–स्वप्निल स्मृति
संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात शहीदप्रति
एक मिनेट मौनधारण हो
सभा, सेमिनार या पोलिट्ब्युरोमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरू
मौनधारण गरिरहेछन् ।
तस्करले बर्थडेमा थमाएको उपहार
हिरा–घडीमा उफ्रिरहेको सेकेन्ड काँटासँगै
गद्दार सरकार
एक मिनेट कला प्रदर्शन गरिरहेछ ।
शहीदका रगत लत्पत राष्ट्रिय ध्वजा उचालेर
शहीदका आस्था–समाधि टेकेर सख्त
उभिरहेछन् राष्ट्रसेवक मौन–मौन, गम्भीर !
संसारको सबैभन्दा कठोर काम
ज्ञात÷अज्ञात शहीदप्रति
एक मिनेट मौनधारण हो ।
सार्वजनिक शौचालय
या शहर, सडक, गाउँ–गल्ली, देउराली
दुई हातले थिचेर गानो
खरबौँ खरब मिनेट मेरो देश उभिरहेछ ।
जब कि–
एक मिनेटमा
शहीद–स्वप्नले धर्ती विचरण गरिसक्छ
एक मिनेट भुइँचालो आयो कि सृष्टि अदलबदल हुन्छ ।
ठण्डा दिमागले
एक मिनेट सोचेका भए शासकले
इतिहास यस्तो हुँदैनथ्यो ।
हत्या गरिनुअघि शहीदलाई
एक सेकेन्ड बाँच्ने फुर्सद दिइएन ।
गडबड हुँदा एक सेकेन्ड
भुर्कुट भए योद्धाहरू,
सृष्टिकालदेखि मौनधारण गरिरहेछ मेरोे हिमाल
त एक मिनेट मौनधारणले के हुन्छ ?
हर एक मिनेट मौनधारणमा
आधा मिनेट मलाई हाँस उठ्छ
आधा मिनेट मेरो मन रुन्छ ।
संसारको सबैभन्दा उत्कृष्ट नाटक
ज्ञात÷अज्ञात शहीदप्रति
एक मिनेट मौनधारण हो ।
Leave A Comment