रूपान्तरण

शुक्रबार, २१ असोज २०७३, ०१ : १५ शुक्रवार , Kathmandu
रूपान्तरण

‘‘तपाईं कथाकार मान्छे यति सारो ‘स्याड’ नहुनुहोस् न । कथामा पात्रहरूका पीडालाई छाम्न, ओकल्न सक्ने मान्छेलाई यो एउटा घटनाले कसरी बिथोल्न सक्छ...!’’ म अरू बोल्न चाहन्थेँ, मेरो वाक्य पूर्ण भइसकेकै थिएन । अचानक उनी कड्किइन्– ‘‘यसलाई तपाईं एउटा घटना भन्नुहुन्छ ? एउटा मात्र घटना भइरहेछ ? यी हत्याका शृङ्खलाले तपाईंलाई बिथोल्दैनन्, हँ....? यही फरक छ तपाईं ‘केटा’ मान्छेहरू र हामी ‘केटी’ मान्छेहरूमा....!’’

नारायण तिवारी

एउटा कथाकार भएर पत्रकारिता गर्नुको मजा नै बेग्लै । अरू, घटनामा रगत देख्छन्, गोली देख्छन्, बम र बारुद देख्छन् । तर, ललिता यी सब भन्दा पर देख्छिन् । पर, अर्थात् भौतिक चित्र–विचित्रहरू भन्दा नितान्त छुट्टै पर । उनी घटनामा पोखिएका रगत सँगसँगै छियाछिया हृदय देख्छिन् । र, अनि देख्छिन् त्यसै हृदयबाट उत्प्रेरित आँशु । पर्रा छुटेका गोली, बम र बारुदबाट उत्पन्न धुवाँ, उनी देख्छिन् । पिरो धुवाँ, जीवनलाई निमेषमै खरानी पारिदिने पिरो धुवाँ ! एउटा हत्याभित्र अरू पनि आश्रित लश्कर परिवारजनको हत्या उनी देख्छिन् । त्यसैले त रामगोपाल गुप्ताको हत्यामा उनले लेखिन्– ‘‘रामगोपालसितै उनका लश्कर परिवारजनको हत्या !’’

भित्र समाचार पढ्दै गएँ– अहँ, त्यहाँ गोली केवल रामगोपालमाथि दागिएको थियो, त्यो पनि कार्यालयबाट छुटेर आउँदा...!  कहाँ थिए साथमा उनका परिवारजन ? तर, ललिताको खुबी हेर्नुहोस्, एउटा फोटो खिचिन् मृत्यु भइसकेका अर्धमुदित नयन अवस्थाका रामगोपालको शवको र अर्को फोटो खिचिन् एउटी श्रीमती जो छाती पिट्दै गरेकी देखिइन्, रुँदै, उनको । साथमा लालाबालाहरू लश्करै शोकाकूल आँखामा आँशु उमारिरहेको अवस्थाका...! अनि कमर टुटेझैँ गरी थचक्क बसेका उनको पिताका, जसले हात आफ्नै टाउकोमा राखेर शिर निहु¥याएको देखिन्थ्यो । एउटी वृद्धा जो मृतककी आमा थिइन्, उनको फोटोमा एउटा हात आफ्नो पतिदेवतिर र अर्को हात मृतककी पत्नी अर्थात् बुहारीतिर उठेका मानौँ द्विविधामा, कसलाई सम्झाउनुपर्ने हो थाहा छैन...? अज्ञात छ, जुन वृद्धाका आँखाको आँशु र मुख रोदनले बाइएको फोटो आफैँ हृदयविदारक पीडा बोलिरहेको छ ।
उनी अगाडि लेख्छिन्– ‘‘अज्ञात समूहले यी आश्रित परिवारजनको खुशी खोसेको छ र तिनको वर्तमान अनि भविष्यलाई अज्ञात बनाइदिएको छ । यसरी रामगोपालसितै उनका आश्रित परिवारजनको हत्या भएको छ...!’’

वाह, क्याबात् ! पत्रकार हुनु त ललिताझैँ । संवेदनालाई छताछुल्ल हुनेगरी पाठकका अन्तर्मनलाई हल्लाइदिन सक्छन् उनका एक–एक शब्दले...! आज पनि उसैगरी मोबाइल थिचेँ र भनेँ– ‘‘कथाकार मित्र, तपाईंको आजको प्रस्तुतिको जवाफ छैन । क्या खूब लेख्नुभयो । अरू त अरू एक–एक शब्दले चित्र प्रस्तुत गर्दछन् । पीडित चित्रहरूको शब्दसितको तादात्म्य पनि क्या खूब...! मानेँ मित्र, हरेक समाचारभित्र पनि एउटा कथा पस्किनु तपाईंको बेजोड खुबीलाई मानेँ, बधाई पनि....!’’
उनी एकछिन् त बोल्न सकिनन् । मोबाइल अवरूद्ध भएको हो कि ? एनटीसी (नेपाल टेलिकम) को के ठेगान...? कि, उनको गला....? मैले ‘हेलो, हेलो, सुन्नुभएन, ललिताजी सुन्नुभएन...?’ भन्दा उनी एक्कासि बोलिन्– ‘‘हेर्नुहोस्, मेरो समाचार मन पराइदिनुभएकोमा तपाईंलाई धन्यवाद, तर मलाई यस्तो समाचार लेख्नुपरेकोमा दुःख छ, म खुशी छुइन । प्लिज, पछि कुरा गरौँला । अहिले म राख्छु...।’’

उनले फोन काटिन् । वास्तवमा मलाई अनुभूत भयो, यो खुशीको विषय थिएन । उनलाई बधाई दिनुभन्दा समाचारको विषयवस्तुमाथि छलफल गर्दै हत्याप्रति शोक व्यक्त हुने आशय जनाउनु उचित हुन्थ्यो । हो, यसैगरी म ललितासित चुक्दथेँ । अर्थात्, नजिक हुन चाहन्थेँ तर टाढिन्थेँ ।
एक दिन उनीसित रत्नपार्कमा बसिरहेको अवस्थामा भेट भयो ।
‘‘किन झोक्राएर बसिराख्नु भएको ?’’ मैले एउटा सपाट प्रश्न फालेँ । यद्यपि म जान्दथेँ हरेक दुःखद समाचारको उद्घाटनपछि उनी झोक्राउँथिन् । र, जति नै व्यस्त जीवन भए पनि केही समय रत्नपार्कको एउटा कुनामा बिताउनलाई निकाल्दथिन् । म जान्दथेँ उनको त्यो समय करिब–करिब दिउँसो १ बजेको हुन्थ्यो । त्यसैले म पनि उनीसितको भद्र सामीप्य पाउन लालायित पार्क पुग्दथेँ– प्रत्येक पटकको उनको समाचारको प्रकाशनपश्चात्...!
मेरो सपाट प्रश्नमाथि उनले कुनै टिप्पणी गरिनन् । बरु भनिन्– ‘‘बस्नुस् !’’ यत्ति ।
‘‘तपाईं कथाकार मान्छे यति सारो ‘स्याड’ नहुनुहोस् न । कथामा पात्रहरूका पीडालाई छाम्न, ओकल्न सक्ने मान्छेलाई यो एउटा घटनाले कसरी बिथोल्न सक्छ...!’’ म अरू बोल्न चाहन्थेँ, मेरो वाक्य पूर्ण भइसकेकै थिएन । अचानक उनी कड्किइन्– ‘‘यसलाई तपाईं एउटा घटना भन्नुहुन्छ ? एउटा मात्र घटना भइरहेछ ? यी हत्याका शृङ्खलाले तपाईंलाई बिथोल्दैनन्, हँ....? यही फरक छ तपाईं ‘केटा’ मान्छेहरू र हामी ‘केटी’ मान्छेहरूमा....!’’
यति भनेर उनी चुप लागिन् ।
‘‘तपाईंको संवेदनामा मैले चोट पु¥याएको भए माफी चाहन्छु । यद्यपि मेरो त्यस्तो आशय होइन...!’’ मैले यसो भन्नु जरूरी थियो, भनेँ ।
उनले ‘ठीक छ, ठीक छ’को भावमा मुन्टो हल्लाइन् । केही बेरपछि उनी सहज भइन् र अघिको कठोर अभिव्यक्तिप्रति ‘म अलिक बढी ‘टेन्स’मा थिएँ, क्षमा गर्नुहोला, तपाईं बुझ्न सक्नुहुन्छ मेरो स्थिति....!’ भन्दै हार्दिकता प्रकट गरिन् । मैले पनि उसैगरी ‘ठीक छ, ठीक छ’को भावमा मुन्टो हल्लाएँ । वास्तवमा हामी उमेरले परिपक्व नभइसके पनि व्यवहारले, कुराकानीले, अभिव्यक्तिले परिपक्व बनिसकेको आपूmहरूलाई ठान्दथ्यौँ । वास्तवमा त्यसैको परिणाम थियो एकआपसमा अमिल्दा कुराहरूप्रति तुरुन्त प्रतिक्रिया जनाउनु । मजति उनको प्रशंसक थिएँ त्यति उनी पनि मेरो प्रशंसक थिइन् । यद्यपि म कवि मात्र थिएँ न कथाकार, न पत्रकार ! तर, उनी कवि वा कवयित्री थिइनन्, केवल कथाकार र अनि थिइन् पत्रकार ! एक सफल पत्रकार...!
उनी र मेरो बीचमा संभवतः उमेरको अन्तर थिएन । एकै उमेरका जस्ता थियौँ हामी । म उनलाई मनैमन चाहन्थेँ, मन पराउँथेँ । यद्यपि त्यो मन पराइ अहिलेसम्म मुखबाट अभिव्यक्त भएको थिएन । उनको कुनै अर्को त्यस्तो जीवनसाथी हुने उम्मेदवार फेला परिसकेको भन्ने पनि मलाई लागेको थिएन । त्यसैले मुखबाट अहिले नै निकालिहाल्नुपर्ने पनि जरुरी मलाई लागेको थिएन । किनभने, अहिले हामी ‘करिअर’ तर्फ ध्यानाकृष्ट थियौँ । उनी एउटा चल्तीको अखबारमा पत्रकार थिइन् र म जागिरको खोजीमा भट्किरहेको थिएँ । कविताले खाना, नाना र छाना दिने गर्न सक्दैनथ्यो । कविता लेख्न नछोड्ने अठोट थियो तर एउटा अडेस लाग्ने बिसौनी जरुरी थियो । र, त्यो कुनै कार्यालयको ‘जागिर’ हुन सक्दथ्यो । वास्तवमा ललिता पत्रकार भए पनि जागिरे नै थिइन् । र, मलाई आफ्नो खुट्टामा उभिन एउटा जागिर खानु आवश्यक थियो ।
त्यस दिन हाम्रा बीच धेरै कुरा भएनन् । हामी उठ्यौँ र एउटा साधारण चिया पसलमा बसेर चिया खायौँ । त्यसपछि उनी ‘रिपोर्टिङ गर्न जानु छ’ भन्दै बिदा भइन् । म पनि डेरातर्फ लागेँ ।
एकदिन उनले मलाई हड्बडाएर फोन गरिन्– ‘‘आज भेट्नु छ, छिटो, अहिल्यै...!’’
म अनेक आशंका बोकेर उही निर्दिष्ट स्थान रत्नपार्कमा हतारिँदै पुगेँ । केही बेरको प्रतीक्षापछि उनी आइपुगिन् । उनी एकदमै हड्बडाएकी थिइन् ।
‘‘मलाई ‘थ्रेट’ आएको छ ! यी हत्याका शृङ्खलाबद्ध प्रस्तुतिलाई बन्द गर् भनेर...। त्यसमा पनि यो गरम मसला हालेर किन लेख्नु अरे...!’’ त्यसो भन्दा उनी अलिकति हाँसिन् पनि । म ‘थ्रेट’ले उत्पन्न आतङ्क र आफ्नो समाचार प्रस्तुतिप्रतिको अपराधीहरूबाट समेत विरोध, जसलाई उनले प्रस्तुतिको सफलता मानेर उत्पन्न गरेकी हाँसोलाई एकैपटक तुलना गर्दै उनको अनुहारलाई नियालिरहेको थिएँ ।
‘‘के गर्नुहुन्छ त अब...?’’ मेरो प्रश्न भुइँमा झर्न नपाउँदै उनी कड्किइन्– ‘‘के गर्छु ? अब झन् लेख्छु । अब झन् लेख्छु । अब त झन् समाचारको प्रस्तुतिभित्र रोदन, क्रन्दन मात्रै होइन, विद्रोह लेख्छु । तमाम आँशुहरूको विद्रोह...! जसले विनाहतियार, विनाबारुद भेल बनेर तमाम अपराधीहरूलाई बगाउनेछन् । आँशु, सागरको भेल मात्र होइन आवाजको अग्नि समेत बन्न सक्नेछन्, जसले तमाम अपराधीहरूलाई डढाउनेछन्...!’’
उनको आवाज थर्थर् काँपिरहेको थियो । यसबेला उनको अवस्थाप्रति म अत्यन्त मायालु बनेँ र सान्त्वना दिन चाहेँ । तर, उनी त मेरो सान्त्वना प्राप्त गर्न होइन एउटा अठोट सुनाउन आएकी थिइन्– कि ती अपराधीहरूले उनलाई धम्की दिएर ठूलो भूल गरे, महाभूल ! अब त उनी समाचारमा कथा पस्किने मात्र होइन, ती कथाका खलनायकहरूसित भिड्ने रे, उनीहरूलाई कानुनको कठघरामा उभ्याउने रे....!
मैले मनैमन उनलाई सफलता मिलोस् भनेर कामना गरेँ । ईश्वरको अस्तित्व प्रकृतिसित गाँसिएको छ, जान्दाजान्दै पनि पुकारेँ– ‘हे ईश्वर, यी ललिताको उद्देश्यमा सफलता देऊ । हे ईश्वर, यिनको रक्षा गर...!’
त्यसदिनपछि उनमा केही परिवर्तनहरू आए, मप्रतिको व्यवहारमा । एकदिन भनिन्– ‘‘मलाई तपाईं तपाईं नभन्नुस्, तिमी भन्नुस् तिमी । ‘तिमी’मा जुन निकटता, स्नेह छ, त्यो तपाईंमा कहाँ...!’’
मैले पनि भनिदिएँ– ‘‘तपाईंले उपन्यासकार कृष्ण धरावासीले आफ्नो श्रीमतीलाई समेत तपाईं भन्ने गरेको सुन्नुभएको, पढ्नुभएको, संगतमा आउनुभएको भए देख्नुभएको हुनुपर्छ, म पनि त्यस्तै सबै बालैबच्चा जम्मैलाई ‘तपाईं’ सम्बोधन गर्न चाहन्छु, यो तपाईं तिमीको भेदभाव नै मलाई मन परेको छैन...।’’          
उनले रोकिन्– ‘‘लु भयो, भयो । मलाई तिमी भन्नुपर्छ, अरू मलाई केही थाहा छैन...!’’
फेरि अर्को दिन, भ्यालेन्टाइन्स डेको दिन उनले स्वयं मलाई प्रस्ताब गरिन्– ‘‘म तिमीलाई प्रेम गर्छु ।’’
मैले, उनले पनि मलाई तिमी भन्नुपर्छ भन्ने शर्तमा उनलाई तिमी भन्न थालेको थिएँ । यो अचानक आएको प्रेम प्रस्तावबाट म छाँगाबाट झरेझैँ भएँ । नचिताएको खुशी अचानक प्राप्त हुँदा के हुन्छ ? हो, म हतप्रभ भएँ । उनी मुडमा थिइन्, भनिन्– ‘लु, मेरो कुरा मन परेन भने प्रेमप्रस्ताव फिर्ता ! महाशय यो ज्यानलाई ज्यान फाल्नेहरू थुप्रै छन्...।’’
यसैगरी हाम्रा रमाइला दिनहरू बित्न थाले । यद्यपि उनलाई आएदिन धम्कीमाथि धम्की थपिइँदै थियो । रमाइला दिनहरूलाई आतङ्कले उन्मुक्ति दिएको थिएन । तर पनि ललिता निडर बनेर मोर्चामा उभिइरहिन् ।
‘‘सबै क्षेत्रले खुट्टा कमाउने हो भने त सजिलै संसारमा आतङ्कले रजाइँ गरिहाल्छ नि...!’’ अहँ, उनको डेग पछाडि हट्न चाहन्थेन ।
उनले लेख्ने कथामा, समाचारमा झन् छताछुल्ल आतङ्कको विरोध देखिन थाल्यो । यहाँ मान्छेलाई मान्छेले किन मार्दछन् ? मानवतावादभन्दा ठूलो वाद संसारमा कुन वाद हो ? संसारलाई अमान्छेहरूबाट मुक्ति दिलाउनै पर्दछ । सारा संसारका मान्छेहरू एक हुन् । आतङ्क जहाँ, जसले गरे पनि मानवताका विरूद्ध ती महाअपराधी हुन् । तिनलाई कानुनको कठघरामा उभ्याउनैपर्दछ । र, यो सुन्दर संसारलाई अपराधमुक्त झन् सुन्दर बनाउनैपर्दछ...! यी सबै कुरा उनका कथामा, समाचारमा झन् बढी प्रखर भएर देखिन थाले ।
एकदिन उनी बेपत्ता भएको खबर आयो । हस्याङ्फस्याङ् गर्दै पुगेँ उनको कार्यालयमा । कुनै सूचना थिएन कसैलाई– न उनको कार्यालयलाई, न उनको घरपरिवारलाई...!  चार दिनपछि उनलाई अस्पतालको बेडमा भेटेँ । उनको शरिरमा जहीँतहीँ पट्टी लागेको थियो । मलाई देखेर उनले ओठमा हाँसो उमारिन्– ‘‘मलाई मरेको भन्ठानेर छोडे । तिनले अरिङ्गालको मुखमा हात हाले । अब त म झन् तिनलाई छाड्दिनँ !’’ उनी त्यस अवस्थामा पनि सशक्त थिइन् । मैले धेरै नबोल्न, चुप लाग्न इसारा गरेँ । तर अहँ, उनी कहाँ टेर्नेवाला थिइन् । बरु हाँसेरै भनिन्– ‘‘महाशय ! अब अर्को घरमा डेरा सर, मेरो के ठेगान...!’’
मेरो आँखा अनायासै भरियो । ‘‘अबदेखि यस्तो कुरा ग¥यौ भने ठीक हुने छैन’’ भन्दै मैले रिसाएको अभिनय गरेँ । अस्पतालमा उनीसित केही दिन बिताउँदा झन् हाम्रो माया–प्रेम प्रगाढ हुँदै थियो, अर्को घरमा डेरा सर्ने कुरा के कुरा...!
उनी ठीक भएर आफ्नो कार्यक्षेत्रमा संलग्न भएको केही दिन भएको थिएन, फेरि अर्को खबरले होश उडायो– ‘‘ललिता घाइते छे, छिटो जा...!’’ म कुद्दै पुगेँ, बेहोसजसरी दौडिएँ । तर अहँ, मैले ललितालाई भेट्टाउन सकिनँ ।
‘‘ललिता ! ललिता !! निष्ठुरी, मलाई मायाको जालमा पारेर कहाँ गयौ नि ! प्यारी, मलाई पनि साथै लैजाऊ...!’’ ललिता यस दुनियाँमा थिइन । यो दुनियाँ जसलाई ऊ झन् सुन्दर बनाउन चाहन्थी– त्यहाँ ललिता थिइन । यतिबेला ऊ निर्जीव लाशमा परिणत भइसकेकी थिई । पत्रिकाको कार्यालयको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको उसको लाशमाथि म घोप्टो परेँ र क्वाँ–क्वाँ रोएँ । धेरै बेरपछि हिक्क–हिक्क गर्दै उठेँ । आँशु पुछेँ ।
मलाई पत्रिकाको सम्पादकले कलम ल्याएर दिए– ‘‘तपाईंलाई पत्रकार बनाउने चाहना ललिताले नै व्यक्त गरेकी थिइन् । उनले भनेकी थिइन् मलाई केही भइहालेमा राजेशलाई मेरो स्थान दिनु हुनेछ, उसले अपराधीहरूको सर्वनाश गर्नेछ...! त्यसैले यी यो कलम तपाईंलाई...।’’
ललिताको अभिव्यक्त चाहनाले फेरि आँखा रसाए । अर्कोतर्फ हृदयमा तूफान चलायमान हुँदै थियो । सम्पादकले हातमा थमाइदिएको कलम बन्दुकमा रूपान्तरण भएर सर्वप्रथमतः त्यसले मेरै सर्वनाश गर्नेछ । हृदय थरथर कम्पायमान पनि भइरहेको थियो ।
त्यसैबेला अचानक मैले कलम फालेँ । यसरी फालेँ कि त्यो कलम कलम नभएर बन्दुक हो, जसले ललितालाई मा¥यो । र, जसले उसैगरी मलाई मार्नेछ ।
तत्पश्चात् म विपरीत दिशातर्फ हानिएँ । त्यतिबेला म मनमनै बोलिरहेको थिएँ– ‘ललिता मलाई माफ गर ! म तिमीजस्तो साहसी हुन सकिनँ, सक्तिनँ । म काँतर हुँ ललिता, मलाई माफ गर, म तिम्रो इच्छा पूरा गर्न सक्तिनँ । बिदा, सदाका लागि तिमीबाट बिदा...!’

Leave A Comment