वर्णविन्यास विवाद र त्यसको सम्यक निकास

शुक्रबार, २१ असोज २०७३, १० : ३४ राम लोहनी , Kathmandu
वर्णविन्यास विवाद र त्यसको सम्यक निकास

‘बुद्ध’ को उच्चारण ‘बुद्.ध’ नै हो, ‘बु.द्ध’ होइन । नयाँ प्रस्तावनाले यिनीहरूको लेखनलाई पनि टुक्य्राएरै लेख्न  प्रोत्साहन गर्न आग्रह गरेको छ । यही बुँदामा भावुकताको व्यापार पनि धेरै भएको छ । तोडमरोड र अतिरञ्जित गर्ने काम पनि प्रशस्तै भएको छ ।


भाषा, लेखन प्रणाली, लिपि, हिज्जे र लेख्यरूप
लिखित परम्परा भएको भाषामा आम मान्छेहरूबीच अक्षर र लेख्यरूपलाई नै भाषा मान्ने प्रचलन देखिन्छ । व्याकरण लिखित रूपको मात्र हुन्छ र व्याकरणको काम शुद्धसँग लेख्न, सिकाउने हो भन्ने अवधारणा व्याप्त छ । वास्तवमा लेखनकलाको विकास भएको लगभग पाँच हजार वर्ष मात्र भएको छ । यसअघिको मानव सभ्यता लिखित भाषाविनै चलेको थियो । आज पनि कैयौँ भाषाहरू लेखिँदैनन् । बोलिने भाषा (हातको इसाराले ‘बोलिने’ साङ्केतिक भाषासमेत) को नियम नै भाषाको वास्तविक व्याकरण हो भन्ने तथ्यसँग धेरै मान्छे अनभिज्ञ नै छन् । भाषाको पहिलो एकाइ शब्द हो । सामान्यतया एउटा शब्दले एउटा वस्तु वा अवधारणा वा एउटा अर्थलाई सङ्केत गरेको हुन्छ । शब्द ध्वनि एकाइहरू मिलेर बनेको हुन्छ । सबै ध्वनि स्वतन्त्र रूपले उच्चार्य हुन सक्दैनन् । स्वतन्त्र रूपले उच्चार्य हुने ध्वनिलाई स्वर वर्ण भनिन्छ । स्वरको सहायताले उच्चारित हुने ध्वनि व्यञ्जन वर्ण हो । मुक्त उच्चारण हुन सक्ने स्वर वा स्वर र व्यञ्जनको गुच्छालाई ‘अक्षर’ (सिलेबल) भनिन्छ ।
भाषाका यिनै एकाइहरू– ध्वनि, ‘अक्षर’ वा शब्द— लाई लेख्य चिह्नद्वारा प्रतिनिधित्व गराएर भाषालाई लिखित रूपमा उतारिन्छ । यसप्रकार मूलतः तीन प्रकारका लेखन प्रणाली प्रचलनमा रहेका छन् । कुनै पनि भाषा कुनै पनि लेखन प्रणालीअनुसार लेख्न सकिन्छ । लेखन प्रणालीमा परिवर्तन भएकै कारण भाषामा परिवर्तन आउँदैन । भाषाले खास लेखन प्रणाली अपनाउनु ऐतिहासिक आकस्मिकता मात्र हो । व्यवहारतः कुनै पनि भाषा शुद्ध रूपमा एउटै मात्र लेखन प्रणालीमा बाँधिएको पाइँदैन । एउटा लेखन प्रणालीभित्र विभिन्न लिपि विकास भएका हुन सक्छन् । अङ्ग्रेजी, जर्मन आदि भाषा लेखिने रोमन लिपि र रुसी आदि भाषा लेखिने सिरिलिक लिपि दुवै ध्वनिमा आधारित लेखन प्रणाली अन्तर्गतका लिपि हुन् । नेपाली, हिन्दी, संस्कृत आदि भाषाको लिपि देवनागरी लिपि हो । देवनागरी लिपिका स्वर वर्ण स्वायत्त लिपि चिह्न वा मात्राद्वारा प्रतिनिधित्व हुन्छन् । व्यञ्जन वर्णहरू स्वायत्त लेखिँदैनन् । सामान्य अवस्थामा यिनीहरू ‘अ’ स्वरयुक्त हुन्छन् । व्यञ्जनलाई मात्र लेख्नु पर्दा विराम चिह्न (खुट्टा काट्ने) प्रयोग गरिन्छ । त्यसकारण ‘क’ भनेको ‘क्+अ’ हो, ‘कि’ भनेको ‘क्+इ’ हो ।
भाषाको लिखित रूप तुलनात्मक रूपले स्थिर हुन्छ । कथ्यरूपमा भएको परिवर्तनलाई लिखित भाषाले उही गतिमा आत्मसात गरेको हुँदैन । यथार्थमा भाषाको कथ्यरूपलाई लेखनमा जस्ताको तस्तै प्रतिनिधित्व गर्न सम्भव पनि हुँदैन । त्यसैले कथ्य भाषाका अवयवलाई लिखित रूपमा गरिने समायोजन एक प्रकारको सम्झौता नै हो । यो सम्झौता समयक्रममा लिखित रूपको परम्परा बन्दछ । लेखन प्रयोजनको लागि स्विकारिएका लिखित चिह्न, तिनको क्रम तथा समायोजन र परम्परालाई हिज्जे भनिन्छ । यस अर्थमा हिज्जे विशुद्ध प्राविधिक कुरा मात्र होइन, योसँग प्रयोगकर्ताका सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू अभिन्न रूपले गाँसिएका हुन्छन् । यसकारण हिज्जेको क्षेत्र आंशिक रूपले सैद्धान्तिक भाषाविज्ञान र आंशिक रूपले समाज भाषाविज्ञानसँग गाँसिएको हुन्छ । हिज्जेसँग अभिन्न अर्को पाटो हो वर्णहरूको स्वरूप अर्थात लेख्यरूप (ग्लिफ) । रोमन लिपिका ठूला र साना वर्ण लेख्यरूपका उदाहरण हुन् । ‘सही’ वर्ण ‘सही’ स्थानमा ‘सही’ रूपमा लेख्नुलाई प्राविधिक शब्दमा वर्णविन्यास (अर्थोग्राफी) भनिन्छ । नेपालीमा देखिएको अहिलेको विवाद वर्णविन्यासको विवाद हो । भाषा, लेखन प्रणाली वा लिपिको विवाद होइन ।
नेपाली वर्णविन्यासका विवाद
नेपाली लेखनमा देवनागरी लिपिको ३३ वटा व्यञ्जन वर्ण र ११ वटा स्वर वर्ण प्रचलनमा रहेका छन् । यसबाहेक शिरोविन्दु, चन्द्रविन्दु र दवास विन्दु (ः) पनि प्रचलनमा छन् । धेरैजसो व्यञ्जनका आधा रूप छन् र केहीका लागि विराम चिह्न प्रयोग गर्नुपर्छ । केही वर्णका एकभन्दा बढी रूप पनि छन् । देवनागरीको महŒवपूर्ण पाटो संयुक्त वर्ण हो । कथ्यरूपमा नेपाली ‘आक्षरिक’ (सिलेबिक) नै हो । मौलिक नेपाली उच्चारणमा दुई वा दुईभन्दा बढी व्यञ्जनहरू एकै ठाउँमा आउन सक्दैनन् । अङ्ग्रेजी भाषाबाट आएको शब्द ‘बक्स’ नेपालीमा ‘बाकस’ भएको छ, अङ्ग्रेजी ‘ब्लाउज’ ‘बुलुज’ भएको छ । संस्कृतबाट आएका तत्सम शब्दहरूमा मात्र र मौलिक नेपालीमा ‘य’ र ‘व’ सँग मात्र व्यञ्जन गुच्छा पाइन्छ ।
नेपाली भाषा संस्कृतबाट सोझै विकसित भएको होइन । संस्कृतसँग नेपालीको साइनो कुन बाटोबाट जोडिन्छ भन्ने कुरामा विद्वानहरूको एकमत छैन । नेपाली भाषाको इतिहास लगभग एक हजार वर्ष पुरानो प्रमाणित भइसकेको छ । यद्यपि पछिल्ला केही दशकअघिसम्म पनि हाम्रो विद्वत परम्परा संस्कृत नै थियो । नेपाली भाषा–साहित्यको पृष्ठभूमि संस्कृत नै थियो र त्यसकारण देवनागरी लिपि लेखनको माध्यम बन्यो । शब्दहरूमा पनि संस्कृतकै बाहुल्यता रह्यो । स्वाभाविक रूपमा संस्कृतकै वर्णविन्यास भित्रियो । जसरी पश्चिममा व्याकरण भनेको ल्याटिन व्याकरण बुझिन्थ्यो, त्यसै गरी हामीकहाँ व्याकरण भनेको संस्कृतको व्याकरण बुझिन्थ्यो र शब्द व्युत्पत्ति आदिमा संस्कृतको प्रत्यक्ष प्रभाव निरन्तर परिरह्यो । समयक्रममा नेपालीका आफ्नै शब्दहरू प्रचलनमा आउन थाले, भिœयाइएका संस्कृत शब्दहरूको कथ्यरूप परिवर्तन हुन थाल्यो, शब्द व्युत्पत्तिमा संस्कृतका नियम खुकुलो हुँदै गयो र संस्कृतभन्दा भिन्न भाषाहरूबाट शब्दहरू भित्रिन थाले ।
वर्णमालामा रहेका ञ, ण, श, ष, ञ जस्ता वर्णहरू संस्कृतमा जसरी उच्चारण हुन छोड्यो । उच्चारणमा यी वर्णको लोप कहिलेदेखि भयो भन्ने स्पष्ट प्रमाण त छैन । नेपाली भाषामा लेखिएका पुराना अभिलेख र लेखोटहरूमा देखिएका यी वर्णहरू साँच्चै नै त्यो बेलाका नेपाली वक्ताहरूले बोल्थे भन्ने कुनै प्रमाण हामीसँग छैन । जसरी अहिले हामी लेखिरहेका छौँ, त्यसै गरी त्यो बेला पनि लेखिएन भनेर भन्न सकिँदैन । बोलीचालीमा ह्रस्व र दीर्घको भेद पनि बिस्तारै लोप भएर गयो । उच्चारणमा भेद नभए पनि सन्दर्भले बुझिने भएकोले त्यसले खास समस्या ल्याएन । संस्कृतकै प्रभावको कारण केही मौलिक नेपाली शब्द र रूप परिवर्तन गरेका संस्कृत शब्दहरूको वर्णविन्यासमा पनि नेपालीपन भित्रिन पाएन । पछिल्लो समय आधुनिक भाषाविज्ञानका उपकरणहरूको प्रयोग गरेर नेपालीको वर्णव्यवस्थाको सही अध्ययन हुन थालेको छ । माथि उल्लेख भएअनुसार चार प्रकारका शब्दहरूमध्ये संस्कृतबाट आएर जस्ताको तस्तै रहेका शब्दहरूको उच्चारण जे जस्तो भए पनि लेख्यरूप यथावत राखेर कम्तीमा अन्य सबै शब्दहरूलाई नेपाली वर्णविन्यासअनुसार लेखिनुपर्छ भन्ने आवाज प्रखर हुन थाल्यो । शुद्धतावादीहरू शब्दहरू भिœयाउँदा स्रोतको वर्णविन्यास ‘सकेसम्म’ मेटाउन पाइन्न भनेर तर्क गरिरहेका छन् । परिवर्तनवादीहरू परम्परा, मूल्य र मान्यतालाई जोगाउँदै नेपाली मौलिकतालाई बढाउँदै लैजानु पर्नेमा जोड दिइरहेका छन् । सैयौँ भाषाबाट शब्दहरू आउन सक्ने हुँदा प्रत्येकको वर्णविन्यास स्रोत भाषाकै अनुसार गर्ने भन्ने सम्भव कुरा होइन । ‘भूमण्डलीकरणको युगमा शब्दहरूसँगै ध्वनि पनि यथावत प्रवेश गर्छन्’ भन्ने आग्रह भाषाको वर्णविधानको प्रतिकूल कुरा हो ।
दोस्रो विवाद संयुक्त अक्षरमा रहेको छ । कथ्य नेपालीमा व्यञ्जन गुच्छा नहुने चर्चा माथि आइसक्यो । उच्चारणमा यिनीहरू टुक्रिएरै उच्चारण हुन्छन् । ‘बुद्ध’ को उच्चारण ‘बुद्.ध’ नै हो, ‘बु.द्ध’ होइन । नयाँ प्रस्तावनाले यिनीहरूको लेखनलाई पनि टुक्य्राएरै लेख्न  प्रोत्साहन गर्न आग्रह गरेको छ । यही बुँदामा भावुकताको व्यापार पनि धेरै भएको छ । तोडमरोड र अतिरञ्जित गर्ने काम पनि प्रशस्तै भएको छ । त्यसो त, पहिले परिवर्तनका पक्षपाती रहेकाहरू पछिल्लो समय “आँखा खुलेको” भन्दै प्रतिरोधमा उत्रिएका पनि छन् । पढेलेखेकाहरूबीच नै ‘विद्यालय’ हो कि ‘विध्यालय’, ‘उद्देश्य’ हो कि ‘उद्धेश्य’, ‘विद्यार्थी’ हो कि ‘विध्यार्थी’, ‘बुद्ध’ हो कि ‘बुध्द’ भन्ने भ्रम देखिएका छन् । खास गरेर ‘द्द’, ‘द्ध’,  ‘द्य’ मा बढी समस्या देखिएका छन् । संयुक्त अक्षरलाई टुक्राएर सिकाइयो भने यस्ता त्रुटि कम हुन सक्ने सम्भावना तर्कपूर्ण देखिन्छ । झलक्क हेर्दा यो विवाद शिक्षाविद र लेखकहरूको बीचको हो कि जस्तो पनि देखिएको छ । शिक्षाविदहरूको चासो कलिला सिकारुसँग रहेकोले उनीहरू विद्यार्थीले राम्ररी सिकून भन्ने चाहन्छन् भन्ने देखिन्छ । उता लेखकहरूका पाठक वयस्क हुने भएकाले यथास्थितिप्रति परिचित आफ्ना पाठकको प्रयोजनको लागि उनीहरूले परिवर्तन अपनाउनु पर्दैन ।
संयुक्त अक्षरलाई टुक््रयाएर लेख्दै गर्दा यिनीहरू लोप भएर त जाँदैनन् भन्ने डर उत्पन्न हुनु स्वाभाविक हो । त्यस्तै ‘केही’ संयुक्त वर्णबाट सुरु भएको यो क्रम विस्तारित हुँदै सबै संयुक्त वर्णमा पनि लागू हुन थाल्यो भने लेखाइको रूप कस्तो होला भनेर आम प्रयोगकर्ता तर्सिरहेको पनि यथार्थ हो । सर्वसाधारणको यही भयलाई दोहन गर्नको लागि बढाइचढाइ प्रचारप्रसार गर्ने दुष्कृति पनि देखिएको छ । ‘द्वन्द्व’, ‘श्रीमती’, ‘प्रमाण’ जस्ता रूप देखेर सामान्य प्रयोगकर्ता सहज अनुभूति गरिरहेका छैनन् । भाषिक शुद्धताभन्दा पनि दृष्यरूपसँगको असहजता हो यो । विद्यार्थीहरूलाई निश्चित कक्षा पार गरेपछि नटुक््रयाई लेख्न प्रोत्साहित गरेर यिनीहरूको संरक्षण गर्न सकिन्छ । यसरी टुक््रयाउँदा ह्रस्व इकारको मात्रा कहाँबाट दिने भन्ने केही समस्याहरू देखिएका छन् — ‘शक्ति’ मा इकार ‘क्’ को देब्रेबाट गयो भने ’बुद्धि’ मा ‘द्’ बाहिर पर्यो ! उता परम्परागत संयुक्त वर्णहरू बिलाएर जाने क्रम बढ्दो छ । ‘Ñ ’, ‘त्र’ आदि रूपहरू देख्न छाडिसकियो । प्रविधिको विकाससँगै त्यसलाई अद्यावधिक नगरिँदा पनि त्यसो भएको हो । तर, पनि निरुक्ति र व्युत्पादनको आधारमा टुक््रयाएर लेख्न नमिल्ने भन्ने तर्क उयपुक्त ठहर्दैन । ‘बुद्ध’ शब्द ‘बुध’ धातुमा ‘त’ प्रत्यय लागेर बनेकोले तिनलाई टुक््रयाउन नमिल्ने भन्ने अपरिपक्व तर्क हो । ‘ङ्ग’, ‘द्ध’ मा सग्लो देखिएका ‘ङ’ र ‘द’ नै उच्चारणमा खुट्टा काटिएर उच्चारित हुन् भने लेख्दा एउटालाई टुक््रयाए हुने, अर्कोलाई चाहिँ व्युत्पत्तिको कारण देखाएर नहुने भन्ने तर्क मनासिव देखिँदैन ।
तेस्रो विवाद पदयोग र पदवियोगमा रहेको छ । लिपिचिह्न गनेर योग र वियोग गर्ने प्रस्ताव कतिपय अवस्थामा अव्यावहारिक देखिएको छ । जस्तो वीरगञ्ज र नेपाल गञ्ज, भक्तपुर र ललित पुर, विराट नगर जस्ता व्यक्तिवाचक नाम बनिसकेका शब्दहरूलाई पनि गणना सिद्धान्त लगाउँदा धेरैले सहज अनुभूति गरेका छैनन् । संयुक्त क्रिया टुक््रयाउने प्रस्तावनालाई पनि सुधार गर्न सकिन्छ, किनभने संयुक्त क्रियाहरू खासै लामा हुँदैनन् । संयुक्त क्रियाहरूले क्रमागत क्रिया (सिरियल भर्ब) को रूप पनि प्राप्त गरिनसकेको र पछिल्ला क्रियाहरू सहायक क्रियाका रूपमा रहने हुँदा छुट्याएर लेख्नु्पर्ने कारण स्पष्ट देखिँदैन ।
परम्परागत रूपमा दीर्घ लेखिरहेका ‘फूल’ जस्ता केही शब्दहरू ह्रस्व देखिँदा त्यसमा बानी परेकाहरूलाई स्वाभाविक रूपले अप्ठेरो अनुभूति हुन्छ । यद्यपि बोल्दा दीर्घ नबोलिने र सन्दर्भले प्रष्ट हुने हुँदा लिखित रूपद्वारा अर्थ छुट्ट्याउन सहयोग हुन्छ भन्नुमा कुनै तर्क देखिँदैन । यो पनि भाषाको दृष्यरूपसँगको लगावबाहेक केही होइन । विवाद समाधानको मध्यमार्ग अपनाउन सीमित यी शब्दहरूलाई नेपाली लेखन परम्परामा प्रतीकात्मक लेखन प्रणालीको अवशेषको रूपमा ग्रहण गरेर यथावत राख्न सकिन्छ ।
भाषायोजना
उच्च शिक्षा हासिल गरेका बहुसङ्ख्यक व्यक्तिहरूमा पनि नेपाली भाषा न्यूनतम रूपले शुद्ध लेख्न सक्छु भन्ने आत्मविश्वास देखिँदैन । प्रकाशित पुस्तक र पत्रपत्रिकामा वर्णविन्यास मात्र होइन वाक्यविन्यासमा पनि ठूलो समस्या रहेको देखिन्छ । अभ्यासबाट पनि नसिकाइने र खासै स्पष्ट नियम पनि नभएकाले विद्यार्थीहरूमा शुद्ध लेख्ने आत्मविश्वास घट्दै गएको हो । सम्भव भएसम्म नियममा बाँध्ने र अपवाद कम गर्न सके लेखाइमा शुद्धता ल्याउन सकिन्छ । दशकौँदेखि ‘कसरी शुद्ध लेख्ने’ भन्ने विवादमा मात्र अल्झिराखिएकाले हाम्रो भाषिक अध्ययन अगाडि बढ्न सकेको छैन । प्रज्ञाप्रतिष्ठानले चालिस सालमा प्रकाशित गरेको शब्दकोशलाई अद्यावधिक गर्ने त परै जाओस् व्यापक प्रचलनमा रहेका शब्दहरू पनि थप्न सकेको छैन । लेखाइमा एकरूपता नहुनु भाषाको मात्र होइन भाषाका वक्ताको विकासमा पनि अवरोध हो । त्यसकारण एउटा सर्वमान्य भाषायोजना लागू गरेर लेखाइलाई एकरूप गर्न ढिलो भैसक्यो । भाषायोजनामा लेखाइको मानकीकरण र शब्दकोशको अद्यावधिक गर्ने काम हुन्छ । नेपाली भाषामा यो काम हुन सके मुलुकका अन्य भाषामा पनि यसलाई विस्तार गर्न सकिन्छ । भाषायोजनाविना भाषाको मानकीकरण हुँदैन । मानकीकरण नभएको भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिन कठिनाइ हुन्छ ।
लिपि र हिज्जेसम्बन्धी विवाद संसारका धेरै भाषामा भएका इतिहास छन् । नब्बेको दशकमा जर्मनीमा हिज्जे विवाद बढेर अदालतसम्म पुगेको थियो । नर्बेली भाषाको विवाद सय वर्षभन्दा बढिदेखि टुङ्गिएको छैन । सोभियत संघ विघटनपछिको पूर्वी युरोप र मध्य—एसियामा लिपिको विवाद उत्कर्षमा पुगेको थियो । त्यसअघि उपनिवेशबाट स्वतन्त्र बनेका मुलुकमा नयाँ लिपि, नयाँ हिज्जेको विवाद चर्किएका थिए । लेख्य परम्परा नभएका हजारौँ भाषा लिखित रूप प्राप्त गर्न प्रयासरत छन् । यिनले नयाँ लिपि बनाउनेभन्दा प्रचलनकै लिपिलाई अनुकूलन गरेर लागू गर्ने हो प्रायजसो । नेपालको सन्दर्भमा पनि देवनागरी लिपिलाई अपनाउने क्रम बढ्दो छ । नेपाली भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले विभिन्न शास्त्रको दुहाइ दिएर यसको लेख्य रूपलाई अनावश्यक रूपले जटिल बनाउँदा नेपालका अन्य भाषाले देवनागरी लिपि अपनाउने सम्भावनालाई निरुत्साहन मात्र हुन्छ । देवनागरी लिपिलाई संस्कृत भाषाको संरक्षक दाबी गरेर नेपाली भाषामार्फत संस्कृत भाषा जोगिन्छ, हाम्रा तन्त्रमन्त्र लगायत ज्योतिष विद्या पनि संरक्षण हुन्छ भन्ने मनगढन्ते कथाले देवनागरी लिपि मात्र होइन, नेपाली भाषाप्रति पनि गैह्रनेपाली मातृभाषीको विकर्षण बढेर जानेछ । नेपाली भाषाबाट नेपाली संस्कृतिको संरक्षणको कुरा गर्न सकिन्छ, संस्कृत भाषाको संरक्षण होइन । संस्कृत जान्नका लागि संस्कृत नै पढ्नुपर्छ ।
वर्णविन्यासलाई कठोर प्राविधिक घेराभित्र पनि नराखेर समग्र प्रयोगकर्तालाई सहज र बोधगम्य हुने गरी लचकतासाथ योजनाहरू आउनुपर्छ । जसले प्रयोगकर्तालाई आफ्नो परम्परा, मूल्य र मान्यता पनि कायम रहेको अनुभूति हुन सकोस् र आफ्नो भाषा शुद्धसँग लेख्न सक्छु भन्ने आत्मविश्वास पनि विकास होस् ।

 

Leave A Comment