युवावस्थामै हाडजोर्नीको समस्या

शुक्रबार, ०५ कार्तिक २०७३, ११ : ४५ सन्जिना श्रेष्ठ , Kathmandu
युवावस्थामै हाडजोर्नीको समस्या

उठेपछि बस्न गाह्रो अनि बसेपछि उठ्न उस्तै समस्या । निहुरिएर कुचो लगाउन झन् समस्या । कपडा धुन पनि उस्तै सास्ती । कम्मरको दुखाइले तीन महिनादेखि यस्तै हैरानी बेहोरिरहेकी छिन्, काठमाडौँ, आरुबारीकी २६ वर्षीया सुलोचना कार्की । विगत एक वर्षदेखि उनको कम्मर सामान्य रूपमा दुख्दै आइरहेको थियो । तीन महिनायता भने उनी उठ्न, बस्नै नसक्ने अवस्थामा पुगेकी हुन् । अहिले उनी चिकित्सकको सल्लाहअनुसार नियमित फिजियोथेरापीमा छिन् । ‘सुरुमा अलि धेरै दुख्दा आफैँ पेनकिलर किनेर खाएँ,’ उनले भनिन्, ‘डाक्टरकोमा नगई आफूखुशी औषधि खाँदा अहिले दुःख पाइयो ।’
ढाडकै दुखाइका कारण अरूको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगेकी ३५ वर्षीया सम्झना पौडेल यतिबेला काठमाडौँ, मीनभवनस्थित सुस्वास्थ्य अस्पतालमा उपचाररत छिन् । दुई महिनाअघि सहनै नसक्ने पीडा हुन थालेपछि र हिँड्न पनि भित्ता वा अन्य व्यक्तिको सहयोग लिनुपर्ने भएपछि उनी अस्पताल पुगेकी हुन् । ‘समयमा नै उपचारमा गरेको भए यति धेरै दुःख पाउने थिइनँ,’ उनले भनिन्, ‘जटिल अवस्थामा डाक्टरकोमा पुग्दा शल्यक्रिया नै गर्नुपर्छ भन्ने सुझाव आयो । तर, शल्यक्रिया फेल हुने सम्भावना पनि रहेकाले प्राकृतिक उपचारका लागि यो अस्पतालमा आएकी हुँ ।’
अस्पतालका सञ्चालक एवं अकुपन्चरिस्ट सुदर्शन बस्नेतका अनुसार पछिल्लो समयमा युवाअवस्थामा नै धेरैलाई कम्मर, गर्धन, घुँडा लगायतका हाडजोर्नीका समस्या देखिन थालेको छ । उनकै अस्पतालमा अहिले दैनिक २५ जनाभन्दा बढी बिरामी यस्तो समस्याको उपचार गर्न आउने गरेका छन् ।
अस्वस्थ जीवनशैली र बसाइमा सामान्य ध्यान नदिँदा पछिल्ला दिनमा गर्धन र कम्मर दुख्ने समस्याका बिरामी बढिरहेको राष्ट्रिय ट्रमा सेन्टरका स्पाइनल सर्जन डा. गौरव ढकाल बताउँछन् । उनका अनुसार मेरुदण्डका करिब ७० प्रतिशत समस्या यस्तैमा पर्छन् । महिलाहरू यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । महिलाको शारीरिक संरचना नै यस्तो हुन्छ कि उनीहरूको कम्मर र गर्धनमा ज्यादा असर पर्छ ।
‘लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षक, मिडियामा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सक नै यस्तो समस्याको मारमा परेको भेटिन्छ,’ डा. ढकालले भने, ‘अझ पछिल्लो समय मोटरसकाइलमा यात्रा गर्नेहरूमा यो समस्या थप बढी देखिएको छ ।’ उनका अनुसार एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदारमा पनि मेरुदण्डको समस्या देखिने गरेको पाइन्छ ।
अकुपन्चरिस्ट बस्नेतका अनुसार ढाडसम्बन्धी रोगको प्रमुख कारणमध्ये जीवनशैली, खानपान र बसाइको आसन नै हो । ‘दैनिक जीवनमा अत्यधिक प्रयोगमा आउने अंगमा गर्धन, कम्मर र घुँडा पर्छन्,’ उनले भने, ‘यी अंगलाई उचित आराम नदिई लगातार काम गर्ने र बसाइ पनि अनुपयुक्त हुँदा समस्या बढिरहेको हो ।’ पछिल्ला दिनमा युवाहरूमा ढाड, कम्मर र गर्धनको समस्या बढी देखिनुमा मोटरसाइकल पनि कारक हो । त्यसमा पनि निहुरिएर चलाउनुपर्ने मोटरसाइकलले झन् समस्या थपेको बस्नेत बताउँछन् ।
चिकित्सकका अनुसार करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् । लामो समय कुर्सीमा बस्ने र व्यायाम नगर्नेहरूमा सानै उमेरमा धेरै समस्या आउने गरेको नेपाल मेडिकल कलेजका अर्थोपेडिक सर्जन डा. प्रफुल्ल श्रेष्ठ बताउँछन् । उनका अनुसार ढाड, कम्मर, घुँडाको समस्या एसियाली मुलुकहरूमा भिटामिन डीको कमीका कारण बढी देखिन्छ । ‘हाडजोर्नीको समस्याको उपयुक्त उपचार भनेको फिजीयोथेरापी नै हो,’ उनले भने, ‘बिरामीको दिसापिसाब बन्द हुने, नसा च्यापिने समस्या बढी हुने र खुट्टा बढी लुलो हुने अवस्थामा अप्रेसन गर्नुपर्छ ।’
जापानमा लामो समयसम्म उभिएर काम गर्दै आइरहेका समिर जिसी ढाडको समस्या देखिएपछि फिजियोथेरापीका लागि नेपाल आएका छन् । ‘जापानमा उभिएर धेरै काम गर्नुपर्दा र शरीरलाई आराम नपुगेका कारण ढाडको समस्या देखियो,’ उनले भने, ‘उता उपचार महँगो र अप्रेसन गर्नुभन्दा नेपालमा नै फिजियोथेरापी गर्दा राम्रो हुने साथीको सल्लाहपछि यहाँ आएको हुँ ।’
वरिष्ठ मस्कुलोस्केलटल स्पेसलिस्ट डा. श्रील भगतका अनुसार फिजियोथेरापीमा विभिन्न किसिमका उपचार पद्धति छन् । ‘सुन्निएको, च्यापिएको लगायतका समस्यामा उपयुक्त तरिकाले उपचार गरेर समस्या समाधान गर्न लागिन्छ,’ उनले भने, ‘फिजियोथेरापीमा अहिले विभिन्न आधुनिक उपकरण प्रयोग गरिन्छ । तर, उपकरण प्रयोग दक्ष व्यक्तिले मात्र गर्न सक्छन् । अलिकति पनि असावधानी अपनाइयो भने त्यसबाट झन् नराम्रो असर पर्ने हुन्छ । औषधिको प्रयोग नगरिने भएकाले साइडइफेक्टबिना समस्याबाट मुक्ति पाउन फिजियोथेरापी रोज्नुपर्छ ।’
गर्भवती महिलामा ढाड दुख्ने समस्या
डा. विष्णु चापागाईंका अनुसार गर्भवती भएको सुरु वा अन्तिमतिरको अवस्थामा गर्भवती महिलालाई अत्यन्त बढी मात्रामा ढाड दुख्ने गरेको पाइन्छ । ‘यसको कारण के हो भने गर्भवती अवस्थामा पाठेघरमा साल बन्छ, जसबाट प्रोजेस्टेरोन हर्मोन निस्कन्छ । यसले गर्दा शरीरका जोर्नी, मासु र छाला नरम हुन्छन् । बढी तन्कने हुन्छन्, पेट अगाडि बढ्छ र मांसपेशी तन्किई ढाड दुख्न सुरु गर्छ ।’ यस्तो अवस्थामा केही आवश्यक व्यायाम गर्ने, कम्मर सोझो बनाएर बस्ने, उभिने, हिँड्ने, खाटमा पातलो डसनामा सुत्ने, हल्का मालिस गर्ने गरियो भने फाइदा पुग्ने डा. चापागाईं बताउँछन् । कसै कसैलाई सुत्केरी भएपछि पनि ढाड दुख्ने गर्छ । गर्भवती भएको बेलामा ख्याल नगर्नु, तौल बढ्नु, महिनावारी राम्रो नहुनु, नियमित व्यायाम नहुनु पनि ढाड दुखाइका कारण हुने उनले बताए ।

ढाड दुखाइबाट जोगिन
–मोटोपन नियन्त्रण गर्ने
–दैनिक व्यायाम गर्ने
–खानपानमा ध्यान दिने
–लगातार लामो समयसम्म कुर्सीमा नबस्ने
–एक या पौने घण्टामा पाँच मिनेट ब्रेक लिने
–झुकेर, बांगोटिंगो तरिकाले नबस्ने
–हाई हिल नलगाउने
–लामो समय सवारी चलाउँदा कम्मरमा आड दिन तकिया राख्ने
–मोटरसाइकलमा लामो यात्रा नगर्ने, बढी झुकेर मोटरसाइकल नचलाउने
–ज्यादा नरम कुर्सी तथा बेड प्रयोग नगर्ने

 

Leave A Comment