनका गीत कविताजत्तिकै विचार र कलाले भरिपूर्ण हुन्छन् । भावनालाई मात्र गीत मान्नेहरू भूपालका गीत सुनेर निराश हुन सक्छन् । उही जातीय गीत भनेर नाक खुम्चाउन सक्छन् । तर, भूपाललाई कविता र गीत त्यति धेरै भिन्न कुरा हुन् भन्ने लाग्दैन । उनी कविता जसरी लेख्छन्, गीत पनि उही मेहनतका साथ खिप्छन् ।
एउटा रमाइलो प्रसङ्ग सुनाउँछन् उनी । उनले गीतकार र गायक भएकै भरमा राष्ट्रिय नाचघरको नियुक्ति पनि पाए । कैयौँले उनी माओवादी भएको मन पराएका छैनन् । एकपटक एउटा कार्यक्रममा एकजना जिज्ञासुले सोधेपछि उनले भने,  ‘म माओवादी भएको होइन, मेरो एजेन्डा चाहिँ माओवादीले पछ्याएको हो’ । हुन पनि भूपालले माओवादीले जनयुद्ध गर्नुअघि नै उत्पीडितको पक्षमा आफ्नो लेखन केन्द्रित गरिसकेका थिए ।

भूपाल राईका प्रसिद्ध गीत
० पूर्वै जाने रेल....
० सिरानीले बिजायो कि.....
० कोही मान्छे घाम माग्छन्....
० मरी गए मुरी माटो....
० सुनको भाउ छ सुन्तला भारीको.....

 

Leave A Comment